एमालेमा चार गुट, तीनथरी नेता

एमालेमा चार गुट, तीनथरी नेता

काठमाडौं : एमालेमा तीन खालका नेता/कार्यकर्ता छन्– जैविक एमाले, आगन्तुक एमाले र नवआगन्तुक एमाले।

जैविक एमाले, जो पहिलेदेखि नै एमाले थियो। जस्तोसुकै अवस्थामा पनि एमाले नै रहिरह्यो।

अर्को आगन्तुक एमाले, जो बीचमा एमाले छाडेर गयो वा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गर्न सकिँदैन भन्ने निष्कर्षमा पुग्यो र पछि ओलीकै नेतृत्व स्वीकार गर्यो।

अर्कोथरी छ, जो हिजो कहिल्यै एमाले थिएन। उसले तत्कालीन नेकपा सर्वोच्च अदालतको आदेशले पूर्ववत अवस्थामा फर्किँदा माओवादी छाडेर एमाले रोज्यो।

पार्टीमा असन्तुष्टिका बारेमा प्रष्ट बोल्न नसके पनि जैविक एमालेभन्दा बाहिरको गुट स्पष्ट थियो। जैविक एमाले रहेका कार्यकर्ता पार्टीभित्र अन्याय भयो भनेर अध्यक्ष ओली विरुद्ध आवाज समेत उठाउन सक्दैनन्।

एमालेको जैविक समूहभित्र महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा दुई गुट सक्रिय छन्। पार्टी विभाजनसम्म माधव नेपाललाई साथ दिएर १० बुँदे सहमति गरेर एमालेमै रहेको समूह छ। जसको नेतृत्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गछिन्।

यो गुटलाई जैविक एमालेहरुले ‘हामी विरुद्ध कालो झण्डा देखाउने समूह’ भन्ने गरेको छ। अर्को गुट पूर्व माओवादीहरुको छ। उपाध्यक्ष रामबहादुर थापा बादलले यो समूहको नेतृत्व गर्छन्।

यी चारै गुटको व्यवस्थापन गर्न अध्यक्ष ओलीलाई गाह्रो पारेको छ। पोखरेल र पौडेल गुटले उनलाई कार्यसम्पादनमा थप समस्या दिएको देखिन्छ। निर्वाचन परिचालन समिति होस् वा निर्वाचन घोषणापत्र मस्यौदा समितिको नेतृत्व ओली आफैंले लिए। जम्बो पदाधिकारी भए पनि उनीहरुलाई समिति भित्रको सदस्य दिए।

एमालेको दसौं महाधिवेशनमा अध्यक्ष ओली र तत्कालीन उपमहासचिव पौडेल पार्क सफारी होटलमा बसेर लिस्ट फाइनल गरे। जुन समयमा पोडेल महासचिवको आकांक्षी थिए। ओलीले खाली पानामा तजबिजी अनुसारको पदाधिकारीको नाम लेखाउँथे, त्यो लेख्ने पोडेल थिए।

ओलीले बोलेको टिपेपछि त्यसलाई टाइप गर्ने प्रिन्ट गर्ने र फाइनल गर्न ओलीलाई थमाउने काम पौडेलले गरेका थिए। महासचिवको आकांक्षी पौडेलले आफ्नै नाम पटक–पटक उपाध्यक्षमा लेख्नु परेको थियो। खाली पानामा लेख्ने आफैँ भए पनि उनलाई आफ्नो नाम पदाधिकारीको कुन पदमा चढाउनुपर्ने हो थाहा थिएन।

सो समयदेखि पौडेलले आफ्नो पकड बनाउन गुट अझ बलियो बनाउने प्रयास गरे। तत्कालीन समयमा तत्कालीन महासचिव ईश्वर पोखरेलको नेतृत्वमा शंकर पोखरेल, विष्णु रिमाल, डा. राजन भट्टराईसहित ओली प्रधानमन्त्री हुँदा उनलाई सघाउने सल्लाहकार समूहका नेताहरू एक बलियो गुटमा थिए।

ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष भएपछि शंकर पोखरेलले पार्टीभित्र गुटको नेतृत्व गर्दै आएका छन्। पौडेल र पोखरेलबीच एघारौं महाधिवेशनमा कसले नेतृत्व हत्याउने भनेर अघोषित प्रतिस्पर्धा सुरु भएको देखिन्छ।

पार्टीका गुटको नेताको साझा छहारीमा अध्यक्ष ओली छन्। पौडेल गुटमा उपाध्यक्ष सुवास नेम्वाङ सक्रिय छन्। यसअघि नेम्वाङ पोखरेर गुटमा थिए। त्यस्तै, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरु छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल छिन्। पोखरेल गुटमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णु रिमाल र प्रदीप ज्ञवाली छन्। यो गुट राष्ट्रपति विद्यादेवी भण्डारी निकट रहेको एमाले नेताहरु बताउँछन्।

१० बुदेँ सहमतिपछि पार्टीमा फर्किएको गुटमा उपाध्यक्षहरु सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली, सचिव योगेश भट्टराई लगायत छन्। भट्टराई पछिल्लो समय अध्यक्ष ओली निकट बन्दै गएका छन्।

पूर्वमाओवादी गुटमा सचिवहरु टोपबहादुर रायमाझी लेखराज भट्ट लगायतका पदाधिकारी छन्। यी पदाधिकारी सक्रिय रहेको गुटमा स्थायी कमिटी सदस्यहरु पनि सक्रिय छन्। प्रभावशाली नेताहरु पार्टी सचेतक विशाल भट्टराई पोखरेल गुट र राजन भट्टराई पौडेल गुटमा रहेको नेताहरुमा चर्चा छ।

एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी र घोषणापत्र मस्यौदा कमिटी बनाएको छ। परिचालन कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष÷महासचिव र विभागका सचिव छन्।

घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ एमालेले। मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्।

एमालेमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव गरी १९ पदाधिकारी छन्। जम्बो पदाधिकारीलाई ओलीले विश्वास नगरी आफैं अग्रसर हुनुमा गुटको प्रभाव देखिएको छ।

पदाधिकारीको परिभाषित काम रहेको र सानो समूहले घोषणापत्र बनाएर ल्याउने र त्यसलाई पदाधिकारीको सुझाव सहित केन्द्रीय समितिमा छलफल हुने परम्परा अनुसार कमिटी बनेको सचिव पद्मा अर्यालले बताइन्।

‘एमालेभित्र गुट छैन, हिजोका गुटहरु किनारा लागिसके। अहिलेको मूल नेतृत्व भनेको केपी ओली नै हो। कुनै नेतालाई धुरी बनाएर अहिले गुट चलेको छैन,’ अर्यालले उकेरासँग भनिन्, ‘अनुचित ढंगले प्रचार भएको छ भने पनि विश्वास नगर्र्नुस्। पार्टी एकताबद्ध छ। निश्चित साथीहरुले घोषणापत्र तयार गर्ने परम्परा छँदैछ।’ 

पदाधिकारीलाई अध्यक्ष ओलीले विश्वास नगरेको अवस्था नरहेको सचिव योगेश भट्टराई बताउँछन्। ‘के गुट हुन्छ र, सबै एउटै गुट त छ अहिले,’ सचिव भट्टराईले भने, ‘अध्यक्षले कमाण्ड गर्दा प्रभावकारी हुन्छ भनेर गरेका होलान् त्यो। घोषणापत्रमा पदाधिकारीहरु नै छन्। उपाध्यक्ष। महासचिव छन्।’

माओवादी नेता एमालेमा आउँदा नेता मात्र आए कि कार्यकर्ता पनि आए, अबको निर्वाचनमा देखिने भन्दै जैविक एमालेका नेताहरु हिसाब गर्दैछन्। गण्डकीमा नेतासहित कार्यकर्ता आएका छन्।

‘हामीले एउटा निर्वाचन गरिसक्यौं। त्यसमा कति लाग्नुभयो, कसरी प्रभावित हुनुभयो भन्ने छँदैछ,’ गण्डकी प्रदेश इन्चार्ज समेत रहेकी सचिव अर्यालले भनिन्, ‘अपेक्षाकृत ढंगले आएन होला, एउटा कुरा भयो। नेतामात्र आएर तल शक्ति आएन भन्ने लाग्दैन।’

माओवादी छाडेर एमालेमा आएका नेताहरुको पनि पार्टीभित्र गुट छैन भन्ने तर्कमा होमा हो देखियो। एमालेभित्र गुट नभएको, पार्टीमा एकता रहेको र सन्तुलित अवस्था रहेको एमाले नेता मणि थापाले बताए।
 
ओलीले गुटको कारणले निर्वाचनको तयारी कमिटीको कमाण्डर समेत आफैं बन्नु परेको हो? भन्ने प्रश्नमा थापाले भने, ‘स्टालिन ७० वटा कमिटीको संयोजक थिए भनेर हामीले पढ्न पाउँछौं। मुख्य कुरा नतिजा हो। एमालेमा गुट छैन। पार्टी एक छ।’ तर नेपालको हरेक पार्टीमा स्वार्थ समूह रहेको उनले बताए।

माओवादीबाट नेता मात्र आए कि कार्यकर्ता पनि भन्ने परीक्षण संघ र प्रदेशको निर्वाचनले गर्ने अवस्था रहेको प्रसङ्गमा त्यस्तो खालको तर्क नसुनेको पूर्वमाओवादी नेताहरु बताउँछन्। ‘त्यो तर्क राजनीतिक तर्क होइन। हामीले केपी कमरेडलाई सहयोग गर्ने बेला त्यसको अर्थ कति छ भन्ने कुरा राजनीतिज्ञहरुले मात्र बुझ्छन्। चुनावको गणित ख्याल गर्नेले बुझ्दैनन्,’ नेता थापाले भने।

मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन तयारीको लागि एमालेले भदौ ७ गते सचिवालय, ९ गते स्थायी कमिटी, १० र ११ गते केन्द्रीय कमिटी बैठक राखेको छ।

‘हिजो पनि गुटको कारणले पार्टी फुटेको हो। फुटपछि पनि एमालेमा गुट देखियो। नेपालका सबै दलमा गुट छन्। जहाँ आत्मकेन्द्रित राजनीति गरिन्छ, त्यहाँ गुट र उपगुट बन्छन्,’ राजनीतिक विश्लेषक डा राजेन्द्र चापागाईंले भने, ‘नजानिँदा गुटहरु अझ बढी सक्रिय हुने भएकाले एमाले अध्यक्षलाई अलि बढी भार परेको हो।’

बहुदलभन्दा अगाडि पार्टी अनुशासन कडा भएको र भूमिगत कालमा पार्टी सदस्यहरुलाई परिवारको सदस्यभन्दा बढी माया गर्ने वर्गीय प्रेममा हुर्किएका एमालेमा अहिले पनि त्यो माया रहेको चापागाईंले बताए।

टिकट बाँड्दा राष्ट्रपतिले समेत हस्तक्षेप गर्न सक्छिन्। त्यसमा गुट व्यवस्थापनको चुनौती छँदैछ। पार्टीका गतिविधिमा जैविक एमाले हावी भइरहेको अवस्थामा आगन्तुक र नवआगन्तुक एमाले मौन बसे पनि टिकट बाँडफँडको समयमा पनि मौन बस्ने छैन।

यस्तो अवस्थामा ओलीलाई निर्वाचनमा अन्तर्घात हुन नदिने चुनौती छ। स्थानीय तहका निर्वाचनमा पनि अन्तर्घात देखियो। जसलाई एमालेले संस्थागत रुपमा स्वीकार गरेको छ। अध्यक्ष ओलीले एमालेलाई भोट नहाल्नेलाई पार्टी छाडेर जान चेतावनी दिँदै आएका छन्।

१ भदौ, २०७९, १५:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।