त्रिचन्द्र क्याम्पस पुनर्निर्माण : आधा रेट्रो फिटिंग, आधा पुरै भत्काउने

त्रिचन्द्र क्याम्पस पुनर्निर्माण : आधा रेट्रो फिटिंग, आधा पुरै भत्काउने

काठमाडौँ :  निरन्तर दबाब बढेपछि सरकारले बल्ल त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको प्रक्रिया अगाडि बढाएको छ। विद्यार्थीसँगै सरोकारवालाहरूले भूकम्पमा चर्किएको घण्टाघर क्षेत्रको भवन भग्नावशेष बनाउने खोजेको भन्दै खबरदारी गरेपछि सरकारले ४८ करोड बजेट छुट्ट्याएर २ मोडलमा निर्माण गर्ने तयारी गरेको हो।

पुरातत्त्व विभागसहितको संलग्नतामा भवन निर्माण विभागले घण्टाघरको दायाँ क्षेत्रको रेट्रोफिटिंग गर्ने र बायाँ क्षेत्रको भवनको पुनर्निर्माण गर्ने गरी डिजाइन बनाइरहेको छ।

क्याम्पस सहायक प्रमुख तथा सूचना अधिकारी बालकृष्ण पौडेलका अनुसार सय वर्ष पुरानो भवन क्षेत्रको रेट्रोफिटिङ गर्ने तयारी गरिएको छ। अन्य भवन भने भत्काएर पुरानै स्वरूपमा निर्माण गर्ने तयारी भइरहेको छ।

क्याम्पसको प्रवलीकरणकार्य भवन निर्माणका लागि भन्दै सहरी विकास तथा भवन निर्माण विभागले गत साउन ३ गते ४८ करोड २० लाख ६१ हजार बराबरको लागत सुनिश्चित गरेको थियो। उक्त निर्माण कार्य बहुवर्षिय आयोजना अनुसार सञ्चालन गर्ने तयारी भइरहेको छ।

'बायाँ पट्टिको पुरै भाग क्षतिग्रस्त भएकाले पुरानै स्वरूपमा जगैदेखि नयाँ बनाउनु पर्ने र दायाँ पट्टीको  जिओलोजि, मेट्रोलोजी डिपार्टमेन्ट भएको भवन रेट्रोफिटिंग गर्ने सहरी विकास मन्त्रालयले बताएको छ,' पौडेलले भने'यसको लागि सबै प्रक्रिया पुरा भैसकेको छ।  अब मन्त्रालयले टेन्डर निकालेपछि पुनर्निर्माण सुरु हुन्छ।’

क्याम्पसको टेन्डर प्रक्रियादेखि भवन हस्तान्तरणसम्मको काम मन्त्रालयले नै गर्ने उनले जानकारी दिए।

भूकम्पमा चर्किएर बस्नै अयोग्य भए पनि अहिले पनि त्यस भवनमा दुई वटा डिपार्टमेन्टको पढाई भइरहेको छ। पुनर्निर्माण काम सुरु हुनु भन्दा केही दिन अगाडि सबै विद्यार्थीलाई पारिपट्टिको भवनमा पढाउने उनले बताए।

'त्यहाँ धेरै पढाई पनि हुन दिएको छैन। विद्यार्थी सङ्ख्या पनि थोरै नै छ। त्यसैले विद्यार्थीलाई अर्को भवनमा सार्नु समस्या हुँदैन’ उनले भने।

त्यस्तै टेन्डरको लागि सबै प्रक्रिया पुरा भएर भवन विभागमा गएको र त्यहाँबाट स्वीकृति पाउने बित्तिकै काम सुरु गर्ने विभागको आयोजना निर्देशक कोषनाथ अधिकारीले बताए।

उनले टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेकाले २-३ दिनमै टेन्डर निस्कने उनले बताए।

क्याम्पसलाई वृहत् रानीपोखरी परियोजना अन्तर्गत समावेश गर्ने कुरा पनि आएको थियो। तर, अहिले भने यो कुनै परियोजना अन्तर्गत नभएर आफ्नै वहुबर्षीय योजना अन्तर्गत नै रहेको निर्देशक अधिकारीको भनाइ छ।

प्रबलीकरण नीति अनुसार सय वर्ष कटिसकेको संरचना पुरातत्त्व विभाग अन्तर्गत पर्दछ। जसको पुरै जिम्मेवारी विभागले लिने गर्छ। संरचनाको रेखदेखदेखि मर्मत सम्भार सबै विभागले नै गर्नुपर्ने हुन्छ। तर, विभाग भने पुनर्निर्माण जिम्मा भवन विभागले लिएको कारण अहिले क्याम्पसमा चासो दिन चाहँदैनन्।

देशभर भ्यु टावरहरू जस्तो अनुत्पादक क्षेत्रमा विकास रकम खर्च गरेको तर क्याम्पसको पुन निर्माणमा चासो नदेखाएको भन्दै त्यहाँका विद्यार्थीहरूले आन्दोलन समेत गरेका थिए।

क्याम्पसमा अहिले करिब १० हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। ६ सय भन्दा बढी शिक्षक र १ सय ५० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्।

 

३० साउन, २०७९, १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।