को होला एमालेको 'मायालु' !

को होला एमालेको 'मायालु' !

काठमाडौँ : पाँच दलबिच केन्द्रमा अनि अन्य दलसँग तहगत गठबन्धन भए पनि एकीकृत परिचालनको अभावमा स्थानीय तह निर्वाचनमा सोचेजस्तो नतिजा पाएन सत्ता गठबन्धनले।

माओवादी केन्द्र अनि एकीकृत समाजवादी निकै हौसिएका थिए। तर माओवादी दोस्रो पार्टीको सूचीमा उक्लन सकेन। नेपाली कांग्रेस पहिलो दल त भयो। तर एक्लो एमालेसँग गठबन्धन बनाएर प्रतिस्पर्धा गरेजस्तो फराकिलो अन्तर भने आएन।

चमत्कार नभए प्रदेश र केन्द्रको संसदीय निर्वाचनमा पनि लगभग प्रतिस्पर्धाको समीकरण उस्तै देखिन्छ। पाँच दलीय गठबन्धन कार्यदल बनाएर सिट बाँडफाँडको गृहकार्यमा छ। तर एमालेले गठबन्धनका लागि अर्को जोडी समेत भेट्न सकेको छैन।

स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तहगत आधारमा एमालेले सहकार्य गरेको थियो। राप्रपा नेपाल अनि नेपाल परिवार दलसँग केन्द्रीय तहबाटै मिलेर चुनाव लड्ने सहमति भए पनि निर्वाचनमा त्यसको प्रभाव देखिएन।

अहिले पनि एमालेले उही राप्रपा, राप्रपा नेपाल अनि नेपाल परिवार दल लगायतका साना दलहरूसँग निर्वाचनमा मिलेर जानेबारे छलफल चलाइरहेको छ। तर नतिजा आइसकेको छैन।

स्थानीय तहमा निर्वाचनमा एमाले एक्लैले ३३ प्रतिशत भन्दा बढी मत ल्याएको थियो। गठबन्धनको अवस्था स्थानीय तहकै रहेमा उसलाई त्यति धेरै घाटा नहुन सक्छ। उसले १६ प्रतिशत मत बढाएर बहुमत ल्याउने दाबी गरिरहेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लैले बहुमत ल्याउने दाबी गरिरहेका छन्। तर संसदीय निर्वाचनमा गठबन्धन एमालेमाथि भारी पर्ने एमाले सचेतक विशाल भट्टराईले प्रत्यक्षको १६५ मध्ये ४९ सिट पक्का, ७० सिटमा निकट प्रतिस्पर्धा भन्ने दाबीले पनि देखाउँछ।

पछिल्लो समय ओलीको बोली बदलिँदै गइरहेको छ। उनी प्रतिस्पर्धात्मक भन्दा पनि कांग्रेसले निर्वाचनमा गठबन्धन बनाएर राजनीतिलाई शत्रुतापूर्ण बनाउने प्रयास गरिरहेको भन्न थालेका छन्। माओवादी केन्द्रप्रति उनको बोली बदलिएको छ।

राप्रपासँग सहकार्यका लागि वार्ता अगाडि बढाएका छन्। नेपाल परिवार दलसँग संवाद सुरु भएको छ। यसले एमाले सत्ताधारीको गठबन्धनसँग भिड्न आफ्नो पनि गठबन्धन बनाउने कसरतमा सक्रिय रहेको देखिन्छ। तर नेताहरू यसलाई अझैँ सहज रूपमा स्विकार्दैनन्।

‘हामी आफ्नै बलबुतामा चुनाव लड्ने तयारीमा छौँ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उकेरासँग भने, ‘हाम्रा उद्देश्यसँग मेल खाने सहयात्री बाटोमा भेटिए हाम्रो ढोका भने खुला छ।'

ज्ञवालीकै भनाइमा एमालेको अजेण्डा स्वीकार गर्नेहरूसित तालमेल हुनसक्ने सम्भावना देखिन्छ। बाबुराम भट्टराइको दल माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुने सहमतिपछि लोकतान्त्रिक समाजवादी पार्टी अनि राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकी छन् गठबन्धनका लागी। यसमा लोकतान्त्रिक समाजवादीको मन सकेसम्म सत्ता गठबन्धनसँगै मिल्ने देखिन्छ।

बाँकी रह्यो राप्रपा। साउन ३० गते राप्रपाको कार्यसम्पादन समिति बैठक हुँदैछ। त्यसअघि शनिवार लिङ्देन र ओलीको भेट भयो। ०७४ को निर्वाचनमा दुवै दलको केही स्थानमा सहकार्य भएको पनि थियो। निर्वाचनमा एमालेले झापा ३ मा लिङ्देनलाई सघाएको थियो भने राप्रपाले ओलीलाई झापा ५ मा सघाएको थियो। नतिजा दुवैले सोचेजस्तै नै आयो।

तर राष्ट्रिय सभाको निर्वाचनमा राप्रपाले एमालेलाई सहयोग गरेन। त्यसपछि ओली राप्रपासँग रुष्ट बनेका थिए।

उनी राप्रपा छाडेर राप्रपा नेपालको नेतृत्व गरेका कमल थापासँग स्थानीय तहको निर्वाचनमा तालमेल गरे। तर त्यसको कुनै सकारात्मक प्रभाव देखिएन। उनी अहिले मूल राप्रपासँगै सहकार्यको प्रयासमा छन्।

लिङदेन भने केन्द्रीय तहबाटै सहकार्य भन्दा पनि क्षेत्रीय आधारमा सहकार्य गर्नुपर्ने पक्षमा देखिएका छन्। गत निर्वाचनमा समानुपातिक मत सोचेजस्तो नआउनुको कारण सबै निर्वाचन केन्द्रमा उम्मेदवार नदिनु हो भन्ने निष्कर्षमा रहेका उनी एमालेसँग मात्रै हैन सम्भव भए सत्ता गठबन्धनसँग पनि त्यही रणनीति अनुसार सहकार्य गर्ने रणनीतिमा देखिन्छन्।

‘गठबन्धन बनाउनै पर्छ, गठबन्धन बिन सकिँदैन भन्ने भ्रम पनि छैन, निर्णायक कुरा गठबन्धन होइन जनताको समर्थन र विश्वास हो। त्यो हामीसँग छ,’ ज्ञवालीले भने।

भरपर्दो सहयात्री खोज्दै एमाले

नेताहरूले जे दाबी गरे पनि एमाले संसदीय निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध बलियो रूपमा चुनावी मैदानमा उत्रिन भरपर्दो सहयात्रीको खोजीमा देखिन्छ।

एमाले अध्यक्ष ओलीले असार १९ मा पार्टी पङ्क्तिलाई जारी गरेको आन्तरिक सर्कुलर पनि त्यही देखाउँछ। सर्कुलरमा आफ्नै सामर्थ्यमा चुनाव लड्ने, तर गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर भरपर्दो सहयात्री खोज्नेमा केन्द्रित हुने उल्लेख थियो।

‘राजनीतिक ध्रुवीकरणको प्रक्रियालाई तीव्रता दिँदै अन्य पार्टीबाट सक्दो प्रवेश गराउने नीति लिने। खास गरी निर्वाचन क्षेत्रको शक्ति सन्तुलनका आधारमा प्रतिस्पर्धाको अवस्था रहेको ठाउँमा जित सुनिश्चित गर्न र हामी अगाडि रहेको ठाउँमा जितलाई कायम गर्न पार्टी प्रवेशका ठोस र मूर्त योजनाहरू बनाई कार्यान्वयन गर्ने,’ एमालेले जारी गरेको निर्देशनमा भनिएको छ।

स्थानीय तह निर्वाचनमा सोही नीति लिएर एमालेले पार्टीमा नयाँ भित्र्याउन जोड दियो। भित्र्याएको पनि हो। तर जति सङ्ख्यामा नयाँ कार्यकर्ता पार्टीमा आए त्यो अनुसारको प्रभाव भने देखिएन।

पार्टीभित्रै गठबन्धन बनाउनुपर्छ भन्ने मत राख्ने नेताहरू पनि नभएका हैनन्। तर उनीहरू रणनीतिक रूपमा निर्णय गराउने अवस्थामा देखिएका छैनन्।

‘म गठबन्धनको हुनुपर्छ भन्नेमा छु,’ एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले उकेरासँग भने, ‘ तर अध्यक्ष र महासचिवज्यूमा औपचारिक निर्णयको अधिकार छ।’

गठबन्धनभित्रै खेल्ने दाऊँ

आफ्नो गठबन्धन बनाउने रणनीति त छ नै एमाले, सत्ताधारी दलमा सहभागी भएका दलहरूभित्र समेत खेल्न सक्रिय छ। एमालेका नेताहरु सकेसम्म सत्ताधारी गठबन्धन भत्काउने प्रयासमा देखिन्छ।

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, दोस्रो तहका नेताहरू वर्षमान पुन, देव गुरुङलगायतका नेताहरूसँग एमालेका दोस्रो तहका नेताहरू अनौपचारिक संवादमै छन्।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पनि एमालेका दोस्रो तहका नेताहरू संवादमा छन्। तर कार्यनीति बारे सहमति जुटेको छैन।

केही दिन अघि एमाले अध्यक्ष ओलीले कांग्रेससँगको गठबन्धन तोडेर आएको खण्डमा माओवादीसँग चुनावी गठबन्धन हुन सक्ने सङ्केत गरेका पनि थिए। तर उनी माधव नेपालसहितको वामपन्थी पार्टी चाहँदैनन्।

‘म आग्रह गर्न चाहन्छु– राफसाफ कुरा गरौँ। कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भइहाल्यो छोडिदिऊँ। वामपन्थी हुनुहुन्छ भने आउनुस् एमालेसँग मिलेर कांग्रेसविरोधी होइन, देशको पक्षमा, राष्ट्रियता, लोकतन्त्र र कानुनी राजको पक्षमा उभिएर काम गर्ने सरकार बनाऊँ र अगाडि बढौँ,’ ओलीले भनेका थिए, ‘चुनावमा बुथ कब्जा गर्ने, मतपत्र च्यात्ने, टोक्ने होइन। निष्पक्ष ढङ्गले चुनाव गर्ने लोकतान्त्रिक अभ्यास गर्ने सरकार बनाऊँ।’

पाँच दलबिच संसदीय निर्वाचनमा पनि गठबन्धन कायम राख्ने सहमति त भयो। तर सिट बाँडफाँडको किचलोले गठबन्धन कायम हुन्छ या भत्कन्छ जोखिम कायमै छ।

गठबन्धनमा सिट बाँडफाँडको किचलो चर्किने पक्का छ। तर त्यो गठबन्धन टुट्ने तहसम्म पुग्छ भन्न सकिने अवस्था भने छैन। कांग्रेस नेताहरूले आफूले गठबन्धन नगरे अर्कोले गर्ने भन्दै यो बाध्यता रहेको बताइरहेका छन्। यसको सङ्केत एमाले नै हो।

एमाले गठबन्धनमा रहेका दलहरूबिचको संवाद र बैठकलाई नजिकबाट नियालिरहेको छ। गठबन्धनबाट कुनै दल बाहिरिएमा एमालेले सहकार्य गर्ने सम्भावना बलियो देखिन्छ।

तालमेल गर्ने अवसरको पखाईमा एमाले हो भन्ने भन्ने प्रश्नमा एमाले उपमहासचिव ज्ञवालीले भने, ‘उहाँहरू के गर्नुहुन्छ हाम्रो सरोकारको विषय रहेन। अहिले उहाँहरू विभाजित हुनुहोला हामीलाई सहयोग होला अनि एक भए पनि हामीलाई अप्ठेरो पर्ला भनेर सोचेका छैनौँ।

कांग्रेससँग विलय जस्तै भएको र कांग्रेसकै अजेण्डा मानेर अघि बढेका कम्युनिस्ट पार्टीसँग तत्कालीन अवस्थामा सहकार्य असम्भव नरहेको उनले दाबी गरे।

'शक्ति सामर्थ्य कांग्रेसको तर कांग्रेस बिना हाम्रो वैतरणी नै पार लाग्दैन। हामीलाई बढी भन्दा बढी सिट देऊ भन्ने ठाउँमा पुगेका छन्,’ उनले भने, ‘कांग्रेसले आफ्नो म्याण्डेड लागु हुनपर्छ र निर्वाचन पछि आफ्नै नेतृत्वमा सरकार बन्नुपर्छ भनेको कुरा समेत स्वीकार गरेर गठबन्धन गरेका बेला यी कुरा अमिल्दो नै छ।’ 

२९ साउन, २०७९, १९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।