प्रहरीको सहयोगमा १५२ ट्रक फोहोर बन्चरेडाँडा पुग्यो, अवरोध हटाउँदै फोहोर लैजाने योजना

प्रहरीको सहयोगमा १५२ ट्रक फोहोर बन्चरेडाँडा पुग्यो, अवरोध हटाउँदै फोहोर लैजाने योजना
तस्बिर : बालेन शाहको फेसबुकबाट

काठमाडौँ : स्थानीयको अवरोध नहटेपछि काठमाडौँ महानगरको संयोजनमा सुरक्षाकर्मी परिचालन गरेर बन्चरेडाँडामा फोहोर बोकेका गाडी पुगेका छन्। काठमाडौँ लगायतका महानगरमा फोहोर व्यवस्थापन नहुँदा समस्या जटिल बनिसकेको छ।

पटक-पटक सहमतिको प्रयास गरे पनि स्थानीय राजी नभएपछि शनिवार सुरक्षाकर्मी परिचालन गरेर एक सय ५२  ट्रक फोहोर बन्चरेडाँडा पुर्याइयो।

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहको दाबी अनुसार  कुनै अवरोध नभएमा भोलि आइतबारबाट दैनिक २ सय ५० देखि ३ सय ५० गाडीहरू फोहोर बोकेर बन्चरे पुग्ने छन्।

उनले फेसबुक अकाउन्टमा काठमाण्डौँको ७५ गाडी र त्यति नै मात्रामा अरू पालिकाहरूबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिकरुपमा १ सय ५० गाडी फोहोरको व्यवस्थापन हुनुपर्ने भएकाले नियमित अवस्थामा पुग्न केही समय लाग्ने उल्लेख गरेका छन्।

'अवरोध नगर्ने स्थानीय, फोहोर सङ्कलन तथा लैजान सफाइ कर्मचारी तथा चालकहरू तथा अवरोध खुलाउन क्रियाशील सुरक्षाकर्मी तथा सम्बद्ध सबैलाई धेरै धन्यवाद छ' उनले लेखेका छन्।

बन्चरेडाँडामा कुनै पनि हालतमा सिसडोलको दुरावस्था  नदोहोर्याउने भन्दै उनले थुप्रिएका फोहोरहरूको व्यवस्थापन नभई अन्य विकल्पहरूमा जानु व्यवहारिकरुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेको दाबी गरेका छन्।

२८ साउन, २०७९, २१:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।