निर्वाचन क्षेत्र फेर्दै आएका प्रचण्डलाई चितवनमा पनि धोका हुने डर

निर्वाचन क्षेत्र फेर्दै आएका प्रचण्डलाई चितवनमा पनि धोका हुने डर

काठमाडौं: माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ०७४ सालमा निर्वाचित भएको क्षेत्र चितवन- ३ बाट निर्वाचन लड्ने बताइरहन्छन्। तर उनले अन्य निर्वाचन क्षेत्र पनि हेरिरहेका छन्।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रचण्डले एमालेको सहयोगमा ४८ हजार २७६ मत ल्याएका थिए। उनका प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले कांग्रेसको सहयोगमा ३८ हजार ९३५ मत पाएका थिए।

चितवन- ३ मा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छ। स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने यो निर्वाचन क्षेत्रमा माओवादी कमजोर देखिन्छ।

गत वैशाखको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर भरतपुर महानगरपालिकाको प्रमुख माओवादीले जितेको थियो भने माडी नगरपालिका पराजित भएको थियो। यो क्षेत्रमा एमाले बलियो देखिएको छ।

वडागत रूपमा सबैभन्दा धेरै २९ हजार ७५३ मत रहेको छ। सबै वडामा उमेदवारी नदिएको कांग्रेसले २९ हजार ३५३ मत ल्याएको छ।

माओवादीले भने १० हजार ९५८ मत पाउँदा एकीकृत समाजवादीले पाँच हजार ७३७ मत पाएको छ। हालको सत्ता गठबन्धनको सहयोग बिना प्रचण्डले निर्वाचन क्षेत्र जोगाउने सम्भावना देखिँदैन।

०६४ सालको पहिलो संविधान सभाको निर्वाचमा माओवादीको लहर नै थियो। त्यसयता प्रचण्डले चार वटा निर्वाचन क्षेत्रमा चुनाव लडिसकेका छन्।

स्थानीय तहको निर्वाचनमा एमाले र राप्रपाबीच तालमेल भएको थियो। प्रतिनिधि सभा निर्वाचनमा पनि एमाले र राप्रपाबीच तालमेल भएमा प्रचण्डलाई निर्वाचन जित्न धौ-धौ हुनेछ।

राप्रपाले स्थानीय तहमा वडागत रूपमा ६ हजार ९९८ मत ल्याएको देखिन्छ। स्वतन्त्रसहित साना दलहरूसँग दुई हजार ५०० भन्दा बढी मत रहेको छ। गठबन्धनमा रहेका दलहरू जसपा र राष्ट्रिय जनमोर्चासँग नगन्य मत छ।

एमालेलाई राप्रपा र स्वतन्त्रसहित साना दलको मत थपियो भने ऊसँग ३९ हजार २५९ मत पुग्नेछ। गठबन्धनको मत ४६ हजार १७० मत पुग्ने देखिन्छ। हालको अवस्थामा गठबन्धनसँग एमालेको भन्दा ६ हजार ९११ मत बढी छ।

प्रचण्ड यही क्षेत्रमा उठेमा एमालेले कस्तो उम्मेदवार उठाउने छ र कतिको मत काट्न सक्छन् त्यसमा निर्भर रहन्छ।

०६४ सालयता चार वटा निर्वाचन क्षेत्र

०६४ सालको पहिलो संविधान सभाको निर्वाचमा माओवादीको लहर नै थियो। त्यसयता प्रचण्डले चार वटा निर्वाचन क्षेत्रमा चुनाव लडिसकेका छन्।

०६४ सालमा रोल्पा–२ र काठमाडौं–१० बाट निर्वाचित भएका थिए प्रचण्ड। ०७० को दोस्रो संविधान सभाको निर्वाचनमा उनले काठमाडौं–१० र सिरहा–५ बाट निर्वाचन लडे। काठमाडौं–१० मा कांग्रेसका राजन केसीसँग पराजित हुँदा सिरहा–५ मा उनले मुस्किलले चुनाव जिते। त्यो समयमा निर्वाचनमा धाँधली भएको भन्दै मतपरिणाम बहिष्कार गर्ने चेतावनी समेत माओवादीले दिएको थियो।

०७४ मा प्रचण्ड चितवन- ३ पुगे। उनले राप्रपाका बलिया उम्मेदवार विक्रम पाण्डेलाई ९ हजार ३४१ मतले हराए। प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए।

तर चितवनमा हुनसक्ने विद्रोहले प्रचण्डले क्षेत्र सुरक्षित हुन सकिरहेका छैन।

प्रचण्डले सिन्धुली–२ र सिन्धुपाल्चोक–१ लगायतका माओवादी बलियो भएको क्षेत्रमा पनि नजर लागाइरहेका छन्। त्यसबाट हुनसक्ने शक्ति सन्तुलन र आकांक्षी व्यवस्थापन र गठबन्धनमा पार्ने प्रभावबारे लेखाजोखा भइरहेको छ।

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरमा प्रचण्डकी छोरी रेनु दाहालविरुद्ध कांग्रेसका जगन्नाथ पौडलेले बागी उम्मेदवारी दिएर १४ हजार ७२८ मत ल्याएका थिए। चितवन कांग्रेसका नेताहरुले पालैपालो बाउ–छोरी बोक्न नसकिने बताउँदा प्रचण्ड झस्किएका छन्।

आगामी निर्वाचनमा हुन सक्ने विद्रोह र त्यसको असरबारे प्रचण्ड लेखाजोखा गरिरहेको देखिन्छ।

विकल्पका क्षेत्र
गोरखा–१ मा माओवादी बलियो देखिँदै आएको छ। ०६४ देखि ०७४ सम्म माओवादी नै पहिलो हुँदै आएको यहाँ। स्थानीय निर्वाचनमा पनि माओवादी बलियो देखिएको थियो।

२०७४ को निर्वाचनमा सो क्षेत्रबाट हरिराज अधिकारी निर्वाचित भए। उनले नै प्रचण्डलाई गोरखाबाट निर्वाचन लड्न सुझाव दिएका हुन्।

प्रचण्डले सिन्धुली–२ र सिन्धुपाल्चोक–१ लगायतका माओवादी बलियो भएको क्षेत्रमा पनि नजर लागाइरहेका छन्। त्यसबाट हुनसक्ने शक्ति सन्तुलन र आकांक्षी व्यवस्थापन र गठबन्धनमा पार्ने प्रभावबारे लेखाजोखा भइरहेको छ।

०७४ को निर्वाचनमा सिन्धुली–२ मा माओवादीकै हरिबोल गजुरेल र सिन्धुपाल्चोक–१ मा अग्नि सापकोटाले जितेका थिए। सिन्धुपाल्चोक गठबन्धमा पनि किचलो हुनसक्ने भएकाले प्रचण्डलाई सिन्धुली- २ मा कम्फर्टेबल हुनसक्छ।

२८ साउन, २०७९, ११:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।