बञ्चरेमा फोहोरका गाडी तोडफोड गर्नेको खोजी जारी : प्रशासन

बञ्चरेमा फोहोरका गाडी तोडफोड गर्नेको खोजी जारी : प्रशासन

काठमाडौं : गएको आइतबार राति फोहोर व्यवस्थापनमा प्रयोग भएका सवारी साधन तोडफोड गर्ने व्यक्तिहरुको खोजी जारी रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।

स्थानीय प्रहरीले फोहोर उठाउने गाडीसहित अन्य सवारी साधनमा तोडफोड गर्ने व्यक्तिहरुको खोजी जारी राखेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए। 

 ‘प्रारम्भिक अनुसन्धान अनुसार घटना कसले गराएको भन्नेबारे लगभग पत्ता लागिसकेको छ,’ उनले भने,  ‘आरोपितको खोजी भइरहेको छ भने घटना किन र कसरी गरायो भन्नेबारे अनुसन्धान जारी छ। राति तोडफोड गरेको सूचनापश्चात् स्थानीय प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो।’

आइतबार राति धादिङ र नुवाकोटको सीमानजिकै नुवाकोट क्षेत्रमा राखिएका सवारी साधनमाथि तोडफोड भएको थियो। ती सवारी साधन तोडफोड गर्नेमा बन्चरे डाडाँका युवाहरु भएको आरोप लाग्दै आएको छ। 

घटनाको प्रमाणविना आफ्नो क्षेत्रका युवाहरुलाई प्रहरीले खोजी गरेको बन्चरेका एक स्थानीयले उकेरासँग बताएका छन्।

‘अस्ति राति गाडीहरु तोडफोड गर्नेहरु हाम्रो बन्चरेका युवाहरु भएको भन्दै नुवाकोटका फोहोरका गाडी चालकहरुले आरोप लगाएका रहेछन्,’ नाम ती स्थानीयले भने, ‘सोही आधारमा प्रहरीले उनीहरुको खोजी गरिरहेको छ। विना प्रमाण, आशंकाको आधारमा प्रहरीले ती युवाहरुको खोजी गरिरहेको छ। फोहोरको नाममा हामी सबैले दु:ख पाइरहेका छौं।’

जिल्ला प्रशासन कार्यालय धादिङले भने आरोपित पक्राउ एवं खोजीसम्बन्धी आफूहरुलाई कुनै पनि जानकारी नआएको र नीतिगत आधारमा फोहोर व्यवस्थापनमा सहजीकरणको लागि सुरक्षाकर्मी परिचालन गर्ने गरेको जनाएको छ।

धुनिवेशी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर तामाङले पनि पक्राउ एवं खोजीको लागि आफूहरुकहाँ आधिकारिक जानकारी नआएको बताए।

‘प्रहरीले बन्चरेका केही स्थानीय युवाहरुको खोजी गरिरहेको भन्ने खबर आएको छ। तर कुनै आधिकारिक जानकारी भने कुनै पनि निकायबाट आएको छैन,’ उनले भने। 

बन्चरेडाँडा ल्याण्डफिल साइटमा सुरुदेखि नै फोहोरमैला व्यवस्थापनको क्रममा आवश्यकता अनुसार बालाजु प्रहरी बृत्त खटिँदै आएको छ भने एपिएफको लागि निलबाराही गण खटिँदै आएको छ। 

आइतबार स्थानीयले आफ्ना माग पूरा नभएको भन्दै फोहोर लिएर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडिहरु अवरोध गरेका थिए। रात परेर फोहोर खन्याउन नपाएका सयौं गाडीहरु नुवाकोट र धादिङको सीमा क्षेत्रमा पार्किङमा राखिएको थियो।

पार्किङमा राखिएका दुई वटा डोजर, एक स्काभेटर र एक दर्जन बढी फोहोर बोकेका गाडीमाथि तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको छ। 

सो घटनापश्चात् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फेसबुकमार्फत स्टाटस लेख्दै फोहोर व्यवस्थापनका गाडी तोडफोड गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका थिए।

२७ साउन, २०७९, १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।