आरजुलाई सांसद बनाउन देउवाले डडेल्धुरा छाड्लान् !

आरजुलाई सांसद बनाउन देउवाले डडेल्धुरा छाड्लान् !

काठमाडौँ : प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा २०४८ सालदेखि प्रतिनिधि सभामा डडेल्धुराबाट प्रतिनिधित्व गर्दै आएका छन्। तर यस पटक उनी डडेल्धुरा छाड्ने रणनीतिमा छन्।

पार्टी नेतृत्वसँगै सरकारको नेतृत्व पनि अन्तिम कार्यकाल बनाउने तयारीमा रहेका उनी आफूपछि आरजु देउवालाई पार्टीसँगै संसदीय राजनीतिमा पनि स्थापित गराउन चाहन्छन्।

त्यसका लागि सुरक्षित डडेल्धुरा नेतृ आरजुका लागि छाडेर संसदीय निर्वाचनमा यस पटक उनी कञ्चनपुर क्षेत्र नम्बर २ वा ३ जान सक्छन्।

उनी २०६४ को संविधानसभा निर्वाचनमा कञ्चनपुरको तत्कालीन ४ नम्बर (हालको ३) र डडेल्धुराबाट निर्वाचित भएका थिए। २०७० मा कैलाली ६ सहित डडेल्धुराबाट समेत देउवा निर्वाचित हुँदा आरजु कैलाली क्षेत्र नम्बर ५ बाट पराजित भइन्।

पाँच दलीय गठबन्धनको सिट बाँडफाँड कार्यदलमा शीर्ष नेतालाई सुरक्षित गर्ने विषयमा छलफल भइरहेको छ। डडेल्धुरामा नेपाली कांग्रेस बिपीले माहोल बिगार्ने सम्भावना छ।

त्यसका लागि देउवा डडेल्धुराबाट कञ्चनपुर जानु जोखिम हुनसक्छ। त्यो बेलामा आरजुका लागि कञ्चनपुर छाड्न सक्छन्। चैतमा कैलाली पुगेर आरजुले आफू पुनः कैलाली क्षेत्र नम्बर ५ बाटै उम्मेदवारी दिने तयारीमा रहेको बताएकी थिइन्।

उनले बाँकेबाट पनि उम्मेदवार बन्न प्रस्ताव आएको खुलाएकी थिएन। प्रेस युनियनको कार्यक्रममा अरजुले भनेकी थिइन्, ‘कोहलपुरका साथीहरूले पनि बोलाउनुभएको छ। तर मैले ४/५ वर्षदेखि यहीँ काम गरिरहेकाले कैलालीबाटै उम्मेदवारी दिन्छु।’

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी आरजु पाँच हजार मतान्तरले पराजित भएकी थिइन्। उनी वाम गठबन्धनका एमाले उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन्।

एमालेका  राना २७ हजार २०२ मत पाएर विजयी भएका थिए आरजुले २२ हजार ३२२ मत ल्याएकी थिइन्।

निर्वाचनका लागि आरजु कैलाली, कञ्चनपुर र बर्दियाको  मतको लेखाजोखामा छिन्। अरजुलाई खतरा रहेको रिपोर्ट आएमा देउवाले डडेल्धुरा छाड्न सक्ने देउवा निकट स्रोत बताउँछ।

'सामान्य अवस्थामा त पार्टी सभापतिले डडेल्धुरा छाड्नु हुन्न। तर यस पटक आरजुको जित पनि प्राथमिकतामा रहेकाले समस्या देखिए डडेल्धुरा छाड्न सक्नुहुन्छ,' जिल्लाका एक नेताले भने।

यस्तो छ अवस्था
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा डडेल्धुरामा ७ वटा स्थानीय तह रहेकोमा पाँच पालिका कांग्रेसले जितेको छ।

वडाको मत हेर्दा कांग्रेस उम्मेदवार निर्वाचित पर्शुराम नगरपालिका बाहेकमा कांग्रेस अगाडि देखिन्छ।

स्थानीय तहका वडाध्यक्षका उम्मेदवारले स्थानीय तह निर्वाचनमा प्राप्त गरेको मत हेर्दा कांग्रेसको २१ हजार ७३५ मत देखिएको छ। यस्तै माओवादीले १२ हजार ८७८, एमालेले १० हजार ४४९, एकीकृत समाजवादीले ५ हजार ४१ मत ल्याएका छन्।

स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त गरेको मतअनुसार गठबन्धनमा रहेका दलको मत ३९ हजार ६५४ छ। एमालेभन्दा कांग्रेसको झन्डै ११ हजार बढी मत छ।

अलिताल गाउँपालिकामा वडाध्यक्षको मत हेर्दा कांग्रेस २ हजार २२९, माओवादी २ हजार १२९, एमाले २ हजार २२८ र एकीकृत समाजवादीले २३९ मत ल्याए।

गन्यापधुरा गाउँपालिकामा कांग्रेसले २ हजार ९४४, माओवाद ४८५, एमाले ७७६, एकीकृत समाजवादी ७०४ र कांग्रेस बिपीले १ हजार १४७ मत ल्याए।

अजयमेरु गाउँपालिकामा कांग्रेस २ हजार ६७१, माओवादी २ हजार ५०९, एमाले १ हजार २८४ र कांग्रेस बिपीले २९६ मत ल्याए।

परशुराम नगरपालिकामा कांग्रेस ४ हजार ५३८, माओवादी ५ हजार ३२०, एमाले ३ हजार ७८४ र कांग्रेस बिपीले ३२९ मत ल्याए। अमरगढी नगरपालिकामा कांग्रेस ३ जार ८९०, माओवादी ५१९, एमाले १ हजार १८२, एकीकृत समाजवादी १ हजार २४५ र कांग्रेस बिपीले १ हजार ७३ मत ल्याए। भागेश्वर गाउँपालिकामा कांग्रेस २ हजार ३७९, माओवादी ८७५, एमाले ७७० र एकीकृत समाजवादीले २७२ मत ल्याए।

स्थानीय तहमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले प्राप्त गरेको मत हेर्दा एक्ला एक्लै लडे पनि कांग्रेसलाई बढी मत जाने देखिन्छ। तर देउवाकै वडामा भने नेपाली कांग्रेस पराजित भएको थियो। 

जति सङ्कटमा नि हारेनन् देउवा
२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा देउवा २८ हजार ४४६ मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टले २१ हजार ४९८ मत ल्याएका थिए। २०७४ को सङ्घ र प्रदेशको निर्वाचनमा एमाले र माओवादीबीच चुनावी गठबन्धनमा रहेका थिए।

२०७४ मा ८१ हजार ७३६ मतदाता रहेकोमा ५४ हजार ६९ मत खसेको थियो भने ५१ हजार १२७ मत सदर भएको थियो। देउवाले ५५.६४ प्रतिशत मत पाएका थिए।

भट्टले ४२.०५ प्रतिशत मत पाउँदा राष्ट्रिय मुक्ति आन्दोलन नेपालका लक्ष्मीदत्त भट्टले ८५७ मत (१.६८ प्रतिशत), स्वतन्त्र उम्मेदवार कर्ण सिंह रावलले १४० (०.२७ प्रतिशत) राष्ट्रिय जनमोर्चाका लालबहादुर जाग्रीले १०३ (.२०) प्रतिशत र दलित पार्टीका रमेश टमाटाले ८३ मत (०.१६प्रतिशत) मत ल्याएका थिए।

अहिले कांग्रेस माओवादी एकीकृत समाजवादीको गठबन्धन रहँदा देउवालाई अन्य प्रतिस्पर्धीले चुनौती दिन सक्ने देखिँदैन।

२०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित देउवा ०६४ र ०७० सालमा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुरको तत्कालीन ४ नम्बर (हालको ३) कैलाली ६ बाट निर्वाचित भएका थिए।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा देउवा भारी मतान्तरले विजयी भए। उनले २३ हजार ९२० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टले १२ हजार ४९३ मत ल्याएका थिए।

एमालेका ताराप्रसाद जोशीले सात हजार १९० मत ल्याएका थिए। २०७० को मत हेर्दा एमाले माओवादीको मत जोड्दा पनि देउवाले पाएको मत बराबर पुग्दैन।

२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा पनि देउवाले भट्टलाई १ हजार ३ सय मतले पराजित गरेका थिए।

देउवा चतुर खेलाडीको रूपमा डडेल्धुरामा देखिँदै आएका छन्। उनले डडेल्धुरामा आफूमाथि खतरा बन्न पुगेकालाई पार्टी परिवर्तन गराई अन्य निर्वाचन क्षेत्रमा सिफ्ट गराउन सफल भए।

२०५१ को मध्यावधि चुनावमा राष्ट्रिय जनमोर्चाका खेमराज भट्ट ‘मायालु’ देउवालाई चुनौती दिए। जनमोर्चा बाहेक मूलधारको पार्टी एमालेमा प्रवेश गरे आफूलाई सधैँ अप्ठेरो पर्न सक्ने देखेर देउवाले भट्टलाई २०५६ मा कांग्रेस प्रवेश गराए। पछि उनलाई बर्दियाबाट निर्वाचित गराउन भूमिका खेले। 

२७ साउन, २०७९, १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।