लुम्बिनीमा सत्ता-गठबन्धनलाई अझै दरिलो बनाउने सहमति

लुम्बिनीमा सत्ता-गठबन्धनलाई अझै दरिलो बनाउने सहमति

बुटवल : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धनलाई अझै मजबुत बनाउन पाँच दलीय गठबन्धन दल सहमत भएका छन्।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यालय बुटवलको तामनगरमा आज बसेको सत्ता साझेदार दलको बैठकले आगामी निर्वाचनमा साझा उम्मेदवार तयार गर्नका लागि आ–आफ्नो पार्टीका तर्फबाट विस्तृत रिपोर्ट तयार गरी छलफल गर्ने निर्णय गरेको हो।

बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै विभिन्न कमी-कमजोरीका बाबजुद गठबन्धन सफल भएको निष्कर्ष पनि निकालेको नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए।

स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्र पुनः क्रियाशील बनाई बैठक र अन्तर्क्रिया अगाडि बढाउने निर्णय पनि आजको सो बैठकमा गरिएको छ।

गठबन्धन दलको केन्द्रबाट आउने निर्णय र निर्देशनलाई कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति पुनसहित नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, नेकपा समाजवादीका प्रदेश सचिव राजु गुरुङ, जसपाका प्रदेश अध्यक्ष अशोक यादव सहभागी थिए। बैठकमा राष्ट्रिय जनमोर्चा भने सहभागी थिएन।

२७ साउन, २०७९, १४:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।