चिनियाँ राजदूतलाई भेट्दै सभामुख सापकोटाले भने, 'नेपालको भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन दिँदैनौँ' 

चिनियाँ राजदूतलाई भेट्दै सभामुख सापकोटाले भने, 'नेपालको भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन दिँदैनौँ' 

काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। शुक्रबार उनहरूबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको छ।

सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे। उनले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने पनि बताए।

संयुक्त राष्ट्रसङ्घको वडापत्र तथा पञ्चशीलको सिद्धान्तअनुरूप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नुपर्ने धारणा उनले व्यक्त गरे।

यस्तै दुई देशबीचका व्यापारिक नाका सञ्चालन गराउने सम्बन्धमा पनि छलफल भएको छ।

भेटमा राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गरिन्। नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताका पक्षमा चीनले सदैव दृढ समर्थन गर्दै आएको उनले बताइन्।

राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।

२७ साउन, २०७९, १४:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।