एफबीआईको कार्यालयमा हतियारसहित प्रवेश गर्न खोज्ने एक जना मारिए

एफबीआईको कार्यालयमा हतियारसहित प्रवेश गर्न खोज्ने एक जना मारिए

एजेन्सीः अमेरिकाको सिन्सिनाटीस्थित सङ्घीय अनुसन्धान ब्यूरो (एफबीआई) को कार्यालयमा हतियारसहित प्रवेश गर्न खोज्ने एक जना मारिएका छन्। बिहीबार बिहान हतियार बोकेका ती व्यक्तिले एफबीआईको कार्यालयमा जबरजस्ती पस्ने प्रयास गरेको र कार्यालय प्रवेश पूर्वको सुरक्षा प्रक्रिया उल्लङ्घन गरेका थिए।

उनी र सुरक्षाकर्मीबीच केही बेर भनाभन भएको थियो। सुरक्षा अधिकारीहरूले सम्झाउने प्रयास गर्दा ती व्यक्तिले गोली चलाएपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको हो।

कानून कार्यान्वयन इकाईका अधिकारीहरूले ती व्यक्तिलाई छलफल तथा कम घातक रणनीति अपनाएर नियन्त्रणमा लिने प्रयास गरे पनि उनी त्यहाँबाट भागेको र पुनः पक्राउको प्रयास गर्दा गोली प्रहार गरेकाले उनको मृत्यु भएको हो।

एफबीआईको कार्यालयमा हतियारसहित प्रवेश गर्न उनको मनसाय के थियो भन्ने स्पष्ट भएको छैन। यसबारे अनुसन्धान भइरहेको छ।

यो घटना पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडा पामबिचस्थित निवासमा एफबीआईले छापा मारेको केही दिनपछि भएको हो।

२७ साउन, २०७९, १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।