भारी वर्षापछि प्राचीन सहर सानाका दर्जनौं ऐतिहासिक भवन भत्किए

भारी वर्षापछि प्राचीन सहर सानाका दर्जनौं ऐतिहासिक भवन भत्किए

यमन : निरन्तरको भारी वर्षापछि यमनको राजधानी सानाका दर्जनौं ऐतिहासिक भवन भत्किएका छन्। प्राचीन सहरको रुपमा चिनिने सानामा ४० भन्दा बढी ऐतिहासिक भवनहरु भत्किएका छन्। 

भारी वर्षापछि ४० भन्दा बढी घर पूर्ण रुपमा भत्किएका छन् भने ८० भन्दा बढी भवनमा गम्भीर क्षति पुगेको त्यहाँको हुथी विद्रोहीले जनाएको छ। 

प्राचीन सहर साना युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ। सो सहर करिब २५ सय वर्षअघि निर्माण भएको विश्वास गरिन्छ। साना सहरका भवन संरचनाहरु संसारकै विशिष्ट वास्तुकलामा आधारित छन्। 

यमनमा हुथी विद्रोही र सरकारबीच लामो सयमदेखि द्वन्द्व जारी छ। साना सहर विगत ८ वर्षदेखि हुथी विद्रोहीको कब्जामा छ। युद्धका कारण त्यहाँका भवनहरुमा आंशिक रुपमा क्षति पुगेको थियो। हाल भत्किएका भवनहरुको चाँडोभन्दा चाँडो पुनर्निर्माण गरिनुपर्ने बताइएको छ।

२६ साउन, २०७९, २०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।