‘काँडेतार' लाई नेताहरुको धाप

‘काँडेतार' लाई नेताहरुको धाप

काठमाडौं : अभिनेता नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ लाई राजनीतिक दलका नेताहरुले सफलताको शुभकामना दिएका छन्।

चलचित्र प्रदर्शनमा आउनुपूर्व निर्माण पक्षले आज ‘चलचित्र काँडेतार, नेपाल र छिमेकीसँगको सम्मुनत सम्बन्धको लागि प्रस्तावना’ कार्यक्रम आयोजना गरेको थियो। 

कार्यक्रममा एमाले नेता डा. भीमबहादुर रावल, माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ, कांग्रेस नेता रामहरि खतिवडा र नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले चलचित्रको सफलताको कामना गरेका हुन्। 

चलचित्र सफलताको शुभकामना दिँदै एमाले नेता रावलले भारतसँगको सिमाना नियमन तथा नियन्त्रण गर्नुपर्ने बताएका छन्। कार्यक्रममा उनले ‘शरीर देशको सीमाले बन्छ, जनता आत्मा हुन्, स्वाधिनताभित्र अस्तित्व रहन्छ, देशभक्ति उच्च झन’बोलको कविता वाचन गरेका थिए। 

माओवादी केन्द्रका नेता देव गुरुङले चलचित्रको माध्यमबाट राष्ट्रिय स्वाधिनताको रक्षाको लागि ठूलो योगदान पुगेको बताए। उनले भने, ‘म यो चलचित्रको सफलताको कामना गर्दछु। नेपालको स्वाधिनताको यात्रामा यो चलचित्र ऐतिहासिक कडीको रुपमा रहेको छ।’

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले नेपालले आफ्नो सिमानालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। उनले प्रत्येक नेपालीको मस्तिष्कमा सिमानाको रक्षाको लागि काँडेतार लगाउनुपर्ने बताए।

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेपालमा राष्ट्रियतामाथि प्रहार हुँदा सबै मिलेर त्यसलाई जोगाउने काम गरेको सुनाए। उनले भने, ‘जब राष्ट्रियतामाथि प्रहार हुन्छ, त्यसलाई जगाउनका लागि सबैले आ–आफ्नो सेक्टरबाट बचाउने प्रयास गर्नुहुन्छ। देशको राष्ट्रियता, एकता, अखण्डता, मातृभूमिको मायाप्रतिको माया हामीलाई अरुभन्दा धेरै लाग्छ।'

काँडेतारका नायक तथा निर्माता नवल खड्काले आफूहरुले देशको सिमाना रक्षाको लागि चलचत्रि बनाएको र वर्षौंदेखि अभियान चलाउँदै आएको सुनाए। उनले खुला सिमाना नेपालका लागि घातक छ भन्ने कुरा घामजत्तिकै छर्लङ भएको टिप्पणी गरे।

२६ साउन, २०७९, १८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।