मेयर बालेनसँग क्रुद्ध बञ्चरेका स्थानीय, फोहोर फाल्ने काम सधैँलाई बन्द गर्न पत्राचार

मेयर बालेनसँग क्रुद्ध बञ्चरेका स्थानीय, फोहोर फाल्ने काम सधैँलाई बन्द गर्न पत्राचार

काठमाडौंको फोहोर विसर्जन गर्ने विषय फेरि विवादित बनेको छ। फोहोर लिएर गएका गाडीहरूलाई स्थानीयले अवरोध र केही समूहले तोडफोड गरेपछि यसले पुनः फोहोरको विवादलाई सतहमा ल्याइदिएको छ।

नुवाकोट र धादिङको सिमानामा रोकिएका झन्डै १७ वटा गाडीहरूमाथि सोमबार राति तोडफोड भएको थियो। फोहोर विसर्जनस्थलमा अवरोध भएपछि काठमाडौंमा फोहोरको समस्या पुनः बल्झिएको छ।

उता धुनिबेंशी नगरपालिकाका स्थानीयले भने जति नै पटक सम्झौता गरे पनि आफ्ना माग पूरा नहुने भएकोले अब फोहोर विसर्जनको बाटो सधैँका लागि बन्द गर्ने अडान लिएका छन्।

महानगरका नयाँ मेयर बालेन्द्र शाहले झिनो आश जगाएको भए पनि त्यो पनि मर्दै गएको भन्दै स्थानीयहरू थप क्रुद्ध भएका छन्। ‘मेयर बालेन शाहलाई काममा सहज होस् भन्दै हामीले १८ बुँदे सम्झौता गरेका थियौँ। त्यो सम्झौता सम्बोधनको लागि हामीले उनलाई समयसीमा दिएका थियौँ’ बञ्चरेडाँडाका स्थानीय दिनेश कार्कीले भने, ‘पहिलो महिनामा यो काम, दोस्रो महिनामा यो काम, तेस्रो महिनामा यो काम सम्पन्न गर्ने भन्दै बालेन स्वयम्‌ले हामीलाई बचन दिनुभएको थियो। तर यहाँ सम्झौताअनुसार कुनै पनि काम भएनन्। हामीलाई सधैँ निराश बनाइयो। त्यसैले अब मागहरूलाई यहीँ थाती राखी फोहोर फाल्न सदाका लागि बन्द गरिनुपर्छ भन्ने तरिकाले स्थानीयहरूले पूर्ण रूपमा अभियान चलाएका छन्। बरू ज्यानै जाओस्, अब हामीले यहाँ सदाका लागि फोहोर फाल्न बन्द गराउनेछौँ।’

सिसडोल र बञ्चरेका बासिन्दाले फोहोर व्यवस्थापन सम्बन्धी दीगो समाधानको माग राख्दै पटक पटक विभिन्न आन्दोलन गर्दै आएका छन्। पछिल्लो समय उनीहरूले तत्कालका लागि काठमाडौं महानगरपालिकालगायत सम्बन्धित निकायहरूसँग लिच्चड नचुहिनेगरी फोहोर बोक्ने गाडीमा ट्यांकी बनाइदिन, दुर्गन्ध फैलिन नदिन औषधिको व्यवस्था र हिलो र धुलो रोक्नेगरी फोहोर विसर्जन गरिदिन आग्रह गरेका थिए। तर त्यसमध्ये कुनै पनि कार्य नगरिएको कार्कीले बताए।

‘झट्ट सुन्दा यहाँको स्थानीयले बालेनलाई काम गर्न दिएनन् भन्ने धारणा बन्छ। तर त्यहाँको वास्तविक पीडा फरक छ। हामी सबैले बालेनलाई साथ दिएका हौँ, सहज बनाइदिएका हौँ’, उनले भने।

दुई तीन महिना बितिसक्दा पनि तत्काल दुर्गन्ध हटाउनेगरी औषधि हालिने भनिएको बाचा पनि पूरा नभएको उनले बताए। 'यहाँको मान्छेले खोजेको नतिजा हो। हामीले कुनै पनि किसिमको नतिजा भेटेनौँ। आफू जन्मे हुर्केको ठाउँको हामीलाई अलग्गै माया छ। फोहोरसँग त्यो सबै साट्न सक्दैनौँ', उनले भने, 'त्यसैले अब हामीलाई कुनै पनि माग चाहिँदैन, फोहोर सधैँका लागि बन्द गरिदिए पुग्छ। हामी आफ्नो बाटो, आफ्नो गाउँ आफैँ बनाउँछौँ।'

फोहोर व्यवस्थापनको नाममा देखाइने प्रलोभनमा नपर्ने र आफ्नो काम छोडी पटक पटक आन्दोलनमा नआउने पनि उनले बताए।

'फोहोरको कारण नुवाकोट र धादिङविच झगडा होलाजस्तो भयो'
फोहोरका गाडी तोडफोडको घटनाले दुई जिल्लाबीच झगडाको अवस्था सिर्जना भएको स्थानीय हरि लामाले बताए।

‘फोहोरको गाडी चालक नुवाकोटको भाइहरू रहेछन्। बाटो नै छेकिनेगरी राखिएका फोहोरका गाडीहरू तोडफोड गर्ने धादिङेहरू हो भन्ने उनीहरूको बुझाइ रहेछ’, उनले भने, ‘फोहोरकै कारण धादिङ र नुवाकोटबीच झगडा पर्लाजस्तो अवस्था पो आयो त।'

सोमबार दिउँसो फोहोर विसर्जन गर्न नपाएका गाडीहरूलाई नुवाकोटका चालकले धादिङ र नुवाकोटको सिमानामा राखेका उनले बताए। 'गाडीले बाटो छेकेका रहेछन्। जसले जे गरे पनि गाडीहरू तोडफोड गर्न त नहुने हो’, उनले भने।

उनका अनुसार अहिलेसम्म पनि फोहोरका गाडीहरू बाटोमै छन्। मान्छे छिर्न समेत नसक्नेगरी फोहोरको गाडीले बाटो बन्द गराएको छ।सोमबार दिउँसोसम्म प्रहरी परिचालन गरेर ६० वटा गाडीको फोहोर बञ्चरेमा विसर्जन गरिएको थियो। माग पूरा नभई फोहोर फाल्दा स्थानीयहरू आक्रोशित बनेका थिए।

यहाँ फोहोर फाल्न सुरु गरेदेखि १७४ भन्दा बढी सहमति भइसकेको तर दुई चार वटाभन्दा बढी काम नभएकाले यस्तो अवस्था आएको लामाको भनाइ छ। 

उनले भने, ‘सहमति गरे पनि कुनै पनि कार्यान्वयन नहुने भएपछि यो अवस्था आएको हो। बत्ति, बाटो, स्वास्थ्य ,शिक्षा लगायत थुप्रै मागहरू सम्बोधन गर्ने भनेका थिए र पनि अहिलेसम्म झिँगा पनि मरेन। बालेनप्रति आशा थियो उनले पनि कुनै पनि सुरुवात गर्न सकेनन्। यहाँको स्थानीयलाई पापा दिँदै लोभ्याउने तर केही पनि नदिनेजस्तो मात्र भयो।’

वडाध्यक्ष भन्छन्, ‘सहजीकरण गर्न खोज्दा झनै अप्ठ्यारो भयो’
पछिल्लो समय फोहोरको कारण उत्पन्न विवाद धादिङको धुनिबेंशीमा अवस्थित बञ्चरेडाँडाको हो। 

त्यहाँका स्थानीयले फोहोरको दुर्गन्ध झनै फैलिएको, लिच्चड खोलामा बगेको भन्दै औषधि छर्किदिन आग्रह गर्दै हप्तादिनदेखि फोहोर फाल्न अवरोध गरिहेका थिए। 

अवरोध भएपछि धुनीबेंशी नगरपालिका वडा न १ का अध्यक्ष मानबहादुर तामाङले सहजीकरणको वातावरण बनाउन सघाएका थिए। त्यसपश्चात काठमाडौंबाट गएका फोहोरका गाडी बञ्चरे पुगेका थिए। तर स्थानीयहरू पछि हटेका थिएनन्।

दुई दिनअघि मात्र वडाध्यक्ष तामाङले स्थानीय प्रहरी प्रशासनको उपस्थितिमा स्थानीयहरूलाई अवरोध नगर्न आग्रह गरेका थिए। तर आक्रोशित स्थानीयले वडा कार्यालय समेत घेरे।

माहोल सहजीकरण गर्न खोज्दा पनि उपाय नलागेको वडाध्यक्ष तामाङले बताए। ‘भोलि आन्दोलन भयावह नबनोस् भन्दै स्थानीयको माग लिएर मैले महानगरपालिकासमक्ष पटक पटक जस्ताको त्यस्तै जानकारी पनि गराइसकेको थिएँ। त्यसपछि स्थानीयलाई भोलिबाट व्यवस्थापन हुन्छ आजलाई छोडिदिनुस् भन्दै सम्झाउन खोजेको थिएँ’, उनले भने, ‘तर स्थानीयले यसमा तपाईंको पनि मिलेमतो हो भन्दै जाइलाग्नुभयो। माग सुनुवाइ नभएपछि अस्तिदेखि स्थानीयले पुनः फोहोर रोक्नुभयो।’ 

काठमाडौं महानगरपालिकाले हालसम्म कुनै पनि सम्झौता कार्यान्वयन नगरेको र हालसम्म भएका प्रगति विवरण समेत उपलब्ध नगराएको तामाङको भनाइ छ।

वडा न १ कार्यालयका अनुसार स्थानीयहरूले सदाका लागि फोहोर बन्द गर्न अनुरोध गरेका छन्। धुनीबेंशी नगरपालिका र काठमाडौं महानगरपालिकालाई पत्र पठाइसकिएको छ।

वडाध्यक्ष तामाङका अनुसार आइतबार महानगरपालिकाले प्रहरी परिचालन गराएर झण्डै ८० ट्रक फोहोर बञ्चरेमा विसर्जन गराएको थियो। 

स्थानीय र प्रहरीबीच लाठीचार्ज र ढुंगामुढा पनि भएको थियो। यद्यपि, सोमबार राति फोहोरको गाडी तोडफोड गर्नेहरू भने अझै पहिचान हुनसकेका छैनन्।

२६ साउन, २०७९, १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।