उकेरा एंकर

राजेन्द्र र ध्रुवको जीवनमा जुरेको दुर्लभ सुखद संयोग

बढुवा हुने रे भन्ने हेडक्वार्टरमा गाइँगुइँ चल्दा भित्री मनमा यो पाली त पक्कै नछुट्ला नाम भन्ने लागेको रहेछ राजेन्द्रलाई। प्राविधिकतिर पनि डिएसपीको पद रिक्त थियो। ध्रुवलाई पनि बढुवा होला कि भन्ने लागेको त रहेछ। तर पक्का रहेनछ।


तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौँ : बानेश्वर चोकको हिमालयन जाभा। बिहानै भएर होला सडकमा पातलो थियो चहल पहल। भेट्ने समय सात बजे तोकिएकाले पौने सातमै पुगे। करिब १५ मिनेटपछि २ जना मैतिर आए। एक जना भर्खरकै थिए। अर्का प्रौढ उमेरका। प्रौढ गाढा निलो सर्टमा थिए। युवा आकाशे रङको टिसर्टमा। पाइन्टको कलर पनि मिलाएर लगाएका। प्रौढको गाढा खैरो। युवाको हल्का खैरो।

'नमस्कार'

दुवैले एकै पटक नमस्कार फर्काएर सँगैको सोफामा बसे हल्का दुरी कायम गरेर।

OOO

यी दुवै हुन अहिलेका भाइरल बाबु-छोरा राजेन्द्र अनि ध्रुव अधिकारी। दुवै नेपाल प्रहरीमा कार्यरत छन्। संयोग यस पटक सङ्गठनले बढुवा निकाल्दा बाबु-छोरा एकै पटक डिएसपीमा बढुवा भए। एकै दिन दर्ज्यानी चिन्ह लगाए। सुरक्षा सङ्गठनमा एकै परिवारका २ वा तीन सदस्य हुनु नौलो हैन। श्रीमान्-श्रीमती नै प्रहरी हुनु पनि अनौठो हैन। तर एकै परिवारका २ सदस्य, एक जना २०५१ मा भर्ना भएको अनि अर्को २०७५ मा। तर दुवै एकै पटक डिएसपीमा बढुवा भएको संयोग भने दुर्लभै हो प्रहरी सङ्गठनमा।

यी बाबु-छोराको अनुभूति कस्तो छ होला? यही खुल्दुली मेट्न दुबैलाई कफी खाने बहानामा भेट्न खोजेको थिएँ। स्विकारे पनि।

'दुवै जनाले एकै दिन डिएसपीको फुली लगाउँदा कस्तो लाग्यो ?'

पल्याकपुलुक एक अर्काको अनुहारतिर हेर्दै जवाफ दिए 'रमाइलो नि।' यत्ति आयो जवाफ। जवाफमा मिठास थिएन। प्रहरी त परे।

करिब एक घण्टा मज्जाले कुरा भयो दुवै जनासँग। तर अधिकांश जवाफ हो र हैन भन्नेमा आयो। त्यसमा पनि छोरा एकदम कम बोल्ने। अधिकांश प्रश्नको उत्तरमा हल्का हाँस्ने कहिले हो-हो भन्ने। कहिले टाउको हल्लाउने। दुवै बहालवाला प्रहरी। त्यसमा पनि बाबु-छोरा। प्राय 'हस् सर' भन्ने बानी परेकाबाट आउने उत्तर यस्तै त हो। तर मलाई बानी परेको थिएन छोटो उत्तरमा। फिचर लेख्ने भनेको, हो र हैन भन्ने बाहेक छैन त! यस्तो पाराले के लेख्ने होला? हल्का तनाव त हुने नै भयो।

OOO

कास्कीको माछापुच्छ्रे गाउँपालिका लाहाचोकका राजेन्द्रको बाबु सुरक्षाकर्मी नै थिए। तर नेपालको हैन भारतको। उनका बाबु नरपति अधिकारी भारतीय सेनामा भर्ना भए। उनी जेठो सन्तान।

गाउँकै स्कुलमा विद्यालयको पढाइ सकेर उनी पोखरा झरे क्याम्पस पढ्न। २०४४ मा पृथ्वीनारायण क्याम्पसमा भर्ना भए। ०४६ सालको आन्दोलनले परीक्षामा प्रभाव पर्‍यो। समयमा परीक्षा नहुँदा दुई वर्षे कोर्स सकिन ३ वर्ष लाग्यो। ०५० मा उनले स्नातक सके मानविकीमा।

उनका बुबाको इच्छा छोरा आफूजस्तै भारतीय सेनामा गइदिए हुन्थ्यो भन्ने रहेछ। राजेन्द्रलाई भने भारत जान फिटिक्कै मन नपर्ने।

'सरकारी जागिर खाने तर देशमै भन्ने थियो मनमा,' उनले भने' लोकसेवा कहिले खुल्ला र परीक्षा दिउँला भनेर बसेँ।'

नेपाल प्रहरीले असई पदमा भर्ना खोलेको चाल पाए लगत्तै उनले आवेदन दिए। स्नातक उत्तीर्ण उनी प्रहरी निरीक्षकमै आवेदन दिन योग्य थिए। तर पहिला जे पदमा खुल्यो त्यसैमा आवेदन दिए। उनको चाहना पुरा भयो। २०५१ मा उनको काँधमा एक तारा आइपुग्यो।

OOO

राजेन्द्रको कान्छा छोरा ध्रुवले पोखराको मदरल्याण्ड विद्यालयबाट एसएलसी दिए। दाजुभाइकै रुचि खेलकुदमा। फुटबल र क्रिकेट भनेपछि दुवै हुरुक्कै। राजेन्द्रले एक दिन' कि राम्रोसँग पढ्ने कि खेलकुदतिरै लाग्ने। दुबैतिर सफल भइँदैन' भने। दाजुभाइले के सोचे कुन्नि, पढाइमा रमाए। खेल्न चटक्कै छाडिदिए।

ध्रुव सिभिल इन्जीनीयरीङतिर गए। मास्टर्स पढ्दै गरेका उनले काम खोजिरहेका थिए। उनलाई पनि बाबुझैँ विदेश जान मनै नलाग्ने। यतै बस्छु भन्ने सोच रहेछ

‘मलाई विदेश जान मन थिएन। बुबाले पढाइ सक्काएर जुनसुकै सरकारी काममा भए पनि परीक्षा दिन्छु भने जस्तै मेरो पनि उही सोच थियो। संयोगले नेपाल प्रहरीमै आए' उनले भने।

प्रहरीमा प्राविधिकतर्फ प्रहरी निरीक्षकको भर्ना खुलेपछि उनले बाबुलाई सोधे। आवेदन दिए। २०७५ मा उनको काँधमा क्रस खुकुरीको दर्ज्यानी चिन्ह लाग्यो। बाबु-छोरा दुवै एकै सङ्गठनमा। तर बाबु जनपद समूहका छोरा प्राविधिक।

‘बुबाले पढ्नुपर्छ भनेपछि पढाइमा मन रमायो,’ धुब्रले भने, ‘अहिले आएर राम्रै गरिएछ भन्ने लागेको छ।’

OOO

अधिकारीका बाबुछोराको जीवनमा अझै धेरै संयोग जुर्न बाँकी नै रहेछ। दोस्रो संयोग त्यस्तै भयो।

असइको तालिम समेत पास भएपछि २०५२ असोज १६ गते राजेन्द्रको पहिलो पोस्टिङ निस्कियो रुकुम। उनी रवाना पत्र गोजीमा राखेर झिटीझ्याम्टा कसेर लागे रुकुमतिर। जब उनी रुकुम पुगे त्यति विकट ठाउँ पनि आफ्नै देशमा छ भन्ने पहिलो पटक देखे रे।

भन्न त रुकुम भनियो। तर उनको पोस्टिङ भएको स्थान जाङमा पुग्न सदरमुकाम मुसिकोटबाट दुई दिन त  हिँड्नै पर्ने। बिचबिचमा नदीहरू। भर्खरै वर्षा सकिएको। सानी भेरी सानो थिएन। नदी तर्न घाट (तुइन) जस्तै तर तुइन होइन घाट। उनी त्यसमा तुर्लुङ्ग झुन्डिएर नदी तरेर जाङ पुगे। रवाना पत्र बुझाएर ड्युटी बुझे।

राजेन्द्रका बाले सानैमा उनको विवाह गरिदिए ४७ सालमै कमला अधिकारीसँग। उनका दुई सन्तान भए। सुशील अधिकारी र धुब्र अधिकारी।

उनी रुकुम पुगेको ५ महिनापछि नै तत्कालीन विद्रोही माओवादीले सशस्त्र सघंर्ष सुरु गर्‍यौ। सघंर्षको केन्द्रबिन्दु रुकुम, रोल्पा नै थियो। उनी त्यही बसेको बेला घटना घट्यो। माओवादीले खाराका नेपाली कांग्रेसबाट निर्वाचित तत्कालीन गाविस अध्यक्ष टेकबहादुर ओलीको हत्या गरेको खबर आयो।

प्रहरीको तालिम सक्काएर भर्खरै फिल्डमा खटिएको बेला थियो। चौकी प्रमुख सहित घटनाको अनुसन्धान गर्न उनी घटनास्थलमै जानुपर्ने भयो। ओलीको शव सग्लो थिएन। टुक्रैटुक्रा। एउटा हो र ३ सय जति टुक्रा। उनको मनै भरङ भयो। पहिलो पटक दुर्गम क्षेत्र देखेका उनले यति क्रूर मान्छे नि हुन्छन् भनेर पनि पहिलो पटक प्रत्यक्ष देखे।

शवका सबै टुक्रा उठाएर पोको पारेर पोस्टमार्टमका लागि बोकेर फर्कियो उनीसँगै गएको प्रहरी टोली।

‘त्यो शवको अवस्था देख्दा जो कोहीको आङै सिरिङ हुन्छ,’ राजेन्द्रले भने  ‘प्रहरीको जिम्मेवारी कति ठुलो हुने रहेछ, भावना लुकाएर कसरी काम गर्नुपर्ने रहेछ भन्ने त्यो घटनाले सिकायो मलाई।’

उनी त्यहाँ एक वर्ष बसे। तालिमका लागि काठमाडौँ फर्किए।

OOO

प्रहरी सेवामा प्रवेश गरेको तीन वर्षपछि ध्रुवलाई प्रहरी चौकी बनाउने जिम्मेवारी आइपुग्यो। २०७८ मा उनी जहाँको चौकी बनाउन गएका थिए त्यो ठाउँ उनको बुबा राजेन्द्रको पहिलो पोस्टिङ भएको जाङ नै थियो।

‘२६ वर्ष अघि बुबाको जहाँ पहिलो पोस्टिङ भएको थियो संयोग म त्यही चौकीको भवन बनाउन पुगे,’उनले भने, ‘बाबा त्यो बेला घाट तरेर जानु भएको थियो। म पुल तरेर गएँ। ३ घण्टा हिँड्नु परेको थियो।'

कुरा गर्दागर्दै उनले गोजीबाट मोबाइल निकालेर ग्यालरीतिर गए अनि जाङको नयाँ प्रहरी चौकीको तस्बिर देखाए। प्रहरी चौकी देखाउँदा उनको अनुहार हल्का उज्यालो देखियो। प्रहरी चौकी हैन उनले आफ्नो बाबु बसेको घर देखाए जस्तै रमाइरहेका थिए।

‘मलाई यो पनि प्रहरी बन्छ भन्ने लागेकै थिएन,’ राजेन्द्रले भने, ‘आखिरमा छोरो पनि प्रहरी भयो। बा भारतीय फौजमा गए पनि सुरक्षाकर्मी नै हुनुभयो। छोरा पनि प्रहरी हुँदा तीन पुस्ता नै सुरक्षा क्षेत्रमा लागियो,' राजेन्द्रले खुसी हुँदै भने' यो जुन साल जन्मेको हो त्यही साल त हो म प्रहरीमा गएको पनि। धेरै संयोग मिलेको छ हाम्रो।'

OOO

ध्रुव सङ्गठनमा प्रवेश गर्दा नै प्रहरी निरीक्षक भए। राजेन्द्रका लागि भने लामै समय लाग्यो छोरा बराबरको दर्ज्यानी चिन्ह लगाउन पनि। २०५७ सालमा उनी सई भए। अनि २०६७ सालमा बल्ल प्रहरी निरीक्षक। दर्ज्यानी पाएको १२ वर्ष हुँदा पनि डिएसपी हुन पाइरहेका थिएनन्। ध्रुव त बल्ल चार वर्ष त भएको थियो सङ्गठनमै छिरेको।

बढुवा हुने रे भन्ने हेडक्वार्टरमा गाइँगुइँ चल्दा भित्री मनमा यो पाली त पक्कै नछुट्ला नाम भन्ने लागेको रहेछ राजेन्द्रलाई। प्राविधिकतिर पनि डिएसपीको पद रिक्त थियो। ध्रुवलाई पनि बढुवा होला कि भन्ने लागेको त रहेछ। तर पक्का रहेनछ।

साउन १ गते प्राविधिकतर्फको इन्जिनियरिङ समूहको प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक(डिएसपी) मा बढुवाको सिफारिस सूची सार्वजनिक भयो। तीन जनाको नाम सिफारिस हुँदा पहिलो नम्बरमा थिए ध्रुव। उता बाबुको बढुवाको ठेगान भने थिएन। छोरा डिएसपी हुने पक्का भयो।

साउन २ गते जनपद समूहतर्फ पनि प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिसमा परेका ३४ जनाको नाम सार्वजनिक भयो। क्रमसङ्ख्या ३१ नम्बरको नाम थियो राजेन्द्र अधिकारी। दुवै मक्खै। बाउ-छोरै डिएसपी। त्यो पनि एकै पटक। अर्को सुखद संयोग।

 ‘बाउ-छोरा एकै पटक डिएसपी भइएला भन्ने त सोचेकै थिइन,’राजेन्द्रले भने, ‘एकै पटक डिएसपी हुँदाको खुसी कसरी भन्नु!'

OOO

यता बुबा फिल्डमा। ध्रुव आफ्नो दाइ र आमासँग पोखरामा। बुबा कहिलेकाहीँ घर आउने। उनी आमासँगै झुम्मिएर हुर्किए।

'बुबा सधैँ फिल्डमा। आमाले नै सबै कुरा पुरा गर्नुभयो। तर मत्त्याउनु पनि भएन’ बुबा राजेन्द्रको मुखतिर हेर्दै ध्रुवले भने।

‘मलाई त छोराहरू कसरी हुर्किए समेत थाहै भएन हो। सबै श्रीमतीको देन हो। म त फिल्डमा खटिएको खटियै भए नि’ राजेन्द्रले पनि उसैगरी छोरातिर हेर्दै भने।

अहिले त बाबु-छोरा सँगै छन् ती। के-के थाहा रहेछ राजेन्द्रलाई छोराबारे! सोध्न मन लाग्यो।

 ‘छोरालाई मन पर्ने के चिज किनेर लगिदिनु भएको छ?’

हाँस्दै राजेन्द्रले भने, ‘यही भन्ने त छैन। सानोमा आमासँग गएर किन भन्थे। अहिले उनीहरू आफैँ किन्छन्।’

‘छोरालाई के-के खान मन पर्छ थाहा छ त?’

 ‘सबै मिठो मानेर खाए जस्तो लाग्छ’ उनी फेरि हाँसे।

 ‘भनेपछि छोराहरूको बारे धेरै कुरा थाहा छैन?’

उकेराको प्रश्नमा उनले भने, ‘घर नबसेसी थाहा हुन्न रैछ।’

अब छोराको पालो आयो।

‘तपाईँको बुबालाई के मन पर्छ नि?’

‘दूधका परिकार धेरै मन पर्छ’ ध्रुवले प्याट्टै भने।

 ‘अनि लगाउन न नि?’

‘जिन्सहरू।’

 ‘अनि छोरालाई त तपाईँबारे थाहा रहेछ त!'

राजेन्द्र उस्तै गरी हाँसे मात्र।

OOO

राजेन्द्रको अवकाशको लागि अब २ वर्ष मात्रै बाँकी छ। अवकाशपछि सामाजिक काम गर्ने सोचमा छन् उनी। ‘राजनीति त गर्दिन तर समाजसँग अझ डुबेर काम गर्न मन छ,’राजेन्द्रले भने, ‘अवकाशपछि सायद सामाजिक काम नै गर्छु।’

४ अघि वर्ष मात्रै प्रहरी सेवामा प्रवेश गरेका ध्रुव सङ्गठनमा बसेर उत्कृष्ट काम गर्न चाहन्छन्।

‘काम गर्दै जाँदा पदहरू त आइहाल्छन् नै। म कर्ममा विश्वास गर्छु’ ध्रुवले भने।

कुराकानी सक्कियो।

'हस् त नमस्ते।'

कफीको पैसा तिरेर हामी आ-आफ्नै बाटो लाग्यौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

जसको मतदान गर्ने धोको छ, तर पाउँदैनन्

विमलालाई मतदान गर्ने भने ठूलो सपना छ। तर मतदाता परिचयपत्र बनाउन परिवाले नै चासो नदिँदा सपना अधुरै छ।  ‘आफूले चाहेको नेतालाई मतदान गर्न पाइन्छ भन्ने....

उकेराको प्रतिबद्धता: तथ्यको खोजी अनि सत्यको गोडमेल

तेस्रो वर्ष प्रवेश गर्दै गर्दा 'यो उकेरा भनेको के हो?' भन्ने प्रश्नभन्दा नयाँ पाठकसँग साक्षात्कार हुँदा 'ए उकेराबाट, राम्रो छ सामग्री' भन्ने चरणमा प्रवेश गर्नसक्नु....

माछापुच्छ्रे बैंक रकम हिनामिना प्रकरण: राष्ट्र बैंकले थाल्यो स्थलगत अनुसन्धान, पीडित भन्छन्- आरोपितलाई पूर्वमन्त्री शुक्लाको छ संरक्षण

त्यसपछि स्थलगत अनुसन्धानका लागि पुगेका नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख उप–निर्देशक दीपक अधिकारी, नेपाल राष्ट्र बैंक भैरहवाका उप–निर्देशक जीवन प्रकाश पाण्डे र सह–निर्देशक....

माछापुच्छ्रे बैंकको व्यवस्थापन र एजेन्टको कर्तुत: हातमा पैसा जम्मा गरेको भौचर छ, खाता भने रित्तै

उक्त बैंक खातामा गाउँपालिकाका वडा नम्बर ५, ७ र अन्य वडाका स्थानीयहरूले रकम जम्मा गरेका थिए। अहिले पीडित स्थानीयहरू आफ्नो पैसा खोजीको माग गर्दै दिनहुँजसो....

राष्ट्रिय मुद्रा सङ्ग्रहालयमा छ फुकादामदेखि दोलखाको ’वान पिस’ चाँदीको मुद्रासम्म

वि.सं. २०१९ पुस १ मा तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहले हनुमानढोका दरबार परिसरभित्र राष्ट्रिय मुद्रा सङ्ग्रहालयको स्थापना गराएका थिए। छाउनीको सङ्ग्रहालय त्यसैको विस्तारित आकार....