मेयरका छोरालाई अहेव, ज्वाइँलाई सब-इन्जिनियर र अधिकृतका सालालाई कम्प्युटर अपरेटरको जागिर  लगाएपछि लुम्बिनीमा विवाद

मेयरका छोरालाई अहेव, ज्वाइँलाई सब-इन्जिनियर र अधिकृतका सालालाई कम्प्युटर अपरेटरको जागिर  लगाएपछि लुम्बिनीमा विवाद

बुटवल : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मनपरी ढंगले अस्थायी कर्मचारी नियुक्ति गरिएको पाइएको छ।

करार कर्मचारी नियुक्तिमा नगर प्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले कुनै प्रक्रिया पूरा नगरी आफन्त र आफू निकटका कर्मचारीलाई नियुक्ति गरेका छन्।

नगर प्रमुख मुसलमान र प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले कुनै प्रक्रिया पूरा नगरी पुराना कर्मचारीलाई समेत हटाउने र आफन्त र आफू निकटका कर्मचारीलाई भर्ना गरेपछि अहिले नगरपालिकामा विवाद उत्पन्न भएको छ। उत्पन्न विवाद समाधान नहुँदा कार्यालयको कामकाज भद्रगोल बनेको छ।

साउन १ गतेदेखि विवादित बनेको नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिहरुबीचको आपसी द्वन्द्वले सेवाग्राही मर्कामा परेका छन्।

नगर प्रमुख सजरुद्धिन मुसलमानले नगरपालिकाको वडा नम्बर–३ को अहेवमा आफ्ना छोरा जमिल अहमद खाँन र वडा नम्बर ६ को सब–इन्जिनियरमा ज्वाइँ जाबेद आलम खानलाई करारमा नियुक्त गरेका छन्। 

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले आफ्ना साला विभास त्रिपाठीलाई कम्प्युटर अपरेटर (प्राविधिक सहायक पाँचौ तह) मा नियुक्ति दिलाएको उपप्रमुख कल्पना हरिजनले बताइन्।

उनले फर्जी निर्णय गराएर पुराना करारका दक्ष र क्षमतावान कर्मचारीलाई हटाएर आफ्ना छोरा र ज्वाइँसहित १३ जना नयाँ कर्मचारी भर्ना गरेको बताइन्।

गत असार ३० गतेको नगर सभामा कर्मचारी हटाउने र नयाँ नियुक्त गर्ने विषयमा कुनै प्रस्ताव र छलफल समेत नगरी असार ३१ गतेको कार्यपालिका बैठकको निर्णय भन्दै साउन १ गतेदेखि पुराना ९ जना करारका कर्मचारी हटाएर कुनै प्रक्रिया समेत पूरा नगरी साउन १५ गतेदेखि १३ जना नयाँ कर्मचारी भर्ना गरेको उनको भनाइ छ।

नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी ढंगले काम गरेको भन्दै उप्रमुख सहित कार्यपालिकाका १३ जना सदस्यले अहिले विरोध जनाएका छन्।

२३ जनाको कार्यपालिका रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकामा जनप्रतिनिधिहरु दुई खेमामा विभाजित भएर आरोप/प्रत्यारोपमा लागेका छन्।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले भने वडामा सचिव नभएका कारण भएका जनशक्तिबाटै व्यवस्थापन गर्नका लागि सो निर्णय गरिएको दाबी गरेका छन्।

साउन २० गतेका दिन कार्यालय समय सकिएपछि पनि विभिन्न निर्णय गरिएको कुरालाई स्वीकार गर्दै उनले पूर्वाग्रहभन्दा पनि आवश्यकता अनुसार गरिएको दावी गरे।

२४ साउन, २०७९, २१:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।