गण्डकी प्रदेशमा एक वर्षमा ४०८ सवारी दुर्घटना, २५५ जनाको मृत्यु

गण्डकी प्रदेशमा एक वर्षमा ४०८ सवारी दुर्घटना, २५५ जनाको मृत्यु

पोखराः गण्डकी प्रदेशमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी २५५ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशका ११ जिल्लामध्ये मनाङ बाहेकका १० वटा जिल्लामा भएका विभिन्न ४०८ सवारी दुर्घटनामा २५५ जनाको मृत्यु भएको हो।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराको विवरणअनुसार सबैभन्दा बढी ९८ सवारी दुर्घटना कास्कीमा भएको छ। सबैभन्दा बढी ५६ जनाको मृत्यु पनि कास्कीमै भएको छ। ५६ मध्ये ४६ जना पुरुष, ८ महिला र दुई जना बालक रहेका छन्।

यस्तै नवलपरासीपूर्व दुर्घटना बढी हुने दास्रो जिल्लामा रहेको छ। त्यहाँ गत वर्ष ४० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमा २८ पुरुष, १० महिला र दुई जना बालबालिका रहेका छन्।

गत आवमा तनहुँमा ४९ जनाको सवारी दुर्घटनमा मृत्यु भएको छ। जसमा ३५ पुरुष, १२ महिला र दुई जना बालबालिका रहेका छन्।

आर्थिक वर्ष २०७८/०७९ मा स्याङ्जामा विभिन्न दुर्घटनामा ४० जनाको मृत्यु भएको छ। १७ पुरुष, १८ महिला र पाँच जना बालबालिकाको मृत्यु भएको छ।

प्रदेशमा सबैभन्दा धेरै महिला र बालबालिकाको दुर्घटनामा मृत्यु हुने जिल्लामा स्याङ्जा अग्रस्थानमा छ।

त्यसैगरी गत वर्ष लमजुङमा सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका छन्। १४ पुरुष, एक महिला र दुई जना बालबालिकाको मृत्यु भएको हो।

गोरखामा १३ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ। मृत्कमध्ये १२ जना पुरुष एक जना बालक रहेको प्रदेश प्रहरीको तथ्याङ्कमा उल्लेख छ। त्यसैगरी बागलुङमा गत वर्ष सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। जसमध्ये १० जना पुरुष एक जना बालिका रहेका छन्।

पर्वतमा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। जसमध्ये सात पुरुष, एक महिला र तीन जना बालक रहेका छन्। त्यस्तै म्याग्दीमा सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। जसमा १३ जना पुरुष र दुई जना महिला रहेका छन्। मुस्ताङमा सवारी दुर्घटनामा मृत्यु भएकामा दुई जना पुरुष र एक जना महिला रहेका छन्।

दुर्घटना र कारबाहीमा कास्की अगाडि
गण्डकी प्रदेशको राजधानी पोखरा (कास्की) सवारी दुर्घटना र कारबाही धेरै हुने जिल्लामा परेको छ। पचासौं वर्षअगाडि बनेका साँघुरा सडकमा बढ्दो सवारी र नियम उल्लंघन गरेर सवारी चलाएका कारण कास्कीमा गत आर्थिक वर्षमा ५६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।

त्यसैगरी नियम उल्लंघन गरेर सवारी चलाउने सयौँ सवारी चालक कारबाहीमा परिरहेका छन्। आर्थिक वर्ष २०७८/०७९ मा कास्कीमा ५५ हजार बढी सवारी कारबाहीमा परेका छन्।

आव २०७७/०७८ मा कास्कीमा लामो समय कोभिड–१९ का कारण लकडाउन भएकाले सवारी कारबाहीमा पर्नेको संख्या २६ हजार ९९५ मात्र थियो। एक वर्षको अन्तरालमा भने कास्कीमा दोब्बरको संख्यामा सवारी कारबाहीमा परेका छन्।

कास्कीमा २०७८/०७९ मा ५५ हजार ८३५ सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ। जसमा ९ हजार १११ ट्रक टिपर, ११ हजार ३१७ बस, १३ हजार २७४ कार/जीप र दुई हजार २८५ ट्र्याक्टर कारबाहीमा परेका छन्।

मोटरसाइकल र स्कुटर १९ हजार ६४८ वटा कारबाहीमा परेका छन्। गत वर्ष कास्कीमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउन चार हजार ७०६ जनालाई कारबाही गरिएको छ।

जिल्लामा भएका दुर्घटना र घाइतेका संख्या
गत आवमा कास्कीमा मात्र ९८ वटा सवारी दुर्घटनामा ५६ जनाको ज्यान गएको छ। ७९ जना गम्भीर घाइते भएका थिए भने १३ जना सामान्य घाइते भएका थिए।

आर्थिक वर्ष २०७७/०७८ मा ६४ वटा दुर्घटनामा ४३ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७८/०७९ मा सवारी कारबाहीबाट तीन करोड ८५ लाख ९२ हजार राजश्व संकलन भएको छ।

नवलपरासीपूर्वमा भएका १२७ दुर्घटनामा १०४ जना गम्भीर घाइते भएका थिए भने १४६ जना सामान्य घाइते भएका थिए। त्यस्तै तनहुँमा भएका एक सय दुर्घटनामा ६४ जना गम्भीर घाइते भएका थिए भने २५ जना सामान्य घाइते भएका थिए।

त्यस्तै स्याङ्जामा भएको २९ दुर्घटनामा ३३ जना गम्भीर र १५ जना सामान्य घाइते भएका थिए। बागलुङमा भएका २९ वटा दुर्घटनामा २१ जना गम्भीर र आठ जना सामान्य घाइते भएका थिए। 

गोरखामा २५ सवारी दुर्घटनामा २२ जना गम्भीर र ६ जना सामान्य घाइते भएका थिए। लमजुङमा २२ दुर्घटनामा ११ जना गम्भीर र १४ जना सामान्य घाइते भएको थिए।

पर्वतमा ३८ सवारी दुर्घटना हुँदा ४२ जना गम्भीर र चार जना सामान्य घाइते भएका थिए। त्यस्तै म्याग्दीमा १८ सवारी दुर्घटनामा १० जना गम्भीर र आठ जना सामान्य घाइते भएका थिए। मुस्ताङमा भएका चार वटा सवारी दुर्घटनामा नौ जना गम्भीर र २९ जना सामान्य घाइते बनेका थिए।

प्रदेशमा भएका सवारीको संख्या यस्तो छ 
आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशका ११ जिल्लामा विभिन्न ५३५ सवारी दुर्घटना भए। जसमध्ये झण्डै ४५ प्रतिशत अर्थात् २३९ वटा मोटरसाइकल दुर्घटना भएका छन्।

ट्रक, ट्याङ्कर ५६ वटा, टिपर १५, डोजर–लोडर–एक्स्‌काभेटर ३, बस ५०, माइक्रो बस ४, जीप–कार ९१, ट्र्याक्टर ६५, टेम्पु ५, सार्वजनिक सवारी ६ वटा र अन्य एउटा रहेका छन्।

२४ साउन, २०७९, १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।