वर्षामा बदनाम कपन: फोहोरको पैसा नतिर्ने, बाढीमा बगाउने

वर्षामा बदनाम कपन: फोहोरको पैसा नतिर्ने, बाढीमा बगाउने

काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ र ७ अनि बूढानीलकण्ठ नगरपालिकाको १० नम्बर वडाभित्र पर्ने कपनको मिलन चोक, साततलेमा पानी पर्नासाथ बाढी आउँछ। स्थानीयलाई हैरान बनाउँछ। बाढी सकिएपछि हिलो र हिउँदमा धुलो हुन्छ।

तर यो क्षेत्रले हैरानीभन्दा पनि बढी बदनामी खेप्ने गरेको छ। कारण- बाढीमा फ्याँकिने फोहोरमैलाका बोरा।

पछिल्लो समय त यो क्षेत्रको भिडियो टिकटकमा पनि भाइरल छ। बाढीको भेलमा फोहोर फ्याकिँएको भिडियोहरूले गर्दा कपन क्षेत्रकै बदनामी भइरहेको छ।

ती भिडियोमा भएका दृश्य हेर्दा कपन हो भन्ने बुझिन्छ। भिडियो अपलोड गर्नेहरूले पनि कपनको मिलन चोक, साततले भन्दै विवरण राखेका छन्। 

जसमध्ये राजेश गुरुङ केटीएम नामक प्रयोगकर्ताले गएको जुलाई ३१ मा अपलोड गरेको भिडियोमा ‘बाटो खोला बनेपछि फोहोर फ्याँक्दै एक महिला, कपन’ भनेर क्याप्सन राखेका छन्। 

जसमा एक महिलाले आँगनअगाडि आएको बाढीमा फोहोरको पोका फालिरहेको देखिन्छ। 

ईश्वर फुँयाल नामक टिकटक प्रयोगकर्ताले ‘दिमाग र सरम नभएपछि यस्तो हुन्छ’ क्याप्सनसहित अपलोड गरेको भिडियामा एक युवकले लुकेर बाटोमा आएको बाढीमा फोहोरको बोरा फालेको देखिन्छ।


राजेश गुरुङ, ईश्वर फुँयाल र श्याम महर्जनको टिकटकबाट

सो भिडियोमा ठेगाना त उल्लेख छैन। तर कमेन्ट सेक्सनमा भने ‘कपनमा जहिले यस्तै हो’ भन्दै थुप्रै कमेन्ट आएका छन्।

बाढीभन्दा पहिल्यै फोहोर बगेर आइपुग्छ
उसो त वर्षायाममा काठमाडौंको सडक छेउछाउ, नदी किनारमा थुपारिएको फोहोर बाढीले बगाएको दृश्य नौलो होइन। तर भीषण वर्षापछि आउने खहरे र भलको मौका छोपी फोहोर फाल्नु कपनका स्थानीयको लागि नौलो नभएको कपन मिलन चोककै स्थानीयहरू बताउँछन्।

मिलन चोकमै घर भएकी एक महिलाले यो क्षेत्रका बासिन्दाले बाढीमा फोहोर बगाउने र हिउँदमा घरमा थुप्रिने फोहोर जलाउने गरेको खुलाइन्। 

‘यहाँ बस्ने र व्यापार गर्न मिलन चोकमा आउनेहरूले वर्षामा घर आँगनमै आउने खहरे खोलामा फोहोर फालिदिन्छन्। हिउँदमा बारीमा लगेर जलाउँछन्’, नाम नखुलाउने सर्तमा उनले भनिन्, ‘आफैँले कमाएर खाने आफ्नो ठाउँलाई व्यवस्थित गर्नुको सट्टा उल्टै फोहोरलाई त्यसरी खोलामा मिल्काएको देख्दा मलाई चित्त बुझ्दैन।'

उनले आफूले खोलामा फोहोर नफाल्न अनुरोध गरे पनि कसैले नटेरेको बताउँछिन्। 

'जहिले कराउँदा कराउँदा म त छुच्ची भैसकेँ। फोहोरको गाडी कहिल्यै नआउने भए पनि हो भन्नु, फोहोरको गाडी हप्तादिनमा आइपुग्छ र पनि यहाँका मान्छेले टेर्दैनन्', उनले भनिन्।

उसो त मिलन चोक, साततलेमा बग्ने खोला खहरे होइन। बाह्रै महिना बग्ने सानो खोला हो। यो खोलामा ठूलो पानी पर्नासाथ पछिल्लो समय ह्वार्र बाढी आउने गरेको छ।

यही बाढीमा बग्छ त्यहाँ व्यापार गर्नेदेखि स्थानीयसम्मका फोहोर।

सोही स्थानकी अर्की महिला भन्छिन्, ‘यहिँ ठाउँमा लाखौँ कमाउनेहरूले फोहोर उठाउने गाडीलाई महिनाको जम्मा तीन चार सय पनि तिर्न सक्दैनन्। पैसा तिर्न मान्दैनन्। चाहे सटर वा ठेलामा व्यापार गर्नेहरू हुन् या घरवाला र उनीहरूको घरमा डेरामा बस्नेहरू। अधिकांशले त्यसै गर्छन्।'

आफ्ना कारण अरू समस्यामा पर्छन् भन्ने चेत नभएकाहरूले गर्दा समस्या भएको उनको गुनासो छ। 

'यो फोहोरकै कारण कुन दिन हैजा फैलिन्छ थाहा छैन। उनीहरूको कारण भएभरको दुर्गन्ध हामीले नै सहनुपर्छ। बदनाम हामी बन्नुपर्छ’, उनले भनिन्।

ती महिलाका अनुसार बाढीभन्दा पहिले त्यहाँ फोहोर बगेर आइपुग्छ। अनि बाढीले बगाउन नसकेको फोहोर आँगनमा आएर थुप्रिन्छ। 

बूढानीलकण्ठका मेयर प्रमाण माग्छन्, काठमाडौं महानगरलाई पनि थाहा छैन
उसो त केही दिनअघि कपनस्थित सरस्वतिनगरमा फोहोर संकलन गर्ने गाडीले सबै फोहोर नलगेपछि स्थानीयले सडकमै फोहोर फालेका थिए। 

एक सातापछि बल्ल फोहोर लिन आएको गाडीले सबै फोहोर नलिँदा आक्रोशित स्थानीयले विरोधस्वरूप त्यसो गरेका थिए। तर विरोध र आक्रोशबिना नै बाढीमा बगाइने फोहोरबारे बूढानीलकण्ठ नगरपालिका जानकार नै छैन।

फोहोरमैलाको सन्दर्भमा वडा नम्बर १० का बासिन्दाले कुनै हालतमा त्यस्तो कार्य नगर्ने मेयर मिठाराम अधिकारी दावी गर्छन्। 

‘त्यो सबै हल्ला हो। जसले भन्नुभो, गलत भन्नुभो। खोलाआसपास बस्नेहरूले बाढीमा फोहोर बगाउने र हिउँदमा फोहोर जलाउने कुरो सही होइन’, उनले उकेरासँग भने ‘यदि त्यसको कुनै तस्बिर वा भिडियोसहितको प्रमाण छ भने त्यो देखाउनुस्। अहिलेलाई प्रमाणित नभइञ्जेल अन्य विषयमा केही भन्न सकिँदैन।’

मेयर अधिकारीका अनुसार बूढानीलकण्ठ नगरपालिकाको कार्यक्षेत्रभित्र पर्ने मिलन चोक लगायत कपन क्षेत्रमा सूर्य, फूलबारीजस्ता विभिन्न ९ वटा संस्थाहरूले कुनै पनि विवादबिना संयुक्तरूपमा फोहोर उठाउने गर्छन्। 

महानगरपालिकाको फोहोर नउठेको बेला पनि ती संस्थाले फोहोर उठाइरहेकाले त्यहाँका बासिन्दाले जथाभावी फोहोर फ्याँक्ने कुरामा आफूलाई विश्वास नलागेको मेयर अधिकारीको भनाइ छ।

यता काठमाडौं महानगरपालिको वातावरण विभाग पनि यसबारे बेखबर देखियो। यदि स्थानीय वा जो कोहीले खोलामा फोहोर फ्यालेको प्रमाणित भएमा महानगरपालिकाले कानून बमोजिम कडा कारबाही गर्ने विभाग प्रमख सरिता राई बताउँछिन्। 

‘फोहोर फ्यालिएको सम्बन्धी हामीले सामाजिक सञ्जालमा भएको भिडियो देखेको छैनौँ, न त खोलामा फोहोर फालेको सन्दर्भमा कुनै उजुरी नै आएको छ’, उनले भनिन्, ‘यदि मिलन चोक क्षेत्रमा त्यसरी फोहोर फाल्ने गरिन्छ भने महानगरपालिकाले निगरानी राख्छ र कानूनले बर्जित गरेको काम गर्नेलाई हामीले भेटेको र प्रमाणित भएको खण्डमा कारबाही गर्छौँ।’

उनका अनुसार खोलामा फोहोर फालेको फेला परेमा कारबाहीस्वरूप पाँच सयदेखि एक लाखसम्म जरिवाना हुन्छ। यस सन्दर्भमा उजुरी आएको र प्रमाणित भएको खण्डमा सम्बन्धित व्यक्तिको कसूर बमोजिम कारबाही हुन्छ।

२४ साउन, २०७९, ११:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।