कीर्तिमानी आरोही कामिरिताले मन कुँडाउँदै भने 'अब म पनि विदेश जान्छु'

कीर्तिमानी आरोही कामिरिताले मन कुँडाउँदै भने 'अब म पनि विदेश जान्छु'
तस्बिर : कृष्पा श्रेष्ठ

ज्यान बलियो भएसम्म मात्रै हो हिमाल आरोहणको काम। जब ज्यानले साथ छोड्न थाल्छ अनि आङरिता शेर्पाले जस्तै दुख पाउने हो कि भन्ने डर छ कामिरिता शेर्पाको मनमा। २६ पटक सगरमाथाको चुचुरोमा पुगेका कीर्तिमानी आरोही उनी आफ्नै ज्यानले 'अब चुचुरोमा नजा' भन्नु अगाडि नै देश छाड्ने योजनामा छन्।

'म पनि विदेश जान्छु होला,' उनले मन खिन्न बनाउँदै भने।

OOO

पहिलो पटक कामिरिता सगरमाथाको बेसक्याम्प पुग्दा उनको उमेर थियो १२। त्यहाँ जानु उनको रहर पनि हैन। बाध्यता। जिरीबाट कुल्ली भएर बेस क्याम्प पुगेका थिए उनी कलिलैमा।

अब मेरो कथा भन्ने हो भने त निकै लामो छ भन्दै उनी आफ्नो बाल्यकालतर्फ फर्किए

'८ वर्षसम्म स्कुल पढे। त्यस पछि २-३ वर्ष गुम्बामा बसे। हाम्रो थामे गाउँमा ४ कक्षा सम्म मात्र थियो। ४ कक्षामा पुग्दा बल्ल ए,बि,सी,डी सिकाएको थियो। ४ कक्षापछि खुम्जुंग स्कुल जानु पर्ने। त्यहाँ पुग्न मेरो गाउँबाट ३ दिन लाग्छ। त्यो बेला होस्टेलको सिस्टम पुग्ने कुरै भएन।  घरबाटै जाने घरबाटै आउने गर्नु पर्थ्यो,' उनले एकै सासमा भने।

उनको साथमा खाजाका रूपमा आलु हुन्थ्यो। त्यो पनि पुरै चिसो। ३ घण्टा हिँडेर जाने अनि ३ घण्टै हिँडेर घर आउनुपर्ने। उनी सानै थिए। त्यही दुख देखेर बा-आमाले अब पर्दैन पढ्न भनेर स्कुल पठाउन छाडे।

त्यसपछि उनी केही पढ्न पाइन्छ कि भनेर गुम्बामा बस्न थाले।  त्यो बेलामा लामा भएर गुम्बामा बस्दा पनि ट्रेकिङ सिजनमा ट्रेकिङ नै जानुपर्ने। उनको ट्रेकिङ यात्रा १२ वर्षको उमेरबाट सुरु भयो। १२ वर्षकोहुँदा ३० किलोको भारी बोकेर उनी हिमालको फेदहरूमा पुग्न थाले। ६ वर्ष उनको यात्रा भरियाकै रूपमा भयो। १८-१९ वर्षको भएपछि हिमालहरू चढ्न थाले।

'ठ्याक्कै २२ वर्ष पुग्दा १९९२ मा एभरेस्ट जाने मौका पाए मैले। १९९२ र १९९३ मा सगरमाथा पुगे पनि चुचुरोसम्म पुग्न पाएको थिइन। म सँग अनुभव थिएन। अनि १९९४ मा बल्ल चुचुरो ढोग्न पाए, उनले खुसी हुँदै भने।

सगरमाथाको चुचुरो चुमेपछि उनी छोयुक पनि गए, अन्नपूर्ण, मनासलु, केटु सबैतिर पुग्न थाले। ४ पटकसम्म उनी एकै सिजनमा २ पटकसम्म  सगरमाथाको चुचुरोमा पुगेका छन् यो यात्रामा। उनी सगरमाथा चढ्दा आरोही हैन आरोहीको सहयोगीको रूपमा चढेका हुन्। पहिला बाटो बनाएर डोरी टाङन जान्थे उनी। बाटो सफा गर्दै डोरी राखेर बेसक्याम्पमा फर्कियो अनि पर्यटक लिएर गयो।

उनी जुन हिमालको चुचुरोमा पुग्छन् श्रद्धापूर्वक ढोगेर मात्र फर्कन्छन्।

'म सगरमाथा मात्र होइन, हरेक हिमाल चढ्दा ढोग्ने गर्छु। प्रत्येक हिमालमा देवी बस्छन् भन्ने हाम्रो विश्वास छ। चुचुरोमा पुग्दा देवी कुल्चन्छ नि। अनि देवी कुल्चिएको अनि हिमालमा फोहोर गरेकोमा क्षमा माग्न ढोग्ने हो। अरूले पनि ढोग्छन्।

OOO

हिमालको तस्बिर हेर्दैमा आनन्द आउँछ। प्रत्यक्ष आँखाले हेर्दाको आनन्द नै अलग। त्यसमा पनि झन् चुचुरोमै पुग्दाको अनुभव को त के कुरा !

तर उनको अनुभव अलि फरक देखियो।

'हिमालमा रमाइलो हुँदैन। हिमाल चढ्नु आफैमा दुखको काम हो। माथि चढ्दा धेरै दुख हुन्छ,' उनले अलि मुख बिगार्दै भने।

उनको अनुभवमा आफ्नो काम सकाएर बेस क्याम्प झर्दा रमाइलो हुन्छ। फर्कनेबेलामा हिमाल चढ्न सकेकोमा सबै खुसी हुन्छन्।

अन्य हिमाल होस् या सगरमाथा सबै एकै हुन् रे। केही नयाँ लाग्दो रहेनछ उनलाई। 'नयाँ त के हुनु र खै! तेञ्जिङ्ग शेर्पाले चढे देखिकै हिमाल त त्यही हो। नयाँ के छ र!' उनले निकै सहजताका साथ भने।

उनको अनुभवमा बदलिएको भनेको हिमाल चढ्ने कला अनि लगाउने कपडाहरू नै हुन्। अहिले गाइडहरू अनुभवी छन्। ट्रेनिङ सेन्टरहरू पनि भएकाले अनुभव लिन सजिलो पनि छ। हिमाली चढ्न आउनु अगाडि नै अहिले कसरी काम गर्नुपर्ने रहेछ भनेर पढेर, बुझेर र सिकेर आउँछन्। उनका लागि नयाँ कुरा यही नै हो।

उनी आफै लोभलाग्दो विश्व कीर्तिमान बनाएका आरोही हुन्। तर आफ्नो कामबारे कुरा गरिरहँदा सामान्य गाइड झैँ सरल देखिए उनी। उनीसँग संवाद गरिरहँदा २६ पटक सगरमाथा चढेर विश्वकिर्तिमान बनाउने आरोहीसँग कुरा गरिरहेको कुनै आभासै भएन।

'हाम्रो राष्ट्रको पर्यटन क्षेत्र कसरी व्यापक बनाउने भन्ने सोचेर हामी गाइडहरूले आफ्नो काम गरेको मात्र हो। काम नै त्यही हो। अरू के गर्नु त। अब प्लेन चलाउने क्याप्टेनले प्लेन चलेन भने प्लेन त त्यत्तिकै उड्दैन नि। अब हामी छैन भने हिमाल त हुन्छ तर पर्यटक कसरी आउँछन् र?  हामी गएर हिमालको बाटो बनाउने, बाटो खोल्ने, बेस क्याम्प बनाउने, पर्यटकको सबै सामान ओसार्ने अनि उनीहरूलाई चुचुरोसम्म पुर्याउने,' उनले बढो सरल तरिकाले सुनाए सगरमाथाका यात्राहरू।

चढ्ने कसरी हो ? हामीले सोध्यौ। उनी भन्न थाले :

रोप फिक्सिंगको लागि पहिला नै तालिम लिएको हुन्छ। हामी दुइटा हातमा आइस्याक बोक्छौँ। त्यही बोकेर नै डोरी सहित जाने हो। एक जना अगाडी बसेको हुन्छ। अनि सबै जना उसको पछाडि-पछाडि गएर ह्याङ्गर बनाउँदै माथि जान्छौँ। भन्नुपर्दा २ सय मिटरमाथि चैँ हामीले ५, ६ वटा ह्याङ्गर बनाउनु पर्छ। रोप फिक्सिंग प्रत्येक हिमालमा प्रत्येक समय गर्नु पर्छ। एकचोटी सिजनमा फिक्स गरेपछि अर्को सिजनको लागि त्यसले काम गर्दैन। सगरमाथाको खुम्बु आइसफलमा त कुनै पनि बेला त्यो बिग्रिन सक्छ। हिमपहिरो आउन सक्छ। कुनै बेला भत्केर जान्छ। कुनै बेला त हिउँले नै पुरेर जान्छ।  त्यसैले एक सिजनमा एकचोटी मात्र काम लाग्छ त्यो। पछि काम लाग्दैन। तर रुट परिवर्तन हुँदैन।

डोरीहरू लैजान टिम हुन्छ। बेस क्याम्पदेखि क्याम्प २ सम्म सगरमाथा प्रदूषण नियन्त्रणले जिम्मा लिने रहेछ।  क्याम्प २ देखि माथि चुचुरोसम्म उनीहरूले नै हो डोरी लैजाने। २६ औँ पटक आरोहण गर्दा यसपालि उनको टिममा ११ जना थिए। अनुभवीहरूको जिम्मा बाटो बनाउने रहेछ। गत वर्षसँगै यो वर्ष पनि बाटो बनाउने जिम्मा उनैले पाए।

क्याम्प २ देखि क्याम्प ३ सम्म बाटो खोलेर क्याम्प तयार भएपछि 'ल है अब पर्यटक लिएर आए हुन्छ' भनेर खबर पठाउँछन्। त्यसपछि क्याम्प ४ को तयारी सुरु हुन्छ। क्याम्प ४ यसरी नै तयार भएपछि सामान ओसार्न थालिन्छ।  क्याम्प ४ मा अक्सिजनहरू सबै पुर्याउन पर्छ। त्यसपछि क्याम्प ४ को बाटो खोल्यो भनेर खबर दिएपछि अन्य सहयोगी पर्यटक लिएर आउँछन्।

'क्याम्प ४ पछि हाम्रो काम चुचुरोमा जाने हो। चुचुरोसम्म जाने बाटो खोलेपछि ल चुचुरो खुल्यो, बाटो तयार भयो भनेर खबर गरेपछि अरूले चुचुरोमा पुग्न पाउँछन्। हामीले डोरी टाँगेपछि  नै अरू सबैले त्यही डोरी समाएर चुचुरोमा जाने हो' उनले सगरमाथाको चुचुरोसम्म निकै सजिलो गरी पुग्न सकिने शैलीमा भने।

तर त्यति सजिलो त कहाँ हुन्छ र सगरमाथा चढ्न। कहिले सँगै गएका साथीहरू बिरामी हुन्छन्। कहिले आफै पनि बिरामी परिन्छ। कुनै बेला मौसम खराब भइदिन्छ। त्यहाँ पुगेपछि समस्या के आउँछ भनेर अनुमान मात्रै गर्ने हो।

उनका अनुसार बेस क्याम्प बनाउनेदेखि चुचुरोमा पुगेर फर्किनसम्म लगभग ६५ दिन लाग्छ। यो ६५ दिनको यात्रामा सबैभन्दा जोखिम खुम्बु आइसफल अनि अलिकति माथि हिलारी स्टेप नै हो। सबैभन्दा दुख पाउने चैँ खुम्बु आइसफलमानै रहेको उनले बताए।

'खुम्बु आइसफल बेस क्याम्प र क्याम्प १ को बिचको बाटोमा पर्छ। त्यहाँ बढी हिमपहिरो हुन्छ। त्यहाँ हामीले भर्याङ्गहरु राख्नु पर्ने हुन्छ। कहिले भत्किन्छ भन्ने नै थाहा हुँदैन। दुर्घटना हिमपहिरो आएर नै हुने हो। खुम्बु आइसफलमा कुनै पनि बेला हिमपहिरो आउन सक्छ। त्यसैले त्यहाँ धेरै गाह्रो हुन्छ सधैँ,' उनले सुनाए।

आरोही चढ्दा खुसी, शेर्पा फर्कँदा

उनको अनुभवमा सगरमाथा चढ्नु भन्दा फर्किनु गाह्रो काम हो। तर खुसीको मापन भने उल्टो रहेछ। शेर्पाहरू चढ्दा त्यत्ति खुसी हुँदैनन् रे। आफ्नो टिममा रहेका आरोहीलाई कसरी सकुशल चुचुरोमा पुर्याउने अनि कहाँ कतिखेर के आपत् आइलाग्ने हो भन्ने तनावमै जाने रहेछ चुचुरोसम्मको यात्राको समय। फर्कँदा भने अति आनन्द आउँछ रे काम सफल भयो भनेर।

तर आरोही पर्यटकको हकमा भने ठ्याक्कै उल्टो। उनीहरू चढ्न पाउँदा निकै खुसी हुन्छन्। फर्कँदा दुखी।

'चुचुरोतिर जाँदा सबै जना एउटा सपना बोकेर आएको हुन्छ। टपमा मात्र पुग्न पाए भनेर भए भरको शक्ति लगाएर माथि जाने तयारी गर्छन्,' उनले उकेरासँग भने' अनि तल झर्दा ज्यान लोथ भएर थाकेको हुन्छ। थाकेको बेला तल आउन गाह्रो पनि हुन्छ। अनि खुसी हुँदैनन्।'

तस्बिर : कामिरिता

उकालो चढे लगत्तै ओरालो झर्दा ज्यान थाक्छ नै। त्यही भएर हिमाल चढेर फर्कँदा धेरै जोखिम हुने उनले बताए। थकाइले ज्यान समेत थेग्न नसक्ने हुनसक्छ। त्यस्तो बेलामा राम्रो गाइड भएन वा गाइडले सहयोग गरेन भने पर्यटक लडेर मर्न पनि सक्छन्।

'थाकेपछि त उनीहरूले आफ्नो जिउँ सम्हाल्न सक्दैन नि। आराम गर्न खोज्छ जिउँले पनि। अनि आफ्नो जिउँ सम्हाल्न नसक्ने बित्तिकै चिप्लिहाल्छ,' उनले भने।

नेपालीले भनेकै मान्दैनन्

उनको अनुभवमा जुनसुकै हिमाल चढ्ने हो भने पनि पहिला शारीरिक र मानसिक रूपमा तयार हुनुपर्छ। शरीर मात्र ठिक भएर पनि भएन। मन मात्र उत्साहित भएर पनि भएन। दुवैको राम्रो संयोजन नभए अप्ठ्यारो हुने उनको अनुभवले बताउँछ।

अर्को महत्त्वपूर्ण पक्ष भनेको उचाइसँग खेल्न सक्ने खुबीको विकास। प्राय सबै हिमालको चुचुरोमै पुग्ने भनेरै पुग्ने हुन्। तर सबै चुचुरोमा पुग्न सक्दैनन्। त्यसको कारण माथिका तीन मध्ये कुनै पक्षको तयारीको कमीले हो।

'फुटबल खेलाडी पनि बिना तयारी मैदानमा गयो भने खेल्न सक्दैन। उल्टै चोट लागेर फर्किन्छ।  त्यस्तै हो हिमाल चढ्ने भनेको पनि,' उनले भने' शरीर दह्रो मात्र भएर पनि हुँदैन। उचाइ पचाउन सक्नुपर्छ। त्यही भएर विदेशी पर्यटकहरू एभरेस्ट चढ्ने हो भने १ वर्ष अगाडी देखिनै तयारीमा लाग्छन्। त्यसको लागि ४-५ हजार मिटरसम्म गइराख्ने, विभिन्न हिमालहरू चढी राख्ने गरेर उचाइमा जाने राम्रो तयारी गर्नु पर्छ।'

हिमाल चढ्न चाहने नेपालीहरूमा यही तयारीको कमी देख्छन् उनी। अलि-अलि ट्रेकिङ गएकै भरमा ह्या अब त सगरमाथा चढिहालिन्छ नि भनेर आउने गरेको उनको अनुभव रहेछ।

'अहिले त पहिलाको भन्दा धेरै ट्रेनिङ सेन्टरहरू खोलिसकेको छ।  त्यही पनि खै किन हो नेपालीहरू तयारी नै नगरी आउँछन्। नेपाली पर्यटकहरूसँग काम गर्न पनि गाह्रो हुन्छ। गाइडको कुरा मान्नै खोज्दैनन्।  त्यस्तै पर्यो भने त गाइडलाइनै सिकाउन खोज्छन्। तर विदेशीहरू त्यस्तो हुँदैन। गाइडले जे भन्यो त्यही मान्छन्,' उनले नेपाली र विदेशी आरोहीबिचको भिन्नता सुनाए।

सगरमाथा चढ्न लाग्ने खर्च कम्पनीको छनौटदेखि नै तय हुने रहेछ। सस्तोमा जाने कि महँगोमा सोही अनुसार सगरमाथा चढ्न सकिने उनले सल्लाह दिए। सस्तोबाट गयो भने गाइड पनि सस्तै पाइन्छ रे।

सस्तो भन्नुको मतलब अनुभव कम भएको गाइड। महँगोमा गयो भने ५-६ पटक सगरमाथा आरोहण गरेको अनुभवी गाइड। अनुभवी गाइडसँग जानुको फाइदा अधिकांश आरोही सगरमाथा आरोहणमा सफल हुन्छन् रे।

'सस्तोमा गयो भने एउटा नेपालीले २० देखि २४ लाख खर्च गर्नु पर्छ। महँगोमा ३५ लाख जति खर्च लाग्छ। विदेशी पर्यटकलाई पनि हेरी हेरी छ। ५० हजार डलर देखि १ लाख २० हजार सम्म तिर्ने आरोही पनि छन्, उनले भने' पैसा धेरै तिरे अनुसारको सुविधा पनि हुन्छ। १ लाख ३०-४० हजार डलर तिर्ने विदेशी पर्यटकले एक जनाको लागि २-३ वटा सम्म शेर्पा दिइएको हुन्छ। उनीहरूलाई अक्सिजन पनि धेरै दिइन्छ। बेस क्याम्पमा पनि उनीहरूलाई धेरै सुविधा हुन्छ। नेपालीहरूले पनि खर्च गर्न सक्यो भने त सुविधा नपाउने भन्ने हुँदैन। तर, नेपालीहरू जहाँ पनि सस्तो खोज्छन्।'

सगरमाथा बन्द गरे के होला ?

सगरमाथामा धेरै फोहोर भएको र हरेक वर्ष आरोहीको सङ्ख्या बढ्दा प्राकृतिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै केही वातावरण विद्हरूले सगरमाथालाई केही समय आराम दिनुपर्ने तर्क गरिरहेका छन्। यसबारे जिज्ञासा राख्नासाथ उनी रिसाए। उनलाई यो प्रश्नै मन परेन। उनले सिधा उत्तर दिए।

'सगरमाथामा बन्द गर्यो भने सरकारले जनता पाल्न सक्नुपर्छ। सगरमाथा बन्द गर्यो भने सरकार आफैले चाहिँ के खान्छ त! सरकारको मुख्य आयस्रोत भनेकै रेमिटेन्स र पर्वतारोहण क्षेत्रको कमाई हैन र?'

उनी सगरमाथालाई आराम दिनु भनेको सरकारले आफ्नो खुट्टामा आफै बन्चरो हान्नु रहेको दाबी गर्छन्। नेपालबाट बन्द भयो भने पनि चीनको रुट खुल्लै हुने भन्दै उनले नेपालले बन्द गरे चीनको आम्दानी बढ्ने बताए।

'चाइनाबाट सगरमाथा चढ्न त खुम्बु आइसफलको डर पनि धेरै हुँदैन। त्यहाँ बेस क्याम्पसम्म गाडी गइहाल्छ। ६ हजार बराबरसम्म त याकले नै भारी बोकिहाल्छ। चाइनाबाट चढ्दा एउटा मात्र गाह्रो भनेको माथि पुग्दा केही भइहाल्यो भने उद्धार गर्न गाह्रो हुनु त हो' उनले एकै पटक भने।

तेञ्जिङ्ग शेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेको अब ७० वर्ष पुग्न लाग्यो। यति समयसम्म सगरमाथा व्यस्त छ। उनको परिभाषामा सगरमाथा थाकेको छैन अनि सगरमाथा थाक्दैन पनि रे।

अनि सरकारले बजेटमै सगरमाथा बेसक्याम्पसम्म बाटो पुर्याउने योजना राखेकोबारे पनि सोध्यौँ। उनको सटिक जवाफ थियो' यो २ वर्षमा नेपालमा चीनबाट रेल ल्याउने भन्ने जस्तै हो। अहिले लुक्लासम्म त सडक पुगेको छैन। बेस क्याम्पमा २ वर्षमा कसरी पुग्न सक्छ? हाउडे कुरा गरेर कहाँ हुन्छ ! अलि पत्याउने कुरा गर्नुपर्छ नि।'

जलवायुले हिमाल पग्लेको गफ मात्रै

हिमाल बिलाउँदै जानुको कारण जलवायु परिवर्तन मात्र हो भनेर उनी पत्याउँदैनन्। उनका अनुसार यसको मुख्य कारण सहरको धुवाधुलो हिमालमा गएर ठोक्किनु हो। त्यसैले अहिले हिमालमा पहिला भन्दा हिउँहरू धेरै हराइरहेको बताउँछन् उनी।

चीन अनि भारतमा रहेका कम्पनीहरूको धुवाँ र धुलो यसको कारण रहेको दाबी गर्छन् उनी। बदलिँदै गएको ग्रामीण जीवनशैली हिमालमा हिउँ पग्लिनुको अर्को कारक भएको दाबी गर्छन् उनी। पहिला-पहिला गाउँdf ढुङ्गाको छाना थियो। अहिले सबै जस्ताको भए। हिमालको फेदसम्म जस्ता पुग्दा त्यसको तापले गर्दा हिउँहरू पग्लिएको उनले दाबी गरे।

'पहिला-पहिला गाउँमा त्यस्तो धेरै घाम लाग्दैनथ्यो। तर अहिले त त्यहाँ एक छिन बस्यो भने अनुहार डढ्नेसम्मको चर्को घाम लाग्छ,' उनले भने' घामको प्रकाश जस्तामा जाने अनि जस्ताको प्रकाश हिमालमा गएर हिउँ छिटो पग्लिएको हो। सिसाहरूको प्रयोग बढिरहेको छ। सिसाहरूमा घाम परेपछि त्यसको तापक्रमले पनि हिमाललाई असर गरिहाल्छ। यो कुरा कसले बुझ्ने?'

सरकारले शेर्पालाई वास्तै गरेन

उनको अनुभवमा भूकम्पपछि खुम्बु आइसफल अलि राम्रो भएको छ। भूकम्पले हल्लाएर होला भन्ने उनको अनुमान छ। त्यसभन्दा अगाडी खुम्बु आइसफलमा कुनै बेला ५-६ वटा भर्याङ गाँस्नु पर्ने हुन्थ्यो रे। त्यस्तै कुनै ठाउँमा त उकालोमा १२-१३ वटा गाँस्नु पर्थ्यो। कम्तीमा २५ देखि ३० ठाउँमा भर्याङ राख्नु पर्थ्यो रे। तर अहिले १,२ ठाउँमा भर्याङ राखे हुन्छ।

उनको सरकारसँग गुनासै गुनासो सुनियो। सरकारले शेर्पालाई वास्तै गरेन भन्छन् उनी। अबको १० वर्ष पछि मात्र सरकारले शेर्पालाई चिन्ने उनले दाबी गरे।

'फुटबल खेलाडीले एउटा खेल जित्दा ९ लाख दिने घोषणा गर्छन्। हामी हिमाल चढ्नेलाई केही नदिनु त सरकारकै कमजोरी हो नि,' उनले भने' हामीलाई त छुट्टाएको हो। राम्रो-राम्रो कीर्तिमानी शेर्पाहरू सबै विदेशीले किनिसक्यो। अब शेर्पा घट्दै छ। शेर्पा नै भएन भने सरकारले सगरमाथामा पर्यटकलाई कसरी चढाउँछ?'

उनको अनुभवमा अनुभवी शेर्पाहरू बुढो भइसके। युवा पुस्ता यो क्षेत्रमा आउनै चाहँदैनन्। जति आएका छन् थोरै छन्।  यसको दुख देखेर धेरै युवाहरू आउनै मान्दैनन् रे।

पर्वतारोहणका लागि नेपालको विश्वमा रहेको आकर्षण कायम राख्ने हो भने सरकारले शेर्पाहरूलाई प्रोत्साहित गर्नुपर्ने, उनीहरूलाई पनि सम्मान गर्नुपर्ने अनि शेर्पाको गाउँमा पर्वतारोहीहरूको स्कुल खोल्नुपर्ने सुझाव दिन्छन्।

'मनाङमा एउटा ट्रेनिङ सेन्टर खोलेको छ। तर त्यहाँ खोलेर के काम? मनाङ्गेहरु त हिमाल चढ्न आउँदैन नि।  त्यस्तो स्कुल त बरु दोलखामा खोल्न पर्यो, सोलुखुम्बुमा खोल्न पर्यो, सङ्खुवासभामा खोल्नु पर्यो। सगरमाथामा चढ्न आउने भनेको त यी जिल्लाहरूबाटै धेरै आउने हो नि,' उनले भने।

विदेशमा जाँदा सगरमाथा आरोही भनेर सम्मान दिने तर नेपालमा त वास्तै नगर्ने गुनासो गरे उनले। दार्जिलिङमा बस्ने शेर्पाले एकचोटी सफल आरोहण गर्यो भने रासन भत्ता सबै निःशुल्क दिने, तिब्बतमा एक चोटि हिमाल चढ्यो भने सरकारले सबै हेरिदिने गरेको भन्दै ती सबै सुन्दा आफूलाई दुख लाग्ने गरेको गुनासो गरे उनले।

तस्बिर : कामिरिता

'हाम्रो नेपालमा कति धेरै कीर्तिमानीहरू छन् नि। खै सम्मान गरेको?, रिसाउँदै उनले भने' विश्व रेकर्ड राख्नेहरू पनि छन्। उनीहरूलाई पर्यटनको क्षेत्रमा किन अगाडी राखिँदैन? उनीहरूलाई जम्मा मात्र गरेर पर्यटन क्षेत्रमा राख्यो भने विदेशी पर्वतारोहीहरू त उनीहरू सँग फोटो खिच्न र हेर्न मात्र भए पनि आउँछन्। तिनीहरूसँग फोटो खिचेको शुल्कले त ती शेर्पालाई पाल्नै पुग्छ।'

'आफू बलियो भएसम्म मात्र हो हिमालमा दलिएर दुख गर्ने। पहिला आङरितालाई पनि त्यस्तै भएको हो नि। जवानीमा सरकारले च्यापेर हिँड्यो। तर उ बुढो भएपछि वास्तै गरेन,' उनले भने' उसको त्यस्तो हालत देखेर पनि विदेशै जानुपर्छ जस्तो लाग्छ। त्यसैले मेरो पनि विदेश जाने सम्भावना छ। बुढेसकालमा दुख पाएर किन यहाँ बस्नु ? विदेश गयो भने सम्मान पनि पाउँछ।'

तर विदेश जाने उनको रहर हैन। एक सरकारलाई घुर्की अनि अर्को बाध्यता। विदेश जानु नपरोस् भन्ने उनको मनको भित्री कुनामा त छ नै।

त्यसैले उनले सरकारलाई सुझाव दिए :

सरकारले पर्वतारोहीहरूको लागि एउटा सञ्चय कोष खोलिदियोस्। त्यसमा सरकारले थप पैसा दिनु पनि पर्दैन। त्यही रोयल्टीको केही प्रतिशत हाल्दिए भइहाल्यो। अनि उनीहरूको सबै बच्चाहरू पढाउन नसके पनि एक जनालाई मात्र भए पनि पढाउने व्यवस्था मिलाउनपर्यो। तालिम दिनुपर्यो। काम गर्न नसक्ने भए पनि कोषबाट पैसा आउँछ भनेपछि को जान्छ र विदेश!'

०००

उनले २ वर्ष अगाडी नै संन्यास लिने सोचेका रहेछन्। सन् २०२० मा ठ्याक्कै ५० वर्ष पुगेका रहेछन्। उनले त्यही बेला २५ औँ पटक सगरमाथा चढेर सिल्भर जुब्ली मनाउने योजनामा रहेछन्। तर, कोभिडले गर्दा त्यो रोकियो। २०२१ मा मात्र उनको सिल्भर जुब्ली भयो। त्यसपछि बहराइनको राजकुमार आए। उनलाई लिएर। मनासलु गए। त्यसपछि पहिल्यै तय भएका आरोहीहरू आए। उनले अवकाश लिन पाएनन्।

एक पटक चढे पनि आरोही, पटक-पटक चढे पनि आरोही। किन यति धेरै पटक सगरमाथा चढेको त?

'ट्याक्सी ड्राइभरले ट्याक्सी नचलाएर के गर्छ ? त्यस्तै त हो हामी पनि। हामी माउन्टेन ड्राइभर त हो। हामीलाई कति पटक सगरमाथा चढेको भनेर सोध्नु र कति पटक भयो ट्याक्सी चलाएको भनेर ट्याक्सी ड्राइभरलाई सोध्नु उस्तै हो।'

अझैँ कति पटकसम्म चढ्ने त ?

'अब एक-दुई वर्ष चैँ यो काम छोडिहाल्ने विचार छैन,' त्यसपछि त ज्यानले पनि के धान्ला र! उनले भने।

२२ साउन, २०७९, २०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।