गठबन्धन ढाल्ने ओली सूत्र के होला !

गठबन्धन ढाल्ने ओली  सूत्र के होला !

काठमाडौँ : स्थानीय तह निर्वाचनमा जस्तै गठबन्धन बनाएर जाने वा अलग भन्ने बहसकैविच शुक्रवार सरकारमा रहेका पाँच दलका पाँच नेताले गठबन्धनको पक्षमा संयुक्त हस्ताक्षरसहितको सहमति सार्वजनिक गरे।

सहमतिमा मङ्सिर ४ मा हुने चुनावमा गठबन्धन बनाएर जाने सहमतिसँगै सिट भाग लगाउन कांग्रेसको तर्फबाट ३ जना अनि अन्य दलबाट २-२ जना सदस्य रहेको ११ सदस्यीय कार्यदल गठन गरियो।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन्। माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् भने जसपाको तर्फबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य छन्। राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् कार्यदलमा।

कांग्रेसका नेताहरू ६०-४० भाग लगाउने दाउँमा छन्। अन्य चार दलका नेताहरू भने ५०-५० प्रतिशतको पक्षमा छन्। कार्यदल बने पनि कुन दललाई कति अन्तमा स्वीकृत गर्ने जिम्मा शीर्ष नेताहरुकैमा आउने पक्का छ।

सिट बाँडफाँडमा ठुलै कलह नभए शुक्रवारको सहमतिसँगै स्थानीय तहको निर्वाचनकै शैलीमा प्रदेश र सङ्घको निर्वाचनमा प्रतिस्पर्धा हुने देखिन्छ।

यो अवस्थामा प्रमुख प्रतिपक्षी दल एमाले एक्लै निर्वाचनमा सहभागी होला या उ पनि मोर्चा बनाउँला ?  

एमाले भित्रका प्रतिपक्षी नेता भीम रावल गठबन्धन संविधान विपरीत रहेको बताउँछन्। निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरूबिच हुने भन्दै उनले अहिले कायम रहेको पाँच दलीय गठबन्धनबिच कुनै पनि कुरा नमिल्ने दाबी गरे।

‘संविधानको धारा २६९ मा समान दर्शन, विचारधारा र कार्यक्रम भएकाहरू एक ठाउँमा आउँछन् र दल बन्छ भन्ने कुरा छ। स्थानीय तहको निर्वाचनमा विपरीत सिद्धान्त भएका दलहरूले तालमेलको नाममा लोकप्रिय मत मागे,'  उनले भने' यो नेपालको संविधानको विपरीत छ। यो एक प्रकारको निर्दलीय अभ्यास हो।’

चुनावमा आफ्नो नीति, कार्यक्रम र सिद्धान्त लिएर जाने र यदि कसैले बहुमत नल्याए समान धारणा भएकाहरूले मिलेर संयुक्त सरकार बनाउने धारणा राख्दै उनले भने, ‘अहिलेको गठबन्धनको एउटा दलले भन्छ–लोकतान्त्रिक समाज जिन्दाबाद, अर्कोले भन्छ–माओवाद जिन्दाबाद। नारा के हुन्छ त ? की नेपाँग्रेस भन्ने नारा लाग्छ?’

एमाले उपमहासचिव विष्णु रिमाल निर्वाचनमा दलका आ-आफ्ना अजेण्डा हुने बताउँदै एमालेको रणनीतिबारे भने 'के गर्दा भोट आउला हेरौँ न। जनताको कुरा हो। हरेक पार्टीको आ–आफ्नो रणनीति हुन्छ।’

पूर्व एमाले नेता तथा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा पाँच दलको गठबन्धन भएजस्तै एमालेले पनि अन्य दलसँग गठबन्धन गर्ने दाबी गरे।

‘हामी गठबन्धनमा छौँ। हामी मात्र होइन एमाले पनि बिना गठबन्धन चुनावमा जाँदैन,’ उनले उकेरासँग भने।

तर एमाले नेताहरू खतिवडाको दाबीमा सहमत देखिएन। उनीहरूले एमाले निर्वाचनमा एक्लै प्रतिस्पर्धामा उत्रिने दाबी गरे।

‘हामी अहिले कुनै दलसँग तालमेल वा गठबन्धन गर्ने पक्षमा छैनौँ, एमाले जे छ एक्लै छ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उकेरासँग भने, ‘हामीलाई जनताले विश्वास गर्छन्, हेर्नुहोला।’

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालको भनाइ पनि उस्तै आयो। ‘एमाले कसैको भर नपरी एक्लै निर्वाचनमा जान सक्षम मात्र होइन जनताको मतले जित्नेमा ढुक्क छ,’ रिजालले दाबी गरे।

माओवादीका केही नेताहरूले कांग्रेसले सम्मानजनक ठाउँ नदिए एमालेसँग पनि तालमेल हुनसक्ने दाबी गरिरहेका छन्। तर एमालेकै नेताहरू त्यसलाई पत्याएका छैनन्।

‘गठबन्धनका नेताहरूले एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना भन्नुभएको होला त्यो त उहाँहरूको बार्गेनिङ पावर बढाउने मेलो मात्र हो, रिजालले भने।

उता राजनीतिक विश्लेषकको मत अनुसार गठबन्धनबाट भन्दा एकल दलबाट अजेण्डा बुझाउन सहज हुन्छ।

‘गठबन्धन भन्दा एकल पार्टीको बहुमत हुन्छ, सुशासन हुन्छ, गठबन्धनमा सानो इस्सुले गर्दा प्रधानमन्त्री पद नै जान सक्छ,' राजनीति विश्लेषक महेश भट्टराईले भने' सत्ता जोगाउनकै लागि नैतिक अनैतिक सम्झौताहरू गर्नुपर्ने हुन्छ। त्यो कारणले Pमालेसँग धेरै मुद्दाहरू देखिन्छ।'

तत्कालीन नेकपाकालीन समयमा केपी ओलीले जे भोगे गठबन्धनको सरकारको प्रधानमैत्रीले त्यही भोग्ने उनको तर्क छ। पाँच दलीय सरकारले गरेका कामका आधारमा समेत एमालेसँग टन्नै चुनावी एजेन्डा रहेको उनको बुझाई छ।

'गठबन्धनको सरकारले जनताको जनजीविकासँग जोडिएका आधारभूत समस्याको समाधान समेत गर्न सकेन,' उनले भने' प्रतिपक्षले उम्मेदवार चयनमा सजगता अपनायो भने त्यति धेरै अप्ठ्यारो देखिँदैन।'

दोस्रो गठबन्धनको विकल्प

एमालेले पाँच दलको गठबन्धनको विकल्पमा अन्य साना दलहरूसँग मिलेर क्षेत्रगत रूपमा गठबन्धन गर्न सक्छ। सबैभन्दा  बढी सम्भावना देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नै हो।

त्यसमा बाबुराम भट्टराइको नेतृत्वको दल कमल थापा नेतृत्वको राप्रपा नेपाल, सिके राउत नेतृत्वको दलसँग पनि गठबन्धन बन्न सक्छ। तर गठबन्धन राष्ट्रिय रूपमै भन्दा पनि क्षेत्रीय रूपमा हुनसक्छ।

एमालेले स्थानीय तह निर्वाचनमा त्यसको अभ्यास गरेको पनि थियो। तर सफल भने भएन। उसले राप्रपा नेपालसँग त गठबन्धनको सम्झौतै गरे पनि कार्यान्वयन भएन। भरतपुरमा राप्रपासँग सहकार्य गरे पनि दुवै उम्मेदवार हारेका थिए।

२० साउन, २०७९, २२:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।