प्रधानमन्त्रीका लागि प्रचण्डको छटपटी : एकल बहुमत आउँदैन, गठबन्धनमा पाउँदैनन्

प्रधानमन्त्रीका लागि प्रचण्डको छटपटी : एकल बहुमत आउँदैन, गठबन्धनमा पाउँदैनन्

काठमाडौँ : संघ र प्रदेशको चुनावी समीकरण आफू अनुकूल पार्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कहिले नेपाली कांग्रेसलाई घुर्क्याउने त कहिले समाजवादी केन्द्र गठनको  'डिल' गर्ने प्रयासमा सक्रिय छन्। तर सफल भएका छैनन्। 

एमालेसँग गठबन्धन सम्भव देखिएको छैन।  समाजवादी मोर्चा गठनमा पनि छलफल मात्रै चलिरह्यो। ती हतियार नतिखारिएपछि उनी माओवादीलाई वाममा पहिलो दल र राष्ट्रिय दलमा कांग्रेसपछिको दोस्रो बनाउने रणनीतिमा लागे। सार्वजनिक कार्यक्रममै उनले' माओवादी दोस्रो दल नभए ठिक नहुने' भनेर भाषण गरेका थिए।

माओवादी दोस्रो दल हुन्छ हुन्न त्यो गठबन्धनमा उनको पार्टीले पाउने सिट सङ्ख्या र जित अनि समानुपातिक मतले निर्धारण गर्ने नै छ। पछिल्लो समय उनी फेरि अन्तिम पटक प्रधानमन्त्री बनेर देशले सम्झने काम गर्ने चाहना व्यक्त गर्न थालेका छन्।

‘हामीले एकचोटी देशलाई यसरी विकास, यसरी सुशासन, यसरी समृद्धि भनेर देखाउनै पर्नेछ। मेरो हुनसक्छ यो लास्ट इनिङ होस र यो पछिसम्मको सन्ततिलाई सम्झने गरी देशलाई केही चीज दिने सपना देखिरहेको छु’, प्रचण्डले एक कार्यक्रममा भने।  

माओवादी केन्द्रका रूपमा मात्र भन्दा पाँच दलीय गठबन्धनमा रहेका कांग्रेस बाहेकका दलहरूसँग मिलेर एकै मोर्चा बनाएर बार्गेनिङ गर्दा बढी सिट आउन सक्ने उनको आँकलन देखिन्छ। तर त्यसमा गठबन्धनमा रहेको जनता समाजवादी पार्टी तयार देखिएको छैन। एकीकृत समाजवादी सकारात्मक देखिन्छ। तर निर्णय भइसकेको छैन। डा बाबुराम भट्टराई नयाँ पार्टीका लागि जोहो गर्नमै व्यस्त छन्।

एकीकृत पार्टी त टाढाको कुरा संयुक्त मोर्चामा समेत कुरा मिल्न नसकेपछि उनी अहिले गठबन्धनभित्र रहेका विचार मिल्ने दलहरूबिच चुनावी मोर्चा बनाउन सकिन्छ कि भन्ने छलफल मात्र भएको दाबी गर्न थालेका छन्। माओवादी केन्द्रका नेताहरू एमालेसँग पनि सहकार्य हुनसक्ने भनेर सार्वजनिक खपतका लागि भाषण गर्छन्।

तर यता गठबन्धन छाड्न सक्ने अवस्थामा देखिएका छैनन्। अहिले प्रचण्ड गठबन्धनको आवश्यकता रहेको भन्दै प्रदेश र सङ्घको निर्वाचन मात्रै नभई आवश्यकता अनुसार शान्ति प्रक्रिया टुङ्गोमा नपुगेसम्म र नयाँ परिस्थिति नबनेसम्म गठबन्धन कायमै रहने दाबी गर्न थालेका छन्।  

‘१० वर्षे युद्धको जिम्मेवारी अरूले नलिएको अवस्था छ। बाबुराम पार्टी छोडेर जानुभयो। रामबहादुर थापा बादल एमालेमा जानुभयो', प्रचण्डलाई नजिकबाट बुझेका विश्लेषक नरेन्द्रजंग पिटरले भने, ‘कुनै न कुनै रूपमा मूल माओवादीको नेतृत्व प्रचण्डले गरिरहेका छन्। युद्धका समयमा भएका मित्र र विमित्रले मौका पाउने बित्तिकै आक्रमणको केन्द्र हुन्छ।’

पूर्व माओवादी लडाकुको व्यवस्थापनमा असफल कमान्डरको रूपमा छन्- प्रचण्ड। त्यो अपजसबाट पनि मुक्त रहन उनले वर्तमान गठबन्धन कायम राख्न चाहेको देखियो। 

‘मैले नेपाली कांग्रेसका नेताहरूसँग कुराकानी गर्दा पनि भनेको छु, सायद पहिलो त कांग्रेस नै हुने देखियो। दोस्रो चाहिँ माओवादी केन्द्र हुने हो। त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, होइन भने सहज जाँदैन।’, यसो भन्दै प्रचण्ड कांग्रेससँग दलका लागि धेरै सिट खोज्दै छन्। 

कांग्रेससँग सहज नभए अर्को विकल्पमा जाने सन्देश उनले कांग्रेसलाई दिएका छन्। त्यहीअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला, माओवादी एमालेसँग मिलेमा घाटा हुने भन्दै पार्टी बैठकमा ब्रिफिङ गरिरहेका पनि छन्।  

माओवादी नेता वर्षमान पुनले ‘कांग्रेससँग सती जानुपर्छ भन्ने छैन, एमालेबाट प्रस्ताव आउनु स्वाभाविक हो,’ भने पनि एमालेसँग गठबन्धन तत्काल सम्भव देखिँदैन। माओवादी केन्द्रकै एक नेताका अनुसार पार्टीको आन्तरिक बैठकमा प्रचण्डले चाबी आफ्नो हातमा रहेको तर ताला खोल्न एउटा न एउटासँग मिल्नुपर्ने अवस्था रहेको भन्ने अभिव्यक्ति दिने गरेका छन्। तर बाहिर खपतका लागि एक्लै पनि निर्वाचनमा जान सकिने र पहिलो पार्टी बन्न सकिने दाबी पनि गरिरहन्छन्।

यसले उनी निकै उकुसमुकुसको अवस्थामा रहेको देखाउँछ नै। जसले गर्दा उनी कार्यक्रमैपिच्छे अलग-अलग दाबी गर्दै आएका छन्। तर उनको स्वभाव र शैली अनि एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले तत्काल कांग्रेससहितको गठबन्धन तोडिहाल्ने अवस्थामा नरहेको देखाउँछ नै।

कांग्रेससहितको गठबन्धन छाड्न नसक्ने, कांग्रेससँग गठबन्धन गरेर पहिलो पार्टी बन्न नसक्ने अनि आधा-आधा कार्यकालमा पनि कांग्रेस सहमत नहुने अवस्थाकै कारण प्रचण्ड अस्थिर देखिइरहेका छन्।

प्रचण्ड अहिले मात्रै यती धेरै अस्थिर देखिएका होइनन्। एक मञ्चमा 'राजनीतिबाट सन्यास लिन मन छ' भन्ने अनि अर्को मञ्चमा पुगे लगत्तै 'फेरि एक पटक प्रधानमन्त्री बनेर चमत्कार गर्न मन छ' भन्न सक्ने नेता हुन् उनी। मिडिया ट्रायलमा पनि पोख्त नेता हुन् उनी। 

प्रचण्डसँग सशस्त्र सङ्घर्ष गरेका नेताहरू रणनीति बनाउन र आफ्नो अनुकूलको वातावरण बनाउन उनले अभिव्यक्ति दिने गरे पनि विचारमा विचलित नभएको बताउँछन्।

‘उहाँ युद्धको कमान्ड गरेर आएको सेनापति हुन्। युद्धमा ब्लाइण्ड फायर गरिन्छ, विरोधीको अवस्था थाहा पाउनलाई', विश्लेषक पिटरले भने, ‘मिडियामा केही बोलेपछि सार्वजनिक रूपमा के प्रतिक्रिया आउँछ। विरोधीका नाडी छाम्न राखिएका तर्कहरू पनि हुन सक्छन्। मिडियामा कुरा उचालेपछि क-कसको प्रतिक्रिया आउँछ त्यो थाहा पाउन सकिन्छ। हामीले अस्थिर वा विश्वास नभएको पनि भन्न सक्छौँ त्यो रणनीतिक ट्याक्टिस हुनसक्छ।’ 

०७३ मै पनि प्रचण्डले पेरिसडाँडामा केन्द्रीय नेताहरूसँग माओवादी विघटनको प्रस्ताव गरेका थिए। अहिलेकै ढर्रामा माओवादी पार्टीले गरी नखाने निष्कर्षमा उनी पुगेका थिए। तर उनले पार्टी विघटन गरेनन्। गरी नखाने पार्टीलाई फेरि एक नम्बर वा दुई नम्बर भन्दै हिसाब गरिरहे।  

‘१६ वर्षे शान्तिपूर्ण राजनीतिक यात्रा उतारचढाव रह्यो। उहाँको राजनीतिक क्यालकुलेटरले कहिले कहाँ के भन्छ त्यसै अनुसार धारण बनाउनुहुन्छ। अहिले आएका चिजहरू पनि त्यही हो,’ विश्लेषक पिटरले भने, ‘राजनीतिको सत्तामा पुग्न जो कोही किङ मेकर मात्र बन्न चाहँदैन, धेरै किङ त बनाएँ, म स्वयम् किङ किन नबन्ने भन्ने हुन्छ। ०६३ यताका सरकारका किङ मेकर उहाँ नै हुनुहुन्छ।’

प्रचण्डसँग सशस्त्र सङ्घर्ष गरेका नेताहरू रणनीति बनाउन र आफ्नो अनुकूलको वातावरण बनाउन उनले अभिव्यक्ति दिने गरे पनि विचारमा विचलित नभएको दाबी गर्छन्।

'विचारमा, आफ्नो लक्ष्यमा विचलित नहुने दृढ व्यक्तिमध्ये एक व्यक्ति प्रचण्ड हुन्। दुई दशकभन्दा लामो सङ्गतमा विचलित भएको पाएको छैन मैले,’ माओवादी नेता दीनानाथ शर्माले भने, ‘सरकार बनाउने, सत्ता बनाउने प्रसङ्गमा दाउपेच ट्याक्टिस हुन्छन्। त्यो अर्थमा अभिव्यक्ति आउनु आफ्नो ठाउँमा छ। विचारबाट विचलित हुने भन्ने हामीले पाएनौँ।’ 

त्यसो भए प्रचण्ड किन अस्थिर?

प्रचण्डले किन निराशावाद र आशावाद व्यक्त गरिरहन्छन्? किन अस्थिर छन्? 

'उहाँ गतिशील व्यक्ति हुनुहुन्छ, त्यो उहाँको अभिव्यक्तिमा देखिन्छ,’ प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले भने। उनको राजनीतिक यात्राले गतिशील पनि देखिन्छ। तर अभिव्यक्तिले अस्थिर। 

माओवादी बन्नुअघि सानो वाम घटकका नेता थिए प्रचण्ड। सशस्त्र युद्धको समयमा नायक बने। शान्ति प्रक्रियाको त मुख्य पात्र नै भए। ०६४ सालको पहिलो संविधान सभामा माओवादीलाई पहिलो दल बनाएर एमाले र कांग्रेसलाई पछार्न सफल भए उनी। 

तर फेरि, प्रधानमन्त्री बनेर सत्ता कब्जा गर्ने, सेनामा माओवादी सेनाका कमान्डरको इन्ट्री गराउने प्रयास गर्दा असफल भए। शान्ति प्रक्रियापछि काठमाडौँ कब्जा गरी विद्रोह गर्न सकिन्छ कि भनेर उनले गरेको अभ्यासले ब्याक फायर गर्यो उनलाई। 

गत वैशाखको स्थानीय तह निर्वाचनको बेला चुनावी सभामा माओवादीलाई भोट नहाले देश दुर्घटनामा जानेसम्म भन्न भ्याएका थिए प्रचण्डले। ‘यी र यस्ता अभिव्यक्ति कार्यकर्तालाई ऊर्जा दिन आएका होलान्,’ ती सल्लाहकारले भने।

२०७० सालको दोस्रो संविधान सभा र ०७४ को स्थानीय चुनावमा पार्टीले हार बेहोरेपछि उनले एमालेसँग मिलेर सरकार बनाए। कांग्रेससँग मिलेर  सरकार बनाए। एमालेसँग पार्टी एकता गराएर नेकपामा बहुमतको नेतृत्व गर्न तम्सिदा धोका पाए। एमाले अध्यक्ष ओलीको विरोध समूह एकीकृत गरेर नेकपाको अध्यक्ष हुने प्रयास अदालतबाट असफल भएपछि माओवादी केन्द्र ब्युँताए। कांग्रेसलाई साथ दिएर सरकारको सहयोगी दल बने।

तर अबको निर्वाचनबाट उनी सहयोगी दलको मात्र हैसियतमा बस्न चाहँदैनन् भन्ने उनको अभिव्यक्तिबाटै देखिन्छ। तर बलियो विकल्प भने फेला पारेका छैनन् उनले। 

‘ठुलो समस्या हल गर्न त्योभन्दा ठुलो समस्या राख्दिने उहाँको सबैभन्दा ठुलो विशेषता हो। समस्याको हल गर्ने कुनै उपाय देखिएन भने त्योभन्दा ठुलो समस्या थपेर सामान्य बनाइदिने चरित्र हामीले देख्छौँ', विश्लेषक पिटरले प्रचण्डको स्वभावबारे भने।

‘निराश हुने कुराहरूले पनि हुनसक्छ। घरपरिवारमा पनि त्यस्तो भइरहेको छ। पोल्टिकल्ली पनि भनेजस्तो भइरहेको छैन’, प्रचण्डका एक सल्लाहकारले उकेरासँग भने, ‘निराश त होइन। विभिन्न विकल्पहरूमा कुरा गर्नुभएको हो। वर्तमान घटनाले पारेको प्रभाव पनि हुनसक्छ। कार्यकर्तालाई उत्साही बनाउने हिसाबमा त्यो कुराहरू आएका हुन्।’

०००

अब माओवादीले फेरि पनि सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आएको माओवादीका नेताहरूको बुझाइ छ। 

‘परिवर्तनको शक्ति संविधानको शक्ति भएकाले व्यवस्था फेरिए पनि अवस्था नफेरिएकाले अवस्था फेर्न माओवादी एक पटक सत्तामा हुनुपर्छ भन्ने कुरा स्वाभाविक हो,’ शर्माले भने।

*हेडलाइन सच्याइएको

२० साउन, २०७९, १३:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।