माफियाको घेरामा मेयर बालेन

माफियाको घेरामा मेयर बालेन

काठमाडौँको फोहोर नुवाकोट ककनीको बञ्चरेडाँडामा फाल्न समस्या आएपछि स्थानीय पक्ष र महानगरबीच २६ जेठ २०७९ मा १७४औँ सम्झौता भयो। तर त्यो सम्झौताको एक महिना पुग्न एक दिन बाँकी रहँदै पुन: फोहोरका ट्रकहरू धादिङको धुनिबेसी क्षेत्रमै रोकिए।

स्थानीयले फोहोरको गाडीले सडकमा गरेको प्रदूषण रोक्न माग गर्दै गाडी रोकेका थिए। काठमाडौँमा मेयर बालेन्द्र शाह ‘बालेन’को मेयरमा उदय र सम्झौतापछिको दोस्रो अवरोध थियो त्यो। 

कतिपय मानिस र सञ्चारमाध्यमलाई राजधानीमा मेयर बालेन ल्याउनु थियो, विद्यासुन्दरलाई बिदाई गर्नु थियो। यो प्रतिस्पर्धामा फोहोरको मुद्दा उछालियो। विभिन्न समूहहरूको स्वार्थको रोटी सेक्नु थियो। त्यसैले कतिपयले त्यो समस्यालाई झनै उछाले। स्वार्थको बहसमा ‘नर्ककुण्ड’ बनेको गाउँ, पाखा, पखेरा, जनसमुदाय र जैविकता बचाउने बहसले धेरैको ध्यान तान्नै सकेन।

बिपीको प्रजातान्त्रिक समाजवाद, एमालेको बहुदलीय जनवाद अथवा माओवादीको समाजवाद सबै वाद र विचार सिसडोलको फोहोरसँगै पुरिएको छ। सिसडोलमा उठेको फोहोरको पहाडले ती सबै वादका अनुयायीलाई पनि उठ्नै नसक्ने गरी थिचेको छ। 

तर, स्थानीयलाई भने कल्पनै गर्न नसक्ने सास्ती छ। सहरसँगै जोडिए पनि उनीहरुलाई छाक टार्न डोकामा साग बेच्न बालाजुसम्म आउनैपर्ने बाध्यता छ। दु:खको कारणबारे उनीहरु जानकार छन्। तर उनीहरुलाई फोहोर किन बन्द हुन्छ अनि किन र कसरी खुल्छ थाहा हुँदैन। 

पानीको मुहान छेउछाउ केही ‘अपशब्द बोले नाग लाग्छ’ भन्दै ‘भिनावी’ भन्ने चलन थियो गाउँघरमा। त्यस्तो ‘भिनावी’ शब्द क्षमाको लागि भन्नुपर्छ भन्ने बुझाइ हुन्थ्यो। यो कोल्पु खोलाको जलाधार क्षेत्रले देखाउँछ काठमाडौँलाई सुगन्धित बनाउन उसले गरेको अत्याचार। तर सरकार, ‘भिनावी’ भन्दैन। उसलाई मैले बिराएँ भन्ने अनुभव समेत छैन।

बिपीको प्रजातान्त्रिक समाजवाद, एमालेको बहुदलीय जनवाद अथवा माओवादीको समाजवाद सबै वाद र विचार सिसडोलको फोहोरसँगै पुरिएको छ। सिसडोलमा उठेको फोहोरको पहाडले ती सबै वादका अनुयायीलाई पनि उठ्नै नसक्ने गरी थिचेको छ। 

यो फोहोरको फोहोरको खेलमा मेयर बालेन आउनु र जानुमा केही साइनो छैन। यो राजधानीको संस्कार हो अनि परम्परा। आफ्नो घर सफा राख्न सडकमा फोहोर फाल्ने संस्कारमा हुर्किएका काठमाडौँवासीका लागि आँगनको फोहोर पर सिसडोल र बञ्चरेडाँडामा लगेर फाल्नु नौलो कुरा हैन। किनकी, कुनै समय मुलपानीले यो समस्या भोगेकै थियो। अहिले मुलपानीवासीले हिजोको त्यो पीडा भुलेर सिसडोलमा फोहोरको पहाड बनाउने योगदानमै सहभागी भइसकेका छन्।

काठमाडौँको गल्लीका भित्तामा 'यहाँ फोहोर फाले रु. एक हजार, पन्ध्र सय, पाँच हजार, पन्ध्र हजार, दस हजारसम्म जरिवाना लाग्छ' भनेर लेखिएका हुन्छन्। फोहोर सङ्कलन गर्ने एक कम्पनीले काठमाडौँको धोवीखोलामा फोहोर फाल्दा २५ हजार जरिवाना तिरेको नगदी रसिद मेयर बालेनले आफ्नो सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए। 

ढल बनिसकेको धोवीखोलामा दुई/चार ट्रक फोहोर खसाल्दा २५ हजार जरिवाना तिराएको रसिद हेरेका सिसडोलवासी कोल्पु खोलामा १७ वर्ष निरन्तर फोहोरको झोल फाल्दा कति जरिवाना तिराउने भन्ने निर्णय समेत गर्नसक्ने अवस्थामा छैनन्।

जब सहरमा मान्छेहरू थपिन्छन्, बस्ती बढ्छ। बस्ती बढेसँगै फोहोरको उत्पादन बढ्छ। आफ्नो घर, टोलबाट पर लगेर त्यो फोहोर फालेर मात्र समस्या समाधान हुन सक्दैन। त्यो भनेको घरभित्र बढारेर फोहोर गेट अगाडिको सडकमा फाल्न बराबर हो। हावा चल्यो भने त्यो फर्कने घरभित्रै हो। त्यसैले फोहोर समस्या समाधानको उपाय मिल्काउने हैन व्यवस्थापन गर्ने हो। तर बुझ्ने कसले!

राज्य पुनर्संरचना आयोगले काठमाडौँको फोहोर समस्या समाधान गर्न ककनीलाई काठमाडौँमै मिसाउने प्रस्ताव समेत गरेको थियो। त्यसको कारण फोहोर फाल्ने ठाउँ काठमाडौँ जिल्लामा नपरेर अर्को जिल्लामा पर्दा धेरै अवरोध भयो भन्ने मानसिकताले काम गरेको देखियो। तर नक्सा सारेर ककनीलाई काठमाडौँमा पारे पनि वस्ती त त्यही हो

नेपाल सरकारले गठन गरेको भूमि आयोगले समेत फोहोरको गन्ध पाएको छ। अव्यवस्थित बसोबासलाई व्यवस्थित गरेर लालपुर्जा दिलाउने आयोगले गुठी र प्रति ऐलानी जग्गाको केही थान लालपुर्जा दिलाउने र सबै लालपुर्जाको जग्गा अधिग्रहण गराउन लाग्ने अर्को गिरोह फोहोर फालेर र रोग पालेर मात्रै विकासको मुल फुट्ने देख्छ। तर यस्तो तर्कले नागार्जुनको डाँडाले छेकेजति र चिम्टेश्वरको डाँडाले देखेजति कोल्पुको उपत्यका सबै अधिग्रहण गरे पनि फोहोर समस्या जिउँदै रहने पक्का छ।

हामी कल्पना गरौँ; काठमाडौँको फोहोरले सिसडोल भरियो, अब सिसडोलबाट बञ्चरे डाँडामा जाऊँ, त्यो बञ्चरे डाँडा पनि भोलि भरिन्छ। फेरि पछि त्यहाँबाट अलि परको गिद्देभीरसम्म लैजाऊँ। त्यो पनि भरिएपछि? 

समाधानतिर भन्दा फोहोरको समस्या थप जटिलतातिर जानुको अर्को कारण राजधानीको फोहोरमा पल्किएका माफिया पनि हुन्। फोहोर उत्पादक अनि जहाँ लगेर अव्यवस्थित रुपमा बिसर्जन गरिएको छ, त्यहाँका लागि फोहोर, फोहोर हो। यही फोहोर काठमाडौँका धेरैका लागि मोहोर हो।

फोहोर संकलनको नाममा उठ्ने शुल्क, फोहोरसँगै मिसिएर आउने बिक्रीयोग्य सामग्री उनीहरुका मोटो आम्दानीको स्रोत हो। फोहोर व्यवस्थापनको स्थायी समाधान भयो भने उनीहरुको त्यो आम्दानीको स्रोत सुक्ने जोखिम छ।

अनि उनीहरुको आम्दानी सुकेमा महानगर, वातावरण विभाग र सहरी विकास मन्त्रालयका अधिकारीहरु जसले फोहोरको मोहोरको स्वाद पाएका छन् उनीहरुको आम्दानी सुक्छ नै। अनि उनीहरु आम्दानी सुक्ने जोखिम किन मोल्छन् फोहोर व्यवस्थित गराएर!

१७ वर्षको सम्झौता, प्रतिबद्धता, आन्दोलनको चित्र हेर्दा लाग्छ, महानगर नेतृत्व र कर्मचारी नै फोहोर व्यवस्थापनबारे सोच्दैनन्। उनीहरुलाई राजनीतिक अनि व्यावहारिक दुवै रुपमा फोहोर समस्याको दीर्घकालीन समाधानमा हैन, दीर्घकालीन समस्या बनाउनुमै फाइदा छ।

त्यसैले त कमिलाको ताँतीजस्तो ताँती लगाएर काठमाडौँ सहरको चर्पी बोकेका टिप्परहरूले सिसडोल र बञ्चरेमा फोहोर आतङ्क बनाउने र केही थान कर्मचारी, केही सवारी चालकको रोजगारी दिएर, केही करोड रकम दिएर विकासको भोक मेटाइदिने विकृत मानसिकताले राज गरिरहेको छ। 

बालेनको व्यवहारले भन्छ- उनी यो खेल खत्तम गर्न चाहँदैनन्। खेल जारी रहोस्, काठमाडौँको चोकमा फोहोर थुप्रिरहोस्, सिसडोलमा आन्दोलन भइरहोस् अनि सिसडोल र  काठमाडौँवासीको ध्यान फोहोरबाहेक अन्त जाँदै नजाओस् भन्ने नै देखिन्छ।

फोहोर प्रशोधन उद्योग स्थापना गरेर नयाँ ढङ्गले लैजान कसले रोकेको छ? त्यो काम अहिलेसम्म किन भएन? जैविक मल र पुनःप्रयोग गर्न मिल्ने सामानको अलग अलग प्रशोधन केन्द्र बनाउन किन थालनी किन भएन? 

सबै फोहोर जलाउने र गलाउने विधिमा पनि लैजान सकिन्छ। त्यस्तो किन खोजी भएन? सर्वसाधारण नागरिक, जेष्ठ नागरिक, बालबालिका, बिरामी हिँडनुपर्ने सडकमा हरर डाँडै गन्हाउने फोहोरका टिप्परहरू किन कुदिरहेका छन्?

यो गम्भीर सामाजिक अपराध हो, वातावरणीय अपराध हो। तर मौन छन् नागरिक अधिकारकर्मी र वातावरणीय कानुनका विद्धानहरू। मौजुदा वातावरण संरक्षण ऐन, २०५३, फोहोरमैला व्यवस्थापन ऐन, २०६८, नेपालको संविधान, २०७२, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्पष्टरूपमा यो विषयको निरुपण गरेको देखिन्छ। तर पालना हुन्न।

जहाँ फोहोर हुन्छ, त्यहाँ झिँगा भन्किनु अस्वाभाविक होइन। अझै चर्पिमा त झन् हरिया झिँगाहरू भन्किने नै भए। फोहोरभित्रको राजनीति पनि त्यस्तै झिँगेदाउबाट आक्रान्त छ। फोहोर छ र झिँगा लागेको छ। फोहोर छ र आन्दोलन चलेको छ। फोहोर छ र क्षतिपूर्तिको कुराहरू उठेका छन्। यो फोहोर सधैँको लागि बन्द गरे यी कुनै टण्टा उठ्ने नै छैन। खेल खत्तम्!

तर, बालेनको व्यवहारले भन्छ- उनी यो खेल खत्तम गर्न चाहँदैनन्। खेल जारी रहोस्, काठमाडौँको चोकमा फोहोर थुप्रिरहोस्, सिसडोलमा आन्दोलन भइरहोस् अनि सिसडोल र  काठमाडौँवासीको ध्यान फोहोरबाहेक अन्त जाँदै नजाओस् भन्ने नै देखिन्छ।

ध्यान अन्त गयो भने त प्रश्न आउँछ। चुनाव अगाडिका कसम सम्झाउनेछन्। त्यो जोखिम किन मोल्ने! समस्या समाधान भयो भने त अन्तर्वार्ता पनि दिनुपर्छ बालेनले। प्रश्नहरु आउनेछन्। तर उनको शैली उत्तर दिने हैन, प्रश्न सोध्ने मात्रै हो भन्ने यो बीचको उनको शैलीले नै देखाइसकेको छ। 

त्यसैले बालेन 'फोहोर समस्याको स्थायी समाधान नगरेसम्म अन्तर्वार्ता दिन्न' भन्ने वाचाको अवधि पाँच वर्ष लम्ब्याउने मुडमा देखिन्छन्। त्यसका लागि काठमाडौँले फोहोर उत्पादन गरिरहने अनि सिसडोलले रोकिरहने हुनु अनिवार्य छ।

२० साउन, २०७९, १०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।