ट्रफी हैन हातमा दिल्लीको ड्युटीफ्रीको ब्याग हल्लाउँदै आइपुग्यो राष्ट्रिय फुटबल टोली

ट्रफी हैन हातमा दिल्लीको ड्युटीफ्रीको ब्याग हल्लाउँदै आइपुग्यो राष्ट्रिय फुटबल टोली

काठमाडौँ : भारतमा जारी साफ यू-२० च्याम्पियनसिपमा तेस्रो भएको नेपाली फुटबल टोली बिहीबार स्वदेश फर्कियो। भारतसँग लज्जास्पद हार ब्यहोरेसंगै अङ्क तालिकामा तेस्रो स्थानमा चित्त बुझाउँदै टोली स्वदेश फर्किएको हो।

बिहीबार अपराह्न नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिदा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कज नेम्वाङ लगायतका एन्फाका पदाधिकारीले उनीहरूको स्वागत गरेका थिए। लक्ष्यमा नपुगी फर्किएको टोलीको स्वागत फिक्का-फिक्का देखिएको थियो भने मास्क खोलेका खेलाडीको अनुहार मलिन।

फाइनलमा पुगेर टाइटल जितेको भए हातमा ट्रफी हुन सक्थ्यो। तर तेस्रो भएर रित्तै फर्कँदा केही खेलाडीको हातमा दिल्लीको ड्युटीफ्रिमा किनेका सामानको झोला झुन्डिरहेको थियो। नेपाली टोली फर्किए पनि प्रतियोगिता सक्किएको छैन। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगिताको फाइनलमा भारत र बङ्गलादेश पुगेका छन्।

प्रतियोगितामा नेपालले मालदिभ्स र श्रीलङ्कालाई हराएर बङ्गलादेशसँग बराबरी खेलेको थियो। तर भारतसँग ८-० को हार नै फाइनल पुग्नबाट रोक्ने सबैभन्दा ठुलो बाधक बन्यो। अन्य प्रतियोगिसँग बलियो देखिएको नेपाली टिमको भारतसँगको प्रतिस्पर्धालाई भने धेरैले शङ्काको दृष्टिले हेर्दै छानबिनको माग समेत गरेका थिए। सामाजिक सञ्जालमा म्याचफिक्सिङको आशङ्कासम्म गर्दै एन्फासँग सो खेलको छानबिन गर्न माग भएको थियो।

राष्ट्रिय यु २० फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले दक्षिण एसिलायी प्रतियोगिताको लागि मिहेनत र लगानी अपुग रहेको बताएका थिए। उनले दुई वटा खेल जितेर नेपाली फुटबललाई कमब्याक गर्न कोसिस गरेको, खेलाडीले धेरै मिहेनत गरेको र टिम समक्ष समेत रहेको दाबी गरेका थिए। 

उनले पत्रकारहरुसँग भारतसँगको खेलपछि अझै नेपालको दक्षिण एसियाली स्तरमा मिहनेत र लगानी नपुगेको महसुस भएको भन्दै भारतसँग ८-० को हार बेहोर्दा फुटबलमा किन लागेको होला भन्ने भएको बताएका थिए। 

 

१९ साउन, २०७९, १९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।