दासढुंगाको दुर्घटनाको आश्रितको चिनो : १३ सय रुपैयाँ र नाडी घडी

दासढुंगाको दुर्घटनाको आश्रितको चिनो : १३ सय रुपैयाँ र नाडी घडी

बुटवल : २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटना हुँदा तत्कालीन एमाले सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भयो। ती नै आश्रितको सम्मान र उनको योगदानको सम्झनामा बुटवल–९ दीपनगरमा जीवराज आश्रित प्रतिष्ठान गठन भएको थियो। अहिले उनको नाममा सङ्ग्रहालय समेत छ।

दासढुंगामा जिप दुर्घटनामा मृत्यु भएपछि उनको साथबाट १३ सय रुपैयाँ फेला परेको थियो। त्यो रकम अहिले पनि सुरक्षित छ त्यही सङ्ग्रहालयमा। त्यति मात्र हैन, उनले प्रयोग गर्ने घडी र सुन्ने फिलिप्स कम्पनीको रेडियो पनि छ सङ्ग्रहालयमा।

आश्रितले भूमिगत हुँदा लेखेका महत्त्वपूर्ण दस्ताबेज, पत्र, उनका तस्बिर, उनी बस्ने कुर्सी र अध्ययनका लागि प्रयोग गर्ने टेबल, उनको झोला, श्रव्य–दृश्यमा उनको जीवनी सङ्ग्रहालयमा देख्न सकिन्छ।

आश्रितलाई चिनाउन र बुझाउनकै लागि सङ्ग्रहालय स्थापना गरेको प्रतिष्ठानले त्यस बाहेक आश्रित प्राविधिक शिक्षालय स्थापना र आश्रितको वृत्तचित्र बनाउने काम गरिरहेको छ।

जीवराज आश्रित प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र घिमिरे प्रतिष्ठानबाट आश्रित सङ्ग्रहालय बनाउने र उनको वृत्तचित्र बनाउने योजना अनुसार प्रतिष्ठानले काम गरिरहेको बताए।

सङ्ग्रहालय हेर्न विद्यार्थीलाई निःशुल्क छ भने फरक क्षमता भएका नागरिकको लागि र ज्येष्ठ नागरिकको लागि २५ र अन्य व्यक्तिलाई ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ।

प्रतिष्ठानको पहलमा नेपाल सरकारले जीवराज आश्रितको आकृति अङ्कित ५ रुपैयाँको टिकट पनि प्रकाशित गरेको छ। आश्रितको ७५ औँ जन्म जयन्तीको अवसरमा खुल्ला गरिएको सङ्ग्रहालय सुरु भएको ४ वर्ष भइसेको छ।

बुधवार उनै आश्रितको ७९ औँ जन्म जयन्ती हो। संस्कृति मन्त्रालयबाट प्राप्त ८० लाख रुपैयाँ बजेटमध्येबाट ६० लाख रुपैयाँ खर्च गरेर यो सङ्ग्रहालय बनाइएको हो। प्रतिष्ठानले आश्रितका समकालीन विचार एवं योगदानको साथै उनका प्रकाशित अप्रकाशित मन्तव्य लेखको सङ्ग्रह, खोज तथा अनुसन्धान, प्रकाशित गर्दै त्यसको प्रचार प्रसार र संरक्षणमा प्रतिष्ठान जुटिरहेको देखियो।

कुशल संगठकको शङ्कास्पद बिदाइ

आमा चन्द्रकला शर्मा र बुबा प्रेमराज शर्माका जेठा छोरा रूपमा २००१ साउन १८ मा गुल्मीको हरेवा गाविस रिठारुखमा जन्मिएका थिए आश्रित। २०२० मा उनको परिवार रुपन्देहीमा बसाइँ सर्यो। २०३२ मा माया ज्ञवालीका साथ वैवाहिक बन्धनमा बाँधिएका आश्रितका दुई सन्तान छन्।

२०२३ बाट विभिन्न नेतृत्व समाल्दै आएका आश्रित २०२६ सालमा १८ महिना जेल परे। विभिन्न राजनीतिक यात्रा सम्हाल्दै अगाडी बढेका आश्रित २०४९ को पाँचौँ महाधिवेशनबाट तत्कालीन एमाले पोलिटब्युरोमा र सङ्गठन विभाग प्रमुख बनेका थिए।

२०४८ सालको आम निर्वाचनमा गुल्मी २ का उमेद्वारा बनेका आश्रितको २०५० साल जेठ ३ गते मदन भण्डारीसँगै चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा मृत्यु भयो। उनको स्मृतिलाई चिरस्थायी बनाउन २०६६ सालमा देवेन्द्र घिमिरे संस्थापक रहेको जीवराज आश्रित स्मृति प्रतिष्ठान बुटवल उपमहानगरपालिका वडा नं सात संगमटोलमा खुलेको थियो।

१८ साउन, २०७९, १८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।