पोखरा महानगरले इन्जिनियरको तह नै चिनेन, विज्ञापनले बेइज्जत भएपछि फिर्ता लियो

पोखरा महानगरले इन्जिनियरको तह नै चिनेन, विज्ञापनले बेइज्जत भएपछि फिर्ता लियो

काठमाडौँ : पोखरा महानगरपालिकाले इन्जिनियरको पदपूर्ति गर्न इन्जिनियरको तह नै नचिनी दरखास्त मागेको छ। करार सेवामा पदपूर्ति गर्न महानगरपालिकाले अनुभवी एवम् स्नातकोत्तर उत्तीर्ण गरेको भन्दै छैटौँ तहको लागि आवेदन मागेको हो।

महानगरपालिकाले साउन २ गते विभिन्न सेवाको पदपूर्तिको लागि भन्दै जारी गरेको सूचनामा मेकानिकल इन्जिनियर एक जना, अर्बन प्लानर एक जना र स्ट्रक्चरल इन्जिनियर एक जना मागेको छ।

मेकानिकल इन्जिनियरका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने, अर्बान प्लानरको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट अर्बान प्लानिङ विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने र स्ट्रक्चरल इन्जिनियरको हकमा मान्यताप्राप्त विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङ विषयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।

आर्थिक वर्ष २०७९-८० को लागि करार सेवाको पदपूर्ति मागका लागी जारी गरिएको सो सूचनामा सातौँ तहको लागि मेकानिकल इन्जिनियर र अर्बान प्लानर माग गरिएको छ भने छैटौँ तहको लागि स्ट्रक्चरल इन्जिनियर माग गरिएको छ।

लोकसेवाले पदपूर्ति माग गर्दा सामान्यतया प्राविधिकहरूको लागि स्नातक तह उत्तीर्ण गरिसकेकोलाई सातौँ तह र स्नात्तकोत्तरलाई आठौँ तह दिने सरकारको नियम छ। तर पोखरा महानगरपालिकाले भने स्नातकोत्तर गरिसकेका इन्जिनियर-अर्बान प्लानरको लागि छैटौँ र सातौँ तहमा राखेर विज्ञापन गरेको छ।

करार सेवाको पदपूर्तिका लागि आह्वान गरिएको भ्याकेन्सीमा महानगरजस्तो निकायले इन्जिनियरको तह नै नचिनेको भन्दै इन्जिनियरहरूले आलोचनासमेत गरिरहेका छन्। स्थानीय तहले इन्जिनियरको लागि पदपूर्ति आह्वान गर्दा हेपाहा एवम् भेदभावपूर्ण प्रवृत्ति देखाएको स्ट्रक्चरल इन्जिनियर एआर तुलाधर बताउँछन्।

‘सामान्यतया स्नातक गरिसकेका इन्जिनियरहरूको माग गर्दा लोकसेवाले सातौँ तहदेखि माग गर्ने गर्छ’ उनी भन्छन्, ‘तर पोखरा महानगरले छैटौँ र सातौँ तहको स्नातकोत्तर गरेको मेकानिकल इन्जिनियर, अर्बन प्लानर र स्ट्रक्चरल इन्जिनियर माग गरेको छ। महानगरपालिकाले त्यो तिन वटै पदमा एउटै योग्यता भएका व्यक्तिको माग गर्दा पनि तह मिलाएको छैन। शैक्षिक योग्यता र अनुभवको आधारमा स्ट्रक्चरल इन्जिनियर आठौँ तह हुनुपर्ने हुन्छ, तर यहाँ उल्टै छैटौँ तहमा राखिएको छ।'

उनले उस्तै योग्यता र दक्षता भएका महानगरका इन्जिनियरको लागि भेदभाव गरिएको बताए। योग्यता र क्षमताभन्दा एकाएक तह तल राखिएको भन्दै उनले स्थानीय निकायले तह र विषयगत दक्षताको आधारमा पद छुट्टाउन नसक्नु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिए।

महानगरपालिकाले पहिलो पटक जारी गरेको सूचना सच्याएर संशोधनसमेत गरेको थियो । जसमा शैक्षिक योग्यताको आधारमा सिभिल इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरी पाँच वर्ष अनुभव गरेको वा सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरेको थियो।

संशोधित सूचनामा महानगरपालिकाले पुन अर्को ठुलो गल्ती दोहोर्याएको ई. तुलाधरको भनाई छ।

‘गल्ती सुधार गर्दै महानगरपालिकाले पुन जारी गरेको सूचनामा झनै ठुलो गल्ती गर्यो’ उनी भन्छन्, ‘सिभिल इन्जिनियरिङमा स्नातकोत्तर नगरी स्ट्रक्चरल इन्जिनियर भन्न र बन्न पाइँदैन । तर पोखरा महानगरपालिकाले भने पाँच वर्ष अनुभव भएको सिभिल इन्जिनियरलाई सरासर स्ट्रक्चरल इन्जिनियर मान्ने रहेछ। स्ट्रक्चरल इन्जिनियरहरूले पनि भूकम्प, भवन, बाँध, पुल आदीजस्ता विभिन्न विषयको विज्ञता हासिल गरेका हुन्छन्। तर महानगरपालिकाले संशोधित सूचनामा आफूलाई आवश्यक स्ट्रक्चरल इन्जिनियरको विषय विशेषज्ञतासमेत छुट्टाएको छैन। जब विज्ञापन नै स्पष्ट रूपमा हुँदैन भने सो विज्ञापनका आधारमा छनोटमा पर्ने व्यक्तिले गर्ने कार्य कत्तीको गुणस्तरीय होला?’

पछिल्लो समय स्थानीय तहहरूले आफ्नो तरिकाले विज्ञापन राख्दा यस्ता खाले गल्तीहरू दोहोरिइरहने नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्लिरमण निरौला बताउँछन्।

‘पछिल्लो समय पदपूर्ति सम्बन्धमा खुलाइने आवेदनको क्रममा यस्ता खाले गल्तीहरू दोहोरिइरहेका छन्’ उनी भन्छन्, ‘पोखरा महानगरपालिकाले स्नातकोत्तर उत्तीर्ण गरेकालाई छैटौँ र सातौँ तहमा राख्नु गलत हो । यस्ता कतिपय केसलाई त सुधारी पनि सके, धेरैले सुधारेका छैनन्। पदपूर्तिको क्रममा इन्जिनियर-डाक्टरहरुको सातौँभन्दा मुनीको तह हुँदैन। प्राविधिकको लागि कम्तीमा सातौँ तह हुन्छ। स्नातकोत्तर गर्दैमा आठौँ तह भन्ने हुँदैन। शैक्षिक योग्यतासँगै उसको अनुभवमा भर पर्छ।’

‘अब सल्लाह गरेर मात्र पुन विज्ञापन छाप्ने’

विज्ञापन प्रकाशनपश्चात् विभिन्न क्षेत्रबाट आलोचना हुन थालेपछि पोखरा महानगरपालिकाले सो विज्ञापन खारेज गरी पदपूर्तिका लागि नयाँ सूचना जारी गर्ने तयारी गरेको बताएको छ । स्थानीय तहको कर्मचारी भर्नासम्बन्धी नियमअनुसार सो विज्ञापन जारी गरेको पोखरा महानगरपालिकाले जनाएको छ।

सो सूचना जारी गर्दा भएको गल्ती महानगरपालिकाले स्वीकार गरेको छ। अब भने सल्लाहअनुसार सो विज्ञापन सच्याइने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारतीले बताए।

‘स्थानीय तहमा अधिकृत तहको कर्मचारी भर्ना गर्दा सुरुवातमा छैटौँ तहमा कर्मचारी गर्न पाउने भन्ने नियमअनुसार महानगरपालिकाले सो विज्ञापन निकालेको थियो’ उनी भन्छन्, ‘उक्त सूचनामा अधिकृतको योग्यताभन्दा माथिल्लो तहको माग गरिएको हुँदा केही दिनभित्रमा सूचना सच्याएर पुन प्रकाशन गर्ने तयारी गरिरहेको छ।’ 

१६ साउन, २०७९, २३:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।