भाँडा माझ्दामाझ्दै रेष्टुरेन्टका मालिक बनेका विकास जो वर्षौंदेखि पस्किँदैछन् सिरुपाते ढिँडोको स्वाद

भाँडा माझ्दामाझ्दै रेष्टुरेन्टका मालिक बनेका विकास जो वर्षौंदेखि पस्किँदैछन् सिरुपाते ढिँडोको स्वाद

नारायणघाटको पुल तर्ने बित्तिकै नवलपरासी, गैंडाकोटमा भेटिन्छ सिरुपाते ढिँडो रेष्टुरेन्ट। रेष्टुरेन्टका साहुजी हुन् ३२ वर्षीय विकाश कार्की।

बिहानदेखि मध्यरातसम्मै त्यही रेस्टुरेन्टमा व्यस्त हुन्छन् विकाश। सागसब्जी, चिकेन, माछा लगायतका सरसामान किनेपछि दाउराको आगोमा तामाको भाँडा राखेर परिकार पकाउन कस्सिन्छन् उनी।

राजमार्गमै रहेको आफ्नो रेष्टुरेन्टमा पहिले निकै चहलपहल हुने भए पनि पछिल्लो समय भने ग्राहकको संख्या घटेको उनी बताउँछन्।

रेस्टुरेन्टमा आउने ग्राहक किन घटे त? विकाश भन्छन्, 'पहिला जग्गाको कारोबार बेस्सरी थियो। त्यही भएर ग्राहक पनि धेरै हुन्थे। अहिले जग्गाको कारोबारमा कमी आएसँगै ग्राहक पनि घटे।

अहिले पहिलेको तुलनामा ५०/६० प्रतिशत ग्राहक घटेको उनको अनुभव छ। 'पहिले काठमाडौँ ,पोखरा, झापा, वीरगञ्ज, बुटवल, भैरहवा, धनगढीदेखिका मान्छे आउँथे। अहिले घटेको छ,' उनी भन्छन्।

१२ वर्षको उमेरमा घरबाट भागेर काम गर्ने अठोट 
पुर्ख्यौली घर सिन्धुपाल्चोक भएका विकाशका बुबा पूर्वप्रहरी थिए। परिवारका कान्छा छोरा भएकोले बाल्यकाल निकै माया-मोहमै बितेको विकाशको अनुभव छ।

केटाकेटीमा स्कुल पढ्न भने निकै कठिनाइ थियो उनलाई। पहाडको बाटो भएकोले घरबाट स्कुल पुग्न दुई घण्टा लाग्थ्यो। बिहान-बेलुका गोठालो गरेर, कोदोको ढिँडो खाएर जसोतसो स्कुल पुग्थे। तर गाउँमा हुँदा उनले ७ कक्षासम्म मात्र पढ्न पाए। 

त्यस समय गाउँमा माओवादीको बिगबिगी थियो। ९/१० कक्षा पढेका मान्छेलाई माओवादीले अपहरण गरेर लान्छ भन्ने हल्ला व्यापक थियो। कति बच्चा त अपहरणमा परे भन्ने खबर पनि सुनिन्थ्यो। त्यसमाथि पनि प्रहरीको परिवार र बच्चा भनेपछि त माओवादीको नजरमा पर्ने नै भए।

एक त गाउँमा माओवादीको प्रभाव। त्यसमाथि जग्गा-जमिन धेरै भए पनि उब्जनी थिएन। पछि विभिन्न कारणले विकाशको परिवार बसाइ सर्न बाध्य भए। आफन्तहरु पनि भएको कारण सिन्धुपाल्चोकबाट २०५९ सालमा उनीहरु चितवन छिरे। त्यस समय विकाश १२ वर्षका थिए। 

'त्यतिबेला राति १० बजेपछि चितवन छिर्न नपाउने भन्ने रहेछ। कर्फ्यु लाग्ने रहेछ। अनि हामी सबैले ट्रकमै रात बितायौं,’ चितवन गएकै दिनको अनुभव सुनाए विकाशले। 

चितवन पुगेपछि उनी ८ कक्षामा भर्ना भए। 'पहाडबाट तराई आएको मान्छे. यहाँ पो झन् रमाइलो लाग्न थाल्यो। बत्ति कहिले नजाने। रातभरि टिभी हेरेर बस्न पाइने,’ उनी सुनाउछन्, 'म त ८ कक्षामा म फेल पो भएँ। फेल भएपछि पढ्न मन लागेन।’

चितवनमा उनीहरुले किराना पसल खोलेका थिए। पसलका लागि बैंकबाट ऋण लिएको कारण घरमा सधैं त्यही विषयमा कुरा भइरहन्थ्यो। 'फेल भएपछि पढ्न मन पनि लागेन। बरु काम गर्छु। एक हजार मात्र बुबा-आमालाई सहयोग गर्न सकें भने पनि ठूलो हुन्छ भन्ने लागेर म घरबाट भागें,' विकाशले भने।

घरबाट भागेर चितवनमै रहेको हजुर-आमाको घर पुगेका विकाश त्यहीँ काम गर्न थाले। एक हप्तापछि उनी घर गए। घरमा आमा-बुबाले सम्झाए। दाइले त पिटे पनि।  तर उनले मानेनन्। काममै फर्किए।

२०६० साल भदौ महिनामा भाडा माझ्न सुरु गरेका उनी दुई महिनापछि नै वेटर भए। त्यहाँका साहुले काठमाडौँमा पनि रेष्टुरेन्ट खोले। उनलाई काठमाडौँ जान अफर आएको थियो। तर टाढा हुने भएकोले गएनन्। महिनाको १२ सय रुपैयाँमा काम सुरु गरेका विकाशलाई दुई महिनापछि तीन सय रुपैयाँ बढाएर दिइयो।  

काम गर्दागर्दै उनलाई नवलपरासीको थुम्सीमा कामका लागि प्रस्ताव आयो। त्यहाँ धेरै टिप्स पाइने र सिधै वेटरमा काम पाइने कुरा आएपछि 'पाते ढिँडो’ नामको रेष्टुरेन्टमा काम गर्न थुम्सी गए।  त्यहाँ उनले सुरुमा भाँडा माझ्ने काम नै गरे। पछि वेटर, वेटर हेड हुँदै अकाउन्टेन्टसम्मको काम गरे।

'पाते ढिँडो’ मा कलाकार, वकिल लगायत सरकारी कर्मचारीहरुसँग भेटघाट भयो। उनलाई रमाइलो लाग्दै गयो। त्यहाँ साढे १३ वर्ष काम गर्दा विकाशले होटेल/रेस्टुरेन्टका सबै काम सिके। 

होटेलमा काम गरेर श्रीमतीको पढाइमा निरन्तरता 
आफूले भाडा माझिरहेको अवस्थामा देख्दा आमा एकदमै भावुक भएको विकाश बताउँछन्। 'घरमा एउटा सिन्को भाँच्न नदिएको छोराको हात भाँडा माझेर पानीले खाएको देख्दा आमा त रुनु भो। आमाले फेरि पढ्नुपर्छ भन्ने कुरा गर्नुभयो। तर मलाई फिटिक्कै पढ्न मन थिएन।'

उनी काममै रमाए। महिनाको २१ सय रुपैयाँ तलब र थप टिप्स पनि राम्रो पाउन थालेपछि त काममा झन् रस बस्दै गयो। 

काम गर्दागर्दै उनको भेट दीपा न्यौपानेसँग भयो। जतिबेला विकाश १९ वर्षका थिए भने दीपा १५ वर्षकी। साथीहरुले जिस्क्याउँदा जिस्क्याउँदै दुवै जनाले एक अर्कालाई मन पराए।

केही समयपछि विकाश दीपाको घरमा विवाहको प्रस्ताव लिएर गए। दुवै जनाको उमेर सानो भएपछि केटी पक्षले विवाह गरिदिन मानेन। तर विवाह नगरिदिए भागेर जाने बताएपछि परिवारको सहमतिमै उनीहरुको विवाह भयो। 

विवाहपछि पनि विकाश होटेलमै काम गर्न थाले भने श्रीमतीलाई ८ कक्षामा भर्ना गरिदिएर घरमै राखे। उनको पढाइ खर्च विकाशले नै जुटाए। एसइईपछि श्रीमतीले एचए पढ्ने इच्छा राखिन्। विकाशले मेडिकल कलेजमा भर्ना पनि गरिदिए। दीपालाई हरेक दिन ५० रुपैयाँ दिने गरेको अहिले पनि सम्झिन्छन् उनी। 

त्यसमा पनि ३० रुपैयाँ गाडी भाडामा खर्च गरेर बाँकी पैसा जम्मा गरेर दीपाले आफ्नो लागि गिफ्ट किन्ने गरेको भन्दै विकाश मुस्कुराउँछन्।

त्यहीबीचमा दीपा गर्भवती भइन्। एउटा परीक्षा छुटेको कारण तीन वर्षपछि मात्र एचएको लाइसेन्स निकाल्न सफल भइन् उनी। 


 
आफैं साहुजी बन्दा 
काठमाडौँमा होटेल खोल्ने विकाशको योजना थियो। कसैलाई थाहै नदिई उनी रेस्टुरेन्ट खोल्न कस्सिए। त्यस बेलासम्म उनको तलब २१ हजार पुगिसकेको थियो। आफ्नै रेष्टुरेन्ट खोल्नको लागि काठमाडौँमा उनले सम्झौता पनि गरिसकेका थिए। चैतमा सम्झौता गरेको जेठमा सुरु गर्ने भन्ने कुरा भयो। 

तर, २०७२ साल वैशाख १२ गतेको भूकम्पले उनको काठमाडौँको सपनामा पनि धक्का दियो। चितवनमै गर्ने कुरा हुँदा यता 'पाते ढिडो’नै चर्चित भइसकेको थियो। 

त्यसै क्रममा एक जनाले उनीसँग चालू अवस्थामा रहेको रेस्टुरेन्ट चलाउन प्रस्ताव राखे। पार्किंङ बाहेक बाहेक सबै सुविधा थियो त्यो रेस्टुरेन्टमा। उनले रिस्क लिएर करिब ४ लाख रुपियाँको बजेटमा साउन महिनामै आफ्नै रेस्टुरेन्ट सञ्चालन गरे। २४ वर्षकै उमेरमा साहुजी बने विकाश। 

'त्यतिखेर यहाँ भर्खरै एउटा सहकारी संस्था खुलेको थियो। त्यहाँका कर्मचारीहरुबाट नास्ताको अर्डर आयो। उक्त संस्थाबाट पहिलो दिन ६ जना कर्मचारी आए। त्यही पनि सबै जना मोटरसाइकलमा,’ उनी सुनाउँछन्।

६ वटा मोटरसाइकल रोडमै पार्किंङ गरेको देखेपछि वरपरका मान्छेलाई होटेल खुलेको भन्ने भान भएको उनी बताउछन्। त्यसपछि अन्य ग्राहक पनि आए। पहिलो दिनमा त्यस संस्थाले मात्र १२ हजारभन्दा बढीको बिल उठाए भने अन्य ग्राहकहरु समेत गरेर पहिलो दिनमै २५ हजार सात सय नब्बेको व्यापार भएको उनी अहिले पनि सम्झिन्छन्। 

'फापर र कोदोको ढिँडो त्यतिखेर कमै मात्र चल्थ्यो। लगभग चल्दैनथ्यो भन्दा पनि हुन्छ। तर पछि मैले ती सब राखे। मिक्स ढिँडो पनि बेचें,’ विकाश भन्छन्।

चुल्होमा दाउरा बालेर तामाको भाडामा खाना बनाउने त छँदैछ। त्यस बाहेक चरेसको थालमा दिने, नारायणीबाट लोकल माछा ल्याउने। हासको छोइला, चिकेन साँधेको, माछा साँधेको र पोलेको चिकेन जस्ता परिकार राख्न थालेपछि ग्राहकले मन पराउन थालेको उनी बताउँछन्।

अहिले प्राय: मध्यरातसम्म उनी रेष्टुरेन्टकै काममा व्यस्त हुन्छन्। कहिले काहीं त बिहानको ३/४ बजेसम्म पनि काममै हुन्छन्।

रेष्टुरेन्ट खोलेको सुरुवाती वर्षमा जग्गा कारोबार गर्ने मान्छेको चहलपहलले गर्दा उनी हौसिएका थिए। तर लकडाउनभन्दा अगाडिदेखि भने जग्गा करोबारसँगै रेष्टुरेन्टको व्यापारमा पनि कमी आएका कारण अलि निराश छन्।

ग्राहकको सकारात्मक प्रतिक्रियासँगै कसैकसैले ठाउँमा ब्रान्च खोल्न सुझाव पनि दिने गरेका रहेछन्। केहीले त हेटौंडामा खोल्ने प्रस्ताव पनि गरेका छन्। तर विश्वासिला मान्छेहरु नभेटेको कारण आँट्न नसकिरहेको उनी बताउँछन्।

 राम्रो र विश्वासिलो मान्छे भेटे ठाउँ-ठाउँमा रेस्टुरेन्टका शाखा खोल्ने इच्छा रहेको बताउने विकाशलाई अहिले गैंडाकोटमा उनकी श्रीमतीसँगै एक छोरा र छोरीले साथ दिइरहेका छन्।

१६ साउन, २०७९, ११:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।