'गुथिको जग्गा रैकर बनाउने नियम बसाएर राजा वीरेन्द्रले उपत्यकाको संस्कृतिमा आक्रमण गरे'

'गुथिको जग्गा रैकर बनाउने नियम बसाएर राजा वीरेन्द्रले उपत्यकाको संस्कृतिमा आक्रमण गरे'
तस्बिर : कृष्पा श्रेष्ठ

बढ्दो जनसंख्यासँगै मासिदो पानीको स्रोतका कारण काठमाडौं उपत्यकामा पानीको अभाव छ। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना 'सपना' भइसक्यो। 

उपत्यकाभित्रका नदीमा ढल बग्न थालेको पनि वर्षौँ भइसकेको छ। पोखरीहरू पुरिएका छन्। ढुङ्गेधारा मासिएका छन्।

यही उपत्यकामा कुनै बेला पोखरी, हिति (ढुङ्गेधारा) र राजकुलो भरिपूर्ण थियो। खानेपानीदेखि सिँचाइसम्मलाई कुनै समस्या थिएन। 

लेखक पद्मसुन्दर जोशीले पनि आँखैअगाडि पोखरी, हिति र राजकुलो मासिएको देखे। कंक्रिटको संरचनाले प्रकृतिको संरचना अतिक्रमण गरेको देखे।

जोशी अहिले हितिहरू जोगाउने अभियानमा छन्। उनले आफ्नो पुस्तकमा मानव सभ्यताको व्याख्या गर्दै लेखेका छन्:

‘मानव सभ्यताको इतिहास नियाल्ने हो भने पानी र यसको व्यवस्थापन ती सभ्यताहरूको प्रमुख आधार स्तम्भ रहेको पाइन्छ। पानी व्यवस्थापनका चार पक्षहरू वर्षात्‌को पानी व्यवस्थापन, सतहगत पानी, घरायसी उपयोगको पानी व्यवस्थापन र सिँचाइ व्यवस्थापन अनि प्रयोग भइसकेको पानीका व्यवस्थापन प्रणालीहरूबाट कुन बस्ती कति सभ्य छ र कुन सभ्यता कति उत्कृष्ट छ भनेर मापन गर्न सकिन्छ।’

‘हिति प्रणाली: इतिहास, वर्तमान र भविष्य' पुस्तक हालसालै ल्याएका छन् जोशीले। २० वर्ष प्राध्यापन गरेका जोशी इन्जिनियर हुन्। अहिले अध्ययन अनुसन्धान गरिरहेका जोशीसँग प्रजु पन्तले हिति प्रणाली पुस्तक र शहरीकरणबारे गरेको कुराकानीः

‘हिति प्रणाली’ पुस्तक लेखेपछि कस्तो प्रतिक्रिया पाउनु भएको छ?

यो किताब लेखेपछि साथीहरू नयाँ नयाँ तथ्य भनिरहनु भएको छ। कहाँ हिति पुरियो कसरी पुरियो भनेर नयाँ नयाँ सूचनाहरू पनि आएका छन्। पाठकहरूले  यो किताबलाई ऐतिहासिक दस्ताबेज भन्नुभएको छ।

सभ्यता भनेको आर्थिक पक्षले मात्र बन्दैन। सामाजिक तथा सांस्कृतिक पक्ष पनि हुन्छन् भन्ने सोचाइ हाम्रा शासकहरूमा देखिएन।

भर्खरै पुस्तक निस्केकाले होला समीक्षाहरू पढ्न पाएको छैन। स्वाभाविक आउने प्रतिक्रियाहरू आइरहेका छन्।

यो किताब लेख्नुपर्छ भन्ने कसरी लाग्यो?

हितिसँग हाम्रो जीवनशैली जोडियो। हामीले त्यहाँको पानी खायौँ,नुहायौँ। तर यो पानी कहाँबाट आउँछ भन्ने हेक्का नै राखेनछौँ। जमीनमुनिबाट आउँछ होला भन्ने भयो। 

५६ सालतिर काठमाडौं महानगरपालिकामार्फत दुई तीन वटा हिति मर्मत गरेका थियौँ। पानी आएन। पानी कसरी आउँछ भन्ने खुलदुली भयो। प्राध्यापन पनि गर्ने हुनाले फुर्सद पाएको थिइनँ। पाटनमा हिति संरक्षण गर्न आन्दोलन पनि भयो। त्यसमा सहभागी भएँ। 

त्यतिबेला मैले के बुझेँ भनें, प्राविधिक, सामाजिक र व्यवस्थापकीय पाटो जोडिएको हुने रहेछ हिति प्रणाली। त्यसपछि ‘वाटर मुभमेन्ट इन पाटन’ पुस्तक लेखेँ पनि।

काठमाडौंको भए पनि मेरो अधिकांश समय पाटनमा बितेको छ। विद्यालय यहीँ पढेँ। यहाँका राजकुलोहरू मैले देख्दा देख्दै पुरिए। केही हितिहरू पनि नासियो। 

सन् २०१७ मा बिरामी भएर तीन महिनाजति घर बस्दा नेपाली भाषामा पुस्तक लेख्नुपर्छ भन्ने भयो। लेख्न सुरु गरेँ। यो किताब सक्न समय लागेको मात्रै हो। 

यस पुस्तकमा मानव सभ्यता नाप्ने कडी पानी व्यवस्थापन हो भनेर उल्लेख गर्नुभएको छ। तपाईंको पुस्तक अनुसार उपत्यका सभ्य थियो। अहिले पानीको हाहाकार छ । अहिले झन् सहज हुनुपर्ने खानेपानी पाउनै समस्या छ। हामी उल्टो बाटो हिँडेको कि सुल्टो?

हामी हिँड्न त सुल्टो बाटो नै हिँडेका हौँ। तर उल्टो उल्टो हुन गएको देखिन्छ। 

उदाहरणका लागि निजगढ विमानस्थल हेरौँ न। सर्वोच्चले नबनाउने भनेर आदेश दिँदा समेत प्रधानमन्त्री निजगढ पुगेर बनाउनुपर्छ भन्छन्। योभन्दा अशोभनीय के हुन्छ? पूरै अर्थतन्त्र त्यो पनि सीमित व्यक्तिलाई मात्र पोस्ने प्रकारको सोचाइ भएन र? सभ्यता भनेको आर्थिक पक्षले मात्र बन्दैन। सामाजिक, सांस्कृतिक तथा बातावरणीय पक्ष पनि हुन्छन् भन्ने सोचाइ हाम्रा शासकहरूमा देखिएन।

तपाईंले पुस्तकमा पृथ्वीनारायण शाहले उपत्यका आक्रमण गरेपछि संस्कृति अत्याक्रमण भएको, राणाहरूले बेवारिसे छाडेको विदेशी शैलीले बनाएको, पञ्चायत कालमा त झनै हराएको लेख्नुभएको छ। २०४६ सालपछि जोगिनुपर्ने भए पनि त्यो नदेखिएको पुस्तकको निश्कर्ष छ। किन उस्तै अवस्था रह्यो होला?

व्यवस्था परिर्वतन भयो सोचाइमा परिर्वतन भएन। क्रान्तिले राजनीतिक व्यक्तिलाई विशेष पदमा पुर्याउने मात्र होइन। सामूहिक रूपमा नागरिकको भावानालाई प्रतिबिम्ब गरेर गलत दिशामा गएको छ भने सही दिशामा ल्याउने हो।

हिजो पञ्चायतमा मालपोत कार्यलयमा भ्रष्टाचार हुन्थ्यो, आज झन् बढी हुन्छ। खै त परिर्वतन भएको? यसको अर्थ हिजोको व्यवस्था ठीक थियो भनेको होइन। अहिलेको राजनीतिक व्यवस्था ठीक छ अब सोचाइमा सुधार आवश्यक छ।

हामी लोकतन्त्रमा छौँ। सामाजिक रूपमा कति भ्रष्ट भइसकेको छौँ भन्ने कुरा भनिसाध्य छैन। हिति प्रणाली त एउटा पक्ष हो। मेरो भनाइ के हो भने, हिजो राम्रा भनिएका राजाले झनै मास्ने काम गरे हाम्रा सभ्यताहरू। आजको व्यवस्थामा यो परिर्वतन हुनुपर्थ्यो त्यो भएन।

तपाईंले २० वर्ष इन्जिनियरिङ पढाउनुभयो। पाश्चतय सिद्धान्तहरू पढ्नु भयो, पढाउनु पनि भयो। पहिले प्रविधिमा पोख्त थियौँ, अहिले नहुनु भनेको त्यसलाई शिक्षा प्रणालीमा नजोडेर त होइन?

शिक्षा प्रणालीले धेरै बिगारेको पनि छ। २००७ सालअघिको अवस्था छाडिदिउँ अध्यारो युगमा थियौँ। त्यसपछि औपचारिक शिक्षा आम नागरिकको पहुँचमा पुग्यो। तर, इन्जिनियरिङ पढाउँदा यहाँको ज्ञमा पनि हुनुपर्थ्यो,भएन। त्यसलाई दुत्कारियो।

बेलायत भुकम्पीय जोखम कम भएको क्षेत्र हो । त्यहाँ दलिनमा चुकुल ठोक्नु नपर्ला तर नेपाल जस्ता देशमा हाम्रा पुर्खाले दलिनमा चुकुल त्यतिकै राखेका होइनन्। हामीले त्यहाँको सिद्धान्त पढेर चुकुल बनाउनु त नजानेर रहेछ भन्ने बुझ्यौँ। तर, हाम्रो भूगोलअनुसार चुकुल चाहिने रहेछ। हाम्रा शासकहरूले हाम्रो सभ्यतामा हीन भावना भरिदिए।

छानोकै कुरा गर्दा नेपालमा धेरै पानी पर्छ। त्यसकारण  हामी प्रत्येक घरमा पाली निकाल्छौँ। आझ भित्ता भिजेर हैरान छ। मैले पाश्चत्य विषय पढाउनै हुँदैन भनेको होइन। यहाँको अनुसार पनि पढाइ हुनुपर्थ्यो। पर्यावरण अनुकूल हाम्रो पढाइ हुन नसकेकै हो।

हाम्रोमा तलेजुबारे किन नपढाउने? न्यातपोलबारे किन नपढाउने? यहाँका संरचनाबारे पढाइ हुन जरुरी छ। क्याम्पस अथवा युनिभर्सिटी नै खुले त राम्रो हो। यदि यो गर्न सकिँदैन भने पाठ्यक्रममा त राख्नैपर्छ।

हाम्रा पुर्खाले लिखित रूपमा नराखेर हो कि? 

नभएको होइन। खोतल्ने काम गरेनौँ। विश्वविद्यालयले आफ्नो संस्कृतिलाई हेर्ने कामै गरेन। सिकर्मी डकर्मीले बनाएको हो भनेर हेला गरे। त्यसलाई बुझ्ने प्रयत्नै गरेनन्।

काष्ठमण्डपको सत्तल बनाउँदा कति बुद्धि खियाइयो होला? न्यातपोल बनाउँदा? अनि तलेजु बनाउँदा नि?

पक्कै पनि पश्चिमाहरूको जस्तो सेन्टिमिटर-मिटरमा मापन भएन होला। समीकरणहरू बनाएनन् होला। तर बन्दै नबनेको हुँदै होइन। हामीले बुझ्न नसकेका चाहिँ हौँ।

भनेपछि हाम्रो इन्जिनियरिङको दस्ताबेजीकरण नभएको हो?

हस्तलिखित नभएको पनि होइन। त्यहाँ पढ्नपर्छ भन्ने भएन। पृथ्वीनारायण शाहले उपत्यका आक्रमण गरेपछि गोर्खालीले भक्तपुरको सफु कोठा जलाए। सफु कोठा भनेको पुस्तक राख्ने पुस्तकालय हो।

सात दिन सात रातसम्म आगलागी भएको इतिहासमा पढ्न पाइन्छ। हामीसँग ज्ञान नभएको होइन मासिएको हो। पछि पनि ज्ञान थप्दै लैजानु पर्थ्यो, लगिएन। सबैभन्दा बढि हामी र हामीभन्दा अघिल्ला पुस्ताले नाश गर्ने मात्र काम गरे।

पाठ्यक्रममा समावेश गर्न पर्ने आवश्यक देख्नुहुन्न?

पाठ्यक्रममा समावेश हतार भइसक्यो।

मूर्तिकार स्व. राजेन्द्र शाक्यले नेपाली वास्तुकलाका उदाहरण मूर्ति बनाएर भुटानमा स्थापना  गर्नुभयो। उहाँले यो ज्ञानलाई विकास गर्न यसको लागि क्याम्पस अथवा युनिभर्सिटी नै आवश्यक छ भन्नुभएको थियो। तपाईं पनि यही पक्षमा हुनुहुन्छ?

पढ्न, पढाउन त ढिला भइसक्यो नि। भारतका कोर्सहरूमा ताजमहलबारे पढाइ हुन्छ। हाम्रोमा तलेजुबारे किन नपढाउने? न्यातपोलबारे किन नपढाउने? यहाँका संरचनाबारे पढाइ हुन जरुरी छ। क्याम्पस अथवा युनिभर्सिटी नै खुले त राम्रो हो। यदि यो गर्न सकिँदैन भने पाठ्यक्रममा त राख्नैपर्छ। अहिले अलि अलि राख्न थालिएको छ तर पर्याप्त छैन।

गुथिको जग्गा रैकर बनाउने नियम बसाएर राजा वीरेन्द्रले उपत्यकाको संस्कृतिमा ठुलो क्षती गरेका हुन्। 

तपाईंको पुस्तकमा किवंदन्ती, नक्सा, चित्र र फोटोको प्रयोग गरेर नेपालमा कमै प्रयोग हुने शैली अप्नाउनु भएको छ। कसरी जुटाउनु भयो? 

फोटोमा त समस्या भएन। धेरै जनासँग अन्तर्वार्ता लिएँ। उपलब्ध भएसम्मका दस्ताबेजहरू लिने काम गरेँ। मैले यो कुनै नयाँ कुरा लेखेको होइन। छरिएर बसेका किंवदन्ती र प्राविधिक पाटोलाई जोड्ने मात्रै काम गरेको हो।

तान्त्रिक मन्त्रले पानी आउँछ भनेर अहिलेको पुस्ताले पत्याउँदैन। होइन पनि। धार्मिक आस्थामा आधारित भएर एकाग्र हुन मद्धत गर्छ होला। मुहानदेखि पानीको हितिमा आउने तरिकासम्म लेख्नुपर्ने र चित्र देखाउनै पर्ने आवश्यता थियो। त्यसकारण राखियो। यसलाई अझ परिस्कृत बनाउन जरुरी छ।

तपाईंको पुस्तकको सामाजिक सञ्जालमा प्रारम्भिक प्रतिक्रिया दिँदै बाँदरलाई हाम्रो पुर्खा मान्ने हो भने सरिसृपहरू र एक कोषीय जीवलाई पनि मान्नुपर्छ भनेर लेख्नु भएको थियो। पहिलो गाँसमै ढुंगा भयो नि यो त?

मैले सम्पूर्ण बाँदरहरू मान्छे भए भनेको होइन। यसको आशय बाँदरको एउटा प्रजाति मात्रै मान्छेमा आएको हो भनेको हो। उहाँले लेखको आशय बुझ्नुभएन होला। 

पुस्तकमा हिति प्रणाली मासिनुमा गुथि (गुठी) कमजोर बनाइनु पनि हो भन्ने तपाईंको निश्कर्ष देखिन्छ। संस्कृति, हिति र गुथिको सम्बन्ध के हो?

२०७६ सालमा गुथि विधेयक सरकारले ल्याउँदा चौतर्फी विरोध भयो। बाध्य भएर सरकारले विधेयक फिर्ता लियो। गुथिमाथिको आक्रमण रणबहादुर शाहले पनि गरेका थिए। गुथिको जग्गा रैकर बनाउने नियम बसाएर राजा वीरेन्द्रले उपत्यकाको संस्कृतिमा ठुलो क्षति गरेका हुन्। 

कसैले राजा राम्रा थिए भन्छ भने पूरै गलत हो। यो त एउटा उदाहरण मात्रै हो।

सुन्धारा हितिमा पानी आउँदासम्म वैशाख १ गते बसुन्धरामा पूजा गरेर सुन्धारामा नुहाएर घर फर्कने चलन थियो। अहिले यो चलन हरायो। 

गुथिले संस्कृतिलाई जोगाउँछ। सरकारी वन बनाउँदा वनको हालत र सामुदायिक वन बनाउँदा आएको परिर्वतन जस्तै हो गुथि पनि। गुथि भनेको सामुदायिकता हो। राज्यको कुनै भूमिका हुन्न भनेको होइन। अनुगमन गर्ने काम राज्यको हो हस्तक्षेप गर्ने होइन। 

गुथिले नै यहाँको जात्रा संस्कृति जोगाएको छ। हरेक पर्वमा हिति त जोडि नै हाल्छ। खासमा यी तीनको अन्योन्याश्रित सम्बन्ध छ।

तपाईंको पुस्तकमा पूरै मासिएका, अस्तित्वमा मात्रै रहेका, मर्मत चाहिएका र केही सञ्चालनमा रहेका हितिहरू उल्लेख छन्। सबैभन्दा धेरै काठमाडौंमा नासिएको छ। दोस्रोमा भक्तपुर तेस्रोमा ललितपुर। जोगाउन सकिएला?

सकिन्छ। प्रयास गरौँ न। हितिले आजको पानीको माग पूरा गर्न सक्दैन। घरघरमा पानीको व्यवस्था भइसकेकाले अब घैँटोमा कोही पानी बोक्न जाँदैन। तर यसो भन्दैमा हितिको उपयोगिता सकिएको होइन। 

जुनसुकै कुराको पनि सीमितता हुन्छ। सीमा नाघेपछि राम्रो देखिन्न। उपत्यकाका संरचनाले सीमा नाघे। वन सकिन लागिसके। स्कुल पढ्ने बच्चाहरू घरबाट निस्किएर खेल्न जाने ठाउँ छैन।  

शहरी गरिबहरूले हितिको प्रयोग अझै गरेको देख्छु। हिति भएको ठाउँमा उनीहरुका बसोबास हुनुको कारण पनि यही हो। हिति मर्मत सुधार जहाँ-जहाँ सकिन्छ त्यहाँ त्यहाँ गर्ने हो। तर सुरु गरिहालौँ भन्ने मेरो भनाइ हो।

स्थानीय जनप्रतिनिधिको कतिको चासो देख्नुहुन्छ? 

यो किताब लेखेपछि कहाँ कहाँ हिति मासेर नयाँ संरचना बने भनेर सूचना मलाई पनि आएको छ। गोदावरी नगरपालिकामा पोखरीमाथि भवन बनाएको र महालक्ष्मी नगरपालिकाले भर्खरै हिति मासेर वडा भवन बनाएको कुरा आएको थियो।

तर अन्यत्र भने संरक्षणमा ध्यान दिएको देखिन्छ। स्थानीय जनप्रतिनिधिले यहाँको हिति यहाँको संस्कृतिलाई जोगाउन खोजेको उहाँहरूको कार्यक्रमहरूबाट प्रष्ट हुन्छ।

कंक्रिटले ऐतिहासिक स्थल मासिए भन्ने गरिन्छ। आजको परिस्थितिमा कंक्रिटको विकल्प पनि देखिन्न। अनि सामाधन के त?

म कंक्रिट विरोधी होइन। कंक्रिट गज्जबको आविष्कार हो। कंक्रिट नभएको भए ठूला ठूला भवन बन्ने नै थिएन। 

तर वास्तविकता के हो भने, कंक्रिटको आयु ५० वर्ष हो। इँटाको सवालमा बुद्धकालीन इँटा भन्छौँ हामी। कंक्रिटसँग इट्टा, माटो र काठ जादैन। त्यसैले परम्परागत वस्तीमा पुरानै निर्माण प्रविधी अपनाउनु राम्रो हो। 

कंक्रिटका संरचना पनि बनाऔँ तर हाम्रा गौरव हामीले नमेटौँ।

हामीले बनाउनुपर्ने जस्तो शहर बनाएनौँ भन्नुभएको छ। खास हाम्रो शहरको समस्या के हो?

जुनसुकै कुराको पनि सीमितता हुन्छ। सीमा नाघेपछि राम्रो देखिन्न। उपत्यकाका संरचनाले सीमा नाघे। वन सकिन लागिसके। स्कुल पढ्ने बच्चाहरू विद्यालयबाट फर्किएर घरबाट निस्किएर खेल्न जाने ठाउँ छैन।  

अब यहाँको संरचना बनाउन रोक्नपर्ने बेला भइसक्यो। हाम्रोमा जनसंख्या धेरै भयो। व्यवस्थित शहरीकरण नभएको हो। जीवनयापन गर्न मिल्ने शहर हुनुपर्दथ्यो त्यो भएन।

माथिको प्रशंगमा तपाईंले हामी र अघिल्लो पुस्ताले पुराना सभ्यता जोगाउन केही गरेन, बिगार्यो मात्रै भन्नु भयो। आजको पुस्तासँग आशावादी  हुनुहुन्छ? 

मेरो पुस्ता र मेरो बुबाको पुस्ताले धेरै बिगार्यो। अहिलेको नयाँ पुस्ता संरक्षणतिर लागेको देख्छु। 

केही वर्ष अगाडि बाबुराम भट्टराईले इन्द्रजात्राको पैसा रोकेपछि युवाहरूले आन्दोलन गरे। संस्कृति भनेको राज्यको पहिचान हो। हाम्रो प्राकृतिक सम्पदा मात्रै होइन संस्कृति पनि हो चिनाउनुपर्ने।

आजको पुस्ताले चिनेको छ। जथावाभी संरचना बन्न लाग्यो भने अहिलेको पुस्ताले आवाज उठाएका छन्। म अहिलेको पुस्तासँग आशावादी छु।

अब तपाईंले कस्ता किताब लेख्नुहुन्छ?

यो किताबको दोस्रो संस्करणका लागि काम गर्छु। ललितपुर महानगरपालिकाले टीकाभैरव राजकुलो ब्युँत्याउने कुरा गरेको छ। यस विषयमा अध्ययन अनुसन्धान हुँदैछ। 

फोहोरमैलाबारे पनि अध्ययन हुँदैछ। यहीबारे किताब भन्ने त सोचेको छैन। 

१४ साउन, २०७९, १०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।