चीनका आए पनि, अमेरिकाबाट आए पनि झस्किनै पर्ने कस्तो कूटनीतिक भ्रमण !

चीनका आए पनि, अमेरिकाबाट आए पनि झस्किनै पर्ने कस्तो कूटनीतिक भ्रमण !

काठमाडौँ : नेपालका सत्ताधारी दल गठबन्धनको गोलचक्करमा छन्। एसपिपीबारे सरकारको धारणा आइसके पनि सरकारमै रहेको माओवादी केन्द्र अनि एकीकृत समाजवादीकै सांसदले प्रधानमन्त्रीको नियतमा सार्वजनिक शङ्का गरिरहेका छन्।

यही बेला अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल आए। यश अगाडि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानछाओ नेपाल भ्रमण सकेर फर्किए।

यसको सम्बन्ध चुनावी गठबन्धनमा पनि पर्छ कि ? आगामी चुनावमा तालमेल र गठबन्धनको मोडल कस्तो हुन्छ ? उकेराको प्रश्नमा एकीकृत समाजवादीका एक पदाधिकारीले भने, ‘अमेरिकी राष्ट्रपति वाइडेनका भाइ आएका छन्। हिजो चीनका सी जिनपिङका भाइ आए। तलतिरका भाइहरू आएका आयै गर्छन्। कहाँ, कसले, के खेल्न सक्छन्। त्यसपछि मात्र स्पष्ट नक्सा आउँछ। अहिले यत्तिकै बोलेर केही हुनेवाला छैन। फ्याट्ट यस्तो भनौला पछि त्यो मिल्दैन।’

पार्टीभित्र समेत प्रभावशाली रहेका ती नेताको भनाइले आन्तरिक राजनीतिमा शक्ति राष्ट्रको प्रभाव प्रस्ट पार्छ। यसले अमेरिकी या भारतीय या चिनिया कूटनैतिक भ्रमणको असर बाह्य मात्र हैन आन्तरिक समीकरणमा पनि उत्तिकै पर्ने देखियो। हिजो भारतका कूटनीतिज्ञ मात्र शंकामा पर्थे। अब चिनिया र अमेरिकी समेत जोडिए यसमा।

यसलाई नेपालको कूटनीतिक असफलता मान्छन् कूटनीतिज्ञ।

‘नेपालका दलहरू नै कूटनीतिमा प्रति गम्भीर भएनन्। जे विषय पनि हल्का रूपमा लिने उनीहरूलाई बानी पर्यो,’ कूटनीतिज्ञ डा गणेश योञ्जनले भने।

अमेरिकासँगको स्टेट प्रोग्राम पार्टनरसिप प्रोग्राम एसपीपीमा भाग नलिएको पत्र पठाउन तथा पठाएको भए सार्वजनिक गर्न प्रतिपक्षी एमालेले माग गरिरहेको छ। माओवादी केन्द्रका सांसद देव गुरुङ अनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नै एसपिपी अस्वीकार गरेको पत्र किन नपठाएको भनेर सोधिरहेका छन्। यही बेला लु आएका छन् नेपालमा।

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी अधिकारी हुन् लु। उनी ९ महिना अघि पनि एमसीसी विवाद चर्किएको बेला नेपाल भ्रमणमा आएका थिए।

अहिले एक अमेरिकी कम्पनीलाई अवार्ड दिने घोषित कार्यक्रममा दुई दिनको लागि काठमाडौँ ओर्लेका लुले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री डा नारायण खड्कासँग समेत भेटिरहेका छन्। यसमा एसपिपीको सम्बन्ध के होला ?
'एसपीपीमा संलग्नताको विषय त्यति ठुलो विषयमा लेला जस्ता मलाई लाग्दैन। त्यो भन्दा बृहत् रहेको एमसीसी नेपालको संसद्ले नै पास गरिसकेको छ,’ परराष्ट्र मामिलाका जानकार शम्भुराम सिम्खडाले भने, ‘के कारणले एसपीपीमा संलग्न नहुने भन्ने वस्तुस्थिति बुझ्न र प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीसँग सल्लाह गर्न हुनसक्छ।’

विश्व शक्ति राष्ट्रहरूले नेपालमा आफ्नो प्रभाव बढाउन काठमाडौँ केन्द्रित गतिविधि बढाइरहेको बताउँछन् उनी। शक्ति राष्ट्रको रूपमा अमेरिका आफ्नो प्रभाव बढाइरहन चाहन्छ भने अबको विश्व शक्ति बन्ने होडमा रहेको चीन पनि आफ्नो प्रभाव पारिरहन चाहन्छ।

‘विश्वरूपमा हेर्दा पुरानो व्यवस्था पछि हट्ने र नयाँ व्यवस्थाको उदय हुनुपर्ने सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहेको अवस्था छ। यो सङ्क्रमणलाई आफ्नो पक्षमा पार्न रस्साकस्सी भइरहेको छ,’ कूटनीतिक मामिलाका जानकार टङ्क कार्कीले उकेरासँग भने, ‘जुन–जुन देश रणनीतिक हिसाबले महत्त्वपूर्ण छ ती देशमा दुवै पक्षले सक्रियता देखाएका छन्। युक्रेनको युद्धपछि सन १९९० पछिको अमेरिकी एकल प्रभाव कम पार्ने कुराहरू जर्बजस्त उठिरहेको छ। अमेरिकी साम्राज्यको प्रभाव पारिराख्ने र त्यसको पिण्ड फुटाउने प्रयासको दुई वटा धारमध्ये एकातिर हामीलाई तान्ने प्रयास भइरहेको छ।’ 

भारत र चीन अमेरिकी विश्व व्यवस्थाको पक्षमा देखिँदैनन्। उनीहरू बहुध्रुविय विश्व व्यवस्थाको पक्षमा देखिनु नेपालको लागि सुखद रहेको कार्कीले बताए। यी कुराहरू बुझेर आफ्नो नीति र व्यवहार देखाउनुपर्ने देखिन्छ।

‘अल्प विकसित देश भएकाले साधन स्रोत पनि कमी छ। हामी चुहिने भाँडो बोकेर हिँडेका छौँ। हामीले त्यसलाई करेक्सन गर्नुपर्छ,’ कार्कीले भने, ‘दुई छिमेकीसँग सुमधुर सम्बन्धन राख्न सक्नुपर्छ तरबारको धारमा हिँडेझैँ त्यसको लागि असंलग्न र तटस्थ परराष्ट्र नीति नै हो। त्यसबाट अलिकति दायाँ बायाँ गरियो भने नोक्सानी आफैलाई पुग्छ।’ 

नेपालमा चीन र अमेरिकाबाट भएका उच्च स्तरका भ्रमण

-२०७८ मङ्सिर १, अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु
-२०७८ भदौ २४ एमसिसी उपाध्यक्ष फतिमा सुमानर
-२०७९ वैशाख ९ सांसदहरूको टोली
-२०७९ जेठ ६ उप विदेश मन्त्री उज्रा जिया
-२०७९ जेठ २६ कमाण्डिङ जनरल, इण्डो प्यासिफिक कमान्ड चाल्स ए फ्लिन
-२०७९ साउन १२ अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु
-२०७५ असोज ६ सोङ ताओ, विदेश विभाग प्रमुख चिनियाँ कम्युनिस्ट पार्टी
-२०७८ चैत ११ वाङ यी विदेश मन्त्री
-२०७९ असार २६ लिउ च्यानछाओ, विदेश विभाग प्रमुख चिनियाँ कम्युनिस्ट पार्टी
-२०७७ मङ्सिर १४ वेइ फेन्हे प्रधानसेनापति
-२०७९ असार २६ लिउ च्यानछाओ, विदेश विभाग प्रमुख चिनियाँ कम्युनिस्ट पार्टी

१३ साउन, २०७९, ००:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।