यस्तो बन्दैछ सहरी विकास तथा भवन निर्माण विभागको प्रवेशद्वार, चार पिल्लरका चारै सन्देश !

यस्तो बन्दैछ सहरी विकास तथा भवन निर्माण विभागको प्रवेशद्वार, चार पिल्लरका चारै सन्देश !

काठमाडौं : बबरमहलस्थित सिंहदरबारको दक्षिण गेटनजिकै सहरी विकास तथा भवन निर्माण विभागको प्राङ्गणमा गुम्बज आकारको एउटा संरचना निर्माण हुँदैछ।

झट्ट हेर्दा पानी ट्यांकी राख्ने स्ट्यान्ड वा अन्य भवनजस्तो देखिने सो निर्माणाधीन संरचना अरु केही नभई विभागको प्रवेशद्वार हो। राणाकालीन समयमा ‘बनाउने अड्डा’को रुपमा चिनिने सहरी विकास पछिल्लो समय सहरी विकास तथा भवन निर्माण विभागको रुपमा चिनिन्छ।

नेपाल सरकारको कार्य विभाजन नियमावली ऐन २०७४ मातहत मुख्य रुपमा सहरी क्षेत्र, भवन र आवास क्षेत्र निर्माणको जिम्मेवारी सो विभागले लिँदै आएको छ। साथै विभागले सहरी विकाससँग जोडिएका सहरी पूर्वाधार, सहरी योजनाको अध्ययन, सहरी विकास कार्यक्रमहरुलगायत अन्य विभिन्न आयोजना सम्बन्धी कामहरु समेत गर्दै आएको छ।

छोटकरीमा ‘हब’ भनेर चिनिने सहरी विकास तथा भवन निर्माण विभागले आफ्नो कार्य र कामको उद्देश्यको सांकेतिक अर्थ जनाउने गरी प्रवेशद्वार निर्माण गरिरहेको छ। 

विभागको प्राङ्गणभित्र प्रवेश गर्ने हो भने त्यहाँ विभिन्न किसिमका भवन संरचनाहरु छन्। वरपर रोपिएका बोटबिरुवाले शीतलता प्रदान गर्छन्। वातावरणमैत्री देखिने विभागको भित्री परिसरको प्रवेशद्वारको अवधारणा पनि सन्देश झल्काउने गरी डिजाइन गरिएको छ। 

डिजाइनको अवधारणा 
विभागले गर्ने कार्य र त्यहाँ भित्रको माहोलअनुसार डिजाइन तयार पारिएको प्रवेशद्वार निर्माणका आयोजना प्रमुख इन्जिनियर हिमाल केसीले बताउँछन्।

‘सहरी विकास भन्नेवित्तिकै व्यवस्थित र योजनाबद्ध विकास भन्ने बुझिन्छ। कुनै पनि सहर कसरी सन्तुलित र व्यवस्थित तरिकाले निर्माण गर्ने भन्नेबारे एकीकृत विकास योजना तयार भएको हुन्छ,’ उनी भन्छन्, ‘त्यसै अनुरुप हामीले कार्यान्वयन गर्दै जान्छौं। व्यवस्थित सहरी विकास कल्पना गर्ने मुख्य कार्यालयको परिसर र प्रवेशद्वार पनि सोही अनुसारको डिजाइनमा निर्माण भइरहेको हो। हाम्रो विभागले व्यवस्थित शहरी विकासमा काम गर्ने भएकोले प्रवेशद्धार पनि देख्दावित्तिकै सन्देशमुलक, अर्थपूर्ण र आर्कषक होस् उद्देश्यले डिजाइन तयार पारिएको छ।’ 

विभागको निर्माणाधीन सो प्रवेशद्वारको चार वटा पिल्लर छन्। चार वटा पिल्लरमाथि एउटा गोलाकार डोम छ। चार वटा पिल्लरमार्फत सन्देश दिन खोजिएको छ। जसमध्ये एउटा पिल्लरले नवीन विषयमा उत्साहित हुनुपर्छ भन्ने सन्देश दिन इन्नोभेटिव (नवीनता) जनाउँछ भने दोस्रो पिल्लरमार्फत प्रविधिलाई अँगाल्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ।

यसअघि सोही स्थानमा बनेको विभागको प्रवेशद्वार साँघुरो थियो। मुख्य सडकमै रहेको सो कार्यालयभित्र प्रवेश गर्ने क्रममा गरिने सुरक्षा जाँचको समयमा सवारी साधनले प्रशासन कार्यालयहरु रहेको सडकमा सवारी जाम हुने गर्थ्यो।

५० वर्षअघिको आकारमा बनेको अघिल्लो प्रवेशद्वार विभिन्न कालखण्डमा मर्मत-सम्भार गरिए पनि हालै मात्र नयाँ डिजाइनमा निर्माण गर्न लागिएको छ।

सहरी विकास विभागको मर्मअनुसार हाल सहरी मन्त्रालयका सहसचिव आर्किटेक्ट पदमकुमार मैनालीले निर्माणाधीन प्रवेशद्वारको डिजाइनको अवधारणा कोरेका थिए। 

‘पहिला सवारी चाप कमै भए पनि पछिल्लो समय बढ्दै गएको छ। हाम्रो पुरानो गेट साँघुरो भएकोले एउटा गाडी भित्र छिर्दा सुरक्षा जाँच गर्ने क्रममा जाम हुने समस्या पनि थपियो,’ ई. केसी भन्छन्, ‘ पुरानो गेट साँघुरो भएकोले त्यसलाई फराकिलो बनाउनुपर्ने आवश्यकता एउटा थियो भने अर्को सहरी विकासको मुल मर्म र उद्देश्यलाई प्रवेशद्वारमा झल्काउने गरी आ. पदम मैनाली सरले विभागको डिजी हुँदा डिजाइनको अवधारणा तयार गर्नु भएको हो।’ 

यस्तो छ डिजाइन 
विभागको निर्माणाधीन सो प्रवेशद्वारको चार वटा पिल्लर छन्। चार वटा पिल्लरमाथि एउटा गोलाकार डोम छ। चार वटा पिल्लरमार्फत सन्देश दिन खोजिएको छ। जसमध्ये एउटा पिल्लरले नवीन विषयमा उत्साहित हुनुपर्छ भन्ने सन्देश दिन इन्नोभेटिव (नवीनता) जनाउँछ भने दोस्रो पिल्लरमार्फत प्रविधिलाई अँगाल्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ।

यस्तै तेस्रो पिल्लरले गुणस्तरीयता जनाउँछ भने चौथो पिल्लरले नयाँ आशा एवं आकांक्षालाई जनाउँछ। नवीनता, प्रविधि र गुणस्तरलाई तीन वटै विषयलाई पूर्ति गर्न आकांक्षालाई चौथो पिल्लरसँग जोडिएको छ। 

प्याकेजमा भएको सो प्रवेशद्वार निर्माण सम्झौता १ करोड ८० लाखमा भएको हो। प्रवेशद्वारसँगै गार्ड हाउस, इलेक्ट्रिकल रुम, विद्युतीय तारहरु अन्डरग्राउन्ड, पार्किङ क्षेत्र, परिसर सुधार आदि समष्टिगत प्याकेजको लागि सो रकम सम्झौता गरिएको थियो।

गोलाकार डोमले यिनै चार वटा पिल्लरलाई एकीकृत गर्ने सन्देशको रुपमा राखिएको छ। प्रवेशद्वारभित्र एकातिर दर्ता चलानीको लागि सानो संरचना बनाइएको छ भने अर्कोतर्फ सुरक्षा र विद्युतीय सेवाको लागि इलेक्ट्रिकल रुम बनाइएको छ। सो प्रवेशद्वार निर्माणमा इँटा, सिमेन्ट, फलाम, ढलान, सिसा आदिजस्ता निर्माण सामग्री प्रयोग गरिएको छ। 

यसले नवीनतम, प्रविधि र गुणस्तरलाई जीवन्त राख्ने संकेतको रुपमा डिजाइन बनाइएको आयोजना प्रमुख केसी बताउँछन्। ‘यी चार वटा पिल्लरले आ-आफ्नो किसिमको सन्देश दिन्छ र यसैमार्फत हामीलाई नयाँ उचाई प्राप्ति हुन्छ भन्ने हो,’ उनी सुनाउँछन्, ‘चारै वटा तत्वहरुको कम्बो नै माथि गएर जोडिन्छ। जसले नयाँ उचाई कायम गर्छ। चार वटा पिल्लरमाथि राखिएको डोमको अर्थ एकीकृत हो। गोलाकार डोमले सुद्धता र निरन्तरतालाई जनाउछ। यसको अर्थ हामीले गर्ने कामहरु विभिन्न चुनौतीका बाबजुद चार वटा पिल्लरले जनाएका तत्वलाई आत्मसात गरी निरन्तर चलिरहन्छन् भन्ने हो।’ 

डोमको चार वटा पाटो छ। चार भागमध्ये पूर्व-पश्चिमको दुई भाग ढलान गरिएको छ भने उत्तर-दक्षिणतिरको दुई वटा भाग खाली छ। ढलान नगरिएको भागमा सिसा राखिने छ। आर्किटेक्चरको भाषामा मास एण्ड भोइड भनेर चिनिने सो अवधारणामा ढलान गरिएको भागलाई मास र खाली भागलाई भोइड भनिन्छ।

डोमको पनि चार वटा पाटो रहेको र तिनको पनि अर्थपूर्ण सन्देश रहेको ई. केसीको भनाइ छ। ‘एकातिरको भाग ढलानले पूर्ति गर्यो, अर्कोतिर खाल्डो देखिन्छ। हामीले विभागमा काम गर्दा थुप्रै किसिमका चुनौती पनि छन्। विभिन्न निकायहरुसँगका चुनौती पनि छन्। ती चुनौतीलाई पुर्दै, चिर्दै अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिन मास र भोइडको अवधारणा राखिएको हो,’ उनी भन्छन्। 

लगानी र समयावधि
२०७७ साल मंसिर महिनामा सो प्रवेशद्वार निर्माण गर्ने सम्झौता भएको थियो। निर्माणाधीन सो प्रवेशद्वारको यतिबेला ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। प्रवेशद्वार निर्माणको ठेक्का दाप्चा र महागौरी जेभी कम्पनीले लिएका छन्। सम्झौतालगत्तै निर्माण कार्य सुरु गरिए पनि कोभिडको कारण समयमै निर्माण सम्पन्न हुन नसकेको ई. केसीको भनाइ छ।

‘सम्झौतालगत्तै कामको थालनी गरिएको थियो। कोभिडको कारण काममा ढिलाइ भयो,’ उनी भन्छन्, ‘कोभिडपश्चात् पटकपटक गरेर म्याद थप्दा करिब ५ महिनाजसो सक्रिय रुपमा मात्र काम भयो। यतिबेला अन्तिम चरणमा छौं। दशैंअघि काम सम्पन्न हुन्छ।’ 

प्याकेजमा भएको सो प्रवेशद्वार निर्माण सम्झौता १ करोड ८० लाखमा भएको हो। प्रवेशद्वारसँगै गार्ड हाउस, इलेक्ट्रिकल रुम, विद्युतीय तारहरु अन्डरग्राउन्ड, पार्किङ क्षेत्र, परिसर सुधार आदि समष्टिगत प्याकेजको लागि सो रकम सम्झौता गरिएको थियो।

१३ साउन, २०७९, ०७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।