सरकारी खातामा रेमिटेन्स भर्न १५ वर्ष विदेशिएका कृष्णको परिवारको कथा सरकारलाई के थाहा !

सरकारी खातामा रेमिटेन्स भर्न १५ वर्ष विदेशिएका कृष्णको परिवारको कथा सरकारलाई के थाहा !

चितवन : सरकार विदेशी मुद्रा घट्यो भन्दै वैदेशिक रोजगारीको नयाँ गन्तव्य खोज्दै छ। अनि विदेशमा काम गर्न गएकाहरूलाई उतै लामो समय काम गरेर देशको खाता विदेशी मुद्राले भरिदिन आग्रह गरिरहेको छ। तर त्यही वैदेशिक रोजगारीका कारण लामो समय परिवारका सदस्य छुट्टिएर बस्दा भइरहेका आपराधिक घटनाप्रति भने उसमा कुनै चासो देखिन्न।

यो हप्ता यस्तै एक घटना घट्यो चितवनमा। जसको मुख्य कारण वैदेशिक रोजगारीका लागि श्रीमान् लामो समय बाहिर बस्दा मनमा गढेको शङ्का नै देखियो। लामो समय विदेश बसेर आएका श्रीमानले आफ्नी श्रीमतीको चरित्रमाथि शङ्का मात्र गरेनन् छोरीका अगाडि खुकुरीले हानेर हत्या गरे। अनि तीन तलामाथिबाट हाम फालेर आफूले आत्महत्या गरे।

चितवनको भरतपुर महानगरपालिका वडा न १० मा रहेको रमाइलो चोकमा भएको घटना हो यो। ४३ वर्षका कृष्ण आचार्य वैदेशिक रोजगारीबाट फर्किएको एक महिना मात्र भएको थियो। उनी परिवारका सदस्यलाई खबरै नगरी घर आएका थिए।

उनी घर आएदेखि नै उनले श्रीमतीमाथि शङ्का गर्ने गर्न थाले। शङ्का कुटपिटमा बदलियो। उनकी श्रीमती रुश्मा घिमिरेबिचको घरायसी झगडा प्रहरीसम्म पुग्यो। दुवै सँगै बस्नै नसक्ने भएपछि सहमतिमै सम्बन्ध विच्छेद गर्न राजी भए तर अदालत जानु अगाडि नै कृष्णले श्रीमतीको हत्या गरेर आत्महत्या गरे।

यो बिचमा उनीहरूबिच जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा छलफल समेत भएको थियो। रश्मिले घरेलु हिंसा विरुद्ध उजुरी दिएकी थिइन्। ३३ वर्षकी रुष्माले कृष्ण विदेशबाट फर्किएपछि अन्य व्यक्तिसँग सम्बन्ध रहेको भन्दै कुटपिट गर्ने गरेको भन्दै एकाघरमा बस्न नसक्ने बताएकी थिइन्।

रुष्माले चितवन प्रहरीमा दिएको उजुरीमा कृष्णले घरायसी खर्च पनि नदिएर चरित्रमा टिप्पणी गर्ने गरेको उल्लेख गरेकी थिइन्। घरेलु हिंसा अन्तर्गत जाहेरी दिएपछि प्रहरीले पहिले चरणमा रुष्माको माइती पक्ष अनि कृष्णको परिवारसहित राखेर छलफल गराएको थियो।

प्रहरीले छलफलमा तीन फ्ल्याटको घर रहेकोले रुष्मा र कृष्ण अलग-अलग फ्ल्याटमा बस्ने गरी सहमति गराइदियो। बाँकी छलफल असार १७ गते गर्ने गरी दुवै जना घर फर्किए।

OOO

कृष्ण १५ वर्षदेखि वैदेशिक रोजगारीमा थिए। रुष्मा तोरी खेतमा रहेको एक प्राथमिक विद्यालयकी शिक्षिका थिइन्। लामो समय श्रीमान्-श्रीमती टाढा रहँदा शङ्का बढायो। उनी जेठ १९ गते मात्रै नेपाल फर्किएका थिए। वैदेशिक रोजगारीकै क्रममा कृष्णको सुन्ने शक्ति पनि कमजोर भएको थियो। कानमा मेसिन लगाएर मात्रै प्रस्ट सुन्न सक्ने भएका थिए उनी।

१५ वर्ष परिवारसँग टाढिनु, एक्कासि थाहै नदिई घरमा आउनु र आएदेखि नै श्रीमतीमाथि कुटपिट गर्नुले उनमा शङ्का बढाएको प्रस्टै देखिएको थियो। शङ्का बढाउनुको कारण वा उनको मानसिक स्वास्थ्यबारे प्रहरीले पनि त्यति चासो राखेन। पारिवारिक समस्याको रूपमा हेरेर सहमति वा सम्बन्ध विच्छेदतिर मात्र केन्द्रित हुँदा घटना घटेको देखिन्छ।

प्रहरीको महिला सेल प्रमुख पूजा कार्की भन्छिन्' आफू कमजोर भएकोले पनि कृष्णले श्रीमतीमाथि शङ्का गरेको हो कि भन्ने देखिएको थियो। उहाँ मेसिनको सहाराले मात्र सुन्न सक्नुहुन्थ्यो।' यसले पनि उनमा कुनै मानसिक समस्या बढाएको संकेत गर्छ नै।

उनीहरू अब अदालत गएर सम्बन्ध कानुनी रूपमा टुङ्ग्याउन राजी भएपछि प्रहरीले सोही अनुसारको कागज गराएको थियो। साढे १० बजे एक्कासि कृष्णले श्रीमती रुष्माको हत्या गरेको खबर पायो प्रहरीले। कृष्णको घरमा आमा बट्टाइदेवी आचार्य र उनीहरूका १२ वर्षीया छोरी थिइन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार आमा बट्टाइदेवी घटना भएको दिन घरमा थिइनन्। छोरी बाबुले आमालाई खुकुरी प्रहार गरेपछि रुँदै सडकमा गुहार माग्न निस्किएकी थिइन्।

कृष्णले रुष्माको हत्या मात्रै गरेनन्। श्रीमतीको हत्यापछि आफै पनि घरको तीन तला माथिबाट हाम फालेर आत्महत्या गरेको हालसम्मको अनुसन्धानमा देखिएको प्रहरी बताउँछ। चितवनका प्रहरी प्रवक्ता डिएसपी अधिकारी भन्छन्' ‘कृष्ण भागेको भन्दा पनि घटना हेर्दा श्रीमतीको हत्यापछि आत्महत्या गर्ने उद्देश्यले नै तीन तला माथिबाट हाम फालेको देखिन्छ।’

१२ साउन, २०७९, १८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।