उत्तमरत्न शाक्य जसले ब्युँताए हराउन लागेको मिप्वाः लाखे नाच

उत्तमरत्न शाक्य  जसले ब्युँताए हराउन लागेको मिप्वाः लाखे नाच
तस्बिरहरू: कृष्पा श्रेष्ठ

रातो रङको लामो जामा अनि षट्कोणको चित्र अंकित तासको भोटो लगाएको, च्यातिएको मुखबाट दुई वटा ठूला दाह्रा निस्केको।

कम्मरमा चाँदीका बुट्टेदार पटुकी (घघंला) र रातो यंगला तथा खुट्टामा कल्ली लगाएको, सेता र काला कपाल मिस्सिएका जटा भएको अनि दुवै हातले रातो रुमाल हल्लाउने। रिसालु अनुहार, हेर्दै डरलाग्दो। उसले जटा हल्लाउँदै काँपेको देख्दा त सात्तो नै जान्छ।

ललितपुरमा रहेको पाटन दरबार स्क्वारभन्दा झण्डै सात सय मिटर अगाडि सौगः अर्थात् बोली-चालीको भाषामा सौगलको एक मन्दिरबाट भयंकर हुलिया सहित लाखे निस्कियो। जसको नाम थियो, मिप्वाः लाखे।

मिप्वा लाखेलाई यसरी रिस उठ्नुको कारण छ। उसलाई मुख चुत्त परेको, हरियो लुगा लगाएको तिन्पाकुचा अर्थात् भ्यागुतोले जिस्क्याएर हैरान छ। त्यसैले रिसको झोकमा ऊ आगोको ज्वाला निकाल्दै तिन्पाकुचालाई लखेट्छ।

पाँच दिनसम्म देखिने मिप्वाः लाखे अहिले पाटनका टोल-टोलमा घुमिरहेको छ। र, तिन्पाकुचालाई लखेटिरहेको छ। कतिखेर ठूलो खाल्टोमा फस्ने हो पत्तो छैन उसलाई।

गथांमुगः चह्रे अर्थात् साउन १० गते मंगलबारदेखि यो लाखे निस्कन सुरु गरेको हो। 

मिप्वाः लाखेको किंवदन्ती
एक पटक काठमाडौंका नेवार किसानहरु रोपाईँ सकेर थकाइ मारिरहेका थिए। तर खै के कारणले हो मिप्वाः लाखे रिसायो।

रिसको सुरमा रोपाईँ गरिसकेका बिरुवाहरु उखेल्ने, बिगार्ने गर्न थाल्यो। लाखेले रिसको झोकमा रोपो बिगारेको तिन्पाकुचाले देखिहाल्यो। 

उसले मिहिनेत गरेर रोपेको किसानको बाली जोगाउने जिम्मा पाएको थियो। किरा-फट्याङ्ग्राबाट बाली जोगाउने जिम्मा पाएको तिन्पाकुचालाई फसाद आइलाग्यो। दाह्रा निस्केका, ठूला-ठूला हातपाउ भएका लाखेलाई त्यो सानो भ्यागुतोले कसरी कन्ट्रोल गर्नसक्थ्यो र!

तर, दिमागी तिन्पाकुचाले बुद्धि लगायो। उसले रिसाइरहेको लाखेलाई झनै जिस्क्याउन थाल्यो। रिसले पहिल्यै आगो भएको मिप्वाः लाखेलाई अरु के चाहियो, तिन्पाकुचालाई मस्त लखेट्न थाल्यो। 

बाठो तिन्पाकुचा भाग्दै-भाग्दै खाल्टोमा हामफाल्यो। रिसको झोकमा मिप्वाः लाखे पनि खाल्टोमा झ्वाम्मै हाम्फाल्यो। खुट्टाले कचक्कै किच्छु भनेर खाल्टोमा खसेको लाखे त्यहाँबाट निस्कन सकेन। तिन्पाकुचा भने लाखे हाम्फाल्नुभन्दा अघि नै खाल्टोबाट बाहिर निस्किहाल्यो।

यसरी बाली नास गर्न थालेको मिप्वाः लाखेलाई तह लगाउन सघाएकोमा तिन्पाकुचालाई जनैपुर्णिमाको दिन विशेषः पूजा गर्ने चलन छ। पूजाआजाका साथै नेवार समुदायले तिन्पाकुचालाई मनपर्ने परिकारहरु भात, रोटी र गेडागुडी चढाउने गर्छन्।

यसैको अर्को किंवदन्ती भने प्रेमका बारेमा छ।

मि अर्थात् आगो। प्वाः अर्थात् वाला। आगोवाला लाखे नै मिप्वाः लाखे हो। 

किसानहरुलाई सहयोग गर्न लाखे भेष बदेलर आएको थियो। सुन्दर युवा काम गर्न निकै ज्याद्रो थियो। जति काम गरे पनि थाक्दै नथाक्ने। फेरि किसानले दिएको खाजा पनि नखाने। ऊ आफैंले झोलामा बोकेर ल्याएको ला अर्थात् मासु र खेंय अर्थात् अण्डा निकालेर खाने गर्थे। अपरिचित, नाम सोध्दा पनि नभनेपछि किसानहरुले उसको नाम लाखेंय राखे। 

त्यो लाखेंयले एक दिन ज्यापु किसानकी निकै सुन्दर छोरीलाई देखेछ। सुन्दर केटो देखेपछि ज्यापुकी छोरी पनि आकर्षित हुने नै भइन्। उनीहरु राति-राति भेट्न थालेछन्। आगोको राँको बोकेर लाखेंय किसानकी छोरी भेट्न जाने गर्थ्यो। त्यसैले उक्त लाखेलाई मिप्वाः लाखेंय भन्न थालियो।

पछिल्लो किंवदन्ती मजिपा लाखेसँग पनि मिल्न जान्छ। काठमाडौंको मजिपाट टोलबाट निस्कने मजिपा लाखे भने इन्द्रजात्राको समय निस्कने गर्छ। इन्द्रजात्राको समयमा कुमारीको रथ अघि-अघि नाच्ने डरलाग्दो लाखे नै मजिपा हो।

मजिपा भने पूरै प्रेमी लाखे हो भन्ने गरिन्छ। उसले प्रेमका लागि सारा संसार छाडेर मजिपाट टोलमै स्थायी रुपमा बस्न थालेको बताइन्छ।

चार वर्ष भयो मिप्वाः फेरि नाच्न थालेको
मूर्तिकार उत्तमरत्न शाक्य नृत्यमा उस्तै रुचि राख्छन्। सानैदेखि कात्तिक नाचमा रस बसेको उनलाई बाबु-बाजेको पालादेखि चलिआएको लाखे नाच लोप हुँदै गएकोमा चिन्ता लाग्यो।

सानैमा उनले बाबुबाट सिकेका थिए, मिप्वाः लाखे नाच। पाटनबाट लगभग लाखे नाच लोप भइसकेको थियो। नयाँ नाच्ने मानिस नै थिइनन्। उनैले अगाडि सरेर मिप्वाः लाखे नाचलाई फेरि ब्युँताए।

यल लायकु मिप्वा लाखे पुचः नामको समिति बनाएर उनले नयाँ पुस्तालाई बाबुले सिकाएको लाखे नाच सिकाए। उनैको पहलमा २०७५ सालदेखि फेरि मिप्वाः लाखे नाच सुरु भयो। उनलाई नयाँ पिँढीले साथ पनि दिइरहेका छन्।

मासु र अण्डा मात्रै खाने भएकाले लाखे भनिएको भने पनि पाटनको मिप्वाः लाखेलाई यी दुवै चिज चल्दैन। नृत्यको रिहर्सल गर्न थालेदेखि नै नृत्यकारहरुले मासु र अण्डा खान नमिल्ने शाक्यले बताए। उनले भने, 'यो लाखे तान्त्रिक हो, हामी नाट्यश्वरीको पूजा नगरेसम्म यो लाखे नचाउँदैनौं। जुठो, भोज भतेरमा यो लाखे नचाउन मिल्दैन।'

आफ्नै अनुभव पनि सुनाए उनले। भने, 'एक पटक झुक्किएर मासु खाएछु। बेलुकीको मासु छ भनेर श्रीमतीले अरु तरकारी बनाउन भुलिछन्। मैले पनि भुलमै खाइहालें। मुकुट लगाउने बित्तिकै मैले त मेरो कन्ट्रोल गुमाइहालें।'

पाइला उठाउन खोज्दा लडबडाउने, इनर्जी नभएजस्तो अनुभव भएको तर होस भने पूर्ण रुपमा भएको उनले बताए। त्यसपछि भने नाच्ने नृत्यकारले रिहर्सल गरेदेखि नै मासु र अण्डा खान पाउँदैनन्।

मनोरञ्जन दिनेदेखि सांस्कृतिक महत्व बोकेका लाखे
विभिन्न भूभागबाट थरीथरीका लाखेहरु निस्कने गर्छन्। राजा प्रताप मल्लदेखि कृषकहरुसम्मको कथा लाखेसँग जोडिएको छ।

राजा प्रताप मल्लसँग जोडिएका लाखे मनोरञ्जनको उद्देश्यले देखाइने लाखे हुन्। छोराको वियोगपश्चात् रानीलाई सबैको घरमा मान्छे मर्छन् भनेर सम्झाउन राजाले यो लाखेनाच सुरु गरेका हुन्।

गाईजात्राको दिन देखाइने यी लाखे नेवार समुदायले परिवार वियोग भएको वर्ष देखाउँछन्। यसको उद्देश्य भनेकै सबैको घरमा मानिस मर्छन्, त्यसैले दुःखी नहौं भनेर देखाउनु नै हो।

लाखेका विषयमा खोजबिन गर्ने प्रेममान डंगोलका अनुसार गाईजात्राको दिन देखाइने लाखे मनोरञ्जन हो। मानिसलाई रमाइलो गराउन अनेक हर्कत गर्ने भएकाले यो लाखे अश्लिल पनि हुने गर्छ।

तर, काठमाडौंका विभिन्न नेवार समुदायका लाखेहरु भने तान्त्रिक र सांस्कृतिक महत्वका छन्। त्यस्तै तान्त्रिक लाखे हो मिप्वाः लाखे।

१२ साउन, २०७९, ११:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।