लेखा अधिकृतले प्रमुख प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर गरी रकम भुक्तानी गरेपछि...

लेखा अधिकृतले प्रमुख प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर गरी रकम भुक्तानी गरेपछि...

सुर्खेत : सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढाले प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेको कीर्ते हस्ताक्षर गरी रकम भुक्तानी गरेको भन्दै उजुरी परेको छ।  

लेखा अधिकृत बुढाले कीर्ते हस्ताक्षर गरी नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाताबाट घर भाडा, खाना तथा खाजा खर्चवापत भन्दै तीन लाख ६२ हजार ५ सय रकम भुक्तानी गरेको भन्दै अख्तियार दुरुपयोग आयोग सुर्खेतमा *उजुरी परेको हो।

गत जेठ १७ गते लेखा अधिकृत बुढाले उक्त बिल पास गरिदिनका लागि प्रमुख प्रशासकीय अधिकृत पाण्डेको टेबुलमा पुर्याएको तर तर प्रशासकीय अधिकृत पाण्डेले अनाधिकृत शीर्षकमा पैसा खर्च भएकोले बिल पास नहुने भन्दै फाइल फिर्ता गरिदिएको समेत खुलेको छ।

लेखा अधिकृत बुढाले प्रमुख प्रशासकीय अधिकृतको किर्ते हस्ताक्षर गरी रकम भुक्तानी गरिदिएको उनीमाथि आरोप छ। जेठ १९ गते रामजाली ढावा एण्ड तन्दुरी पसलको नामबाट उक्त रकम भुक्तानी भएको थियो। 

प्रमुख प्रशासकीय अधिकृत पाण्डे अख्तियारबाट टोली गएर सोधपुछ गर्दा मात्रै आफूले यो विषयमा जानकारी पाएको  बताए।

‘जेठ १७ गते मेरो टेबुलमा कर्मचारीहरुको घर भाडा, खाना, खाजाको खर्च भन्दै रामजाली ढावा एण्ड तन्दुरी पसलको नामबाट बिल आयो। मैले यो शीर्षकमा कुनै छलफल नभएको र अनाधिकृत शीर्षक भएको भन्दै पुनः लेखामै बिल फर्काइदिएँ,’ अधिकृत पाण्डेले भने, ‘लेखा अधिकृत र मेरो हस्ताक्षरमा नगरपालिकाको खाता सञ्चालन भएको छ। उहाँले मेरो कीर्ते हस्ताक्षर गरेर तीन लाख ६२ हजार ५ सय भुक्तानी गर्न पठाउनुभएछ। मैले त अख्तियारको टोली नगरपालिकामा आएपछि मात्रै थाहा पाएँ।’

अधिकृत पाण्डेका अनुसार घर भाडा र खाना, खाजाको विषयमा कार्यपालिकामा कुनै औपचारिक र अनौपचारिक निर्णय भएको थिएन। लेखा अधिकृतले मनोमानी रुपमा कीर्ते हस्ताक्षर र सूत्रको दुरुपयोग गरेको उनको दाबी छ। 

‘मैले हस्ताक्षर गरेको छैन। नगरपालिकामा आएको पैसा सबै नगरबासीको हो। यसरी जथाभावी हामीले प्रयोग गर्नुहुँदैन भनेर मैले कर्मचारी साथीहरुलाई बारम्बार भन्दै आएको थिएँ,’ पाण्डेले भने, ‘तर मेरै हस्ताक्षर दुरुपयोग गरी लेखा अधिकृतले गरेको यो काम विरुद्ध म कानुनी प्रक्रियामा जानेछु।’

यो मुद्दालाई अख्यिार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले समेत अनुसन्धान गरिरहेको छ।

यो विषयलाई गुपचुप बनाउन आफैंले हस्ताक्षर गरेको भनिदिन विभिन्न निकायबाट दबाब आए पनि आफू सत्यको पक्षमा लागेको पाण्डेले दाबी गरे।

यता लेखा अधिकृत बुढाले आफूले कीर्ते हस्ताक्षर गरेको कुरा गलत भएको दावी गरे। उनले विभिन्न अनुगमन, तालिम र गोष्ठीमा खाना,खाजा खुवाएको बिलको भुक्तानीका लागि प्रमुख प्रशासकीय अधिकृतले नै हस्ताक्षर गरेको दाबी गरे।

‘नगरपालिकामा हरेक कुराको सिस्टम छ। त्यही अनुसार नै काम हुने हो। ताकि लेखाले एक्लै गरेर मात्रै केही हुँदैन,’ लेखा अधिकृत बुढाले भने, ‘विभिन्न अनुगमन, तालिम र गोष्ठीमा खुवाएको खाना र खाजाको बिलमा उहाँले नै हस्ताक्षर गरेर चेक बनाउनुभएको हो। अहिले आएर मलाई मात्रै फसाउने प्रपञ्ज रचिएको छ।’

तर, उकेराले यो विषयमा विस्तृत बुझ्दा फरक देखियो। नगरपालिका स्रोतका अनुसार लेखा अधिकृत लगायतको टोलीले व्यक्तिगत रुपमा होटेलमा खाना, खाजा र मदिरा सेवन गरेका बिलहरु पास गर्न भनेपछि प्रमुख प्रशासकीय अधिकृतले त्यसको विरोध जनाएका थिए।

स्रोतका अनुसार पाण्डेले हस्ताक्षर गर्न नमानेर बिल फिर्ता पठाएपछि लेखा अधिकृत बुढा आफैंले अधिकृतको हस्ताक्षर गरी चेक बनाएका थिए। टिमभित्र नै भागबण्डा नमिलेपछि समूहमा रहेका एक जनाले त्यो कुरा बाहिर ल्याएका थिए।

‘खासमा उहाँहरुले व्यक्तिगत रुपमा होटेलमा बसेर खाएको बिल ल्याएपछि हाकिम साबले फिर्ता गरिदिनुभयो। लेखा अधिकृत लगायतको टोलीले केही बिल यथार्थ हाले पनि केही आफैंले बनाएका थिए। त्यही भएर पनि उनीहरुले कीर्ते काम गरे। पछि केही भागवण्डा नमिलेपछि यो कुरा टिमबाटै बाहिर आयो,’ नगरपालिका स्रोतको दाबी छ।

*मुद्धाको स्थानमा उजुरी हुनुपर्ने र समाचारका केही शब्द संशोधन गरिएको छ

११ साउन, २०७९, ११:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।