नभएका नाली सफा गर्न सडक विभागले खटायो १४ जना

नभएका नाली सफा गर्न सडक विभागले खटायो १४ जना

काठमाडौंः सडक विभागले वर्षापछि जमेका पानी निकासका लागि भन्दै सडक छेउछाउका नाली सफा गर्न थालेकाे छ। काठमाडाैंकाे न्यु प्लाजा, अनामनगर, बबरमहल, सिंहदरबार क्षेत्रमा विभागले पानी निकासका लागि नाली सफा गरिरहेकाे हाे।

तर अचम्म त के छ भने ती क्षेत्रमा नाली भने छैन। सडकको किनार छ- थोरै कोल्टो परेको।

निर्माणकाे क्रममा नाली नै नछाेडी बनेकाे ती सडकमा वर्षामा पानी जम्ने गरेपछि हुँदै नभएको नाली सफा गर्न विभाग लागिपरेको हो।

जमेकाे पानी निकासका लागि आफूहरूलाई विभागले खटाएकाे एक कामदारले बताए। उनले भने, 'सडक छेउमा जम्मा भएकाे लेदाे र प्लाष्टिकले पानी निकास हुन पाउँदैन। त्याे सफा गरेपछि जमेकाे पानि निकास हुन्छ। त्यही कामकाे लागि विभागले हामीलाई खटाउँछ।'

सफा गर्दा निस्केकाे फाेहाेर विभागकाे गाडीमा राखेर व्यवस्थापन गर्ने समेत उनले बताए।

उनका अनुसार नाली सफाइकाे लागि साे क्षेत्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म १४ जना खटिएका छन्। वर्षापछि पानी जमेकाे ठाउँ सफा गर्न विभागले समयसमयमा जनशक्ति खटाउने गरेकाे छ।

११ साउन, २०७९, १०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।