प्रचण्ड-माधवको अलमलले न नयाँ मोर्चा, न पुरानै गठबन्धनमा छलफल

प्रचण्ड-माधवको अलमलले न नयाँ मोर्चा, न पुरानै गठबन्धनमा छलफल

काठमाडौँ : आफूलाई पाँचौँ पटक प्रधानमन्त्री बनाउनेलाई कुनै हालतमा धोका दिन्न भनेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको सहकार्यमा घाटा भएको भन्दै समाजवादी केन्द्रको अभ्यासमा छन् पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल।

स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँडको विवाद अनि परिणामले उनीहरू प्रदेश र सङ्घको निर्वाचनप्रति बढी नै चिन्तित देखिएका छन्। कांग्रेस आगामी निर्वाचन सकेसम्म एकल बहुमत या साना दलसँग मिल्दा पनि आफ्नो पक्षमा बहुमत पुग्ने गरी सिट बाँडफाँडको तयारीमा देखिन्छ।

कांग्रेसको तयारीबारे जानकार माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू तेस्रो धारको निर्माणको अभ्यासमा जुटेका छन्। उनीहरू कम्युनिस्ट विचारधारा र समाजवादी विचारधारको राजनीतिक दल वा मोर्चा समाजवादी केन्द्र बनाएर सङ्घ र स्थानीय तहको निर्वाचनमा जाँदा आउन सक्ने परिणामबारे आन्तरिक लेखाजोखामा व्यस्त छन्।

माओवादी र एकीकृत समाजवादी कांग्रेससँगको गठबन्धनमा थोरै सिट मात्रै पाउन सक्ने भय देखिन्छ। त्यसो हुँदा पार्टीभित्र भागबन्डा नै पुर्याउन गाह्रो हुन्छ नै। त्यो बेलामा सङ्गठनमा निर्देशनको अवज्ञा हुने उच्च जोखिम हुन्छ नै।

एकीकृत समाजवादीमा पहिल्यै ६ महिनाको लागि भनेर मन्त्री नियुक्त गरे पनि फिर्ता बोलाउने निर्णय कार्यान्वयन गर्न परेको सकसले नै त्यसको सङ्केत देखाउँछ नै। त्यसैले एकीकृत समाजवादीका नेताहरू अहिले घनिभूत छलफलमा देखिन्छन्।

सचिवालय बैठक बसेर गोप्य योजना समेत बनाएका उनीहरू समाजवादी केन्द्र बनाउँदा फाइदा हुन्छ कि कांग्रेस सहितको वर्तमान गठबन्धनबाटै फाइदा हुन्छ भनेर हिसाब निकाल्न मङ्गलवार पनि व्यस्त रहे।

माओवादीका नेताहरू पनि कताबाट पार्टीलाई फाइदा हुन्छ भनेर हिसाब गर्दै छन्। उनीहरू तत्काल नयाँ गठबन्धनको निर्णयमा पुगेका त छैनन्। वर्तमान गठबन्धनलाई ब्याकअप पनि राखिरहेको छ। मोर्चाको लेखाजोखा पनि गरिरहेका छन्।  

‘आज(मङ्गलवार) पनि हामी सचिवालयका सहित शीर्ष नेताहरू बस्यौँ, नयाँ पार्टी भन्दा पनि नयाँ गठबन्धनमा कसरी जाने र वर्तमान सत्ता गठबन्धनको सहकार्य कसरी जारी राख्ने भन्ने विषयमा छलफलमा छौँ,’ एकीकृत समाजवादीका एक नेताले उकेरासँग भने।

देउवालाई प्रधानमन्त्री बनाउन पार्टी नै छाडे पनि त्यसको उचित मूल्याकंन नभएको र गठबन्धनबाट पनि उल्लेख्य फाइदा नभएको मात्रै हैन एकीकृत समाजवादीका नेताहरू विशेष गरी झलनाथ खनाल समूह त कांग्रेसले हेपेको निष्कर्षमा पुगेका छन्।

‘लेफ्ट र सोसलिस्ट पार्टी र समूह एकताबद्ध भएर मोर्चा बनाएर चुनावमा जाने विषयमा सोच्दै छौँ। त्यही अनुसार छलफल भइरहेको छ,’ एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने,‘विचार मिल्ने दलहरूसँग एकै चुनाव चिन्ह हुनसक्छ। त्यो ऐनले हामीलाई दिएको छ।’ 

समाजवादी मोर्चाको लागि साबिकको नेकपाका सचिवालय सदस्यहरू वामदेव गौतम, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू पटक–पटक बैठकमा छन्। तर मोर्चा कि नयाँ पार्टी भन्ने अझैँ टुङ्गो लागेको छैन।

‘एकीकृत समाजवादी, जसपा, लोसपा र बाबुराम भट्टराई समेत र जनमोर्चा पनि नजिक आएको र अरू बाम शक्ति र समाजवादी कार्यदिशा मान्ने सक्तीहरूबिच निर्वाचनमा र राष्ट्रिय राजनीतिमा पनि सहकार्य गरेर जान्छौँ,’ माओवादी नेता वर्षमान पुनले भने।

बाबुरामको अर्कै दाउ

बाबुराम भट्टराईसँग नजिक रहेको माओवादी दाबी रहे पनि उनी भने आफ्नो कार्यकर्ताको सुरक्षित स्थान बनाउने लागि परेको देखिन्छ।

जसपालाई पुनर्गठन गर्ने भनेका डा भट्टराई गठबन्धन या नयाँ पार्टी भन्दा आफ्नै पार्टी बनाएपछि मात्रै गठबन्धन वा समाजवादी पार्टी बनाउने पक्षमा देखिएका छन्।

‘भोलि(बुधवार) पुन छलफलमा हुन्छौँ। यो साताभित्र संभवत नयाँ पार्टी पाउनुहुनेछ,’ भट्टराई पक्षका नेता फणीन्द्र देवकोटाले उकेरासँग भने, ‘हामी पहिला आफ्नै पार्टीलाई पुनर्गठन गछौं अनि अरूबारे सोचौँला।’

नयाँ पार्टी बनाएर मर्ज गर्दा भागबन्डा पाइने र कार्यकारी पद पाइने कुरा भट्टराइले बेवास्ता गरेका छैनन्। सामूहिक वा एकल प्रतिस्पर्धामा निर्वाचनमा जान तयार रहेको कांग्रेस भने अन्य दलहरूसँगको छलफल कुरिरहेका छ।

‘सबै कुरा सहमतिमा हुन्छ, स्थिरताको लागि। अरू दलले कांग्रेसको नेतृत्व स्विकार्न हुने कांग्रेसले अरूको नेतृत्व स्विकार्न नहुने भन्ने त हुँदैन,’ कांग्रेस उपसभापति धनराज गुरुङले भने। 

१० साउन, २०७९, २१:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।