अनलाइन ठगीमा डिजिटल प्रमाण सङ्कलन गर्न अप्ठेरो भएपछि सिआईवीको टोली आउँदै, दुई जनालाई ठगीको आरोप

अनलाइन ठगीमा डिजिटल प्रमाण सङ्कलन गर्न अप्ठेरो भएपछि सिआईवीको टोली आउँदै, दुई जनालाई ठगीको आरोप

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरका मुख्य अभियुक्तलाई प्रहरीले ठगी आरोपमा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको छ।

साउन ८ मा जानकीनगरस्थित प्रेमराज गुरुङको घरमा सञ्चालित ब्लु स्काई बिजनेस सोलुसन नामक कम्पनीमा विद्युतीय अपराध भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।

तीन तल्ला भाडामा लिएर विभिन्न सामाजिक सञ्जाल र एप्सहरु मार्फत विभिन्न व्यक्तिहरूलाई म्यासेज गरी बैङ्क लोन अफर गर्ने, प्रलोभन देखाउने, धम्की हैरानी दिने र अश्लील सामाग्रीहरू समेत पठाई ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उक्त कल सेन्टरमा छापा मारेको थियो।

इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले त्यहाँ काम गर्ने १ सय १५ जना पुरुष र ९८ जना महिला कर्मचारी समेत २ सय १३ जनालाई निगरानीमा राखी मुख्य भूमिकामा रहेका २ जनामाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको बताए।

कल सेन्टरका मुख्य भूमिकामा रहेका जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ४० वर्षीय हिमाल बाठा मगर र भारत विहार प्रदेश गायविद्या पञ्चायत मचारीका २५ वर्षीय जिसाद दवाङ्गे (निरञ्जन कुमार)लाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको उनले बताए।

कम्प्युटर लगायत अन्य उपकरणहरू बरामद गरी थप अनुसन्धान भइरहेको उनको भनाई छ। बरामद भएका उपकरणका बारेमा यथेष्ट जानकारी लिन नसकेपछि प्रहरीले अनुसन्धानका लागि सीआईबीको टोली बुटवल मगाएको छ।

बरामद गरिएका कम्प्युटर र मोबाइलहरू खोलेर विस्तृत अनुसन्धान गर्न सीआईबीको टोलीलाई बुटवल आउन भनिएको उनले बताए। पक्राउ परेका व्यक्तिहरूले भनेका कुराको प्रमाण पुष्टि गर्न कम्प्युटर र मोबाइलमा भएका तथ्य सही छन् कि गलत भन्ने बुझ्न केन्द्रीय अनुसन्धान टोली बुटवलमा बोलाइएको उनको भनाई छ।

यता काठमाडौँका विभिन्न स्थानमा खोलिएका कल सेन्टरमा समेत प्रहरीले छापा मारेर नेपालीसँगै चिनिया र भारतीय नागरिक पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमाथि सूचना प्रविधिको प्रयोग गरेर अर्काको गोप्य विवरण चोरेर धम्क्याउने, चिट्ठा परेको भन्दै झुक्क्याएर ठगी गर्ने लगायतका आरोपहरू छन्।

सम्बन्धित समाचार

 

१० साउन, २०७९, १५:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।