विपन्नलाई बाँड्न संकलन गरिएको १४ सय किलो दाल कुहिएपछि जनावरलाई !

विपन्नलाई बाँड्न संकलन गरिएको १४ सय किलो दाल कुहिएपछि जनावरलाई  !

बुटवलः रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोभिड- १९ महामारीको समयमा विपन्न समुदायका नागरिकलाई राहत बाँड्न भन्दै खरिद गरेको खाद्यान्न वितरण नै नगरेको पाइएको छ। नगरपालिका आफैँले खरिद गरेको र विभिन्न संघसंस्थाले दिएको खाद्यान्न वितरण नगरी गोदाममै थन्काउँदा कुहिएको छ।

खाद्यान्न कुहिएपछि नगरपालिकाले हालै तिलोत्तमाको वडा नं. १ र ८ मा पर्ने गौशालामा पुर्याएको छ। १५ असारसम्म नगरपालिकामै रहेको खाद्यान्न कुहिएको जानाकारी पाउनसाथ गौशालामा पुर्याइएको हो।

नगरपालिकाले दाल, नूनसहितको खाद्यान्न गौशालामा दिएको तिलोत्तमा गौशाला शान्तिनगरका प्रमुख रविन पौडेलले बताए।

‘नगरपालिकाले "कोभिडमा उठाएको केही बिग्रन लागेको दाल र नून छ, पठाम" भनेर फोन गरेको थियो। मैले पठाइदिनुस, खुवाउन मिल्ने खुवाउँछु, नमिल्ने मलखादमा राखिदिन्छु भनेपछि दाल र नून गौशाला आएको हो’, उनले भने।

उनले नगरपालिकाले पठाएको खाद्यान्न कतिपय खुवाउन योग्य रहेको र कतिपय नरहेको समेत बताए।

नगरपालिकाले राहत वितरण गरेको तथ्याङ्क दिए पनि त्यसको हिसाब भने मिलेन। नगरपालिकाले कुल १४ हजार ८४५ किलो दाल  तीन पटक (पहिलो र दोश्रोमा ६ हजार ३०१ र तेस्रो चरणमा ८ हजार ५४४) गरी सबै वितरण गरेको तथ्याङ्क छ। जबकि, यही संकलित दालमध्ये झण्डै डेढ टन कुहिएपछि गौशाला पठाइएको हो।

तिलोत्तमा नगरपालिकाले भने महामारीको समयमा राहत वितरण गर्न विभिन्न संघ संस्थाबाट प्राप्त भएको तथा नगरपालिकाले खरिद गरेको राहत सामग्री राहत वितरण गरेको दाबी गरेको छ। स्टकमा रहेका खाद्य सामग्रीहरू बिग्रेर खाद्यान्नको रूपमा उपभोग गर्न नमिल्ने अवस्थामा रहेकोले गौशालालाई दिएको उसको दाबी छ।

नगरपालिकाका पूर्व प्रवक्ता सुरेन्द्र श्रीले नगरपालिकाले तत्कालीन समयमा सुरु गरेका दुई वटा क्वारेन्टिनका लागि खाद्यान्न राखेको भए पनि कोभिड विस्तारै कम भएपछि उक्त खाद्यान्न प्रयोगमा नआएको बताए।

‘हामीले शंकरनगर र तिलोत्तमा- ९ मा दुई वटा क्वारेन्टिन सञ्चालन गर्दा त्यही खाद्यान्न चलाएका थियौँ। पछि विस्तारै संक्रमण कम भएपछि प्रयोजनमा नआउँदा चिसोले केही खराब भएको हुनसक्छ। तर सबै राहत नगरपालिकाले कुहाएर फाल्यो भन्ने चाहिँ होइन’, उनले भने।

नगरपालिकाका सूचना अधिकारी माधवप्रसाद पोखरेलले उपभोग गर्न नमिल्ने १४ सय ५७ केजी दाल र ११ सय ९१ केजी नून गौशालामा पठाएको बताए।

नगरपालिकाले कोभिडको समयमा चामल ७९० क्विन्टल खरिद गरेको थियो भने विभिन्न संघ संस्था तथा व्यक्तिबाट १०९ क्विन्टल गरी ८९९ क्विन्टल संकलन गरेको थियो। यस्तै, १४ हजार ५६० किलो दाल खरिद गरेको थियो भने संस्था तथा व्यक्तिबाट २८५ किलो गरी १४ हजार ८४५ किलो दाल संकलन गरेको थियो।

नून नगरपालिकाले ६ हजार ७०० किलो खरिद गरेको थियो भने सहयोग ४५० किलो गरी ७ हजार १५० किलो नून संकलन गरेको थियो।

तेल ३ हजार ९५५ लिटर, साबुन ५ हजार ७२ गोटा, सोयाबिन ६ बोरा र भुजा ३ बोरा संकलन गरी वितरण गरेको नगरपालिकाले बताएको छ।

तर, नगरपालिकाले राहत वितरण गरेको तथ्याङ्क दिए पनि त्यसको हिसाब भने मिलेन। नगरपालिकाले कुल १४ हजार ८४५ किलो दाल  तीन पटक (पहिलो र दोश्रोमा ६ हजार ३०१ र तेस्रो चरणमा ८ हजार ५४४) गरी सबै वितरण गरेको तथ्याङ्क छ। जबकि, यही संकलित दालमध्ये झण्डै डेढ टन कुहिएपछि गौशाला पठाइएको हो।

यस्तै, सात हजार १५० किलो नून संकलन गरेकोमा पहिलो र दोश्रो चरणमा तीन हजार १४६ र तेश्रो चरणमा चार हजार चार किलो गरी सात हजार १५० किलो नै वितरण गरेको तथ्याङ्क छ। तर, १२ सय केजी नून वितरण हुन नसकी बिग्रिएर गौशाला पठाइएको हो।

नगरपालिकाले आफैँ खरिद गरेको र संघसंस्थाबाट उठेको राहत सबै वितरण नगरी कुहाएर गौशाला पठाएपछि यसको आलोचना सुरु भइसकेको छ। तिलोत्तमा उद्योग वाणिज्य संघका माधव भण्डारीले गरिब जनताका लागि आफूहरूले आफ्नो गाँस कटाएर दिएको राहत, वितरण नगरी कुहाएर गौशाला दिनु नगरपालिकाको गम्भीर लापरबाही भएको बताए।

‘यस्तो संवदेनशिल विषयमा नगरपालिकाले चासो दिनुपर्नेमा कुहाएर गौशालामा दिनु गलत हो। यसले यस्तै अवस्था दोहोरिएमा संघसंस्थाहरूले राहत किन दिने भन्ने प्रश्न उठाउँछ’, उनले भने।

१० साउन, २०७९, ०७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।