'भूकम्पले होइन, उचित व्यवस्थापन नभएर भत्किएको हो काष्ठमण्डप'

'भूकम्पले होइन, उचित व्यवस्थापन नभएर भत्किएको हो काष्ठमण्डप'

९ वर्षअघि नै सेवा निवृत्त भइसकेका प्रोफेसर प्रेमनाथ मास्के (६९) ले पढाउन भने अझै छोडेका छैनन्। उनी अहिले पनि पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा पढाइरहेका छन्।

सबेरै कार्यस्थलमा पुगिसक्ने मास्के विद्यार्थीलाई पढाउँदैनन् मात्रै, दिनभर विद्यार्थी तथा प्रोफेसरहरुसँग अनुसन्धानका कुरा गर्दै आफैं पनि पढेर बस्छन्।

आफ्नो जीवनको ४७ वर्ष शिक्षण र अनुसन्धानमा बिताएका उनले ढुंगाको संरचना, प्राचीन संरचना र भूकम्पीय जोखिम विश्लेषणलाई चासोका रुपमा लिँदै आएका छन्। 

परम्परागत संरचनाहरुमा विशेष इच्छा राख्ने संरचनागत इन्जिनियर समेत रहेका मास्केले काष्ठमण्डप पुननिर्माण, भक्तपुरको पचपन्न झ्याले दरबार, बनेपाको चण्डेश्वरी मन्दिर अनि स्वयम्भू नाथको जीर्णोद्धार लगायतका दर्जनौं परियोजनाको नेतृत्व गरेका छन्। ती संरचनाहरुमा सम्भावित जोखिमलाई कसरी निर्मुल गर्ने भनेर समेत उनले काम गरेका छन्। 

काष्ठमण्डप सबैभन्दा पुरानो संरचनामध्येको भए पनि एकदमै बलियो गरी बनाइएको मास्के बताउँछन्। 'बेलायतस्थित डरहम विश्वविद्यालय' ले हालै गरेको अन्वेषणबाट काष्ठमण्डप सातौं शताब्दीको भएको प्रमाणित भएको थियो। त्यसअघिसम्म काष्ठमण्डपलाई १२औं शताब्दीको भन्ने गरिन्थ्यो।

त्यति पुरानो संरचना भएर पनि काष्ठमण्डप धेरै बलियोसँग निर्माण गरिएको मास्के बताउँछन्। उनी भन्छन्, '२०७२ को भूकम्पले त्यहाँका भित्री संरचना केही पनि भएन। सबै  सकुशल थिए। जति पनि क्षति भए ती सब माथिका मात्र भए। त्यसैले म भन्न सक्छु, काष्ठमण्डपमा जति क्षति भयो त्यो भूकम्पले भएको होइन। किनभने, १९९० सालको महाभूकम्पमा त्यस संरचना केही पनि भएको थिएन।’

१९९० सालको भूकम्प हेरिकन २०७२ सालको भूकम्प त केही पनि होइन भन्छन् मास्के। तर, २०७२ सालकै भूकम्पमा काष्ठमण्डप भत्किनुको कारण त्यहाँको व्यवस्थापनलाई दोष दिन्छन्। भूकम्पपछि त्यसको पूरै संरचना पुनर्निर्माण गर्नुपरेको समेत उनले बताए। 

'काठको संरचना हो। पानीले छुने बित्तिकै त्यो मक्किहाल्छ। हामीले त्यसको विचार गर्नुपर्छ,’ उनी भन्छन्।

काष्ठमण्डप एउटै रुखले बनेको भन्ने विषय छुट्टै पाटो भए पनि त्यो काठ मात्रैले बनेको भने होइन भन्छन् उनी। भन्छन्, 'किनभने, त्यहाँको चार कुनामा इँटाको पर्खाल पनि छ। धेरै र विशेषगरी काठको प्रयोग भएको हो। पूरै काठैकाठको भने होइन।' 

काष्ठमण्डपमा सकेसम्म पहिला जुन अवस्था थियो त्यही अनुसारले बनाएको कारण त्यहाँ प्रयोग भएका काठ, इँटा र मठ मोटार बाहेक अन्य कुनै पनि नयाँ सामग्री प्रयोग नगरेको उनको दावी छ। काठको आकार पनि पुरानै संरचना अनुसारको आवश्यक भएकोले लामो र ठूलो काठ ल्याउन चाहिँ धेरै गाह्रो भएको मास्के सुनाउँछन्। उनका अनुसार भूकम्प प्रतिरोधीको लागि पनि त्यसमा कुनै संरचना परिवर्तन गर्नुपरेन। किनभने, त्यो आफैंमा भूकम्पप्रतिरोधी छ। 

त्यसैगरी पचपन्न झ्याले दरबारमा पनि त्यस्तै लागू कुरा हुन्छ। सन् २००६ मा त्यहाँ पर्खाल लगाउने कुरा भयो। उक्त संरचना सुरु गर्नुको कारण त्यहाँको पहिलो तल्लाको दक्षिणी मोहडाको भित्तामा भूपतिन्द्र मल्लले नै बनाएको चित्रहरु थिए।

ती चित्रहरु जोगाउनुपर्ने भएकोले र भित्ता ढल्न लागेको हुनाले त्यसलाई कसरी संरक्षित गर्ने भन्ने कुरा भयो। त्यसको लागि जर्मनीहरूले प्रस्ताव दिए। पछि नेपालको तर्फबाट मास्के त्यसमा जोडिए। 

'त्यहाँको पर्खालको मोटाइ एकदमै ठूलो छ। त्यसलाई हामीले ताछेर भित्रको कुनै पनि संरचना नछोएर स्थिर बनाएका छौं। त्यो भन्दा पनि मुख्य कुरा त्यहाँ नयाँ सामग्रीहरु प्रयोग गरेका छौं। त्यो २०७२ सालको भूकम्पले केही पनि नहुनुको एउटा कारण चाहिँ संरचना नयाँ  भएर पनि हुन सक्छ।'

त्यसैगरी स्वयम्भुमा भने पूजा गर्दा बाल्ने बत्तिहरु कति सुरक्षित/असुरक्षित छन्, डाँडामा भएको कारण जमिनमा हुने समस्या अनि पौराणिक विधिबाट कसरी संरचना बनाउने भनेर काम गरेको उनी बताउँछन्। स्वयम्भुको मुख्य स्तुपा पुननिर्माण गर्नु नपरेको र त्यहाँको शान्तिपुर र अनन्तपुर चाहिँ बनाउनु परेको उनले बताए। त्यसमध्ये पनि अनन्तपुर आगलागी भएर बिग्रिएको कारण बनाउन परेको हो।

काठमाडौँमा चाहिनेभन्दा बढी विकास भयो 
पुरानै संरचना अनुसार पुरानै सामग्री राखेर कुनै पनि संरचना बनाउनु पर्दा धेरै चुनौती हुने गरेको मास्केको अनुभव छ। किनभने, त्यसमा सर्वप्रथम विश्लेषणको नै आवश्यक हुन्छ। त्यसपछि त्यही अनुसारको सामग्री खोज्नुपर्ने अनि दक्ष जनशक्तिको कमी। 

उपत्यकामा सबैभन्दा राम्रो संरचना भक्तपुरमा भएको उनको ठम्याइ छ। 'काठमाडौँलाई नराम्रो भन्न खोजेको होइन। तर काठमाडौँ यसरी विकसित भयो कि त्यसलाई कसैले रोक्नै सक्दैन। प्राचीन सम्पदाहरु र कोर सिटी अझै पनि भक्तपुरमा एकदम राम्रो छ। संरक्षित छ। कोर एरियाभन्दा बाहिर अनियन्त्रित हुँदै गए पनि कोर सिटीमा अझै सब राम्रो छ। मन्दिर नजिक अन्य ठूला भवनहरु बनाउन दिइएको छैन।’ 

काठमाडौँ धेरै ठूलो भवनहरु बनाउन नमिल्ने ठाउँ भएको मास्के बताउँछन्। उनका अनुसार काठमाडौँ कृषिका लागि उपयुक्त छ। कृषि गर्ने ठाउँमा घर बनाएर काम चल्दैन।  त्यही भएर अहिले यहाँ पानीको समस्या भएको हो। 

'मेलम्ची नै पर्खेर बस्नु परेको छ। पानी आउने सबै ठाउँमा घर बनेपछि कहाँबाट पानी आउछ त!’ 

काठमाडौँमा हुनुपर्नेभन्दा बढी सहरीकरण भैरहेको छ। नेपालमा भूकम्प जाँदा सबैभन्दा बढी क्षति हुने ठाउँ नै काठमाडौँ हो। उनी उदाहरण दिन्छन्, 'विसं. १९८८ मा उदयपुर केन्द्रबिन्दु भएर गएको भूकम्पले काठमाडौँ क्षतिग्रस्त भयो। त्यस्तै ताप्लेजुंगममा गएको भूकम्पले पनि काठमाडौँमै ७/८ जना को मृत्यु भयो। १९९० सालकै महाभूकम्पको कुरा गर्नुपर्दा केन्द्रबिन्दु भोजपुर थियो।  त्यो भनेको काठमाडौँ बाट करिब ३०० किलोमिटर टाढा हो। त्यस बेला पनि काठमाडौँको अवस्था के भयो सबैलाई थाहा छ।'

उनका अनुसार २०७२ सालमा गोर्खा केन्द्रबिन्दु भएको भूकम्पले पनि काठमाडौँ क्षतिग्रस्त भयो। काठमाडौँमा धेरै पहिले ताल भएको कारण यहाँको माटो मलिलो छ। भूकम्प विज्ञानमा मलिलो माटो जति गहिरोमा भयो त्यसमा थर्कन पनि बढी हुन्छ।

मास्के भन्छन्, 'भृकुटीमण्डप क्षेत्रमा ५७० मिटरको गहिराइ छ। त्यो पनि जम्मै मलिलो माटो। एउटा रिसर्चका अनुसार त्यहाँ र असनमा अन्यत्रभन्दा सात गुणा बढी थर्कन हुन्छ। मलिलो माटो भएको ठाउँमा ५/६ तलाभन्दा बढीको भवन नबनाएकै राम्रो हुन्छ।' 

आइआइटी दिल्ली छोडेर त्रिविबाट पिएचडी
भक्तपुरको उच्चवर्गीय परिवारमा जन्मिएका प्रो मास्के ८ जना दाजुभाइमध्ये सातौँ हुन्। त्रिचन्द्र कलेजमा आइएससी गरेपछि उनी सोभियत युनियनमा इञ्जिनियरिङ पढ्न गए। त्यसबेला डाक्टर, इञ्जिनियर हुनु नै सबैको आकांक्षा हुने हुँदा उनलाई पनि डाक्टर बन्ने खुब इच्छा रहेछ। तर आइएससीपछि गणितमा बढी केन्द्रित भएसँगै सबैले इञ्जिनियरिङ पढ् भने र उनी त्यसैमा होमिन पुगे।

इञ्जिनियरिङ पढ्न छात्रवृत्ति बाहेक बाहिर जान नपाउने हुँदा मास्के छात्रावृत्ति लिएर रसिया गए। 

नेपाल फर्किएपछि सन् २००२ मा उनले 'सेस्मिक रिस्क एनालिसिस अफ भक्तपुर सिटी एण्ड इट्स मोनुमेंटल स्टकचर’ मा पिएचडी गरे। पिएचडीका लागि आइआइटी दिल्लीमा भर्ना भए पनि दुई महिनामै नेपाल फर्किएका थिए उनी। त्रिभुवन विश्वविद्यालयबाट इञ्जिनियरिङमा पिएचडी गर्ने आफू पहिलो व्यक्ति भएको समेत मास्के बताउँछन्।

अहिले उनी इञ्जिनियरिङमा एमएसी र पिएचडीलाई पढाउने गर्छन्। त्यस बेला सबै काम श्रम उन्मुख मात्र भएकोले धेरै गाह्रो भएको मास्केको अनुभव छ। पढाइ पनि विदेशमा भन्दा यहाँ धेरै पछि मात्र सुरुवात भएकोले नेपालको शिक्षा सुधारिन धेरै समय लागको उनको भनाइ छ।

पिएचडिपछि सरकारी जागिरमा नाम निस्किए पनि आफूलाई पढाउन नै इच्छा भएको बताउँछन् मास्के। सरकारी जागिर नगर्दा इञ्जिनियरिङ राम्रो नगरेको कारण पढाउन थालेको भन्ने कुराहरु पनि उनले सुनेका छन्। पछि उनी पढाउनमै रमाउन थाले। 

'त्यतिखेर यहाँ ओभरसेयर पढाउने मात्र थियो। पछि यहीं कोशिस गरेर ब्याचलर अफ इञ्जिनियरिङ सुरु गर्यौं। अनि एमएससी हुँदै पिएचडि समेत सुरु गर्यौं,' उनी भन्छन्, 'धेरैले पिएचडी गरेपछि यहाँ आएर के जागिर गर्ने भन्ने हुने रहेछ। सहरी विकास तथा भवन निर्माण विभागतिर जागिर खान खोज्ने धेरै छन्। म उनीहरुलाई त्यहाँ काम गर्न पिएचडी गरिराख्न पर्दैन भन्ने गर्छु।’ 

इन्जिनियरको रुपमा उनको पहिलो प्रोजेक्ट पुल्चोक इञ्जिनियरिङ क्याम्पसको आर्किटेकचर डिपार्टमेन्ट र इलेक्ट्रिक डिपार्टमेन्ट रहेको भवन निर्माण हुन पुग्यो। त्यसबाट उनलाई केही नयाँ अनुभव भयो। पछि भने उनले करिब दुई सय वटा घर डिजाइन गर्न भ्याए। इञ्जिनियरिङ पेसामा मास्केले जोमसोमको प्रोजेक्टलाई एकदमै यादगार मान्ने गर्छन्। 

आफैंले बनाएको संरचना भत्काउने अफर आउँदा

सन् १९९८ मा बनाएको प्रोजेक्ट २००२ मा सक्किँदा निकै मिहिनेत लागेको उनले बताए। उनले जोमसोम माउन्टेन रिसोर्ट भन्ने एउटा फाइभ स्टार रिसोर्ट बनाएका थिए। त्यसबेला मुस्ताङ पुग्नै निकै कठिन थियो। ढुंगा र काठ पनि अन्नपूर्ण संरक्षित क्षेत्रमा परेको हुनाले सबै सामान पोखराबाट लानुपर्ने भयो। सिमेन्टदेखि लिएर काम गर्ने मान्छेहरु सबको कमी। हरेक शुक्रबार यहाँ पढाइसकेपछि मास्के त्यहाँ जान्थे।

पछि त्यो रिसोर्ट आङछिरिङ शेर्पा भन्ने व्यक्तिले लिएछन्। र, भत्काउने भएछन्। त्यो रिसोर्ट भत्काउने जिम्मा पनि मलाई नै दिन लागिएको थियो। तर आफै‌ंले बनाएको संरचना भत्काउन मनले मानेन र मैले जिम्मा लिइनँ।

अब मास्केलाई फेरि पनि परम्परागत संरचनाहरुमा रिसर्च गर्न मन छ। जसका लागि उनी तयारी पनि गर्दै छन्।

९ साउन, २०७९, १२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।