पार्टी जस्तै भद्रगोल छ, जसपाको लेखा परीक्षण

पार्टी जस्तै भद्रगोल छ, जसपाको लेखा परीक्षण

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) यतिबेला फुटको औपचारिकता कुरेर बसेको छ।

महन्थ ठाकुर लगायतका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नामको अलग्गै पार्टी बनाएसँगै भद्रगोल बनेको यो मधेशकेन्द्रित दल पुनः फुटाउने अन्तिम तयारीमा छन् बाबुराम भट्टराई।

जसपाभित्र जस्तो भद्रगोल छ, उसको लेखा परीक्षण पनि त्यस्तै भद्रगोल छ। उसले आर्थिक वर्ष २०७७/०७८ सालको लेखा परीक्षण समेत सार्वजनिक गरेको छैन।

उकेराले सूचनाको हक प्रयोग गरेर पाएको लेखा परीक्षणमा जसपाले कति आम्दानी भयो भनेर प्रष्ट लेख्न नसकेको देखिन्छ। सो पार्टीले लेखा परीक्षणमा ह्रासकट्टि देखाएर कमभन्दा कम सम्पत्ति रहेको देखाउन खोजेको देखिन्छ।

सवारी साधन खरिदमा भने उसको मोह निकै देखिन्छ। करिब ३३ लाख ८० हजार रुपैयाँको सवारी साधन बिक्री गरेर १ करोड २४ लाखको नयाँ सवारी साधन खरिद गरेको लेखा परीक्षणले देखाउँछ।

जसपाले आर्थिक वर्ष २०७७/०७८ मा सदस्यता शुल्क र सदस्यता नवीकरण शुल्कबाट ६० हजार आम्दानी गरेको छ। आवधिक लेवी भने पार्टीले पाएको छैन। कार्यगत लेवीबाट सबैभन्दा धेरै २८ लाख ८० हजार रुपैयाँ उठाएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ।

क्रियाशील सदस्यता शुल्क र प्रवेश शुल्कबाट जसपालाई आम्दानी भएको छैन। सदस्यता लेवी र नवीकरणबाट उसले २९ लाख ४० हजार आम्दानी गरेको छ। 

जसपालाई व्यक्तिगत र संस्थागत चन्दा भने प्राप्त नभएको लेखा परीक्षणमा उल्लेख छ। अन्य स्रोतबाट चन्दा तथा सहयोगबाट उसले ६ लाख ६७ हजार आम्दानी गरेको छ। 

प्रकाशन बिक्रीबाट जसपाले सुको आम्दानी नगरेको जसपाले सवारी साधन जिप लिलामीबाट भने ३३ लाख ७९ हजार २ सय आम्दानी गरेको देखिन्छ। 

क्यान्टिन भाडा बापत १ लाख ६५ हजार, बैंक ब्याजबाट १ लाख ६१ हजार १ सय ७६ र सवारी साधन बिक्री आयमा १ लाख ७० हजार ८ सय गरी ४ लाख ९६ हजार ९ सय ७६ रुपैयाँ लगानीको आय भएको लेखा परीक्षणमा देखाएको छ।

जसपाले निःशर्त र सशर्तको अनुदान लिएको छैन। प्रवास विशेष समितिबाट २ लाख २१ हजार २ सय ३० रुपैयाँ अनुदान लिएको लेखा परीक्षणमा देखाएको छ।

यो वर्ष जसपाले अधिवेशन र सम्मेलन केही नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ। झण्डा, स्वयंसेवक, विविध र भ्रमण खर्च अधिवेशन र सम्मेलनको शीर्षकभित्र उसले कुनै रकम खर्च गरेन।

सबैभन्दा बढी आन्दोलनमा १ लाख ६२ हजार १ सय ५० खर्च गर्दा सेमिनार र मिटिङ खर्च २० हजार रहेको लेखा परीक्षणमा उल्लेख गरिएको छ। सो वर्ष जसपाले प्रशिक्षणमा सुको खर्च गरेको छैन। निर्वाचन खर्च पनि सो वर्ष गर्नुपरेन। 

जसपाको कार्यालय सञ्चालन खर्च ६५ लाख ७१ हजार ९ सय ६३ रुपैयाँ रहेको छ। घर बहालमात्रै १६ लाख ५० हजार, स्टेशनरी तथा छपाइ खर्च ४ लाख २४ हजार १० रुपैयाँ र बिजुली तथा पानी महशुलमा १४ हजार २२ रुपैयाँ खर्च भएको देखिन्छ।

यस्तै, सो पार्टीले यातायात तथा भ्रमण खर्च ११ हजार ८ सय १७, लेखा परीक्षण खर्च २२ हजार ६ सय, पार्टी बैठक सञ्चालनमा १ लाख १२ हजार २ सय ३५, मर्मत तथा सम्भार २ लाख ९० हजार ५ सय ८७, इन्धन खर्च ३६ हजार, बैंक चार्ज २ सय, बैंक ब्याज कर ८ हजार ५८, विविध कार्यालय खर्च ८ लाख १ हजार ६८ उल्लेख गरिएको छ।

त्यसैगरी सबैभन्दा धेरै खर्च ह्रास कट्टिमा २७ लाख ८७ हजार २ सय २३ रुपैयाँ खर्च भएको देखाइएको छ। कर्मचारी तलब ४ लाख १४ हजार १ सय ४२ गरी कार्यालय सञ्चालनमा ६५ लाख ७१ हजार ९ सय ६३ रुपैयाँ खर्च भएको लेखा परीक्षणमा उल्लेख गरिएको छ। 

सो वर्ष जसपाले कार्यालयको उपकरण खरिद गरेन। जग्गा तथा भवन पनि खरिद गरेन। उसले सवारी साधन खरिदमा १ करोड २४ लाख खर्च गरेको छ। 

सम्पत्ति र लगानीको अद्यावधिक विवरणमा उसले जग्गा १२ करोड ९४ लाख ५६ हजार ७ सय ८५, फर्निचर ८ लाख २६ हजार २ सय ४२, सवारी साधन ९९ लाख २० हजार, कार्यालय उपकरण ७२ हजार ८ सय ६८, कम्युटर उपकरण २२ हजार ५ सय ५९ गरि जम्मा बाँकी सम्पत्ति ३ करोड २ लाख ९८ हजार ४ सय ५४ देखाएको छ। यो ह्रास कट्टिपछिको जम्मा सम्पत्ति हो। 

यो वर्ष जसपाले ७ लाख ३७ हजार ४ सय ६९ तिर्न बाँकी छ। यो वर्षको सुरुको कर्जा जिम्मेवारीमा ५ लाख ८८ हजार १ सया ९०, यो वर्ष कर्जा प्राप्ति रद्द हजार ६ सय, तिर्नुपर्ने सामाजिक सुरक्षा कर १७ हजार ८ सय ५४, विविध शीर्षकमा १ लाख ८ हजार ८ सय २५ रुपैयाँ छ। 

जसपाको तीन वटा बैंकमा रकम छ। राष्ट्रिय वाणिज्य बैंकमा ६१ लाख ५८ हजार ३ सय १४, कृषि विकास बैंकमा १३ लाख २७ हजार १ सय ६१ छ भने एभरेष्ट बैंकमा खाता भए पनि कारोबार भएको छैन। बाँकी रकम ९५ हजार ७ सय ६१, पेटी क्यास ८०५, मधेश प्रदेश कार्यालयसँग ४ लाख १० हजार ३५, मनोज भुलसाँग २४ हजार ६ सय २५, रमाकान्त शाहसँग ५ हजार ७ सय ५० गरी ८ लाख २२ हजार ४ सय ५१ रुपैयाँ मौज्दात रहेको छ। 

दुई जना कर्मचारीको लागि वार्षिक ३ लाख ८७ हजार ८ सय ७९ रुपैयाँ २६ हजार २ सय ६३ रुपैयाँ भत्ता गरी ४ लाख १४ हजार १ सय ४२ खर्च हुने गरेको लेखा परीक्षणले देखाएको छ।

५ साउन, २०७९, २१:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।