उकेरा एंकर

‘अक्सिजिनेटर’ नहुँदा गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया रोकियो, कार्यकारी निर्देशक भन्छन्- हिम्मत हुनेले ल्याए भइहाल्यो नि !


काठमाडौं : सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (अस्पताल)मा व्यवस्थापनको लापरबाहीका कारण मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) बन्द भएको छ। अस्पतालले शल्यक्रियाका क्रममा आवश्यक पर्ने ‘अक्सिजिनेटर’ उपकरण सकिएको भन्दै शल्यक्रियाका लागि भर्ना भएका बिरामीलाई समेत घर फर्काइएको छ। 

स्वास्थ्य मन्त्री भन्छन्- औपचारिक रुपमा थाहा छैन, अब बुझ्छु
यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले भने औपचारिका जानकारी नपाएको तर समस्याका बारेमा भने/सुनेको बताएका छन्। 

गंगालाल अस्पतालमा हिजोबाट मेसिन नभएर शल्यक्रिया बन्द भएको विषयमा केही जानकारी आएको छ? भन्ने जिज्ञासामा मन्त्री खापुङले भने,‘मलाई केही जानकारी आएको छैन। मैले पनि मिडियामा सुनेको हो।’

मन्त्री खापुङले आफूलाई गंगालालमा शल्यक्रिया अवरुद्ध भएको विषयमा औपचारिक जानकारी नभएकाले यस विषयमा बुझ्ने बताए। उकेरासँगको कुराकानीमा मन्त्री खापुङले  भने, ‘औपचारिक जानकारी नै भएको छैन। भर्खर सुन्दैछु। अब के रहेछ, बुझ्नतिर लाग्छु।’

शल्यक्रियाका लागि बिरामी भर्ना गरेर समेत फर्काउनुलाई कसरी लिनुहुन्छ? भन्ने जिज्ञासामा मन्त्री खापुङले भने, ‘अब चासो लिन्छु। के रहेछ तुरुन्तै बुझ्छु।’

तर, मन्त्रालयकै एक जना चिकित्सकले उपकरण (अक्सिजिनेटर) संसारभर अभाव भएकाले समस्या हुने भयो भनेर सुनाएको उनले जानकारी दिए। मन्त्री खापुङले भने, ‘संसारभर सर्टेज भएछ। अब गाह्रो हुने भयो भनेर कुरा गर्दै हुनुहुन्थ्यो एक जना डाक्टरसाबले।’ 

स्वास्थ्य मन्त्री सहिद गंगालाल हृदय राष्ट्रिय केन्द्रको सञ्चालक समिति अध्यक्ष हुने व्यवस्था छ। त्यसैले उनी केन्द्रको सञ्चालक समितिका अध्यक्ष समेत हुन्। 

डा. अधिकारीको तर्क- हिम्मत हुनेले लिएर आउँदा भैहाल्यो नि!
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले पनि विश्व बजारमा आएको अक्सिजिनेटर आपूर्तिको समस्याका कारण शल्यक्रिया रोकिएको बताए। उनले भने, ‘ग्लोबल सप्लाईमा आएको समस्याका कारण भारतमा पनि आपूर्ति गर्न सकेको छैन कम्पनीले। नेपालमा पनि आपूर्ति गर्न सकेको छैन। त्यही हो।’

उनले हिम्मत हुनेले अक्सिजिनेटर ल्याउन चुनौती समेत दिए।

‘नेपालमा नाम चलेका कार्डियाक सर्जनहरुले (अक्सिजिनेटर) लिएर आए भइहाल्यो नि त, त्यत्रो पहुँच भएकाले। हामीले त गल्ति गर्यौं रे,’ कार्यकारी निर्देशक डा. अधिकारीले भने, ‘हिम्मत हुनेले लिएर आउँदा भइहाल्यो नि। हामीले सकेनौं भने त्यही अनुसारले गरे भइहाल्यो।’

अभाव नै भएको हो त? भन्ने जिज्ञासामा कार्यकारी निर्देशक डा. अधिकारीले भने, ‘अभाव नभएको भए अप्रेसन बन्द हुन्थ्यो त। तपाईंहरुलाई के लाग्छ? हामीले जानीजानी अभाव सिर्जना गरेर पैसा कमाउन खोजेको भन्ने लाग्छ कि क्या हो?’

उनले थपे, ‘गंगालालमा मात्र अप्रेसन बन्द भएको हो र? अरु हस्पिटलमा गएर सोध्नु त?’

बुधबार दिउँसो उकेरासँगको कुराकानीका क्रममा कार्यकारी निर्देशक डा. अधिकारीले बरु अब कसैसँग पनि नबोल्ने भन्दै केहीबेरमा मोबाइल अफ हुने तर्क गरे। 

अस्पताल आएर भेटेर कुरा गर्न सकिन्छ? भन्ने उकेराको प्रश्नमा उनले भने,‘नआउनु, नआउनु। म भेट्दै भेट्दिन। कसैसँग पनि केही बोल्दिनँ अब। एकछिनमा मेरो मोबाइल अफ हुन्छ।’

गंगालाल अस्पतालमा हिजोबाट मेसिन नभएर शल्यक्रिया बन्द भएको विषयमा केही जानकारी आएको छ? भन्ने जिज्ञासामा मन्त्री खापुङले भने,‘मलाई केही जानकारी आएको छैन। मैले पनि मिडियामा सुनेको हो।’

केन्द्रका कार्यकारी निर्देशक डा. अधिकारीले अस्पतालमा कति जना भर्ना भएका बिरामीलाई फर्काइयो भन्ने समेत थाहा नपाएको तर्क गरे। कति जना भर्ना भएका बिरामी फर्काइयो? भन्ने जिज्ञासामा कार्यकारी निर्देशक अधिकारीले भने, ‘थाहा भएन हजुर त्यो।’

कमिसनको खेलले उपकरण नआएको हो त?
अस्पतालका एक चिकित्सकले भने कमिसनको खेल नमिलेका कारण बेलैमा अक्सिजिनेटर नल्याउँदा भर्ना भएका बिरामीलाई समेत शल्यक्रिया नगरी डिस्चार्ज गरेर अस्पताल व्यवस्थापनले गम्भीर लापरबाही गरेको दावी गरे।

ती चिकित्सकले भने, ‘हाम्रो त्यहाँ (गंगालालमा) केही गल्ती भयो। समयमा टेण्डर हालेनन्।’ ती चिकित्सकले टेण्डर पाएको कम्पनीले समेत मूल्य बढेका कारण धेरै कमिसन खान नपाइने भएपछि उपकरण नै नल्याइदिएको दावी गरे।

प्रशासनले पनि उपकरण आपूर्तिलाई प्राथमिकता नदिएको उनको भनाइ छ। ती चिकित्सकले मिलेमतोका कारण नै अक्सिजिनेटर नल्याइएको तर्क गरे। ‘बजारमा आएको छैन भनिएको छ। तर यसमा मिलेमतो हुन्छ। मैले सुने अनुसार यसको दाम अलिकति बढेछ,’ उनले भने, ‘मानौं ४० हजारमा टेण्डर राख्यो। बजारमा अहिले ४० हजार पर्यो भने त नाफा भएन। त्यसैले ल्याइदिएन। गंगालालको टिमलाई कमिसन नआउने भयो।’

तर, अक्सिजिनेटर खरिद प्रक्रियामा के भएको हो भन्ने विषय भने प्रष्ट खुलिसकेको छैन। 

स्वास्थ्य मन्त्रालयकै एक उच्च तहका चिकित्सक पनि विदेशमा समेत अक्सिजिनेटर मेसिनको अभाव भएको र नेपालमा पनि यो मेसिनको अभाव भएको बताउँछन्। 

मन्त्रालयका ती चिकित्सकले भने, ‘नेपालले एलसी खोलेर एक हजार पिस अर्डर गरेको, अहिलेसम्म आइपुगेको छैन रे। भारतमा पनि सर्टेज भयो रे।’

मन्त्रालयका ती चिकित्सकले थपे, ‘जिटुजी (सरकार-सरकार) गरेर हामीले किनिदिनुपर्ला भनेको, मार्केटमा भए न किन्ने हो। नत्र एक महिना लाग्ने भो।’

‘त्यसरी भर्ना गरेर फर्काउँदा कति जना त तुरुन्तै मर्ने जोखिम हुन्छ। हिजै (मंगलबार) ६/७ जनाको अप्रेसन गर्नुपर्ने थियो। भर्ना गरेका बिरामीलाई समेत शल्यक्रिया गर्न नसक्ने भए के आधारमा भर्ना गरियो?'

स्टकमा होला भनेर जेठतिर अक्सिजिनेटर खरिद प्रक्रिया गरिएको मन्त्रालयका ती चिकित्सकले बताए। उनले भने, ‘स्टक होला भन्ठानियो। जेठतिर टेण्डर गरियो। अहिलेसम्म आइपुगेको छैन। टेण्डर गरेका मितिले आउन अझै एक महिना लाग्छ। एलसी खोलेर रेडी छ।’ 

टेण्डर स्वीकृति गरेर एलसी खोलिसकिएको र मेसिन आउन मात्रै बाँकी रहेको मन्त्रालयका ती चिकित्सको दावी छ। उनले भने,‘एक हजार आउन बाँकी छ रे।’

मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) गर्दा प्रयोग हुने अक्सिजिनेटरले कृत्रिम मुटुको काम गर्ने चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार एउटा अक्सिजिरेटर एक जना बिरामीलाई मात्रै प्रयोग गर्न मिल्छ।

शल्यक्रिया गर्न नसक्ने भए किन भर्ना गरियो?
अस्पतालका चिकित्सकका अनुसार मंगलबार शल्यक्रियाका लागि भर्ना गरेर राखिएका बिरामीलाई फर्काइएको हो। ती चिकित्सकले भने, ‘बिरामी १०/१२ दिन राखेर फर्काउनु भनेको ठूलो गल्ती हो।’ 

यसरी भर्ना भएका बिरामीलाई समेत फर्काउँदा आफू समेत लाजमर्दो अवस्थामा पुगेको उनले तर्क गरे। 

उनले भने, ‘त्यसरी भर्ना गरेर फर्काउँदा कति जना त तुरुन्तै मर्ने जोखिम हुन्छ। हिजै (मंगलबार) ६/७ जनाको अप्रेसन गर्नुपर्ने थियो।’ भर्ना गरेका बिरामीलाई समेत शल्यक्रिया गर्न नसक्ने भए के आधारमा भर्ना गरियो भन्ने ती चिकित्सकले प्रश्न गरे।

शल्यक्रिया नहुने भएपछि धेरै जना बिरामी फर्किएको आफूले थाहा पाए पनि कति भन्ने यकिन नभएको उनी बताउँछन्। मंगलबार अस्पतालबाट फर्काइएका तीन जना बिरामीका आफन्तले आफूलाई फोन गरेर शल्यक्रिया नगरी फर्कनुपरेको बाध्यताका बारेमा गुनासो गरेको उनले सुनाए। गुनासो गर्ने तीनमध्ये एक जना त उच्च तहका सरकारी कर्मचारी भएको उनको भनाइ छ।

अस्पतालका ती चिकित्सकले भने, ‘हिजो तीन जना फर्किएका बिरामीका मान्छेले मलाई फोन गर्नुभयो। एक जना उच्च तहका सरकारी कर्मचारीले फोन गर्नुभयो।’

सञ्चालक समिति (बोर्ड)ले चाँडै निर्णय गरेर यस विषयमा छानबिन समिति बनाउनुपर्ने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

जसको मतदान गर्ने धोको छ, तर पाउँदैनन्

विमलालाई मतदान गर्ने भने ठूलो सपना छ। तर मतदाता परिचयपत्र बनाउन परिवाले नै चासो नदिँदा सपना अधुरै छ।  ‘आफूले चाहेको नेतालाई मतदान गर्न पाइन्छ भन्ने....

उकेराको प्रतिबद्धता: तथ्यको खोजी अनि सत्यको गोडमेल

तेस्रो वर्ष प्रवेश गर्दै गर्दा 'यो उकेरा भनेको के हो?' भन्ने प्रश्नभन्दा नयाँ पाठकसँग साक्षात्कार हुँदा 'ए उकेराबाट, राम्रो छ सामग्री' भन्ने चरणमा प्रवेश गर्नसक्नु....

माछापुच्छ्रे बैंक रकम हिनामिना प्रकरण: राष्ट्र बैंकले थाल्यो स्थलगत अनुसन्धान, पीडित भन्छन्- आरोपितलाई पूर्वमन्त्री शुक्लाको छ संरक्षण

त्यसपछि स्थलगत अनुसन्धानका लागि पुगेका नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख उप–निर्देशक दीपक अधिकारी, नेपाल राष्ट्र बैंक भैरहवाका उप–निर्देशक जीवन प्रकाश पाण्डे र सह–निर्देशक....

माछापुच्छ्रे बैंकको व्यवस्थापन र एजेन्टको कर्तुत: हातमा पैसा जम्मा गरेको भौचर छ, खाता भने रित्तै

उक्त बैंक खातामा गाउँपालिकाका वडा नम्बर ५, ७ र अन्य वडाका स्थानीयहरूले रकम जम्मा गरेका थिए। अहिले पीडित स्थानीयहरू आफ्नो पैसा खोजीको माग गर्दै दिनहुँजसो....

राष्ट्रिय मुद्रा सङ्ग्रहालयमा छ फुकादामदेखि दोलखाको ’वान पिस’ चाँदीको मुद्रासम्म

वि.सं. २०१९ पुस १ मा तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहले हनुमानढोका दरबार परिसरभित्र राष्ट्रिय मुद्रा सङ्ग्रहालयको स्थापना गराएका थिए। छाउनीको सङ्ग्रहालय त्यसैको विस्तारित आकार....