एक्लै बहुमत आउने खुफिया रिपोर्ट बोकेर बसेको कांग्रेस गलाउन समाजवादीको गोप्य बैठक, उपगठबन्धनको अभ्यास गर्दै प्रचण्ड

एक्लै बहुमत आउने खुफिया रिपोर्ट बोकेर बसेको कांग्रेस गलाउन समाजवादीको गोप्य बैठक, उपगठबन्धनको अभ्यास गर्दै प्रचण्ड

काठमाडौँ : नेपाली कांग्रेस कार्यसमिति बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन आयोगको डेटामा सुरक्षा निकायको खुफिया विश्लेषण मिसाएर ब्रिफिङ गरे' एक्ला एक्लै लड्नुपर्दा ७७ ठाउँमा कांग्रेस, ६० ठाउँमा एमाले, ८ ठाउँमा माओवादी, १ स्थानमा एकीकृत समाजवादी।'

कांग्रेसको बुझाइमा ८ स्थानमा अगाडी रहेको सत्ता घटक माओवादीले भने गठबन्धनमा ५० सिट दाबी गर्ने तयारी गरेको छ। एकीकृत समाजवादीले सङ्घ र प्रदेशको निर्वाचनमा ४० प्रतिशत हिस्सा माग्ने तयारी गरिरहेको छ।

स्थानीय निर्वाचनमा करिब २८ प्रतिशत स्थानमा उम्मेदवारी दिएको समाजवादीले  प्रतिशत बढाएर ४० प्रतिशत पुर्याउने तयारी छ। त्यसो हुँदा उसको भागमा ६६ सिट आउँछ।

त्यो पाउने सम्भावना नरहे ४० सिट भन्दा तल नझर्ने उसको योजना देखिन्छ। त्यही तयारीका लागि आइतबारदेखि मङ्गलवारसम्म समाजवादीको सचिवालय बैठक बसेको थियो जसबारे कतै खबर सार्वजनिक भएन।

बैठकस्थलै गोप्य राखिएको बैठकका निर्णय सार्वजनिक भएका छैनन्। ठोस निष्कर्ष आएपछिमात्र निर्णय सार्वजनिक गर्ने नेताहरूको तयारी देखियो। बैठकबारे पार्टीका नेताहरू केही बोल्न राजी छैनन्।

स्रोतका अनुसार 'पार्टीको आन्तरिक जीवनको लागि महत्त्वपूर्ण हुने निर्णय सहित अन्य पार्टीहरूमाथिको चरित्र चित्रणसमेत गर्दै सङ्घीय निर्वाचनमा पार्टीलाई बलियो बनाउने रणनीतिक योजनाहरूबारे' बैठक केन्द्रित थियो।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडा बैठकका विषयमा प्रवेश गर्न चाहेनन्। उनले कांग्रेस केन्द्रीय समितिको बैठकको निर्णयमाथि मात्र टिप्पणी गरे।

‘कांगेसको गठबन्धन गरेर जाने निर्णय स्वागतयोग्य छ, हामी पनि गठबन्धनकै पक्षमा हौँ। अब मोडालिटी र सिट बाँडफाँडबारे गठबन्धन बैठकमा छलफल भएर निष्कर्षमा पुग्छौँ,’ खतिवडाले उकेरासँग भने।

एकीकृत समाजवादीमा २४ सांसद छन्। १२ जना सचिवालय सदस्यमा तीन जना सांसद छन्। ९ सिट सचिवालय सदस्यलाई आवश्यक देखियो। तल्लो तहमा ५–७ जना महत्त्वपूर्ण नेताहरू छन्। यी सबै जोड्दा ३५ देखि ४० सिट चाहिने एकीकृत समाजवादीका एक नेताले बताए।

‘छ शीर्ष नेताहरूलाई जसरी पनि जिताउने गठबन्धनमा भद्र सहमति र बुझाई छ,' ती नेताले भने' हाम्रो पार्टीमा शीर्ष नेता भनेको माधव नेपाल र झलनाथ खनालमात्र त होइनन्।’

एकीकृत समाजवादीका एक पदाधिकारीले गृहमन्त्रीको ब्रिफिङको आलोचना गरे। स्थानीय तहमा समग्रमा गठबन्धन नै नहुँदा समेत पार्टीको राम्रो उपस्थिति देखिएको ती नेताको तर्क छ।

'हामीले कांग्रेस र माओवादीबिच गठबन्धन भयो भनेका थियौँ। हामी १ स्थानमामात्र कसरी अगाडी? संसदीय निर्वाचनमा व्यक्ति र पार्टी दुवै जोडिन्छ,’ ती पदाधिकारीले भने।

बार्गेनिङ पावर बढाउँदै माओवादी

गृहमन्त्री खाँणको विश्लेषणमा आठ स्थानमा मात्रै अगाडि देखिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले गठबन्धनमा रहेका कांग्रेस बाहेकका दलसँग मिलेर गठबन्धनभित्र अर्को गठबन्धन बनाउने कसरतमा छन्।

उनले मङ्गलवारबाट त्यसको अभ्यास सुरु गर्दै पूर्व सहकर्मी डा बाबुराम भट्टराईसँग १ घण्टा छलफल गरे। जसपाबाट अलग्गिए पनि उहाँ (बाबुराम) गठबन्धनमै रहेको प्रचण्डले प्रतिक्रिया दिए। उनले पछि एकीकृत समाजवादीका नेतासँगै बामदेव गौतमसँग पनि छलफल गरेका थिए।

एकीकृत समाजवादी, डा भट्टराई अनि बामदेवलाई आफूसँगै उभ्याउन सके कांग्रेससँग १ सय ६५ सिट लिन सकिने उनको विश्लेषण रहेको देखिन्छ। त्यसो गर्न सके ८० माथिको सिट आफ्नो पार्टीको भागमा पार्ने उनको रणनीति देखियो।

भारत भ्रमणकै क्रममा उनले आगामी पाँच वर्ष एकै प्रधानमन्त्री नभई आलोपालो हुने सन्देश फ्याकीसकेका छन्। त्यो भनेको आधा कार्यकाल कांग्रेसलाई अनि आधा उनलाई। तर कांग्रेसले केन्द्रीय समितिबाटै यो अस्वीकार गरिसकेको छ।

कांग्रेसलाई प्रेसरमा पार्न उनले एमालेसँग गठबन्धनको चर्चा अगाडि बढाउन सक्छन्।

‘पार्टीभित्र औपचारिक प्रवेश त पाएको छैन, तर हाम्रो दाबी ५० सिटमा रहन्छ,’ माओवादी नेता हरिबोल गजुरेलले उकेरासँग भने, ‘प्रदेश कमिटी तथा तल्ला तहबाट रिपोर्ट लिन्छौँ र त्यसका आधारमा समेत गठबन्धनमा कुरा हुन्छ।’

कांग्रेस भने एक सय सिट आफूले राखेर ६५ सिट अरूलाई दिने पक्षमा छ। ७७ सिटमा एक्लै अगाडी रहेको आँकडा बोकेर बसेको कांग्रेस ८० सिट भन्दा तल झर्ने अवस्था देखिँदैन।

यस्तो अवस्थामा उपगठबन्धन गरेर बार्गेनिङमा आए प्रचण्डको योजना बमोजिमको भागबन्डामा पार्टी सभापति शेरबहादुर देउवा राजी पनि हुन सक्छन्।

एक नेताका अनुसार कांग्रेसले ८३ सिट राखेर ८२ सिट अरूलाई दिन पनि सक्छ। तर समानुपातिकबाट अघिल्लो निर्वाचनको जस्तै ४० सिट आए एक्लै बहुमत पुर्याउन सकिने र अन्यथा सानो पार्टीको साथ लिएर पनि सरकार बनाउन सकिने सम्भावनाको ढोका बन्द नगर्ने रणनीतिमा देखिन्छ कांग्रेस।

‘हामी ठुलो पार्टी छौँ। सबैलाई मिलाएर लैजाने दायित्व हाम्रो रहन्छ। तर बहुमत ल्याउन पार्टीको ध्यान केन्द्रित छ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘सिट बाँडफाँड गठबन्धनको बैठकमा टुङ्ग्याउँछौँ। यसबारे अहिले नै भन्न सकिन्न।’

०७४ को अङ्क गणित

०७४ मा एमाले र माओवादबिच गठबन्धन हुँदा माओवादीले ३६, नेपाली कांग्रेसले २३, जसपा (उपेन्द्र यादव समूह)ले १०, बाबुरामको नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले १-१ सिट जितेको थियो।  एमालेले ८० सिट जितेको थियो, जसमध्ये प्रत्यक्षतर्फका १३ सांसद अहिले एकीकृत समाजवादीमा छन्।

अघिल्लो निर्वाचनको परिणामलाई आधार मानेर ती दललाई भाग लगाउने हो भने १ सय ६५ मध्ये ८६ सिटको भागबन्डा मिल्छ। जसमा माओवादीलाई ३६, कांग्रेसलाई २३, एकीकृत समाजवादीलाई १३, उपेन्द्र यादवलाई १०, बाबुराम भट्टराईलाई २ र राष्ट्रिय जनमोर्चालाई १ सिट पर्न सक्छ।

सरकारलाई साथ दिएका स्वतन्त्र सांसद छक्कबहादुर लामाको सिट पनि समावेश गर्नुपर्ने हुन्छ। एमालेले जितेको ठाउँमा विद्रोह गरेकाले एकीकृत समाजवादीले दाबी गर्ने तयारी छ। तर जसपाले पनि आफ्नो भएको सांसद सङ्ख्या पाउनुपर्ने एमालेले जितेको ठाउँको भागबन्डा हुनुपर्ने सर्त राख्न सक्छ।

‘हामीसँग भएको १३ सिट त भइहाल्यो। अब एमालेले जितेको ठाउँको भागबन्डा कसरी हुन्छ हेरौँ,’ जसपाका सचेतक प्रमोद शाहले उकेरासँग भने, ‘गठबन्धनको निर्णय के हुन्छ त्यो मान्नुपर्ने हुन्छ।’

अहिले गठबन्धनमा रहेका दलको सांसद सङ्ख्या बाहेक एमालेसँग रहेको प्रत्यक्षतर्फको ६७,राजपाले जितेको १० र राप्रपा तथा नेमकिपाले जितेका २ सिट गरी ७९ सिट भाग लगाउनुपर्ने देखिन्छ। 

३ साउन, २०७९, २०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।