‘विचारभन्दा माथि देश’ लाई पुस्तकको रूप दिए मिश्रले, सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षता घातक भएको निष्कर्ष

‘विचारभन्दा माथि देश’ लाई पुस्तकको रूप दिए मिश्रले, सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षता घातक भएको निष्कर्ष

काठमाडौंः पूर्व पत्रकार तथा विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रको पाँचौं पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुने भएको छ। पुस्तकमा मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको र ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन्।

आज फाइनप्रिन्ट बुक्सले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।

पुस्तकमार्फत मिश्रले ढिलो नगरी नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना तथा सङ्घीयता खारेज गर्नुपर्ने बताएका छन्। यस्तै नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्नुपर्ने पनि उल्लेख छ।

मिश्रले आफ्नो तर्कको बचाउ गर्दै भने, ‘कुनै विषय सैद्धान्तिक रूपमा राम्रो भएर मात्र हुँदैन, त्यसले धरातलीय यथार्थसँग तादात्म्य राख्नुपर्छ।’

यस्तै नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ र बीपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको पनि मिश्रको निष्कर्ष छ।

गत वर्ष विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा मिश्रले सङ्घीयता खारेजी र धर्म निरपेक्षताबारे जनमतसङ्ग्रह गर्नुपर्ने बताउँदै 'विचारभन्दा माथि देश' नामको दस्तावेज सार्वजनिक गरेका थिए। सोही दस्तावेजमाथि प्राप्त प्रतिक्रिया, र देशको भूराजनीतिक र आन्तरिक संवेदशीलतालाई मनन गरेर परिमार्जन गर्दै पुस्तकको रूप दिइएको मिश्रले बताएका छन्।

पुस्तक प्रकाशन फाइनप्रिन्टले गर्नेछ। यसबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) राजनीतिक शुद्धीकरणको अभियानमा जाने मिश्रले उल्लेख गरेका छन्।

३ साउन, २०७९, १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।