काठमाडौं कोरोना संक्रमणको ‘रेड जोन’मा, वीर अस्पतालमा अक्सिजन चाहिने बिरामी भर्ना हुन थाले

काठमाडौं कोरोना संक्रमणको ‘रेड जोन’मा, वीर अस्पतालमा अक्सिजन चाहिने बिरामी भर्ना हुन थाले

पछिल्लो केही दिनयता अस्पतालहरूमा पुनः कोरोना भाइरस (कोभिड–१९) संक्रमितको चाप बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार करिब अढाई महिना मृत्युदर शून्यमा रहे पनि पछिल्लो दुई दिनयता भने पुनः मृतक पनि थपिन थालेका छन्।

आइतबार एक र सोमबार एक जना गरी संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ।

यस्तै काठमाडौं उपत्यका हाल संक्रमणको 'रेड जोन'मा परेको छ। केही दिनयता संक्रमण भएर अस्पताल भर्ना हुने बिरामी पनि बढिरहेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेण्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार आइतबार पाँच जना संक्रमित अस्पतालमा भर्ना भएका थिए। तर, रुघाखोकी भनेर धेरैले परीक्षण नै नगराउने गरेको डा. चालिसेले बताए।

कोरोना संक्रमित भएको व्यक्तिमा रुघाखोकीको जस्तै लक्षण देखिने भएकाले हेलचेक्र्याँइ नगरी स्वास्थ्य जाँच गराउन डा. चालिसेको सुझाव छ। 'कोरोना भए पनि आफैँ सञ्चो हुने त रहेछ नि' भन्ने जस्ता तर्क गरेर परीक्षण नगराउने गरेको पनि उनले सुनाए। यस्तै कोरोनाविरुद्धको बुस्टर मात्रा (डोज) खोप लगाउन पनि डा. चालिसेको सुझाव छ।

यता वीर अस्पताल (कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल)का कोभिड–१९ फोकल पर्सन डा. अच्युतराज कार्कीले संक्रमणदर उकालो लागेको जानकारी दिए। अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढिरहेको उनले बताए।

डा. कार्कीका अनुसार केही दिनयता अस्पतालमा अक्सिजन आवश्यक पर्ने संक्रमित भर्ना हुन थालेका छन्। तर, संक्रमितहरू सामान्यतः अस्पताल भर्ना भएको तीन दिनमा डिस्चार्ज हुने गरेको उनले बताए।

सोमबार दिउँसोसम्म आठ जना संक्रमित वीर अस्पतालमा उपचार गराइरहेको उनले जानकारी दिए। डा. कार्कीका अनुसार वीर अस्पतालमा भर्ना हुने संक्रमितमध्ये यो संख्या वैशाखयताकै उच्च हो।

वैशाखयता एक साता, १५ दिनको अन्तरालमा फाट्टफुट्ट संक्रमित भर्ना भएकोमा असारको तेस्रो सातायता भने अस्पताल भर्ना हुने संक्रमितको चाप पुनः बढेको उनले बताए। 

डा. कार्कीले भने,‘वैशाखदेखि असारको तेस्रो हप्तासम्ममा जम्मा दुई जना संक्रमित अस्पताल भर्ना हुनुभएको थियो।’

संख्यात्मक रूपमा कम संक्रमित भएको देखिए पनि प्रतिशतमा हेर्ने हो भने संक्रमण दर १० देखि १७ र १८ प्रतिशतसम्म देखिइरहेको डा. कार्कीले बताए। 

उनले भने, ‘आइतबार १७ जनाले पीसीआर परीक्षण गराएकामा तीन जनामा कोरोना पुष्टि भयो। प्रतिशतको हिसाबले यो त धेरै नै हो।’

त्यसैगरी क्यान्सर लगायत दीर्घरोग लागेका बिरामीमा समेत संक्रमण देखिएकाले यस्ता संक्रमितमा स्वास्थ्य जटिलता निम्तने जोखिम पनि बढिरहेको डा. कार्की बताउँछन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालमा पनि केही दिनयता संक्रमितको चाप बढेको छ। अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले शुक्रबारसम्ममा तीन जान संक्रमित अस्पताल भर्ना भएको जानकारी दिए।

यस्तै परीक्षण गरेका मध्ये दैनिक ७ देखि ८ जनामा संक्रमण पुष्टि हुन थालेको पनि उनले जानकारी दिए।

उता भक्तपुर अस्पतालमा भने कोरोना संक्रमितको चाप नरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीधर अर्यालले जानकारी दिए। एक साताअघि एक संक्रमित भर्ना भएर उपचारपछि डिस्चार्ज भएको र त्यसयता संक्रमित भर्ना नभएको उनले बताए।

चैतयता संक्रमितको संख्या न्यून देखिए पनि असार महिनामा भने पीसीआर परीक्षण गर्दा फाट्टफुट्ट संक्रमण देखिएको उनले बताए।

अढाइ महिनासम्म मृत्यु शून्य, फेरि सुरु
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार गत चैत ८ गते एक र वैशाख २१ गते एक जना व्यक्तिको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो। 

त्यसयता करिब अढाइ महिना संक्रमणका कारण मृत्यु भएको तथ्यांक थिएन। तर, आइतबार एक र सोमबार एक जनाको मृत्यु भयो।

संक्रमण रोकथामका लागि हाल प्रवेश नाका, प्रयोगशाला लगायतलाई सुसूचित गरिएको पनि उनले बताए। 

स्वास्थ्य मापदण्ड पालना गर्ने सवालमा पहिलेजस्तो कडाइ नभए पनि व्यक्तिगत स्वास्थ्य सुरक्षा तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने अधिकारीको सुझाव छ।

उनले भने, ‘कुनै वर्गलाई हुने कुनै वर्गलाई नहुने भन्ने छैन। खोप लगाएकालाई नहुने अनि खोप नलगाएकालाई हुने भन्ने पनि छैन। संक्रमण सबैलाई हुनसक्छ।’

हाल नेपालमा कोरोनाको प्रायः ओमिक्रोन भेरियन्टकै संक्रमण देखिएको डा. अधिकारीले बताए।

'रेड जोन'मा काठमाडौं
काठमाडौं कोरोना भाइरस संक्रमणको ‘रेड जोन’मा परिसकेको छ। सरकारले पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लालाई ‘रेड जोन’मा राख्ने गरेको छ। 

सोमबार काठमाडौंमा सक्रिय संक्रमितको संख्या एक हजार १३ पुगेको छ। त्यसैगरी भक्तपुरमा २८ र ललितपुरमा ९२ सक्रिय संक्रमित छन्।

जबकी एक महिनाअघि असार दुई गते काठमाडौंमा २३, भक्तपुरमा दुई र ललितपुरमा सात जना सक्रिय संक्रमित थिए। त्यसैगरी सोही दिन देशैभर सक्रिय संक्रमितको संख्या ९५ थियो। तर, सोमबार यो संख्या बढेर एक हजार सात सय ७६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा सोमबारसम्ममा कोरोना भाइरस संक्रमणका कारण ११ हजार ९५४ जनाको ज्यान गइसकेको छ।

३ साउन, २०७९, ०९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।