उकेरा एंकर

बलात्कारविरुद्धको सकारात्मक माहौल दुरुपयोग गर्दै बढ्यो हनी ट्रयापिक, श्रीमान्-श्रीमतीदेखि प्रेमी-प्रेमिकासमेत धन्दामा


स्केच : deccanherald.com

काठमाडौँ : महिला हिंसा र यौन दुर्व्यवहारविरुद्ध दबाब बढिरहेकै बेला यसलाई दुरुपयोग गरेर आपराधिक लाभ लिने समूह सक्रिय देखिएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने घटनामा समेत समाजमा सकारात्मक प्रभाव परेको र अनुसन्धान र कारबाहीका लागि सरकारी निकायलाई दबाब बढिरहेको बेला यसलाई हतियार बनाएर आर्थिक लाभ लिने समूह सक्रिय देखिएका हुन्।

यस्तो समूहले महिलाको प्रयोग गरेर पुरुषहरूसँग सामाजिक सञ्जालबाट सम्पर्क राख्न लगाउने, निकट भएर भेटघाट बढाउने र तस्बिर लिएर तथा फोन संवाद रेकर्ड गरेपछि ती व्यक्तिलाई उजुरीको धम्की दिँदै ब्ल्याकमेल गर्ने समूह सक्रिय देखिएका हुन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार यस्तै एक समूहलाई सार्वजनिक गरेको छ जसमा श्रीमान्, श्रीमती अनि उनका एक साथी मिलेर यस्तो धन्दा चलाउँदै आएको प्रहरीको दाबी छ।

कार्यालयका एसपी कृष्ण कोइराला अनुसार उनीहरूले पहिला सामाजिक सञ्जालबाट नजिक भएर भेटघाट गर्ने अनि पछि झुटा मुद्दा लगाएर फसाइदिने भन्दै धम्क्याएर पैसा माग्ने गरेका थिए।

अहिले सिन्धुलीकी ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् कृष्णहरि खड्का अनि नक्कली प्रहरी निरीक्षक बनेर धम्क्याउने सञ्जय कार्की कार्यालयको हिरासतमा छन्।

श्रीमानले थाहा पाए भन्दै ४० लाख माग

बस्नेत एक सामान्य व्यवसायीसँग नजिक भएकी थिइन्। त्यसपछि उनी नियमित सम्पर्कमा रहिन्। भेटघाट बढ्दै गएपछि उनले दुवैको सम्बन्धबारे श्रीमानले थाहा पाएकाले अब अलग हुनुपर्ने र त्यसका लागि श्रीमानलाई पैसा दिनुपर्ने भयो भन्दै ४० लाख माग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिन्छ।

यसबिचमा अर्का एक व्यक्तिको प्रवेश हुन्छ। उनले आफूलाई प्रहरी निरीक्षक भएको भन्दै युवतीलाई फोन गरेर' उजुरी गर्ने तर पछि सम्पर्कमा नआउने' भन्दै प्रहरी कार्यालयमा बोलाउने गर्थे। युवतीले सो संवाद ती व्यवसायीलाई पठाएर प्रहरीले कार्यालयमा आउन दबाब दिइरहेको भन्दै प्रहरीका लागि १० लाख र आफ्नो घर व्यवहार मिलाउन ३० लाख चाहिएको भन्दै पैसा दिन दबाब बढाइन्।

तर ती व्यवसायीको आर्थिक हैसियत एकै पटक त्यत्रो पैसा दिन सक्ने थिएन। ती युवती कालो कोटसहित युवालाई भेटेर आफू कानुन व्यवसायी समेत भएकाले आफ्नो घर व्यवहार बिग्रिए कानुनी प्रक्रियामा जान बाध्य हुने भन्दै दबाब दिएपछि युवाले आफूसँग भएको ५० हजार दिएका थिए।

तर सधैँ धम्क्याइरहेपछि उनी प्रहरी कार्यालय पुगेर निवेदन दिएपछि प्रहरीले अनुसन्धानका लागि युवती, उनको श्रीमानसँगै नक्कली प्रहरी निरीक्षकलाई समेत पक्राउ गर्‍यो।

'प्रारम्भिक अनुसन्धानमा युवती पीडित भएको भन्दा पनि पीडित भएको भन्दै धम्क्याएर पैसा मागेको प्रमाणहरूका आधारमा अनुसन्धानका लागि तीनै जनालाई पक्राउ गरेका हौँ,' एसपी कोइराला भन्छन्' नक्कली प्रहरी निरीक्षक समेत यो समूहमा भएकाले घटना नियोजित देखिएको छ। थप अनुसन्धानमा खुल्दै जाला।'

पक्राउ परेका तीनै जनामाथि आपराधिक विश्वासघातको कसुर अन्तरगत प्रहरीले अनुसन्धान गरिरहेको छ।

 प्रेमिकादेखि वकिल अनि पत्रकारसम्म नक्कली

एक महिना अगाडि मात्रै काठमाडौँमा यस्तै गिरोहका ६ जना पक्राउ परेका थिए। उनीहरूमाथि पनि प्रहरीले यस्तै युवतीको प्रयोग गरेर व्यवसायीहरूसँग निकट सम्बन्ध बनाउने र पछि बलात्कारको मुद्दा हालिदिने भन्दै धम्क्याएर रकम असुल्ने गरेको खुलेको थियो।

प्रहरीले १९ वर्षकी निकिता केसी, १८ वर्षकी मनीषा परियार, ३२ वर्षका डिकबहादुर शर्मा, ३० वर्षका सञ्जीव दर्जी, २५ वर्षका निमा लामा र ३० वर्षका पासाङ लामा पक्राउ परेका थिए। सो समूहले पनि सामाजिक सञ्जालमार्फत व्यवसायीहरूसँग निकट सम्बन्ध बनाउने अनि होटल तथा रेस्टुरेन्टमा भेट्न बोलाएर आवश्यक विवरण सङ्कलन गरेपछि धम्क्याउँदै पैसा माग्ने गरेका थिए।

सो समूहमा पीडित युवतीदेखि वकिल अनि पत्रकारसम्मको अभिनय गर्ने सदस्यहरू थिए। उनीहरूले कुनै न कुनै बहानामा युवासँगै युवतीलाई होटेलको एकै कोठामा बस्ने अनि पछि त्यही विषय परिवारका सदस्यहरूले थाहा पाएको भन्दै फोन गरेर धम्क्याउने गरेका थिए।

यी दुई घटना मात्रै हैन पछिल्लो समयमा प्रहरीकोमा पहिला विभिन्न बहानामा नजिक हुने र पछि बलात्कारको मुद्दा लगाइदिन्छु भनेर धम्क्याउँदै रकम मागेको भन्दै आउने पीडितहरूको सङ्ख्या बढेको छ।

तर प्रहरी आफैँ आएका उजुरीभन्दा पीडितको सङ्ख्या धेरै हुनसक्ने अनुमान गर्छन्। यस्ता घटनासँग सामाजिक प्रतिष्ठासमेत जोडिने भएकाले अधिकांश पीडितहरू प्रहरी कार्यालयसम्म नआएको उनीहरूको अनुमान देखिन्छ।

सकारात्मक माहौलको दुरुपयोग

महिला तथा बालिकाविरुद्ध बढ्दो यौन अपराधका घटना सार्वजनिक भएसँगै समाजमा यसप्रति सकारात्मक माहौल बन्दै गएको छ।

पछिल्लो समय कलाकार पल शाहविरुद्ध नाबालिगलाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोग लागेपछि यसबारे सार्वजनिक बहस तातिएको थियो।

यसबारे मनोरञ्जन क्षेत्र विभाजित भए पनि बहससँगै बढेको यौन हिंसा र यौन अपराधविरुद्धको सामाजिक माहौलका कारण पीडित र उनको परिवारलाई होस्टायल गराएर धरौटीमा छुट्नेसम्मका पल पक्षको प्रयास सफल हुन सकेन।

जिल्ला अदालतले दिएको पुर्पक्षका लागि थुनामा राख्ने आदेशलाई उच्च अदालतबाट उल्टाउने उनीहरूको रणनीति सफल भएन।

जुन बेलामा पललाई कारागारमा राखेर मुद्दा प्रक्रिया अगाडि बढाउने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा बहस भइरहेको थियो त्यही बेला यता काठमाडौँमा एक युवतीले सौन्दर्य प्रतियोगितामा सहभागी गराएर सात वर्ष अगाडि आफूमाथि भएको बलात्कारको घटना सार्वजनिक गरिन्।

सात वर्ष पुरानो घटना भएकाले हदम्याद नाघिसकेकाले त्यसले यौन अपराधको घटनामा हदम्यादै राख्न नहुनेसम्मको चरणमा बहसलाई लग्यो र संसदबाट हदम्याद एक वर्षबाट तीन वर्षसम्म बनाउने गरी कानुन संशोधन गर्ने प्रक्रिया अगाडि बढिरहेको छ।

कानुनी प्रक्रियामा नगए पनि सामाजिक सञ्जालबाट पत्रकार, फोटोग्राफर अनि लेखकले गरेका यौन दुर्व्यवहारका घटना सार्वजनिक भए। यी सबै घटनामा समाज र मिडिया पीडितको पक्षमा उभिएका थिए।

यता यस्तो सकारात्मक माहौल बन्दै जाँदा यता प्रहरी कार्यालयमा भने नजिक हुने, विभिन्न बहानामा होटल र गेस्ट हाउसमा बोलाउने अनि बलात्कार या बलात्कार प्रयास या यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिने भन्दै धम्क्याएर पैसा मागेको निवेदनहरू पनि बढिरहेका छन्।

आपराधिक गतिविधिमा संलग्न समूहले यो सकारात्मक माहौलको दुरुपयोग गरिरहेका हुन् त ?

अधिवक्ता सरोज अधिकारी अहिले यस्ता घटना सार्वजनिक भएकाले सङ्ख्या बढी भएको हो कि जस्तै देखिए पनि यस्तो प्रवृत्ति भने पुरानै भएको बताउँछन्।

सम्पत्तिको एकल हकदार रहेका व्यक्तिलाई फसाएर विवाहको नाटक गरेर पछि सम्पत्ति आफ्नो बनाउनेदेखि लिएर लेनदेनको विवादमा फसाउन युवतीहरू प्रयोग गरेर पैसा दिन बाध्य बनाउने गरेका जस्ता घटनाहरू धेरै आउने गरेको उनले बताए।

'पहिला प्राय आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू अनि निर्माण क्षेत्रमा लागेकाहरूलाई फसाउन युवती प्रयोग गरेर पैसा दिन बाध्य बनाउनेदेखि लिएर मुद्दा प्रक्रियामै लगेर पछि सहमति गरेर पीडित भनिएको पक्षलाई होस्टायल बनाएर केस कमजोर बनाउनेसम्मका घटनाहरू देखिन्छन्,' उनले भने' यस्तोमा पीडित र पीडकको सम्बन्ध र सम्पर्क र दाबी गरिएको आपराधिक कामको प्रमाणको विश्लेषणलाई अलि गम्भीरतापूर्वक हेर्नुपर्छ।'

उनले कानुनमा अपराध अनुसारको दण्ड सजाय अनि होस्टायल भएको अवस्था र पीडितले बयान बदलेको अवस्थामा प्रमाणको आधारमा अदालतले पीडित दाबी गरिएको पक्षलाई समेत सजाय गर्न सक्ने प्रावधान राखिएको भन्दै यस्ता घटनालाई गम्भीर रूपमा हेर्नुपर्ने सुझाव दिए।

'दुरुपयोगै हुन्न भनेर भन्न सकिन्न। केही केसहरू देखिएका पनि हुन्,' उनले भने' पीडित पक्षले गर्ने दाबी अनि प्रमाणलाई अलि गम्भीर रूपमा हेर्ने हो भने अपराध भएकै हो या नियोजित हो भन्ने छुट्टिन सक्छ।'

एसपी कोइराला तीन महिनाकोविचमा कार्यालयमा यस्ता तीन वटा घटनाहरू आएको भन्दै पछिल्लो समय प्रहरीमा आउनेहरूको सङ्ख्या बढेको बताउँछन्।

'पछिल्लो समय परिबन्दमा पारेर रकम मोलमोलाइ गरेको उजुरी आउने क्रम बढेको छ। प्रहरीकोमा जाँदा पीडकमाथि कारबाही हुनसक्छ भन्ने सकारात्मक सन्देशका कारण पनि निवेदन दिने क्रम बढेको हुनसक्छ,' उनले भने' पछिल्लो समय यौन अपराधप्रति जागरूकतालाई दुरुपयोग गर्नेहरू बढेका हुन पनि सक्छन्।'

उनले अपराधको प्रकृतिका कारण सामाजिक मर्यादाका कारण सबै पीडितहरू प्रहरीसम्म नआइपुगेको हुनसक्ने भन्दै अन्य उपाय नै नभएको वा अति नै मानसिक तनावमा परेपछि प्रहरीमा आउनेहरू देखिएको भन्दै यस्ता घटनाबाट कोही पीडित भएका भए प्रहरीको सम्पर्कमा आउन आग्रह गरे।

'हाम्रा लागि अपराधमा संलग्नको अनुसन्धान महत्त्वपूर्ण हो। जुनसुकै हैसियतका व्यक्ति पनि अपराधबाट पीडित हुन सक्छन्। यस्तोमा आफैँ सेटल गर्नेभन्दा प्रहरीकोमा आउनु राम्रो हो। निवेदनको पहिचान सार्वजनिक गर्दा उनको व्यवसायीक या पारिवारिक सम्बन्ध समस्यामा पर्न सक्छ भने प्रहरी उजुरीकर्ताको गोपनीयतामा गम्भीर छ। हामीले गरेका पनि छौँ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

जसको मतदान गर्ने धोको छ, तर पाउँदैनन्

विमलालाई मतदान गर्ने भने ठूलो सपना छ। तर मतदाता परिचयपत्र बनाउन परिवाले नै चासो नदिँदा सपना अधुरै छ।  ‘आफूले चाहेको नेतालाई मतदान गर्न पाइन्छ भन्ने....

उकेराको प्रतिबद्धता: तथ्यको खोजी अनि सत्यको गोडमेल

तेस्रो वर्ष प्रवेश गर्दै गर्दा 'यो उकेरा भनेको के हो?' भन्ने प्रश्नभन्दा नयाँ पाठकसँग साक्षात्कार हुँदा 'ए उकेराबाट, राम्रो छ सामग्री' भन्ने चरणमा प्रवेश गर्नसक्नु....

माछापुच्छ्रे बैंक रकम हिनामिना प्रकरण: राष्ट्र बैंकले थाल्यो स्थलगत अनुसन्धान, पीडित भन्छन्- आरोपितलाई पूर्वमन्त्री शुक्लाको छ संरक्षण

त्यसपछि स्थलगत अनुसन्धानका लागि पुगेका नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख उप–निर्देशक दीपक अधिकारी, नेपाल राष्ट्र बैंक भैरहवाका उप–निर्देशक जीवन प्रकाश पाण्डे र सह–निर्देशक....

माछापुच्छ्रे बैंकको व्यवस्थापन र एजेन्टको कर्तुत: हातमा पैसा जम्मा गरेको भौचर छ, खाता भने रित्तै

उक्त बैंक खातामा गाउँपालिकाका वडा नम्बर ५, ७ र अन्य वडाका स्थानीयहरूले रकम जम्मा गरेका थिए। अहिले पीडित स्थानीयहरू आफ्नो पैसा खोजीको माग गर्दै दिनहुँजसो....

राष्ट्रिय मुद्रा सङ्ग्रहालयमा छ फुकादामदेखि दोलखाको ’वान पिस’ चाँदीको मुद्रासम्म

वि.सं. २०१९ पुस १ मा तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहले हनुमानढोका दरबार परिसरभित्र राष्ट्रिय मुद्रा सङ्ग्रहालयको स्थापना गराएका थिए। छाउनीको सङ्ग्रहालय त्यसैको विस्तारित आकार....