लागुऔषध प्रयोगकर्ताको अखडा यसरी बन्यो बुद्धिचालको केन्द्र

लागुऔषध प्रयोगकर्ताको अखडा यसरी बन्यो बुद्धिचालको केन्द्र

काठमाडौं: थापाथलीस्थित ललितपुर र काठमाडौं जोड्ने बागमती पुल नजिकै एक छेउमा एउटा बोर्ड टाँगिएको छ। बोर्डमा लेखिएको छ- जि.ओ. इन्टेरियर्स एफआइडिई र्यापिड चेस टुर्नामेन्ट।

सो बोर्डको छेवैमा एउटा फलामे गेट छ। गेटको पछाडिपट्टि र अर्को कुनातिर टिनको बार लगाइएको निर्माणाधीन थापाथली दरबारको संरचना छ। गेटको बाहिरबाट झट्ट हेर्दा साँघुरो र रुखहरुको बीचमा केही खाली स्थान देखिन्छ। गेटभित्र पसेपछि सोही खाली ठाउँमा प्राय: बाक्लो जमघट देख्न पाइन्छ। त्यो जमघट चेस (बुद्धिचाल) खेल्न आउने व्यक्तिहरुको हो।

पहिले थापाथली पार्कबाट चिनिने सो स्थान अचेल ‘चेस पार्क’को नामले परिचित छ। चेस पार्कमा चेस खेल्दै रमाउन काठमाडौं, भक्तपुर, ललितपुरका चेसप्रेमीहरु त्यहाँ पुग्ने गर्छन्। चेस खेल्न र खेलेको हेर्न आउनेहरु प्राय: बिहान र साँझ त्यहाँ जमघट हुन्छन्।

चेस खेल्न मात्र नभई कतिपय त रुखको छहारीमा बस्नै कै लागि पनि आउने गर्छन्। फुर्सदको समयमा आफ्ना साथीहरुसँग गफिन र थकाइ मेट्न पनि आउने गर्छन्। 

पहिला लागुऔषध प्रयोगकर्ताको अखडा, अहिले चेसप्रेमीको थलो 
आजभन्दा एक/दुई दशक अघिसम्म गुठीको स्वामित्वमा रहेको सो क्षेत्र बाँझो जमिन थियो। बाँझो जमिनमा झाडीहरु उम्रिएको थियो। कतिपयले सो स्थानमा फोहोर फाल्ने गरेका थिए भने लागुऔषध दुर्व्यसनीले पनि अखडा बनाएका थिए सो स्थानलाई।

चेस पार्क बन्नुअघि सो क्षेत्रमा फोहोर र लागुऔषध सेवन गर्नेहरु जम्मा हुने गरेको थापाथली पार्क चेस क्लबका उपाध्यक्ष भरत धिताल बताउँछन्। ‘पार्क नबन्दा यहाँ अधिकांश गाँजा र अन्य लागुऔषध सेवन गर्नेहरु मात्र भेटिन्थे। उनीहरुले त आफ्नो अखडा (जक्सन)जस्तै बनाएका थिए। गुठीका स्वयंसेवकहरुले सम्झाई-बुझाई गरी फर्काउँदा पनि उनीहरु आउन छोड्दैनथे। कतिपयले यसको भित्ता वरपर दिसा-पिसाब गरेका हुन्थे,’ उनी सुनाउँछन्, ‘चौबीसै घण्टा खुलै रहने हुँदा जसले पायो उसैले फोहोर फ्याल्ने थलो पनि बनाएका थिए। तर अहिले भने लागुऔषध सेवन गर्नेहरु आउँदैनन्, फोहोर फाल्दैनन्। यहाँको अवस्था पूर्ण रुपमा सुध्रिसकेको छ।’ 

चेस पार्क निर्माण भइसकेपछि खेलाडीहरुले चेसको अभ्यास गर्ने गरेको उनी बताउँछन्। ‘क्षेत्रीय तथा राष्ट्रियस्तरका चेस टुर्नामेन्टहरु हुँदा खेलाडीहरुले यहीँ आएर अभ्यास गर्ने गर्छन्,’ उनी भन्छन्, ‘सो समयमा स्कुल, कलेज, क्लब लगायत विभिन्न क्षेत्रबाट खेलाडीको जमघट हुन्छ। कहिलेकाहीँ त ठाउँ नै पुग्दैन।’

काठमाडौं महानगरपालिका-११ मा पर्ने थापाथलीको चेस पार्क काठमाडौं महानगरपालिका, बागमती प्रदेश सरकार र वडा कार्यालयको संयुक्त लगानीमा निर्माण भएको हो। 

पार्क निर्माणको लागि विभिन्न निकायले उपलब्ध गराएको ५८ लाख बजेट खर्च भएको छ। विभिन्न चरणमा निर्माण गरिएको सो पार्क लकडाउनको समयमा निर्माण सम्पन्न भएको थियो। 

चेस पार्कको लागि प्रतीक्षालय, चेस खेल्ने संरचना र शौचालय महानगरपालिकाले बनाइदिएको थियो। अझै केही काम गर्न बाँकी रहेको धितालको भनाइ छ। 

‘महानगरपालिकाले चेस खेल्ने खेलाडीको लागि टहरा त बनाइदियो। तर त्यहाँ माथि छानो मात्र राखिदियो, झ्याल-ढोका राखेन’ उनी भन्छन्, ‘शौचालयको पनि ढोका राखेन, शौचालयको संरचना मात्र बनाइदियो। इन्जिनियरले शौचालयमा ढोका नै नराखेपछि म खटिएर टालटुल पार्दै ढोकाहरु राखें। शौचालयमा पर्याप्त पानी नहुँदा पिसाब फेर्नको लागि मात्र खुला गरिएको छ। त्यसैले अझै केही काम बाँकी छ। त्यसको लागि बजेट छैन।’

यसरी सुरु भयो चेस पार्कको अवधारणा 
वि.सं. २०६३/०६४ सालअघि यो ठाउँ थापाथली पार्कको नामले चिनिन्थ्यो। थापाथली पार्कमा आजभन्दा झन्डै १६ वर्ष अघिदेखि नै एकाध मानिस जम्मा भएर चेस खेल्ने गर्थे।

२०७० सालतिर नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष स्व. राजेशहरि जोशीले कागजको बोर्डलाई हटाएर चेस खेल्न आउनेहरुका लागि पाँच थान नयाँ गोटी र बोर्ड उपलब्ध गराइदिए। जोशीको अवधारणासँगै त्यहाँ चेस पार्कको पनि अवधारणा जन्मिएको चेस क्लबका महासचिव असुम राजकर्णिकार बताउँछन्।

‘उहाँ त्यहाँ आउने/जाने गरिरहनुहुन्थ्यो। उहाँले भन्नुभयो- ल अब कागजको बोर्डमा खेल्ने होइन, राम्रै बोर्डमा खेलौं।

'काठमाडौंको केन्द्रमा रहेको र सबैको लागि जमघट हुन सजिलो हुने ठाउँ पनि भएकोले अब यहाँ चेस खेल्न सुरु गर्नुपर्छ भन्दै उहाँले त्यो बेलामा पाँच वटा गोटी र बोर्ड दिनुभएको थियो,’ उनी सुनाउँछन्, ‘यसरी सुरु भएको थियो। त्यसपछि यहाँ पार्कजस्तो बनाउनुपर्छ भन्ने लाग्यो। र, पार्क बनाउने निधो गरियो। २०७५ कात्तिकमा कानुनी रुपमा ‘थापाथली पार्क चेस क्लब’ नाम राखेर प्यानमा दर्ता गरायौं।’ 

क्लबले काठमाडौं भरका चेस क्लबबीच प्रतिस्पर्धा गराउँथ्यो। सो पार्कमा गरिएको अभ्यासले विभिन्न प्रतिस्पर्धामा जित हासिल गरेपछि चेस क्बलबारे पत्रपत्रिकामा समाचार छापियो र बल्ल काठमाडौं महानगरपालिका र सम्बन्धित निकायको ध्यान तानियो। यसरी चेस क्लबले चर्चा कमाएपछि थापाथली पार्क चेस पार्कमा परिणत भएकोबारे चर्चा पायो। 

उनका अनुसार दर्ताअघि नै हामीले यही पार्कमा चेस अभ्यास गर्दै चेसका विभिन्न टाइटल जितिसकेका थियौं। खेल्न आउने खेलाडीहरु थुप्रैले अन्तर्राष्ट्रिय चेस प्रतिस्पर्धामा खेल्न गएका छन्।

पहिला सो क्षेत्रमा कागजको बोर्डमा चेस खेल्ने गरेकोमा हाल त्यसको मुहार फेरिएको राजकर्णिकार बताउँछन्। ‘यहाँ पहिला कार्डको बोर्डमा चेस खेल्ने गरिन्थ्यो। कहिलेकाहीँ त कार्डबोर्ड नपुगेर ढुंगामा पनि खेल्ने गरिन्थ्यो। मन्दिरको टुँडालमा बसेर चेस खेल्ने गर्थे,’ उनी सुनाउँछन्, ‘पार्क बन्नुअघि त्यतिन्जेल हामीसँग यहाँ चेस खेल्न पर्याप्त ठाउँ पनि थिएन। मेच, टेबल, छहारी केही थिएन। क्लबबारे चर्चा भएपछि भने महानगरपालिका, वडा कार्यालय प्रदेशले सहयोग गरे।’ त्यही कारण यतिबेला थापाथली पार्क हुँदै चेस पार्कले मुहार फेरेको उनको भनाइ छ।

२ साउन, २०७९, १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।