पेट पाल्न गुहिए किरा चपाउने ती भोका मान्छे

पेट पाल्न गुहिए किरा चपाउने ती भोका मान्छे

'हाम्रा गाउँतिर गोबरमा बस्ने गुहिए किरा त टपक्क टिपेर कच्याक-कच्याक चपाउने। त्यति मात्र हो र, ट्वाइलेटको सेफ्टी ट्यांकीबाटै पनि किरा निकालेर खाने। भात भनेपछि यति हुरुक्क हुने कि, हात धुँदा खसेको एक/दुई सिता भात पनि टिपेर खाने।'

सूर्य केसीले ११ वर्ष अगाडि शान्ति मिसनका क्रममा द्वन्द्वग्रस्त मुलुक कंगोमा बस्दा देखे/भोगेका अनुभव हुन् यी। कंगोका मान्छेको दु:ख सम्झिँदा अहिले पनि आङ नै सिरिङ्ग गर्ने सूर्य बताउँछन्।

'मान्छेले एक पेट पाल्नका लागि यत्तिसम्म दु:ख झेल्नुपरेको छ भन्ने मैले कंगो गएर देखें,' उनी भन्छन्, 'अवस्था देखेर दु:ख त लाग्यो नि तर के गर्नु, हामीले केही गर्न सक्ने होइन।'

१६ वर्ष नेपाली सेनामा बिताएका सूर्य त्यो मिसन आफ्ना लागि निकै रोचक र अविश्मरणीय रहेको बताउँछन्। 'कंगो भन्ने देश स्वर्ग जस्तै छ। तर द्वन्द्वले गर्दा ध्वस्त बनायो,' उनी भन्छन्।

उनले अहिले नेपाली सेनाको जागिर छोडिसकेका छन्। पेन्सन पाकेपछि उनले जागिर छोडेका हुन्।

द्वन्दले गर्दा पढ्न पाइएन
लमजुङमा जन्मिए पनि सूर्यको बाल्यकाल काठमाडौंमै बित्यो। काठमाडौंमा दाइसँग बस्दै आएका उनी ७ कक्षा पढ्दै गर्दा भने गाउँमै गएर पढ्न थाले। त्यतिबेला द्वन्दले गाउँघरमा ठूलै हलचल मच्चारहेको थियो। यसको असर उनको पढाइमा पनि पर्यो।

माओवादी द्वन्द्वको असरले १० कक्षा पढ्दा-पढ्दै  पढाइ छोड्नुपरेको सूर्य बताउँछन्। उनी भन्छन्, 'सधैं कोही न कोही स्कुलमा गएर कमिटी बनाउने र राजनीतिमा होमिन कर-बल गर्थे। पढ्ने वातावरण नै भएन। त्यसैले पढ्ने इच्छा नै मर्दै गयो।'

पढाइ बीचैमा छोड्नुपरेपछि उनी नागरिकता बनाएर अब काम गर्छु भन्दै काठमाडौं हानिए। एसएलसी दिन नपाएकोमा अहिले पनि उनलाई गुनासो छ।

त्यतिबेला दाइ नेपाली सेनामा जागिरे भएकाले परिवारका सबैले सूर्यलाई काठमाडौं गएर दाइसँग बस्न र काम गर्न सल्लाह दिएका थिए। उनले त्यसै गरे।

काठमाडौं आएको केही महिनापछि सेनामा भर्ना खुलेको थाहा पाए। त्यसपछि उनी तालिम लिन गए। तालिमपश्चात् नेपाली सेनामा प्रतिस्पर्धा गरे र छानिए पनि। त्यतिबेला उनी १८ वर्षका थिए।

'कर्णालीमा पुग्दा मान्छे देखेर डर लाग्यो'
पोखरामा भएको तालिममा पास भएपछि उनी सेना भएर मुगु गए। पोखरा जस्तो रमाइलो र पर्यटकीय ठाउँबाट कर्णाली पुग्दा सुरुमा उनलाई नरमाइलो लागेछ।

'एक हप्ता त निकै नमज्जा लाग्यो। अगाडि हेर्यो पूरै ताल। पछाडि हेर्यो पूरै जंगल। जाडो पनि त्यत्तिकै। मान्छे हेर्यो दिउँसै तर्साउलान् जस्ता। जताततै जंगल, मान्छे देखेर डरै लाग्यो,’ सूर्य सुनाए। 

मुगु बसेको करिब साढे दुई वर्षपछि उनको सुरुवा जुम्लामा भयो। जुम्लामा जाडोमा मौसममा निकै गाह्रो भएको उनको अनुभव छ।

उनी भन्छन्, 'कर्णालीमा बस्दाबस्दै त्यतै रमाइलो लाग्न थाल्यो पछि त। मेरो घर लमजुङ भए पनि मलाई जुम्लाको माया लाग्छ। भौगोलिक हिसाबले केही बिकट पक्कै हो। तर, मलाई कर्णाली निकै राम्रो लाग्छ।’ पछिल्ला केही वर्ष बाहेक सम्पूर्ण कार्यकाल उनले जुम्लामा नै बिताए। 

जागिर छोडेपछि आफूलाई स्वतन्त्र महसुस भएको उनी बताउँछन्। 'ब्यारेकमा चेन अफ कमाण्डमा बस्नुपर्थ्यो। अन्डर कमाण्ड हुन्थ्यो। शारीरिकसँगै मानसिक तनाव पनि हुन्थ्यो। बाहिरको नजरमा हेर्दा ओहो! सेना भन्ने भए पनि त्यस्तो केही हुँदैन,' हवल्दारबाट अवकाश लिएका सूर्य बताउँछन्।

'भूकम्प गएको थाहै पाइनँ'
२०७२ को भूकम्प जाँदा सूर्य जुम्लामै थिए। जुम्लामा त्यति ठूलो धक्का महसुस नभएकाले सुरुमा आफूले खासै चासो नदिएको उनी बताउँछन्।

'शनिबारको दिन खाना खाएर ब्यारेकभित्र रमाइलो गरेर बसेका थियौं। एक बजे बाहिर घुम्न निस्किँदा अगाडिको एउटा घरको गारो खसेको रहेछ। भूकम्पले घर भत्कायो भन्ने कुरा गरिरहेका थिए। हामीले खासै वास्ता गरेनौं। पछि बजारमा त पूरै हल्ला भैरहेको रहेछ- काठमाडौँ त पूरै ध्वस्त भयो रे! धरहरा ढल्यो रे!,' उनले सम्झिए।

उनी थप सुनाउँछन्, 'त्यसपछि हामीले काठमाडौंमा भएका आफन्तलाई सम्पर्क गर्न खोज्यौं। तर, सम्पर्क हुन सकिरहेको थिएन। बजारमा घुम्न निस्केका हामी भूकम्पको खबर सुनेर आत्तिएका थियौं। जुम्लामा भने धेरै क्षति भएको थिएन।'

अवकाशपछिको जीवन
अवकाशपछिको जीवन भने सूर्यका लागि अन्योलग्रस्त भयो। 'के गर्ने, के नगर्ने भयो। हामीले गर्न सक्ने भनेको कि जागिर खाने कि विदेश जाने नै रहेछ,’ उनले भने। 

उनले विदेश जान दुई वटा देशमा एप्लाई पनि गरे। कुवेत जाने चक्करमा पैसा पनि डुबाए। त्यो पैसा फिर्ता लिन उनले धेरै कसरत गर्नुपर्यो। ब्रुनाई आर्मीमा जाने प्रयास गरे। तर सफल भएनन्।

त्यसपछि विदेश जाने प्रयास छोडेका उनले सेक्युरिटी गार्डको काम पाए। त्यहाँ एक वर्ष काम गरेपछि चित्त नबुझेर छोडिदिए। सेनाबाट रिटायर्ड भएको तीन वर्ष त उनको जागिर खोज्दै र विदेशमा जाने प्रयास गर्दै बित्यो। 

जागिर खोज्ने क्रममै उनले एक दिन फेसबुकमा फुडमान्डुमा कामदारको आवश्यकता भन्ने सूचना देखे। त्यसका लागि साधारण लेखपढ गरेको भए हुने अनि सवारी साधन चलाउन जान्ने भए पुग्ने रहेछ। उनको योग्यता त्यति नै थियो। त्यसपछि उनी फुडमान्डुमा जोडिए। ९ महिनादेखि सूर्य फुडमान्डुमा काम गर्दै आएका छन्।

उपत्यकाभरि रेस्टुरेन्ट र ग्राहकबीच खाना पुर्याउने मध्यस्तकर्ताको काम गर्ने उनी दिनमा १७ टिपसम्म खाना ओसारपसार गर्ने बताउँछन्।

आफूले ग्राहकसम्म खाना पुर्याउँदा अहिलेसम्म कसैबाट नराम्रो व्यवहारको सामना गर्नु नपरेको उनको अनुभव छ।

भन्छन्, 'सुरु-सुरुमा मेरो बोल्ने शैलीप्रति भने ग्राहकको गुनासो थियो। म सेनामा काम गरेको मान्छे, अलि कडै बोल्ने रहेछु कि क्या हो, अलि अफ्ठ्यारो मान्नुहुन्थ्यो। पछि मेरो बानी नै यस्तै हो भनेपछि सब ठिक भयो।'

आफूले यही कामबाट महिनाको ३०/४० हजार कमाइरहेको बताउने सूर्य त्यति पैसाका लागि विदेश नभौंतारिन सबै युवालाई सुझाव दिन्छन्।

'विदेशमा थोरै पैसाको लागि धेरै खर्च गर्नुभन्दा त्यो पैसाले लाइसेन्स निकालेर यतातिर लाग्दा हुन्छ जस्तो लाग्छ। आजकल धेरै बाइक राइडर भाइहरु त्यत्तिकै हुइँकिएको देख्छु। उनीहरुले त्यत्तिकै समय खेर फाल्नुभन्दा यस्तै काम गरेर आम्दानी गर्न सक्छन्,' उनको सुझाव छ।

कुनै-कुनै ग्राहकसम्म पुग्नका लागि उनी गुगलको सहायता लिने गर्छन्। 'गुगलमा भेटिएन भने नजिकैको लोकेसनमा पुगेपछि फोन गर्छु अनि भेटिइहाल्छ,' उनले भने।

कंगोमा खानाको अभावमा हृदयविदारक दृश्य देखेका सूर्य आफ्नै देशका नागरिकका घरघरमा खाना पुर्याउन पाउँदा खुसी त छँदैछन्, ग्राहकको मुहारमा देखिने खुसीले उनको मुहारमा झन् खुसी थपिन्छ।

२ साउन, २०७९, ११:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।