तन्त्र विधा र संस्कृतिसँग जोडिएको लाखे किन भयो यति सस्तो !

तन्त्र विधा र संस्कृतिसँग जोडिएको लाखे किन भयो यति सस्तो !

काठमाडौँ : झन्डै १० महिनाअघि टिकटकमा एउटा भिडियो भाइरल भयो। जसमा लाखेको पहिरन र मुखौटो लगाएको मानिस काँपिरहेको थियो। मानिसहरूले यसमा चासो राखेर प्रतिक्रिया दिइरहेका थिए।

टिकटकको क्लिप भिडियो पछ्याउँदै जाँदा, विपिन श्रेष्ठ नामको युट्युब च्यानलमा झन्डै ८ मिनेटको भिडियो देखियो। टिकटक ट्रान्फरमेसन भिडियो बिहाइन्ड द सिन भनेर राखिएको भिडियो थियो त्यो।

हाल एक करोड बढी भ्युज भएको उक्त भिडियो टिकटक बनाउने क्रममा घटेको घटनामा आधारित छ। जसमा एक व्यक्ति मुखौटो लगाएर भिडियो खिच्दा खिच्दै एक्कासि काँप्न थाल्छन्। पछि क्यामरा बन्द गरेपछि ती युवालाई अनुभव पनि सोधिएको छ। उनले आफूलाई केही थाहा नहुने तर गाह्रो भने हुने सुनाएका छन्। पुरानो मुखौटो भएकाले ती व्यक्ति काँपेको हुनसक्ने भिडियोमै भनिएको छ।

लाखेका यस्ता संवेदनशील भिडियोसँगै मनोरञ्जनात्मक भिडियोहरू पनि भाइरल छन्। अर्को छ वसन्तपुर क्षेत्र अनि जेठको महिनामा देखिएको लाखे।

गर्मीले भतभती पोल्दा पनि खाली खुट्टा लाखेको पहिरन र मुखौटो लगाएका व्यक्ति नाचिरहेका थिए। केही व्यक्ति लाखे नाच्दा बजाइने बाजा बजाइरहेका थिए। लाखे हेर्न मानिसको भिड थियो।

बेमौसममा लाखे नाच देखेपछि उकेराकर्मीको ध्यान त्यता तानियो। बुझ्दै जाँदा एक होटलको उद्घाटन भइरहेको रहेछ। त्यही होटलले केही रकम तिरेर ती लाखे नचाएका रहेछन्।

होटल मात्रै हैन, प्रायः उद्घाटनका कार्यक्रमहरूमा समेत लाखेको प्रयोग सामान्य बन्दै गइरहेको छ अहिले। लाखे नाचेर उद्घाटन गरेर शुभ हुने भन्दै यसको प्रयोग बढिरहेको हो।

नेपालका राष्ट्रिय टेलिभिजनहरूबाट बज्ने एक रक्सीको विज्ञापनमा पनि लाखेको प्रयोग गरिएको छ। नेवार समुदायमा रक्सी पवित्र पेय पदार्थ हो।

कानुनी हिसाबले भने धूम्रपान, मद्यपानको विज्ञापन गर्न पाइँदैन। यसरी हेर्दा गैर कानुनी कार्यमा समेत समेत लाखेको प्रयोग भएको देखियो।

धार्मिक रूपमा गठेमङ्गलदेखि सुरु भई इन्द्रजात्रासम्म करिब एक महिना अवधि मात्रै हुन्छ लाखे नाच। तर अहिले भने जति खेर मन लाग्यो त्यति खेरै नाचिरहेका हुन्छन्।

पसलको उद्घाटनदेखि आन्दोलनसम्म, ब्राण्डेड रक्सीको विज्ञापनदेखि टिकटक र फिल्मसम्ममा लाखेको प्रयोग भइरहेको छ।

के यो सही हो त ?

पाटनका लाखे नाच निर्देशक तथा कलाकार उत्तम शाक्य यसलाई मिश्रित रूपमा लिन्छन्। उनका अनुसार ठाउँ अनुसार लाखे नाच फरक हुन्छ। कतै मुखौटो फरक, कतै पहिरन फरक त कतै नृत्य नै फरक। कुनै शुद्ध मनोरञ्जनका दिने खालका हुन्छन् भने कुनै धार्मिक र तान्त्रिक।

कस्तो लाखे हो, कहाँ देखाउन मिल्ने कहाँ देखाउन नमिल्ने, लाखे नचाउने समय कुन हो भन्ने विषयमा ध्यान नदिँदा भने लाखे नाच दुरुपयोग भइरहेको उत्तमको भनाई छ।

'शुद्ध मनोरञ्जन र अश्लील हर्कत भएका लाखे नाचहरू पनि छ' उत्तमले भने, त्यसैले देखाउन मिल्ने लाखेलाई सांस्कृतिक महत्त्वसँगै व्यावसायिक बनाउन सकिन्छ। त्यसो भन्दैमा यसलाई सस्तो तरिकाले प्रयोग गर्न भने रोक्नै पर्छ।'

पाटनका लाखे भने अन्य लाखेको तुलनामा संवेदनशील हुने उनको भनाई छ। पाटनका लाखे, नाट्यश्वेरीलाई पूजा गरेर, धार्मिक आस्था र परम्पराअनुसार समय जुराएर मात्रै नाच्ने चलन छ।

यो वर्ष साउन १० गतेबाट पाटनमा लाखे नाच सुरु हुने जानकारी दिँदै उनले भने,' हाम्रा लाखे नाच्ने केटाहरू पनि यस्ता कामहरूमा अनुमति माग्न आइरहेका हुन्छन् तर हामी अनुमति दिँदैनौँ।'

पाटनका लाखे, जुठो भएको ठाउँ, खाने, होहल्ला गर्ने ठाउँमा जाँदैनन्। कुनै लाखे भने तान्त्रिक हुन्छन्। अशुद्ध ठाउँमा गयो भने लाखे काम्न थाल्छ, उ रिसाउँछ।  त्यसैले पाटनको लाखेलाई जहाँ पायो त्यहाँ देखाउन सकिँदैन। यसलाई हेर्न दर्शक पाटनै पुग्नुपर्छ। त्यो पनि सही समयमा मात्रै।

यदि लाखेलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खालका कार्यक्रम आएमा भने त्यसको ब्रिफिङ सहित केही झलक देखाउने गरिएको उत्तमको भनाई छ।

तर अहिले जसरी लाखेको प्रयोग भइरहेको छ त्यो छ्यासमिस भएको उनको मत छ। मानिसहरूले सबै लाखेलाई एकै ठाउँमा राख्ने र उस्तै सोच्ने वातावरण सिर्जना भएको उनले बताए।

लाखे नाँच मात्रै हैन 

पाटन संग्राहलय विकास समितिका कार्यकारी निर्देशक सुरेश मान लाखे, लाखे व्यापारीकरण हुनु राम्रो भएको तर सस्तो हुनु नराम्रो भएको बताउँछन्।

'हाम्रा जति पनि कला, संस्कृति र सम्पदाहरू छन् तिनीहरू व्यापारिक हुन जरुरी छ। तर त्यसको अस्तित्व र मान मर्यादा भने कायम राख्नै पर्छ,' उनले भने।

लाखे व्यापारिक हुनुभन्दा पनि यसको मूल्य मान्यता भुलेर प्रयोगमा आउनु दुखद भएको उनको मत छ।

'हरेक क्षेत्रका लाखेहरूको फरक विशेषता छन्। लाखे नाच भनेको कला, मनोरञ्जनसँगै धार्मिक आस्थासँग पनि जोडिएको कुरा हो,' उनले भने' कतिपय लाखे पूजा आज गरेर विधि सम्पन्न नगरी प्रयोगमा ल्याउनै नमिल्ने खालका छन्। तर यसरी जथाभाबी लाखेको प्रयोग हुँदा उनीहरूको आस्थामा चोट लाग्न सक्छ भन्नेमा ध्यान दिन जरुरी छ।'

सुरेशमानको अनुभवमा नेपालमा बसुन्जेल हिन्दु सम्प्रदायका मानिसहरू मात्रै मन्दिर जान्छन्, धर्म कर्ममा धेरै समय बिताउँछन्, मन्दिर बाहिर चप्पल फुकाल्छन्, अरू देशका मानिसलाई यसको कुनै मतलब हुँदैन भन्ने लाग्थ्यो।

तर जब उनी विभिन्न देशहरूको भ्रमणमा गए उनको धारणा बदलियो। जेरुसेलममा अनौठो दृश्य देखेँ उनले। जिसस क्राइस्ट जन्मेको ठाउँमा एउटा ढुङ्गो रहेछ। त्यो ठाउँ क्रिष्टयन सम्प्रदायका मानिसको पवित्र स्थल।

'मसँगै गएकी महिला साथीले वान पिस लगाएकी थिइन्। उनलाई भित्र पस्न दिइएन,' उनले भने' हामी पशुपतिमा छिर्न त्यति कडाइ गर्दैनौँ जति जेरुसेलममा क्राइस्ट जन्मेको थलो हेर्न जानेहरूलाई गरिन्छ।'

यसरी कडाइ गर्दा आस्था बढ्नुका साथै महत्त्व कायम रहने लाखेको अनुभव छ।

उनको सुझावमा यदि कसैलाई लाखे हेर्न मन छ भने, उसले साउनदेखि भदौको महिनालाई रोजोस्, जहाँ असली लाखेको मज्जा छ त्यही पुगेर हेरोस्। अन्तर्राष्ट्रिय, राष्ट्रिय सभा समारोहमा देखाओस् तर यसबारे ब्रिफिङ गरोस्।

सूर्योदय र सुर्यअस्तको मज्जा लिन जसरी त्यो दृश्य देखिने ठाउँमै जानुपर्छ, त्यसै गरी लाखेको मज्जा लिन पनि मौलिक ठाउँमै जानुपर्ने र त्यस्तै नियम बनाउनुपर्ने उनको भनाई छ।

'यस्तै पाराले त रातो मच्छिन्द्रनाथको जात्रा हेर्न मन लाग्यो देखाऊ भनेर जुन समयमा पनि माग गर्न बेर छैन,' उनले भने' देखाउनेले पनि जहाँ भन्यो त्यहीँ, जुन समयमा भन्यो त्यही समयमा देखाउन बेर छैन।'

२९ असार, २०७९, १५:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।