केक कोसेलीबाट उठेकी भगवती जो दगंछिन् व्यवसायबाट

केक कोसेलीबाट उठेकी भगवती जो दगंछिन् व्यवसायबाट

बुटवल : बाबु चाहन्थे कि शिक्षक बनुन् कि सरकारी जागिरे। तर भगवती पाण्डे भने आफ्नै काम गर्न चाहन्थिन्। उनले निर्णय गरिसकेकी थिइन्'बरु पान पसल खोलेर बस्छु तर जागिर खान्न।'

भयो पनि त्यस्तै। उनले जे चाहिन् त्यही गरिन्। र अहिले बुटवल क्षेत्रमा परिचित उद्यमी महिलाको परिचय मात्र बनाइनन् २५ जनालाई रोजगार अनि मासिक २५ लाखसम्मको आम्दानी गर्न सक्ने भइन्।

उनी बुटवल देविनगरमा जन्मिन। त्यही हुर्किन्। बुवा कृष्ण बहादुर पाण्डे शिक्षक। भगवती एक्ली छोरी। घरमा कुनै समस्या भएन। सहज रूपमै बित्यो उनको बाल्यकाल र किशोरकाल। २०६९ मा नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयबाट एसइई गरिन्। अक्सोफोर्ड कलेज बाट प्लस टु गरिन्।

उनी सकेसम्म चाँडै आफ्नै काम सुरु गर्न चाहन्थिन्। तर बुवा अध्यापनमै सक्रिय। सरुवा भएर हुम्लामा पुगेकाले सोचेजस्तो भइरहेको थिएन। बुबाले कि शिक्षक बन मन पर्दैन भने अन्य सरकारी जागिर गर नभनेका हैनन्। तर उनलाई त्यता मनै गएन।

'बरु पान पसलको साहुनी भएर बस्छु तर जागिर गर्दिन भन्ने थियो मलाई। पान पसलकी साहुनी भए पनि उ साहु त हो। मलाई आफ्नै केही काम गर्नु थियो,' उनले भनिन्।

प्लस टु को अध्ययन सकिएपछि उनी व्याचलर तहको अध्ययनतिर लागिन्। त्यही समयमा ०७५ मा बुटवल ११ कालिकानगरका कमल भण्डारी उनको विवाह भयो।

उनको प्रेम विवाह थियो। उनले विवाहपछि आफ्ना योजना श्रीमान्लाई सुनाइन्। श्रीमान् उनको योजना पुरा गर्न सहयोगी बन्न राजी भए।

‘बिहे भएपछि केही गरौँ भन्ने मेरो आँटमा श्रीमानले साथ दिए। माइतमा परिवारको दायित्व थियो। केही काम सुरु गरौँ भन्दाभन्दै बिहे भयो,' उनले भनिन्'बिहे भएपछि मात्र व्यापार गर्ने योजना पुरा भयो।'

के को व्यापार सुरु गर्ने त ? उनले बजारको अध्ययन सुरु गरिन्। उनी सकेसम्म सानो लगानीबाट सुरु गर्न चाहन्थिन्। केही महिना बजारको अध्यायनमा पछिल्लो समय घर-घरमा केक कल्चर भित्रिएको देखिन्।

उनले ३ वर्षको अवधिमा केक, आइसक्रिम, एम्मी फ्रोजनमा ५० लाख बाट सुरु गरेकी थिइन्। अहिले एक करोड लगानी पुग्यो। तीन वटै व्यापारबाट मासिक २५ लाखसम्म आम्दानी हुने पाण्डेले बताइन। अहिले २५ जनालाई उनले रोजगारी दिएकी छिन्।

जन्म दिनमा केक, कुनै सफलतामा केक। तिजमा केक। म्यारिज एनिभर्सरीमा केक। केक संस्कृति उच्चदेखि मध्यमवर्गको घरसम्म सहज भइसकेको थियो। उनलाई त्यही कल्चरले क्लिक गर्यो। अनि उनले सुरु गरिन् केक हाउस।

‘अहिले त राती ठिक १२ बजे केक काटेर स्रपाईज दिने चलन छ। यसलाई २४ सै घण्टा सेवा दिन सके त सफल भइन्छ भन्ने लागेर केक कोसेली बुटवल सुरु गरेको थिए। राम्रो भयो’ उनले भनिन्।

उनले तीन वर्ष अगाडि ८ लाख लगानीमा केक कोसेली बुटवल सुरु गरेकी थिइन्। बजार राम्रो भयो। राम्रो कमाई पनि दियो। त्यसपछि उनले लगानी गर्ने सकिने अन्य क्षेत्र खोज्न थालिन्।

केकले मार्केट लिइरहेको थियो। उनले क्रिम बेल आइसक्रिमको डिलर राख्ने निर्णय गरिन्। श्रीमान् भण्डारीले साथ दिएपछि कपिलवस्तु, नवलपरासी, रुपन्देही, पाल्पा हेर्ने गरी ४० लाख बैङ्कबाट ऋण निकालेर आइसक्रिमको डिलर राखिन्।

एम्मी फ्रोजन कम्पनी दर्ता गरेर त्यही कम्पनीबाट आइसक्रिम डिलर सुरु गरेकी उनले ठुला होटेलमा मःमः ससेज, बासा फिस, सी फुड बिक्री गर्ने योजना बनाइन्। बुटवलका चलेका होटेलमा एम्मी फ्रोजन जान थाल्यो। अहिले टाइगर प्यालेसमा समेत पाण्डेको आइसक्रिम र एम्मी फ्रोजन जान्छ।

उनले ३ वर्षको अवधिमा केक, आइसक्रिम, एम्मी फ्रोजनमा ५० लाख बाट सुरु गरेकी थिइन्। अहिले एक करोड लगानी पुग्यो। तीन वटै व्यापारबाट मासिक २५ लाखसम्म आम्दानी हुने पाण्डेले बताइन। अहिले २५ जनालाई उनले रोजगारी दिएकी छिन्।

उनलाई राजनीतिमा पनि चासो छ। हालै भएको स्थानीय तहको निर्वाचनमा उनी राप्रपाबाट बुटवल उपमहानगरपालिकाको उपप्रमुख उम्मेदवार पनि बनेकी थिइन्। तर व्यवसायमा जस्तो राजनीतिमा सफल भइनन् उनी।

महिलालाई स्वरोजगार बनाउने योजना

स्थानीय तहको निर्वाचनमा जनताको घर दैलोमा पुग्दा उनले सबैभन्दा महसुस गरेको महिलाको अवस्थालाई हो। महिला सबल नबन्दा जोखिमयुक्त काममा लागेको उनले देखिन्। त्यसैले अबको योजना महिलालाई स्वरोजगार बनाउने छ उनको।

महिलालाई स्वरोजगार बनाउने अभियान सिलाइको तालिमबाट सुरु गर्दैछिन् उनी। ५० वटा मेसिन राखेर काम गर्छु भन्नेहरूलाई सहयोग गर्ने, रोजगारी पनि दिने गरी योजना बनाएको उनले बताइन्।

‘स्थानीय तहले दिएका तालिम पनि कार्यकर्तामुखी भए। त्यसैले ५० वटा मेसिन किनेर अब सिप सिकाउँछु। आफै गर्छु भन्नेलाई सहयोग गर्छु। नभए अरू महिलालाई रोजगारी दिन्छु’ उनले भनिन्।

२७ असार, २०७९, २२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।