संस्कृति मन्त्रालयबाट ४३  स्रष्टा पुरस्कृत

संस्कृति मन्त्रालयबाट ४३  स्रष्टा पुरस्कृत

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधाका ४३ स्रष्टालाई पुरस्कृत गरेको छ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृत स्रष्टाहरूलाई नगद पुरस्कार सहित सम्मान गरेका छन्।

समारोहमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित् मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो।

राष्ट्रिय प्रतिभा पुरस्कार अन्तर्गत साहित्य, सङ्गीत नाट्य, संस्कृति र ललितकला विधामा पुरस्कार प्रदान गरिएको थियो। राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेहरूमा सोमराज अभय, हरिवंश आचार्य, रमेश ढुङ्गेल, हेम पौडेल छन्।

प्रादेशिक प्रतिभा पुरस्कार पाउनेहरूमा यज्ञेश्वर निरौला, अयोध्यानाथ चौधरी, हरिप्रसाद सिलवाल, बालकृष्ण अधिकारी, विष्णुबहादुर सिंह, बखतबहादुर थापा, गणेशराज जोशी लगायतका छन्।

महाकवि देवकोटा पुरस्कारबाट बेन्जु शर्मा, राम विनय, पुस्करराज भट्ट, विजय चालिसे, आरडी प्रभास चटौतलाई सम्मानित गरिएको थियो।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट अमरराज गिरीलाई सम्मानित गरिएको छ। इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारबाट त्रिरत्न मानन्धर र भगत सर्वजित् मानव मर्यादा पुरस्कारबाट लालबहादुर विश्वकर्मा र खगेन्द्र सङ्ग्रौलालाई सम्मान गरिएको थियो। 

२६ असार, २०७९, १९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।