चमत्कारिक जल प्रणाली' ढुंगेधारा' बारे लेखिएको अनुसन्धानमूलक पुस्तक ‘हिति प्रणाली’ सार्वजनिक

चमत्कारिक जल प्रणाली' ढुंगेधारा' बारे लेखिएको अनुसन्धानमूलक पुस्तक ‘हिति प्रणाली’ सार्वजनिक

काठमाडौँ  : प्राचीन हिति प्रणालीमाथि लेखिएको अनुसन्धानात्मक कृति ‘हिति प्रणाली’ प्रकाशित भएको छ। पद्म सुन्दर जोशीले लेखेको सो पुस्तक पब्लिकेसन नेपालयले प्रकाशित गरेको हो।

ललितपुर महानगरपालिकाले आयोजनामा भएको कार्यक्रममा काठमाडौँ उपत्यकाका नगरप्रमुख, जनप्रतिनिधि, योजनाविद्, सम्पदा संरक्षण अभियानकर्ताकाबिच‌  पुस्तकको लोकार्पण भएको थियो। कार्यक्रममा लेखक जोशीले ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिल बाबु श्रेष्ठलाई पुस्तक हस्तान्तरण गरेका थिए।

पानीको प्रमुख स्रोतको रूपमा प्रयोग गरिने हिति अर्थात् ढुंगेधाराहरु आज लगभग नष्ट हुने अवस्थामा पुगेका छन् । धेरैजसो हितिप्रणालीका अवयवहरू नष्ट भइसकेका छन्। उपलब्ध सूचना र ज्ञानको सङ्कलन गरी हिति प्रणालीको उद्गम, यसको प्राविधिक पक्ष, व्यवस्थापनका स्थापित पद्धतिहरू र हाल आएर हिति प्रणाली माथि भइरहेका व्यभिचारहरू र पुनर्निर्माण सम्भावनाहरूलाई समेटेर पुस्तक तयार पारिएको प्रकाशन संस्थाले जानकारी दिएको छ।

पुस्तकका लेखक जोशीले हाम्रो हिति प्रणाली ऐतिहासिक प्राविधिक चमत्कार रहेको बताए। यसले झन्डै दुई हजार वर्षदेखि पानीको बहाव व्यवस्थापन गरेको र हिति प्रणाली, भावी पिँढी र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि पनि अकल्पनीय उदाहरण रहेको उनले बताए।

'दिगो सहरी खानेपानी योजनाहरू डिजाइन गर्दा, हामी बीस वर्षको योजना बनाउँछौँ; यदि धेरै महत्त्वाकाङ्क्षी योजना छ भने तीस-वर्षे पनि होला ! आधुनिक जल विज्ञान र इन्जिनियरिङले त्यो भन्दा बढी कल्पना गर्न सक्दैन,' उनले भने' तर हिती प्रणालीले दुई हजार वर्षदेखि पानीको बहाव व्यवस्थापन गरेको छ। त्यसैले यो चमत्कारिक हो।'

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर महर्जनले हिति सम्बन्धी पुस्तक प्रकाशित हुँदा सबैभन्दा खुसी आफू हुने बताए।

'मेरो अघिल्लो कार्यकालमा पाटनका हितिहरुबाट पानी झारेर देखाउने धोको थियो, त्यो पुरा हुन पाएन तर अझै पनि प्रयास जारी छ। यसपालि भने लगनखेलको सप्तपाताल पोखरीको जमिन नगर स्वामित्वमा ल्याउन सफल भएको र टिकाभैरव राजकुलो ब्युँताउने अभियान समेत उल्लेख्य रूपमा अघि बढेको छ‘ उनले भने।

 मेयर महर्जनले आफूहरू केटाकेटी छँदा यिनै पोखरीमा फुलेका कमलका पातमा भोज खाएको स्मरण गर्दै र तिनै पोखरीमा फेरी कमल फुलाउने आफ्नो इच्छा रहेको बताए।

लेखक जोशी काठमाडौँ सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता हुन्। उनी दिगो सहरी विकासका योजनाकार हुन्। उपत्यकाको पूर्वाधार विकासका साथै मूर्त तथा अमूर्त सम्पदाहरूको जगेर्नामा सक्रिय उनी पेसाले इन्जिनियर हुन्।

लामो समय त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा प्राध्यापनसमेत गरेका उनले काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगको सदस्य–सचिव रही सहरी पूर्वाधार सुधार आयोजना तथा काठमाडौँ उपत्यका म्यापिङ कार्यक्रमको नेतृत्व गरेका थिए। नेपालीमा यो उनको पहिलो पुस्तक हो।

'हिति प्रणाली' को मूल्य नेपाली बजारका लागि १ हजार ४ सय ९५ रुपियाँ छ। पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहेको र ईबुकको प्रतिलिपि समेत किन्न सकिने नेपालयले जानकारी दिएको छ।

२३ असार, २०७९, १५:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।