'गे भएकै कारण सरकारले मार्दैन होला नि भनेर नेपाल फर्किएँ, अहिले शिक्षा क्षेत्रमा काम गर्दैछु'

'गे भएकै कारण सरकारले मार्दैन होला नि भनेर नेपाल फर्किएँ, अहिले शिक्षा क्षेत्रमा काम गर्दैछु'

१३ वर्ष अमेरिका बसेर नेपाल फर्किएका निरञ्जन कुँवर अहिले लेखन तथा शिक्षा क्षेत्रमा काम गर्छन्। उच्च शिक्षा अमेरिकामै हासिल गरेका निरञ्जनले नेपाल फर्किनुअघि चार वर्ष अमेरिकाको न्युयोर्क सिटी एजुकेसन डिपार्टमेन्ट अन्तर्गत प्राथमिक तहका विद्यालयमा पढाए।

१८ वर्षको हुँदा आफू पुरुष समलिंगी (गे) भएको थाहा पाएका उनले आफ्नो संस्मरणमा आधारित अंग्रेजी भाषाको पुस्तक ‘बिट्विन क्विन सिटिज एण्ड द सिटिज’ प्रकाशित गरेका छन्।

नेपालमै  बस्ने गरी फर्किएका उनी अहिले किताब अनुवाद तथा शिक्षकलाई तालिम दिने काम गर्छन्। उनै निरञ्जनसँग नेपाल र अमेरिकाको शिक्षण विधिको भिन्नता र क्वेर समुदायले नेपालमा भोग्नुपरेको सामाजिक तथा कानुनी जटिलतामा केन्द्रित भएर प्रजु पन्तले गरेको कुराकानी :

नेपाल फर्कनुभएको पनि लामै समय भयो। के गरिरहनु भएको छ अहिले? 
विशेषगरी मैले केही निजी विद्यालयका शिक्षकलाई तालिम दिइरहेको छु। केही कक्षा क्याम्पसहरुमा पनि पढाइरहेको छु। पठन संस्कृतिको विकास कसरी गर्ने भन्ने मेरो प्रमुख चासोको विषय रहन्छ। धेरैजसो प्राथामिक विद्यालयका शिक्षकहरुलाई तालिम दिइरहेको छु। किनकी, प्राथामिक तहका विद्यार्थीमा पढ्ने बानी बस्यो भने ठूलो कक्षामा गएपछि त ऊ यसै नै पढ्ने हुन्छ। 

त्यस्तै युवा क्वेर समूहका व्यक्तिहरुलाई अन्तर्राराष्ट्रिय प्रतियोगितामा जान मेन्टर भएर काम पनि गरिरहेको छु। मलाई पढ्न र बुक रिभ्यु गर्न मन पर्ने भएको हुँदा बुक रिभ्यु गर्ने काम पनि गरिरहेको छु।

अहिले कस्तो किताब पढ्ने गर्नुभएको छ? 
पहिले-पहिले क्लासिक र बेस्ट सेलर पुस्तक पढ्थेँ। अहिले अनुसन्धानमा आधारित पुस्तक पढ्ने भएको छु। विद्यालय तहका शिक्षकहरुलाई तालिम दिने भएको हुँदा अहिले कनकमणि दिक्षितको ‘एडभेन्चर अफ फ्रग, भक्त प्रसादको भ्यागुतो’ अंग्रेजी माध्यमको किताब पढ्दै छु। टिनेजरहरुको लागि नेपालीले लेखेको किताब एकदमै कम छन् नेपालमा।

विद्यालय तह नेपालमा पढ्नुभयो, उच्च शिक्षा अमेरिकामा। कस्तो फरक पाउनुभयो? 
अहिले त नेपालमा पनि विविधता छ शिक्षामा। उताको शिक्षा प्रणाली ‘प्रोग्रेसिभ’ छ। यहाँ कतै परम्परागत कतै प्रोग्रेसिभ देख्न सकिन्छ। 

मैले बुढानीलकण्ठ स्कुल पढें। अप्सन धेरै थिएन। मलाई ह्युमानिटिजहरु मन पर्ने, त्यहाँ त्यो अप्सन थिएन। साइन्स नै पढें ए लेभलमा। अमेरिका गएपछि भने ह्युमानिटिज पढें। त्यहाँको पढाउने शैलीले प्रभाव पार्यो मलाई। थोरै विद्यार्थी राख्ने, परीक्षा पनि ऐच्छिक हुने। कक्षाको उपस्थिति र पेपरहरु लेख्नुपर्ने, अन्तर्क्रिया गर्नसक्ने हुनुपर्ने लगायतबाट मूल्यांकन हुन्थ्यो। 

एक हप्तामा एक किताब पढेर त्यसबारे छलफल गर्नुपर्ने हुन्थ्यो। यसो गर्दा कसले पढेको छ कसले छैन थाहा हुने भइनै हाल्यो। त्यसमाथि आफूले पढेको किताबबारे पेपर नै लेख्नपर्ने भएपछि त विश्लेषणात्मक र आलोचनात्मक चेत हुने नै भयो। नेपालमा घोक्ने, रट्ने तरिकाबाट पढेको मैले त्यहाँ अर्कै तरिकाले पढें। आफूले पढाउँदा समेत त्यही गरियो अमेरिकामा। 

नेपालको शिक्षा प्रणाली कस्तो पाउनुहुन्छ? 
हुन त विकसित देश अमेरिका र हाम्रो देशको तुलना गरेको होइन। मैले नमुनाकै रुपमा रहेको न्युयोर्क सिटी अफ एजुकेसन डिपार्टमेन्ट अन्तर्गत रहेर चार वर्ष पढाएँ। त्यसभन्दा अघि पनि निजी विद्यालयमा पढाएँ। 

अमेरिकामा सहर अनुसार फरक छ शैक्षिक प्रणाली। पछिल्लो समय जहाँ पढाएँ त्यो अमेरिकाको आइकन विद्यालय नै हो। यहाँ अघि मैले भनेको जस्तो प्रोग्रेसिभ तरिकाले पढाइन्छ। 

हाम्रो शिक्षा प्रणालीमा पञ्चायतकालको छाप एकदमै परेको देखिन्छ अहिले पनि। समाजमा पनि पञ्चायतकालकै प्रभाव देखिन्छ। विसं २०१७ साल पुस १ गते राजा महेन्द्रले 'कु' नगरेको भए सायद हामी धेरै माथि पुग्थ्यौँ।

लामो समय बन्द संसारमा बसेका हामी छोटो समय खुला भए पनि पुन: करिब-करिब बन्द नै रह्यौँ शिक्षाको हिसाबले। प्रमुख कुरा प्रश्न सोध्न नपाउने भयौं। शासकले जे भन्यो त्यही मान्नुपर्ने भयो। विविधताले भरिएको मुलुकलाई 'एक देश एक भेष' भनेर पाठ्यक्रमहरुमा राखियो। 

संघीयतापछि केही परिर्वतन गर्न खोजेका छन् विद्यालयले। तर अझै सकेका छैनन्। सिकाइमा केही प्रतिशत बजेट हुने हो भने प्रोग्रेसिभ शिक्षा असम्भव चाहिँ देख्दिनँ। सरकार र शिक्षकले अलि बढी मिहिनेत गर्नुपर्ने देखिन्छ। 

धर्म भनेको हिन्दु, जात भनेको बाहुन-क्षेत्री मात्रै हो भन्ने तरिकाले पढाइयो। त्यसैले त म भन्छु, हामीले देश चिनेका छैनौँ। देशै नचिनी सर्टिफिकेट हातमा लिँदैमा शिक्षित भइँदैन। 

विद्यालय तहमा आफ्नो देशको इतिहास, साहित्य, भूगोल सिकाउनुपर्ने हो तर सिकाइएन। पञ्चायतकालको लागि शिक्षा पनि प्रोपोगाण्डा नै थियो। त्यसको प्रभाव अहिलेसम्म देखिएको छ। 

शिक्षा समाज र राजनीतिसँग जोडिने हुनुपर्छ। हाम्रो शिक्षा समाजसँग जोडिएको भएन। संघीयतापछि भने समाजसँग जोडिन खोजेको देखिँदै छ। 

यही स्रोत-साधनमा नेपालमा प्रोग्रेसिभ शिक्षा सम्भव देख्नुहुन्छ? 
नीतिगत रुपमा हाम्रो शिक्षा कस्तो बनाउने प्रष्ट हुन जरुरी देख्छु म। नीतिगत रुपमा केही व्यवस्था भए पनि कार्यान्वयन र अनुगमन भएको देखिँदैन। सरकारले शिक्षामा विनियोजन गर्ने बजेटको ठूलो अंश भौतिक पूर्वाधार र शिक्षकको तलबमा खर्च भएको देखिन्छ। सिकाइको लागि शिक्षकलाई तालिम, सोही अनुसारका पाठ्यपुस्तक मात्रै नभएर अन्य शैक्षिक सामग्री पनि चाहिन्छ। अनि मात्र त्यसको अभाव देखिन्छ। 

संघीयतापछि केही परिर्वतन गर्न खोजेका छन् विद्यालयले। तर अझै सकेका छैनन्। सिकाइमा केही प्रतिशत बजेट हुने हो भने प्रोग्रेसिभ शिक्षा असम्भव चाहिँ देख्दिनँ। सरकार र शिक्षकले अलि बढी मिहिनेत गर्नुपर्ने देखिन्छ। 

यताको पाठ्यक्रम र अमेरिकाको पाठ्यक्रममा कस्तो फरक देख्नुहुन्छ? 
न्युयोर्क सिटीको पब्लिक स्कुल सिस्टममा चार वर्ष कक्षा २ देखि ४ सम्म पढाएँ। त्यहाँ प्रमुख कुरा टेक्स्ट बुक हुँदैन। गाइडलाइन भने हुन्छ। गाइडलाइन अनुसार शिक्षकले पढाउनुपर्ने हुन्छ। शिक्षकको धेरै जिम्मेवारी हुन्छ। त्यसमाथि बीचबीचमा गणितका, विज्ञानका विषय अनुसारका विशेषज्ञ आएर कसरी पढाएका छन् भनेर हेरेका हुन्छन्। कक्षामै छलफल पनि भएको हुन्छ। शिक्षकले अलि बढी मिहिनेत गरेका हुन्छन्।

यताको पाठ्यक्रम परम्परागत शैलीका छन्। यद्यपि, परीक्षा लिँदा कक्षाको उपस्थिति, प्रोजेक्ट वर्कको आधारमा पनि नम्बर जोडिन थालेको छ।

उता कसरी बोल्ने, कसरी सोच्ने भनेर सिकाइन्छ। पाठ्क्रम नै क्युरियस हुने प्रकारका हुन्छन्। मैले पढाउँदा केही विद्यार्थी यस्ता थिए, कक्षा दुईकाले धेरै पुस्तक पढेका हुन्थे। उनीहरुको एकदमै पढ्ने बानी हुन्छ। उनीहरु हप्तामा दुई घण्टा मात्रै टिभी हेर्ने बाँकी समय म्युजियम जाने, किताब पढ्ने गर्थे।

हाम्रोमा निजी विद्यालयले केही परिर्वतन गर्न खोजे पनि भएको देखिँदैन। काठमाडौँका सरकारी विद्यालय राम्रा छैनन्। 

नागरिकताको सवालमा नेपालमा ठूलो परिर्वतन भएको ठान्छु। नागरिकतामा महिला, पुरुष र अन्य भनेर कोष्ठ राखिएको छ। अन्य भनेको क्वेर समुदायको लागि हो। ट्रान्स जेण्डर महिलाले महिलाकै रुपमा पाउनुपर्छ भन्ने जुन माग छ यो कम्प्लेक्स छ।

पहिले राज्य, अभिभावक र शिक्षक प्रष्ट हुनुपर्यो। हाम्रो शिक्षाको उद्देश्य के हो?, कहाँ पुग्ने प्रकारको शिक्षा हो? यसरी प्रष्ट हुन सकियो भने त्यही अनुसारको जनशक्ति आइहाल्छ नि।

शिक्षाको विषयलाई यहीँ थाती राखौँ। अब तपाईं क्वेर समुदायको हुनुभएकाले हाम्रो नेपाली समाजले क्वेर समुदायलाई कसरी लिन्छ? किताब नै लेखेर समाजमा प्रस्तुत हुँदा कस्तो व्यवहार पाइरहनुभएको छ? 
म १८ वर्ष को हुँदा गे हुँ भन्ने थाहा पाएँ, सन् १९९९ मा अमेरिका जानुअघि। अमेरिका गएपछि त्यहाँ साथीहरुसँग खुल्न असहज भएन। जब नेपाल आउने निर्णय लिएँ। मैले सोचेँ, सरकार मार्नै त आउँदैन होला नि। त्यसपछि सन् २०१६ मा नेपाल फर्किएँ। अन्य केही देशमा क्वेर समुदायकालाई सरकारले मारिदिन्छ। कानुन बलियो नै छ भनेर नेपाल फर्किन आँट आएको थियो मलाई। 

कानुन ठिक भए पनि समाज त पुरातन नै हो। कानुन परिर्वतन हुँदैमा सबै परिर्वतन किन हुन्थ्यो र? कतिलाई लाग्ला, पुस्तक लेखेर ओपन भएपछि त सहज होला। त्यस्तो पनि होइन। परिवारका अन्य सदस्यले सहजै स्वीकारे पनि। बुबासँग अझै कुराकानी जारी छ। लामो समय म एन्जाइटीमा पनि गएँ। 

पारिवारिक जमघटमा जाँदा थाहा नपाएको जस्तो गर्ने, सक हुने भएको देख्दा असहज त लाग्छ नै। अझै पनि समाजमा यसलाई विकृति भन्ने छन्। डिभोर्सलाई पनि विकृति भन्ने छन्। यौनिक अल्पसंख्यकलाई पनि विकृति मान्ने छन्। त्यसकारण नेपाली समाजमा मैले मिश्रित वातावरण पाएको छु।

 ढुक्कको कुरा के हो भने, आफ्नो कुरा प्रष्ट राख्दा, आफ्नो आइडेन्टिटी बताउँदा नेपाली समाजले हेला गर्ने गरेको छ। तर राज्यको कानुनले भने संरक्षण गरेको छ। समाजमा आमुल परिर्वतनको त खाँचो नै देखिन्छ। 

क्वेर समुदायको विवाह र नागरिकताको सवालमा अझै पनि विवाद छ। यसमा तपाईंको धारणा के छ? 
दक्षिण एसियामा नै नेपाल क्वेर समुदायको लागि उदार छ। संविधानमा पनि लैंगिक अल्पसंख्यक भनेर उल्लेख गरिएको छ। भलै कानुन नबनेकाले अप्ठ्यारो परेको छ। विवाहको सवालमा त कोही-कोही विवाह प्रथा नै खारेज हुनुपर्ने लाइनमा पनि छन्। सबैको आ-आफ्नो विचार हो। तर लैंगिक अल्पसंख्यकहरु विवाह गरेर सँगै बसे पनि भोलि सम्बन्धविच्छेद भएको अवस्थामा सम्पत्ति वितरणमा समस्या देखिएको छ। त्यसकारण डोमेस्टिक पार्टनर भएर बस्न मिल्ने कानुन बन्नुपर्छ भन्ने मलाई लाग्छ। 

अर्को, नागरिकताको सवालमा नेपालमा ठूलो परिर्वतन भएको ठान्छु। नागरिकतामा महिला, पुरुष र अन्य भनेर कोष्ठ राखिएको छ। अन्य भनेको क्वेर समुदायको लागि हो। ट्रान्स जेण्डर महिलाले महिलाकै रुपमा पाउनुपर्छ भन्ने जुन माग छ यो कम्प्लेक्स छ।

अहिले म किताब पढ्ने, सिनेमा हेर्ने तथा लेखनमा समय बिताइरहेको छु। त्यसकारण कहिलेकाहीँ बाहेक एक्लो फिल त हुँदैन। तर बुढेसकालमा! भन्ने चाहिं हुन्छ।

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत महिलाकै टिममा रहेर खेलेका ट्रान्स जेण्डर महिलालाई महिलाको समूहमा राखेर खेलाउँदा सही नहुने बताएका छन्। बलियोको हिसाबले गर्दा पनि होला। त्यसकारण नागरिकताको सवालमा यो अवस्था राम्रो नै मान्छु म। 

थर्ड जेण्डरहरुका कारण गे, लेस्बियनहरुलाई पनि बुझ्न सकेका छैनन्। यौन शिक्षामा अलिकति कमजोरी देखिन्छ। अझ थाहा नपाएको जस्तो गरेर प्रभोक गर्नेहरु धेरै देखिन्छन्। 

गे भएकै कारण नराम्रो व्यवहार पाएर नराइलो महसुस गर्नुभएको छ? 
पहिलेभन्दा कम हुन्छ। 

अहिले सिंगल हुनुहुन्छ? 
हजुर सिंगल छु। 

एक्लै जीवन बिताउनुहुन्छ? 
अहिले म किताब पढ्ने, सिनेमा हेर्ने तथा लेखनमा समय बिताइरहेको छु। त्यसकारण कहिलेकाहीँ बाहेक एक्लो फिल त हुँदैन। तर बुढेसकालमा! भन्ने चाहिं हुन्छ। 

सिंगल सधैं बस्नुहुन्छ र? 
त्यो त के नै भन्न सकिन्छ र? 

क्वेर समुदायका तर नखुलेकाहरुको लागि के भन्न चाहनुहुन्छ? 
खुल्दा आफ्नो समुदायको लागि जति आवाज उठाउन सकिन्छ, नखुल्दा सकिँदैन। जति खुल्यो समाजले स्वीकार्यता पनि बढाउँदै लैजान्छ।

१६ असार, २०७९, १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।