गठबन्धन नहुन सक्ने भन्दै एकीकृत समाजवादीले सबै क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी गर्ने निर्णय गर्‍यो

गठबन्धन नहुन सक्ने भन्दै एकीकृत समाजवादीले सबै क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी गर्ने निर्णय गर्‍यो

काठमाडौँ : सत्ताधारी दल एकीकृत समाजवादीले गठबन्धन नहुन पनि सक्ने भन्दै सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने गरी तयारी गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय परिषद् भेलाले गठबन्धनप्रति सकारात्मक रहे पनि निर्वाचनका लागि सबै क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

'हामी गठबन्धनप्रति सकारात्मक छौँ। तर राजनीति हो गठबन्धन नहुन पनि सक्छ। त्यसैले सबै क्षेत्रमा उम्मेदवारी दिने गरी तयारी गर्ने भेलाले निर्णय गरेको छ,' खतिवडाले सञ्चारकर्मीमाझ भने' गठबन्धन भएको अवस्थामा सोही अनुसार हुन्छ। नभए सबै क्षेत्रमा उम्मेदवारी दिन्छौँ।'

उनले पार्टीमा देखिएको भनिएको विवादबारे भेलामा अलिकति पनि चर्चा नभएको दाबी गर्दै देखिएको विवाद समाधान भइसकेको दाबी गरे।

'जसलाई सङ्केत गरिएको हो उहाँहरू कार्यक्रममा सहभागी हुने र छलफल गर्ने गर्नुभएको छ। अब विवाद छैन' उनले भने।

उनले भेलाले अबको २ महिनामा देशव्यापी रूपमा सङ्गठन सुदृढीकरण गर्ने, नभएको स्थानमा गठन गर्ने र भएको स्थानमा आवश्यकता अनुसार पुनर्गठन गर्ने काम गर्ने निर्णय भएको बताए।

स्थानीय तहको निर्वाचनबारे यस अगाडिको पार्टी स्थायी र पोलिट्ब्युरोले गरेको निर्णय अनुसारकै निष्कर्ष रहेको भन्दै उनले भने' महानगर र उपमहानगरमा भएको गठबन्धन सफल भएको हो। तर तल भएका गठबन्धनमा २ दलले कर्नरमा पार्ने काम भएका हुन्। यसबारे हामी प्रस्ट छौँ। तै पनि आगामी दिनमा गठबन्धन गरेरै अगाडि बढ्नुपर्नेमा पनि हामी प्रस्ट छौँ।'

१४ असार, २०७९, २१:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।